भर्खरै :

महात्मा विदुर र उनको विदुर नीति

महात्मा विदुर र उनको विदुर नीति

हिन्दू पौराणिक कथनअनुसार सूर्य र उनकी पत्नी सन्जनाका पुत्रको रूपमा यमराज जन्मेका थिए । यमराजलाई मृत्युको देवताको रूपमा मानिन्छ । उनी बस्ने स्थानलाई यमलोक भनिन्छ । आफ्नो जीवनकालमा मनुष्यले सत्कर्म गरेमा उनको मृत्युपश्चात् उनको आत्मालाई स्वर्ग लगी सुख भोग गराउने र पाप कर्म गरेमा उनको आत्मालाई बहुत कष्ट दिई नर्कको भोग गराउने देवतालाई यमराज भनिन्छ । सत्कर्मीहरूले हेर्दा यिनी शान्त स्वरूपका धर्मराजका रूपमा देखिन्छन् भने दुष्कर्मीहरूले हेर्दा अति भयानक, क्रूर यमराजका रूपमा पाउँदछन् । वास्तवमा धर्मराज र यमराज दुवै एकै देवताको नाम हो ।
धेरै परापूर्वकालमा एक पटक महातेजश्वी महर्षि माण्डव्यलाई डाँकाहरूले लुटेर ल्याएको धन उक्त महर्षिको आश्रममा लुकाएको र सिपाहीँहरूले सो धन उक्त आश्रमबाट बरामद गरेकाले राजाले महर्षिलाई पनि डाँकाहरूकै सहयोगी थानी सुलीमा झुण्ड्याए तर उनको मृत्यु भएन । राजालाई पछि आफ्नो गल्ती महसुस भयो । उनले महर्षिसँग क्षमा मागी मुक्त गरिदिए । महर्षि माण्डव्यले यमराजसामु उपस्थित भएर आफूलाई विनाअपराध सुलीमा झुण्ड्याएको रिसमा यमराजलाई श्राप दिए । उक्त श्रापका कारणले गर्दा धर्मराज वा यमराज महाभारत महाकाव्यका एक प्रमुख पात्र महात्मा विदुरका रूपमा यस पृथ्वीमा अवतरित भएका थिए भनिन्छ ।
महाभारत महाकाव्यमा वर्णन गरिएअनुसार महर्षि वेदव्याससितको नियोग प्रक्रियाबाट हस्तिनापुर राज्यका राजा विचित्रवीर्यकी रानी अम्बिकाले अन्धो धृतराष्ट्र अर्की रानी अम्बालिकाले कमजोर पाण्डु जन्माइन् । त्यस्तै प्रक्रियाबाट रानी अम्बिकाको वैश्य जातकी एक दासी परिश्रमीबाट पनि एक पुत्र जन्मेका थिए । त्यही दासीपुत्रलाई नै महात्मा विदुर भनिन्छ । पुरातन युगमा नियोग एक पुरातन हिन्दू अभ्यास थियो । यस अभ्यासले आफ्नो पति वा पत्नीबाट कुनै सन्तान नभएको पति वा पत्नीलाई अर्को पुरुष वा महिलासँग सन्तान जन्माउन अनुमति दिएको हुन्थ्यो । यो प्रक्रिया वा अभ्यास धर्मको लागि मात्र प्रयोग गरिन्थ्यो । मोजमज्जा र आनन्दको लागि वर्जित थियो । हस्तिनापुर राजदरबारमा धृतराष्ट्र, पाण्डु र विदुर तिनै भाइ राजर्षि शैलीमा सँगसँगै खेल्दै हुर्किँदै गए । तिनीहरू विवाह योग्य भएपछि भीष्मको बलबुत्तामा तत्कालीन गान्धार राज्यकी अति सुन्दरी राजकुमारी गान्धारीको विवाह अन्धो धृतराष्ट्रसित भयो । गान्धारीका भाइ सकुनीलाई यो वैवाहिक सम्बन्ध कदापि स्वीकार्य थिएन । तर, हस्तिनापुरका राजाका संरक्षक भीष्मसित युद्ध गर्ने क्षमता नभएकोले उनी विवश थिए । यसैबेलादेखि नै गान्धार राज्यका राजकुमार सकुनी सम्पूर्ण कुरुवंशको सर्वनाश चाहन्थे । संस्कृत भाषाको शकुन शब्दले गिद्ध चरा भन्ने बुझाउँदछ । त्यही शकुन शब्दबाट सकुनी नाम रहन गयो । उहिलेको पौराणिक गान्धार त्यहाँका मूल निवासी गन्धर्वहरूको पुरानो राज्य थियो । अचेल यसलाई कंधार (Kandhar) भनिन्छ र यो क्षेत्र उत्तरी पाकिस्तान र पूर्वी अफगानिस्तानमा पर्दछ भनिन्छ । धृतराष्ट्रका भाइ पाण्डुको कुन्ती र माद्रीसित विवाह भयो भने अर्को भाइ विदुरको सुलभसित विवाह भयो । धृतराष्ट्रका सन्तानहरू अर्थात् कौरवहरू जन्मे भने पाण्डुकी पत्नी कुन्ती र माद्रीबाट पाण्डवहरू जन्मे । हुन त कुन्तीको विवाह हुनुभन्दा अगाडि नै सूर्यबाट उनले कर्ण नामका एक वीर छोरा जन्माएकी थिइन् । जो दानवीर कर्ण तथा वीर योद्धा कर्णका रूपमा प्रख्यात भए । तर, उनको गन्ती पाण्डवबन्धुमा गरिँदैन । कान्छो भाइ विदुरले पनि पत्नी सुलभबाट अनसब र अनुकेत नामका दुई भाइ छोरा पाए । धृतराष्ट्र अन्धो भएकाले उनी हस्तिनापुर राज्यको गद्दीमा बस्न योग्य नभएकाले पाण्डुलाई राजाको रूपमा स्थापित गरे । पछि उनले राज्य त्यागेको र दासी पुत्र भएकोले विदुर पनि योग्य नहुँदा धृतराष्ट्रलाई नै कार्यबाहक राजा बनाइयो । राजा र राजगद्दीका संरक्षक उनीहरूको ठूलो बुबा भीष्म भए । विदुर निकै ज्ञानी, कुशल, राजनीतिज्ञ, विद्वान्, नीतिकार, दर्शनका ज्ञाता भएकाले उनलाई हस्तिनापुर राज्यको प्रधानमन्त्री पदमा आसीन गराइयो । उनको चरित्र, गुण र स्वभावको आधारमा उनलाई महात्मा विदुर भनिन्थ्यो ।
महाभारत युद्धमा खासगरी तीन प्रकारका नीति, सिद्धान्त वा उद्देश्यहरू प्रयोग भएको पाइन्छ । सकुनी कुनै पनि तरहबाट युद्ध गराउन नै चाहन्थे र भीष्मसँग बदला लिन चाहन्थे । यही उद्देश्य प्राप्तिको लागि उनी जीवनभर लागी नै रहे । अर्काेतर्फ पाण्डव र कौरवबिचको द्वन्द्व सकेसम्म शान्तिपूर्ण ढङ्गबाट समाधान गर्ने र नसके अन्तमा युद्ध गर्नु परे गर्ने उद्देश्य वा नीति कृष्णको थियो । कृष्ण पाण्डवहरूका सहयोगी, हितैषी एवम् मित्र थिए । महात्मा विदुर कुनै पनि हालतमा पाण्डव र कौरवबिच युद्ध हुन नदिई कुरु वंशको सर्वनाश हुनबाट बचाउन चाहन्थे । यही उद्देश्य प्राप्तिको लागि उनले धेरै प्रयास गरे ।
समय र आवश्यकताअनुसार राज्य, देश, राजा अर्थात् शासक र जनताको भलाइको लागि तथा पाण्डव–कौरवबिचको युद्ध रोक्नको लागि महामन्त्री महात्मा विदुरले आफ्नो दाजु हस्तिनापुरका राजा धृतराष्ट्रसमक्ष अनेकौँ दृष्टान्त, सल्लाह, उपदेश र अनुरोधहरू प्रस्तुत गरे । अहङ्कारी, दुष्ट, कुलङ्गार स्वभावका आफ्नो पुत्र दुर्याेधनप्रतिको मोह त्यागेर सम्पूर्ण जनता, देश र राज्यको हितको लागि पाण्डवहरूको न्यूनतम माग स्वीकारेर शान्ति सम्झौता गर्न बिन्ती गरे । महात्मा विदुरले चिन्तित धृतराष्ट्रलाई राजा वा शासकको कर्तव्य, विद्वान् र मूर्खको लक्षण, बुद्धिको महत्व, सुख दुःख, सदाचारको महत्व, राम्रो आचारसंहिता, त्याज्य एवम् ग्राह्य गुणहरू, कृतघ्नको दुर्दशा, निर्लाेभता, धर्म सत्य, क्षमा, विद्या तथा विद्यार्थीको कर्तव्य, सङ्घ सङ्गठनहरूको शक्ति, मित्रको लक्षण, अहिंसा आदि विषयहरूबारे राम्रो विश्लेषण गरी सम्झाईबुझाई धेरै गरे । तर, उनको केही लागेन । विदुरका सबै सल्लाह तथा भनाइहरू जसलाई विदुर नीति भनिन्छ, सुनी बसेका धृतराष्ट्रका जेठो छोरा युवराज दुर्याेधनको रिसको सीमा रहेन । उनले काका विदुरलाई भन्ने नभन्ने कटु शब्दहरू प्रयोग गरी गाली गरे । तर, दाजु महाराज धृतराष्ट्र मौन बसी दिँदा विदुरलाई पनि सह्य भएन । उनले कृष्णबाट वरदानस्वरूप आफूले पाएको अति शक्तिशाली धनुष तत्कालै ल्याई भाँची अब हुने महाभारत युद्धमा आफू सहभागी नहुने प्रण गरे । दरबारबाट पनि तुरुन्तै निस्के । भनिन्छ कि उक्त धनुष लिई विदुर युद्धमा सहभागी भए उनलाई कसैले पनि हराउन नसक्ने र सम्पूर्ण सेनालाई पलभरमै नष्ट पार्ने क्षमता उनमा थियो । उनी सदैव सत्य, न्याय, नैतिकता र शान्तिको पक्षमा हुन्थे । यसको लागि उनले पाण्डवहरूको पक्ष लिनुपथ्र्याे । तर, युद्धमा उनी सहभागी भए कौरवको पक्ष लिन बाध्य हुन्थे । त्यसैले, युद्धमा सहभागी नभई तटस्थ रहने नीति विदुरले अवलम्बन गरे । जसले गर्दा महाभारत युद्धमा पछि पाण्डवहरूको जीत सम्भव भयो । यसरी महात्मा विदुरले समय र आवश्यकता तथा औचित्यका आधारमा कहिलेकाहीँ तटस्थ नीति अँगालेर पनि सत्य, न्याय र शान्तिको पक्षलाई जिताउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरे ।
करिब पाँच हजार वर्ष पुरानो मानिने अठारदिने महाभारत युद्ध अन्ततः कुरु क्षेत्रमा पाण्डव र कौरवबिच भइछाड्यो । कृष्ण र सकुनीको उद्देश्यअनुरूप महायुद्ध भयो । महात्मा विदुरको नीति वा उद्देश्य तत्काल सफल भएन । पाण्डव र कौरव पक्षका थुप्रै सैनिक, दास तथा जनता मारिए । निरपराध जनताको दासहरूको जीवन बर्बाद भयो । दुःख कष्ट भोग्नुप¥यो । महाभारत युद्धमा पाण्डवहरूले जिते । कौरवहरू पराजित भए । हस्तिनापुर राज्यको राजा युधिष्ठिर भए । राजदरबारमा पाण्डवहरू, उनीहरूको माता कुन्ती, धृतराष्ट्र, उनकी पत्नी गान्धारी र महात्मा विदुर केही समय बसे । पछि कुन्ती धृतराष्ट्र, गान्धारी र विदुर दरबार त्यागी तपस्या गर्न जङ्गलतिर लागे । जङ्गलमा नै उनीहरूको मृत्यु भयो । तर, महात्मा विदुरको मृत्युको सन्दर्भमा विवादास्पद भनाइहरू पाइन्छन् । आफ्नो मृत्युपश्चात् विदुर आफ्नो शरीरलाई जलाउन, जमिनमा गाड्न वा पानीमा बगाउन चाहँदैनथे । त्यसैले, उनले कृष्णलाई उनको सुदर्शन चक्रमा आफ्नो मृत शरीर समाहित गर्ने चाहना व्यक्त गर्दा कृष्णले स्वीकारेका थिए । पछि विदुरको मृत्यु हुँदा उनको इच्छाअनुरूप नै भयो भनिन्छ । अर्काे भनाइअनुसार महाराज युधिष्ठिर काका विदुरलाई भेट्न जङ्गल पुगे । तर, विदुर भने उनलाई भेट्न चाहँदैनथे । त्यसैले युधिष्ठिर देख्नेबित्तिकै विदुर हिँडे । उनको मृत्यु पनि भयो । उनको पार्थिव शरीर कृष्णको सुदर्शन चक्रमा लीन भयो र आत्मा युधिष्ठिरको शरीरभित्र प्रवेश गरे । किनभने, विदुरलाई धर्मराजकै रूपमा मानिन्छ भने युधिष्ठिरलाई धर्मराजको छोराको रूपमा लिइन्छ । यसप्रकार पूर्वीय सभ्यताका पौराणिककालीन एक महान् ज्ञानी, दार्शनिक, नीतिकार महात्मा विदुरको अन्त्य भयो ।
महात्मा विदुरका महत्वपूर्ण केही उपदेशहरू एवम् नीतिहरूका केही अंशहरू निम्नानुसार छन् –
१) विषले पिउने व्यक्तिको मात्र ज्यान लिन्छ, जसलाई निसाना लगाइएको हो शस्त्रले त्यसलाई मात्र मार्दछ तर राजा अर्थात् शासकको एक गलत नीतिले गर्दा राज्य तथा जनताको साथसाथै राजा अर्थात् शासकको पनि सर्वनाश गर्दछ ।
२) जो व्यक्ति आफ्नो पद, ओहदा र धनसम्पत्तिको मातमा लागेर घमण्ड गर्दछ त्यसको पतन र विनाश छिट्टै हुनेछ ।
३) जुन धन आर्जन गर्नमा मन र शरीरमा क्लेश हुन्छ, धर्म उल्लङ्घन हुन्छ र शत्रुको अगाडि आफ्नो शिर झुकाउनुपर्ने हुन्छ त्यस्तो धन प्राप्तिको इच्छालाई सदैव त्याग्नुपर्दछ ।
४) जुन काम गरेर अन्ततः एक्लै बसेर पछुताउनु पर्दछ त्यस्तो कामको सुरुवात नै नगर्नु ।
५) जुन घर सधैँ सफा सुग्घर भइरहन्छ र जुन घरमा बुढापाकाहरूलाई सदैव मान, सम्मान र माया गरिन्छ, त्यो घरमा सदा सुख, शान्ति र लक्ष्मीको बास भइरहन्छ ।
६) आवश्यकताभन्दा बढी सुत्ने र अल्छी मानिसले आफ्नो उद्देश्य कहिल्यै पनि सफल पार्न सक्दैन ।
७) मन, वचन र कर्मले हामी जुन वस्तुको बारेमा सोच्दछौँ, त्यही वस्तुले हामीलाई आकर्षित गर्दछ । त्यसैले, हामीले सदैव असल र उचित वस्तुहरूको बारे चिन्ता गर्नुपर्दछ ।
८) जो व्यक्ति विश्वासपात्र छैन उसलाई कहिले पनि विश्वास गर्नुहुँदैन । तर, जसलाई हामी विश्वासिलो भनिरहेका छौँ, उसलाई पनि धेरै विश्वास गर्नुहुँदैन । किनभने, त्यस्तो विश्वासिलो भनाउँदाले जब विश्वासघात गर्दछ, त्यसबेला सा¥है असह्य पीडा हुन्छ ।
९) जुन व्यक्तिले अरूको धेरै कुरा सुन्छ र आफूले कममात्र बोल्छ, उसलाई बुद्धिमान भनिन्छ ।
१०) अपराधी, खराब, दुश्चरित्र भएका मानिससँगै रहँदा सज्जन भलाद्मी बेकसुर मानिसले पनि ती दुश्चरित्रका मानिसले जस्तै सजाय भोग्नुपर्ने हुन्छ । जस्तोः– सुकेको दाउरा, काठ जल्दा त्योसँगै रहेको ओसिलो वा भिजेको काठ पनि जल्दछ आदि ।
पौराणिक चिन्तक एवम् दार्शनिकहरू जस्तो दैत्यहरूका गुरु भनिने शुक्राचार्य र उनको शुक्रनीति, देवताहरूका गुरु भनिने बृहस्पति र उनको नीति र हिन्दू धर्मग्रन्थअनुसार सृष्टिकर्ता ब्रह्माका पहिलो मानवपुत्र महर्षि–मनु र उनको मनुस्मृति, ऐतिहासिक चिन्तकहरूजस्तै विष्णुगुप्त चाणक्य, चारबाक, लाओत्से, कन्फ्युसियस, सिद्धार्थ गौतम, प्लेटो, सुकरात, कार्लमाक्र्स, लेनिन, माओ त्सेतुङ र उनीहरूका सिद्धान्त, विचारधारा तथा दर्शनहरू धेरै महत्वपूर्ण छन् । त्यस्तै, आजभन्दा पाँच हजार वर्ष पुरानो मानिने महाभारतकालीन विदुर र उनको विदुर नीतिको वर्तमान अवस्थामा औचित्यता, आवश्यकता र महत्व पनि निकै छ ।
सन्दर्भग्रन्थ सूची
१) पौराणिक पात्र र मिथकहरू – लेखक कमल रिजाल
२) विदुर नीति एवम् जीवन चरित्र – सङ्कलक तथा अनुवादक तुल्सी आचार्य र पं. चेतप्रसाद ढकाल
३) वेबसाइट :
YouTube-The Devine Tales

Exotic India art.com

https://www.exotic india

wikipedia.org.
र अन्य ।

विश्वमोहन जोशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *