भर्खरै :

नेटो : आफ्नो भौगोलिक सिमानाबारे स्पष्ट हुनुपर्छ

नेटो : आफ्नो भौगोलिक सिमानाबारे स्पष्ट हुनुपर्छ

अन्ततः लिथुआनियाको भिल्नियसमा भएको नेटो शिखर सम्मेलनले जापानमा कार्यालय स्थापना गर्ने निर्णय गर्न सकेन । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले सञ्चारमाध्यमहरूसित भने, “जसले जे भने पनि भूगोल जिद्दी छ; इन्डो– प्यासिफिक (हिन्द–प्रशान्त) क्षेत्र उत्तरी एटलान्टिक क्षेत्र होइन ।” उनीसँग नेटोलाई आफ्नै नाम सम्झाउने हिम्मत छ । शीतयुद्धको विरासतको रूपमा नेटो खेमा उत्तरी एटलान्टिक क्षेत्रमा जन्मेको थियो र यसको क्षेत्र ट्रान्स–एटलान्टिक (आन्ध्र महासागर वारपार) क्षेत्रभित्र रहनुपर्छ । स्पष्ट छ, जापान त्यो क्षेत्रमा पर्दैन ।
यसैबिच, नेटोको आफ्नो भौगोलिक सिमाना तोड्ने मनसाय शिखर सम्मेलनको विज्ञप्तिमा स्पष्टरूपमा प्रकट भएको थियो । जुन विज्ञप्तिमा यसले सङ्गठनको हित, सुरक्षा र मूल्यमान्यतालाई चीनले चुनौती दिएको आधारहीन आरोप लगाएको थियो । नेटोले इन्डो–प्यासिफिक क्षेत्रमा रणनीतिक विकासहरूले युरो–एटलान्टिक सुरक्षामा प्रत्यक्ष प्रभाव पारेको दाबी गरेको छ र उक्त दाबीलाई यसले एसिया–प्रशान्त क्षेत्रमा प्रस्तावित विस्तारको बहाना बनाएको छ ।
एसियामा हावाको दिशा परिवर्तनले वास्तवमा युरोपको तापक्रमलाई असर गर्छ कि गर्दैन, इतिहास र वास्तविकताले हामीलाई पहिले नै बताइसकेको छ । नेटोको प्रत्येक पूर्वतर्फको विस्तारले कुनै अपवादबिना विवाद र यस क्षेत्रमा थप अस्थिरता लिएर आएको छ । द्वन्द्वको मार्गमा सधैँ अग्रसर रहने एक सैन्य गुटको रूपमा नेटोले पूर्वी युरोपमा द्वन्द्वहरू ल्याएको छ जुन हामी अहिले देखिरहेका छौँ । एसिया–प्रशान्तसम्म यसको पहुँचले यस क्षेत्रको समृद्धिको लागि लाभदायक नभई शत्रुता वा युद्धको ज्वाला निम्त्याउने कुरा लगभग निश्चित छ ।
युरोपेली नेताहरू अन्योलमा परेका देखिन्छन् । संयुक्त राज्य अमेरिकाका सहयोगीहरूको रूपमा तिनीहरू विशेषगरी नेटोको रूपरेखाभित्र एक आवाजमा बोल्न सन्धिद्वारा प्रतिबन्धित छन् । तर, उनीहरूले यो तथ्यलाई बेवास्ता गर्न सक्दैनन् कि धेरैजसो अवस्थामा चीन ईयूको प्रतिद्वन्द्वीभन्दा बढी साझेदार हो र चीनले युरोपसामु जे प्रस्तुत गर्दछ त्यो जोखिम वा चुनौती होइन बरु पारस्परिक लाभ हो ।
फेरि उत्तरी एटलान्टिक क्षेत्रमा चीनको कुनै सैन्य उपस्थिति पनि छैन । यसको अर्थ चीनले युरोपेली सीमामा कुनै पनि सेना पठाउने सम्भावना छैन भने पनि हुन्छ । टोकियोमा ‘ल्यान्डमार्क’ कार्यालय स्थापना गर्नेजस्ता अनावश्यक उक्साहटले चीनलाई चिन्ता पार्ने र रुसको नजिक त धकेल्दैन भनी उनीहरूले दुई पटक सोच्न आवश्यक छ र उनीहरूको दिमागमा स्पष्ट स्मरणमा रहनुपर्छ । कुनै पनि आत्मगत भविष्यवाणीबाट टाढा रहनुपर्छ ।
यसबाहेक, युरोपका नेताहरू युरेशियाली महादेशका वास्तविक जोखिमहरू बताउन बुद्धिमान हुनुपर्छ । युरोपमा शान्ति सुरक्षित गर्ने दाबी गरे पनि अमेरिकाको नेतृत्वमा रहेको नेटो भूराजनीतिक तनावको स्रोत बनेको छ र संरा अमेरिका आफ्नै लागि मात्र एकल लडिरहेको र कमजोर हुँदै गएको युरोपबाट लाभ लिइरहेको छ । युक्रेन युद्ध ५०० दिनभन्दा बढी अघि सुरु भएदेखि अमेरिकी सैन्य–औद्योगिक कम्प्लेक्सले युरोपेली देशहरूबाट हातहतियार खरिदको अर्डरबाट ठूलो लाभ कमाएको छ, जबकि युरोपले सङ्कटको जोखिम र लागत बेहोर्नु परिरहेको छ । यसले आणविक शक्तिको प्रयोगको जोखिम पनि सामना गरिरहनु परेको छ । रुसबाट युरोपका लागि प्राकृतिक ग्यास आपूर्ति गर्ने पाइपलाइन –नर्ड स्ट्रिममाथि आक्रमणपछि ऊर्जाको बढ्दो खर्चको मार तथा संरा अमेरिकाद्वारा लगातार ब्याजदर वृद्धिद्वारा लगाएको भयानक मुद्रास्फीतिको प्रहार युरोपले व्यहोर्दै छ ।
“तिम्रो तरबारलाई त्यसको ठाउँमा राख किनकि तरबार चलाउनेहरू सबै तरबारले नै मर्ने गर्छन् ।” सैन्य खेमाहरू वा ठूला शक्तिबिचको अनियन्त्रित द्वन्द्वले विनाश निम्त्याउनेछ । दोस्रो विश्वयुद्धबाट हामीले सिकेको कुरा यही हो । घरबाट टाढा हावाले चल्ने घट्टहरूलाई तल झुकाउन यात्रा गर्दा डन क्विक्सोटले गरेका क्रियाकलापले जस्तै युरोपेली नेताहरूको परनिर्भर क्रियाकलापले लाभभन्दा बढी हानि गर्नेछ । युरोपेली नेताहरू युरोपको आफ्नो भाग्यको मालिक आफै हुनुपर्छ ।
(लेखक अन्तर्राष्ट्रिय मामिलाहरूमा टिप्पणीकार हुनुहुन्छ, सिन्ह्वा समाचार, ग्लोबल टाइम्स, चाइना डेली, सीजीटीएन आदिका लागि नियमितरूपमा लेख्नुहुन्छ ।)
– ग्लोबल टाइम्सबाट
अनुवाद : आरोही

Leave a Reply

Your email address will not be published. Required fields are marked *