भर्खरै :

बौद्धिक वर्गलाई राजनीति नगर भन्नु आफैँमा गलत राजनीति

बौद्धिक वर्गलाई राजनीति नगर भन्नु आफैँमा गलत राजनीति

भक्तपुर, २७ साउन । नेपाल क्रान्तिकारी महिला सङ्घ, भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार साहित्यकार हरिबहादुर श्रेष्ठकृत पुस्तक ‘समाज विकासको एक झलक’ बारे शिक्षिकाहरूबिच शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा पुस्तकका अध्यायहरू – पृथ्वीको उत्पत्ति, मानिसको विकासक्रम, आदिम साम्यवाद, दास समाज, सामन्ती समाज, पुँजीवादी समाजको विकास, मजदुरवर्गको अवस्था र वर्गसङ्घर्ष एवम् समाजवादी विचारको उदयबारे अध्ययन प्रस्तुति र छलफल भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ
(रोहित) ले पुस्तक लेखनको पृष्ठभूमिबारे प्रकाश पार्दै मानव समाज र सभ्यता विकासको लागि पठन साहित्य र पठन संस्कृतिको विकास गर्नुपर्ने आवश्यकताबारे चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “अध्ययन संस्कृति परिवारसँग जोडिएको हुन्छ । छोराछोरी अर्थात् नयाँ पुस्ताको पठन संस्कृति विकासको लागि महिला या शिक्षिकाहरूले योगदान गर्न सक्छन् ।”
समाजलाई कतातिर लाने भन्ने विषयमा शिक्षित र सचेत महिलाको भूमिका महत्वपूर्ण हुने विषयमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “शिक्षक या बौद्धिक वर्गलाई राजनीति नगर भन्नु आफैँमा गलत राजनीति हो ।”
“शिक्षित भएर पनि कोर्स पुस्तकभन्दा बाहिरका पुस्तक र अखबारहरू नपढ्नुले समाजको अँध्यारो पक्ष सङ्केत गर्छ । समाजलाई बुद्धिजीवीकरण गर्नको निम्ति कोर्स बुक अध्ययनले मात्र पुग्दैन । राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा अध्ययन र लेखन आवश्यक छ”, उहाँले भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले जोड दिनुभयो, “सूक्ष्म अध्ययन गर्नु प्राज्ञिक विषय हो । जबसम्म समाज प्राज्ञिकरूपमा अगाडि बढ्दैन तबसम्म हाम्रो समाज अगाडि बढ्दैन । वास्तवमा प्राज्ञिक विषयमा चासो नहुनु भनेको संवेदनशीलताको अभाव हो ।”
‘समाज विकासको एक झलक’ पुस्तकसँगै विश्वका मजदुर आन्दोलनहरूको जानकारी दिने पुस्तक, समाजवादका विषयमा लेखिएका पुस्तकहरू अध्ययन गर्न उहाँले उत्साहित गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “पछिल्लो दुई शताब्दीमा एकसत्न्दा बढी समाजवादसम्बन्धी पुस्तक प्रकाशित भइसके पनि नेपाली भाषामा अनुदित केही पुस्तकमात्र छन् । पुस्तकको भाषानुवाद र अध्ययनमा ध्यान दिनु आवश्यक छ ।”
राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा नियमितरूपमा प्राज्ञिक विमर्श र चिन्तन भए समाजको परिवर्तन छिटो गर्न सकिनेमा उहाँले जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले शिक्षिकाहरू राजनीतिकरूपमा सचेत बन्नुका साथै ज्ञान, विज्ञान र प्रविधिको विषयमा जानकार हुनुपर्नेमा जोड दिनुभयो ।
“अहिलेसम्मको समाजको अध्ययनबाट वर्गसङ्घर्षको विकल्प छैन भन्ने शिक्षा मिल्छ† तसर्थ वर्गसङ्घर्षको निम्ति तयार हुन नयाँ पुस्ता तयारीसँगै बहुसङ्ख्यक कामदार महिलालाई शिक्षित र सचेत बनाउनु शिक्षिकाहरूको कर्तव्य हो”, उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सचिव सुलोचना छ्वाजूले महिलाहरू राजनीतिकरूपमा सचेत र सङ्गठित नभएसम्म समाज विकास असन्तुलित हुने विचार राख्दै अहिलेको समाजमा पनि महिलामाथि सामन्तवादी दमन भइरहेको छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष सृजना सैँजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा समितिका उपाध्यक्ष देविका दनेखू र १२ वटा स्कूल/कलेजका प्रतिनिधि शिक्षिकाहरूले पुस्तकबारे आ– आफ्नो अध्ययनको सार प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *