भर्खरै :

राष्ट्रिय शिक्षा दिवसमा उत्कृष्ट विद्यालयहरू पुरस्कृत

राष्ट्रिय शिक्षा दिवसमा उत्कृष्ट विद्यालयहरू पुरस्कृत

काठमाडौँ, २ असोज । ‘समावेशी र सीपमूलक शिक्षा, स्वदेशमै युवा, राष्ट्रको इच्छा’ नारासहित राष्ट्रिय शिक्षा दिवस २०८० नेपाल प्रज्ञा प्रतिष्ठान हलमा मनाइयो ।
उक्त समारोहमा देशभरका सार्वजनिक (सामुदायिक) विद्यालयमध्येबाट वि.सं. २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाको आधारमा प्रथम पुरस्कार कमला माध्यमिक विद्यालय (दुधौली – ११ सिन्धुली), द्वितीय पुरस्कार कमला माध्यमिक विद्यालय (ढुङ्ग्रेवास कमलामाई – ४ सिन्धुली) र नारायण माध्यमिक विद्यालय (रुमाल गाउँ, सल्यान) लाई क्रमशः रु. ३,००,०००, २००००० र १००००० नगद पुरस्कारसहित प्रमाणपत्र, राष्ट्रिय शिल्ड र ध्वजा प्रदान गरियो ।
त्यस्तै, देशभरका निजी लगानीका (संस्थागत) विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रियस्तरमा प्रथम पुरस्कार प्रसादी एकेडेमी (तफाल्होः, ललितपुर), द्वितीय पुरस्कार सेन्ट जेभियर्स (माइतीघर, काठमाडौँ) र तृतीय पुरस्कार बुढानीलकण्ठ नारायणस्थान (बुढानीलकण्ठ, काठमाडौँ) लाई क्रमशः रु. ३,००,०००, २,००,००० र १,००,००० नगर पुरस्कारसहित प्रमाणपत्र, राष्ट्रिय शिल्ड र ध्वजा प्रदान गरियो ।
प्राविधिक शिक्षालयतर्फ प्राविधिक तथा व्यावसायिक तालिम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतको आधारमा सर्वाेत्कृष्ट नतिजा ल्याउने चारवटा शिक्षालयहरू कोरिया नेपाल बहुप्राविधिक शिक्षालय (तामनगर, रूपन्देही), मनमोहन मेमोरियल पोलिटेक्निक (बुढीगङ्गा, मोरङ), लाइफलाइन अस्पताल प्रा. लि. (दमक, झापा) र आदर्श माध्यमिक विद्यालय
(विराटनगर, मोरङ) लाई राष्ट्रिय ध्वजा र प्रत्येकलाई नगद रु. १,००,००० पुरस्कारसहित प्रमाणपत्र प्रदान गरियो । यस वर्षदेखि शिक्षा दिवसमा पुरस्कारको थप व्यवस्था भएअनुसार क्याम्पसतर्फ राष्ट्रिय स्तरमा उत्कृष्ट भएका ३ वटा क्याम्पसहरू पुल्चोक क्याम्पस
(ललितपुर), लुम्बिनी वाणिज्य क्याम्पस (बुटवल, रूपन्देही) र काठमाडौँ मोडेल कलेज (बागबजार, काठमाडौँ) लाई समानरूपमा रु. २,५०,००० नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरियो ।
यस वर्ष नै थप व्यवस्था भएको समाज कल्याण शिक्षा पुरस्कारतर्फ सडक बालबालिका, एच.आई.भी. एड्स सङ्क्रमितका सन्तान अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पु¥याएका संस्थाहरूमध्ये प्रथम पुरस्कार रु. ३,००,००० एस.ओ.एस. बालग्राम
(मध्यपुर सानो ठिमी, भक्तपुर), द्वितीय पुरस्कार रु. २,००,००० कोपिला भ्याली सेवा समाज (वीरेन्द्रनगर, सुर्खेत), तृतीय पुरस्कार रु. १,००,००० बाल सारथी एकेडेमी (काठमाडौँ) लाई प्रमाणपत्रसहित पुरस्कृत गरियो ।
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको सभापतित्वमा भएको थियो । उक्त समारोहमा अतिथिहरूले समावेशी तथा सीपमूलक शिक्षाको महत्वबारे चर्चा गर्दै स्वदेशमा युवाहरूलाई टिकाउन सम्बन्धित विश्वविद्यालय, कलेज र विद्यालयहरूले गुणस्तरीय तथा व्यावहारिक शिक्षा दिनुपर्ने बताउनुभयो ।
‘क’ श्रेणीको नेपाल विद्याभूषण पदकको लागि सिफारिश भएका भक्तपुर जिल्लाबाट वातावरणीय विज्ञान विषयमा विद्यावारिधि प्राप्त गर्ने अमितकुमार साख, शान्ति तथा विकास अध्ययन विषयमा विद्यावारिधि प्राप्त गर्ने मिवित दाहाल, भेटेनरी साइन्स विषयमा विद्यावारिधि प्राप्त गर्ने मनिता अर्याल, नर्सिङ विषयमा विद्यावारिधि प्राप्त गर्ने शीतल गौतम, व्यवस्थापन विषयमा विद्यावारिधि प्राप्त गर्ने किशोर हाकुदुवाल र रसायन शास्त्र विषयमा विद्यावारिधि प्राप्त गर्ने नवीन कार्की छन् । ‘ग’ श्रेणीको नेपाल भूषण पदकका लागि सिफारिस भएको बबिता ग्वाछाले वि.सं. २०७६ सालमा त्रि.वि. व्यवस्थापन सङ्कायबाट स्नातक तहमा उच्चतम ग्रेड प्राप्त गर्ने छात्रातर्फ प्रथम भएकोले नेपाल छात्रा पदक तथा सार्वजनिक विद्यालयका शिक्षकतर्फ राष्ट्रिय शिक्षा पुरस्कारमा भक्तपुरबाट वागीश्वरी मा.वि.का उकेश सुवालले पाउनुहुनेछ ।
पुरस्कार वितरण कार्यक्रमपश्चात् विभिन्न विद्यालयहरूबाट उत्कृष्ट सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *