भर्खरै :

स्वदेशमै जीवन सुनिश्चित बनाउनेतर्फ सरकारको ध्यान जानु आवश्यक

स्वदेशमै जीवन सुनिश्चित बनाउनेतर्फ सरकारको ध्यान जानु आवश्यक

भक्तपुर, २ असोज । राष्ट्रिय शिक्षा दिवसको अवसरमा भक्तपुर नगरपालिकाले मङ्गलबार ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना ग¥यो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एवं नगर शिक्षा शाखाका सदस्य उकेश कवांले विदेशमा युवा पलायन भइरहेको बेला स्वदेशमै जीवन सुनिश्चित गर्ने सरकारी नारा सान्दर्भिक भए पनि व्यवहारमा आइरहेको छैन भन्नुभयो ।
देशको निम्ति सक्षम, देशभक्त, इमानदार, जागरुक युवाको आवश्यकता रहेको औँल्याउँदै उहाँले नयाँ पुस्तालाई सत्मार्गमा लैजाने काममा सत्तासीन दलका नेताहरूको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सभापति एवम् भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले देशमा विदेशी चलखेल भइरहेकोमा चिन्ता व्यक्त गर्दै देश बनाउने र जोगाउने काममा युवा – विद्यार्थीहरू सचेत र सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
निर्णायकमण्डलका सदस्य ज्ञानसागर प्रजापतिले प्रतियोगितासम्बन्धी नियमको जानकारी दिनुभयो भने अर्का निर्णायकमण्डलका सदस्य विष्णुगोपाल कुसीले कार्यक्रमको समीक्षा गर्दै प्रतियोगिताको नतिजा सुनाउनुभयो ।
कार्यक्रममा भनपाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले सहभागी विद्यार्थीहरूलाई सुझाव दिँदै हौसला प्रदान गर्नुभयो भने नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभयो ।
प्रतियोगितामा वागीश्वरी माविका विनिता तामाङ प्रथम, मेधा माविका आशांसु झा द्वितीय, वागीश्वरी माविका वेदबहादुर बस्नेत तृतीय र मेधा माविका सुभेच्छा कार्की र स्कलर्श होमका संजिता चित्रकारले सान्त्वना पुरस्कार जित्न सफल हुनुभएको छ ।
वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई कार्यक्रमका सभापति एवं भनपा–३ का वडाध्यक्ष राजकृष्ण गोराले एक एकप्रति ‘नेपालको संविधान २०७२’ प्रदान गर्नुभएको थियो ।
यसअघि भनपाको आयोजनामा राष्ट्रिय साक्षरता दिवसको अवसरमा चित्रकला प्रतियोगिता र बाल दिवसको अवसरमा मेयरसँग बालबालिका कार्यक्रम सम्पन्न भएको थियो । ती सबै कार्यक्रमको पुरस्कार वितरण कार्यक्रम पछि सूचना जारी गरी एक कार्यक्रमबिच गरिने आयोजक भनपा शिक्षा शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *