निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
गत वैशाख १५ गते प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ को उपनिर्वाचन सम्पन्न भयो । उपनिर्वाचनको कार्य तालिकाअनुसार नेपाल मजदुर किसान पार्टीको तर्फबाट श्यामबहादुर दर्जीले चैत २४ गते उम्मेदवारी दर्ता गरेका थिए । इलाम क्षेत्र नं.२ मा प्रत्यक्षतर्फ नेमकिपाले यो पहिलोपटक निर्वाचनमा सहभागी जनाएको हो । उम्मेदवारी दर्ता गराएसँग सबै दलका उम्मेदवारहरूले आ–आफ्नो किसिमले प्रचारप्रसार सुरु गरेका थिए ।
प्रचारप्रसारको लागि पार्टीले प्रकाशित गरेको घोषणापत्र र उम्मेदवारको परिचयसहितको प्रतिबद्धता पर्चा लिएर वैशाख ६ गते पार्टीको केन्द्रीय कार्यालयबाट हामी इलाम प्रस्थान भयौँ । चुनावी प्रचारप्रसार तथा भौगोलिक क्षेत्रको अध्ययनस्वरूप ४८ जनाको टोलीसहित हिँडेको यात्रामा पहिलो दिनको बिहानी खाना कुशेश्वर मन्दिर पछाडिको चौरमा सामूहिक मेसमा खायौँ । आफैले बनाएको खाना सफा, स्वस्थ र समयको बचत हुने भएकोले मेसको सामग्रीसहित खाद्यान्नको पूर्व तयारी गरिएको थियो ।

काठमाडौँ उपत्यकाभन्दा बाहिरी जिल्लामा जाने रिजर्भ गाडीहरूका लागि रुट पर्मिट आवश्यक पर्दछ । सोहीअनुसार केही स्थानमा समय तालिका दिइएको हुन्छ । यात्राको केही घण्टापछि भिमान पुग्यौँ । हाम्रो गाडी समयतालिकाभन्दा अगाडि पुगेको हुनाले केही समय भिमानमै रोक्यौँ । भिमान काठमाडौँभन्दा गर्मी थियो । पहिलो दिन सुनसरीको धरानमा भेटघाट कार्यक्रम थियो ।
साँझ ६ बजे सुनसरीको बराह क्षेत्र पुग्यौँ । बराह क्षेत्र धार्मिक र पर्यटकीयरूपमा परिचित स्थान हो । धार्मिक र प्राकृतिकरूपमा सुन्दर बराह क्षेत्रमा साथीहरू पहिलो पटक पुगेका थिए । झन्डै ३० मिनेट अवलोकनपछि आफ्नो गन्तव्यतिर हामी लाग्यौँ । साँझ ७ः३० बजे धरान पुग्यौँ । होटलमा हामीले धरानका शाक्य समाज, नेवाः पुचः र खड्गी समाजका नेतृत्वसँग भेटघाट ग¥यौँ । भेटघाटमा भाषा, कला, साहित्य र संस्कृतिको विषयमा छलफल भयो । भेटघाटमा एकआपसमा संस्कृति आदानप्रदान गर्ने र भाषा, कला, संस्कृति संरक्षणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त भयोे । हामीसँग भएको पार्टी प्रकाशनहरू उहाँहरूलाई हस्तान्तरण ग¥यौँ ।

दोस्रो दिन वैशाख ७ गते बिहान सक्दो चाँडो इलामको चुलाचुली पुग्नु थियो । बिहान सबेरै साथीहरूले चिया, नास्ता खाएर सरसफाइ गरी होटलबाट बिदा मागी चुलाचुलीतिर लाग्यौँ । मोरङको बेलबारीमा नेमकिपा मोरङका अध्यक्ष सालिकराम राउत र उम्मेदवार श्यामबहादुर दर्जीले हामीलाई स्वागत गरे । पार्टी घोषणापत्र र पर्चा लिएर म उम्मेदवारसँगै गाडीमा बसेँ ।

बिहान ९ः३० बजे हामी चुलाचुली गाउँपालिकाको कार्यालय नजिकै पुग्यौँ । साथीहरू दुई भागमा विभाजन भएर घरदैलो कार्यक्रम सुरु गरियो । साथीहरू देश र जनताको सेवा गर्ने नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न मादल हो भनेर प्रचारमा लागे ।
नजिकै ऐना पोखरी भन्ने ठाउँ रहेछ, पिकनिक स्थल पनि भएकोले पानीको स्रोत हुने अनुमान लगाएर हामी त्यहाँ गयौँ । बाटो अप्ठ्यारो थियो । ऐना पोखरी पुग्दा तीन वटा छुट्टाछुट्टै पोखरी भेट्यौँ । पोखरीको पानी फोहर रहेछ । एउटा पोखरीमा भने बालबालिकाहरू पौडी खेल्दै थिए । पोखरीसँगै खुला चौर रहेछ । पानी सफा नभएको र चर्काे घामले गर्दा त्यहाँ बसेर खाना बनाउन उपयुक्त ठानेनौँ र अलि वर फक्र्याैँ । चारैतिर पहाडले घेरिएको पोखरीलाई सफा र केही भागमा बगैँचा र बस्न मिल्ने संरचना बनाउन सकेको खण्डमा आन्तरिक पर्यटक घुम्न आउने सम्भावना छ ।

बिहान ११ बजेको चर्काे घाममा थकाइ लाग्दो रातो अनुहार लिएर साथीहरू हिँडेर आउँदै थिए । साँझसम्ममा इलाम बजार पुग्नु थियो । त्यसैले साथीहरू खाना खाइसकेपछि मादलमा मत दिन अनुरोध गर्दै इलाम बजारको यात्रामा लाग्यौँ ।
दिउँसो ४ बजेतिर पर्यटकीय स्थल इलामको चिया बगान कन्याममा पुग्यौँ । पर्यटकीय स्थल कन्याममा आन्तरिक पर्यटकहरूको घुइँचो थियो । विभिन्न जातजातिका पोशाक लगाएर पर्यटकहरू रमाइरहेका थिए । खाजा खाने समय भएकोले चिया बगानमा केही समय बस्याँै । साथीहरू चिया बगान अवलोकन गर्न गए । चिया बगान अवलोकनपछि इलाम बजारतिर लाग्यौँ ।

राति ७ः३० बजे होटलमा पुग्यौँ । गाडीमा लामो यात्रा भएकोले साथीहरू थाके । खाना खाँदै भोलि के कसो कार्यक्रम गर्ने हो भनी साथीहरूबिच छलफल भयो ।
तेस्रो दिन वैशाख ८ गते बिहान ७ बजे नास्ता खाएर साथीहरू इलाम बसपार्कबाट इलाम नगरपालिकाको कार्यालय हुँदै ‘भोट के मा’ ‘मादलमा’ भन्दै नारा लगाउँदै घरदैलो गर्दै गए । बिहानको ८ बजे इलाम बजारमा चुनावी सभा हुने भएकोले सहभागिताको लागि आह्वान गर्दै माइकिङ गाडी अगाडि जाँदै थियो ।
साढे एक घण्टाको नगर परिक्रमापछि ८ः३० बजे घरदैलो कार्यक्रम चुनावीसभामा परिणत भयो । चुनावीसभा गर्ने स्थान नजिकै नेपाली काङ्ग्रेसको सभाको तयारी हुँदै थियो । ठुलठुलो आवाजमा हिन्दी गाना बजाउँदै थियो । हामीले चुनावीसभा सुरु ग¥यौँ । चुनावीसभा गर्दै गर्दा मान्छेहरू टाढा टाढाबाट सुनिरहेका थिए । चारैतिर प्रहरी र अनुसन्धानका मान्छेहरू खटाइएको थियो । सभामा व्यक्ताहरूले शासक दलले गरेका हरेक विकृतिको भण्डाफोर गर्न थाले । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा पार्टीको धारणाबारे वक्ताहरूले स्पष्ट पारे । अमेरिकी साम्राज्यवादले युक्रेनलाई उचालेर रुसमा युद्ध मच्चाइएको र इजरायललाई हतियार पठाएर प्यालेस्टिनमाथि हमला गराइएको हो भन्दा मान्छेहरू कान ठाडो पार्दै सुन्दै थिए । कोही झ्यालबाट, कोही बस स्टेसनबाट र कोही टेम्पुमा बसेर सुन्दै थिए ।

इलाम बसपार्कबाट तल झर्दै गर्दा नेपाली काङ्ग्रेसले ¥यालीको तयारी गर्दै थियो । नेताहरू आउने भएकाले एकदिन अगाडि नै चुनावीसभाको लागि गाउँगाउँबाट झन्डै ५०–६० गाडी मान्छे ओसारेको हामीले देख्यौँ ।
केही समयको यात्रापछि पुवा खोला बजार पुग्यौँ । बजारमा घरदैलो ग¥यौँ । खोला किनारमा एक जना दिदीले नेपाली कागज बनाउँदै थिइन् । स्थानीय स्याउलाको प्रयोग गरी उनले नेपाली कागज बनाउँदै थिइन् । कुनै मेसिन प्रयोग नगरी मौलिक प्रविधि अपनाएर उत्पादन गरेको नेपाली कागज प्रतिओटा दुई रूपैयाँ पचास पैसामा बिक्री गरिँदो रहेछ । यसबाट आफ्नो जीविकोपार्जन भएको उनले हामीलाई बताइन् । हामी देउमाई नगरपालिका लाग्यौँ । दिउँसो ४ बजे हामी देउमाई नगरपालिकाको मङ्गलबारे बजार पुग्यौँ । मङ्गलबारे बजार पुग्नेबित्तिकै हामीले घरदैलो कार्यक्रम सुरु ग¥यौँ । घरदैलोको क्रममा उम्मेदवारले आफ्नो परिचय भएको पर्चा र पार्टीको घोषणापत्र दिँदै गए ।

प्रचारप्रसारकै क्रममा हामी एउटा टेलरिङमा पुग्यौँ । हामीले पर्चा दियौँ । उनीहरूले उम्मेदवारको फोटो र नाम हेरेँ । टेलरिङको दाजुले खुसी हुँदै भने, “हाम्रो मान्छे उठाएको रहेछ बधाई छ ।” उम्मेदवार आफ्नो परिचय दिँदै भने, “नेमकिपा काम गरी खाने जनताको पार्टी भएकोले मादलमा छाप लगाई सहयोग गर्न अनुरोध छ ।” शनिबार भएकोले मङ्गलबारे बजारमा चहलपहल त्यति थिएन । मङ्गलबारे बजारमै उम्मेदवारले शिक्षा, स्वास्थ्य निःशुल्क गराउन, स्वदेशमै रोजगारीको अवसर मिलाउन, कृषि क्षेत्रमा उत्पादन वृद्धि गर्न र शासक दलहरूले गरेको विकृतिको विरुद्ध आवाज बुलन्द गर्न नेमकिपालाई विजयी गराउन आग्रह गरे ।
सभा सकिँदा साँझको ६ बजेको थियो । होटलहरू साँझको खाना खाइसकेपछि सो दिनको सिंहावलोकन भयो र भोलिको लागि कार्य विभाजन गरियो ।
Leave a Reply