भर्खरै :

काठमाडौं उपत्यकामा आदिवासी नेवारहरूको आगमन

विष्णुभक्त राजचल
ब्रह्माण्डपुराण नामको एउटा पौराणिक कथामा उल्लेख भएअनुसार कश्यप नामका एक ऋषिका तीन पत्नी ‘दिति’, ‘दनु’ र ‘खसा’ थिए । दितिका छोरा दैत्य, दनुका छोरा दानव र खसाका तीनभाइ छोरा यक्ष, खस र राक्षस थिए । यक्षतर्फका सन्तानले कुबेरका वंशज कैलाश पर्वत र मानसरोवर रहेको आसपास तिब्बतमा पुगेर सोही स्थानमा आफ्नो बसोबासस्थल बनाए । पछि तिनीहरू भोट प्रदेशका भोटे हुन गए । अर्को खसतर्फका सन्तानमध्ये एक समूहले कुमायु, गडवालदेखि पश्चिम रावीसम्म र पूर्वमा राप्तीसम्मको प्रदेशमा फैलिएर बसोबास ग¥यो । तिनीहरूको बाक्लो बस्तीलाई खसान कहलाइयो । राक्षस (रक्षा गर्ने) तर्फका सन्तानको श्रीलङ्का र दक्षिण भारतको केरला कर्नाटक, महाराष्ट्र, गुजरात र सौराष्ट्रमा बसोबासस्थल हुनपुग्यो ।
महाभारतको युद्ध हुँदा खसहरू दुर्योधनको पक्षबाट लडेका हुन् । सोही युद्धमा योद्धा क्षेत्रीहरू सखाप भएको हुनाले लडाइँको शिक्षा नभएका युद्धभीरु शस्त्र र शास्त्र दुवै विद्या नभएका तर कुश्ती खेलेर राजा रजौता भारदारहरूको मनोरञ्जन गर्ने पहलमान मल्लहरू, मानसरोवरनेरको राक्षसताल, कालीकोटको रासफोट र त्यहाँबाट आएका रासकोटी ठकुरीहरू तथा जुम्लाका खस मल्लहरू राक्षसजातिसँग सम्बन्ध भएका खसका सन्तानहरू जहाँतहीं मिलेर बसोबास गरे ।
इ.सं. ११५० तिर तिब्बतको खारी प्रदेशबाट नेपालभित्र पसेका खसहरूको बसोबास स्थान पनि पश्चिम नेपाल हुन पुग्यो । कर्णाली प्रदेशको सिंजा उपत्यका खस राज्यको राजधानी बनाएर खस राज्य खडा भयो ।
आजभन्दा धेरै वर्षपहिले अर्थात् द्वापरयुगको अन्त र त्रेतायुगसम्ममा नेपालको दक्षिणको भावर प्रदेश अत्यन्त घना (बाक्लो), जङ्गल हुनुको साथै हिंस्रक जनावरहरूको बाक्लो बस्ती थियो । त्यसैले नेपालको दक्षिण र पूर्वबाट कुनै पनि मानिस नेपालभित्र प्रवेश गर्नसक्ने अवस्था थिएन । त्यतिबेला जति पनि मानिस नेपालभित्र पसेका हुन् ती सबै नेपालको पश्चिम वा उत्तर भोट प्रदेश भएर पसेका हुन् ।
आजभन्दा करिब दुई लाख वर्ष पहिले यो काठमाडौं उपत्यका पानीले भरिएको ठूलो तलाउ वा दह थियो । उक्त दहको पानी बरोबर बाहिर बग्थ्यो र फेरि थुन्थ्यो । एकपल्ट प्रागैतिहासिक कालमा महाचीनबाट मञ्जुश्री बोध सत्व आएर दहको पानी फालेर बस्ती बसालेर गएको भन्ने किंवदन्ति छ तर खुद प्रमाण पाइएको छैन ।
यस्तै एकपल्ट फेरि दानासुरले दहको पानी थुनेर पुनः जलमग्न बनाइदिएर आफू थानकोटमा राजधानी बनाएर बसेको उल्लेख गरिएको छ । पछि द्वारकापुरका कृष्ण थुप्रै ग्वाला र अन्य यदुवशी योद्धाहरूसँगै उपत्यका पसेर दानासुरसँग युद्ध गरी तिनलाई कृष्णले वध गरी दहको पानी सबै चोभारबाट निकालेर पछि बस्ती बसालेर आफू मथुरा फर्के भन्ने पौराणिकता छ ।
उपत्यकाको प्रकृति हेर्दा त्यस्तो नभई, उपत्यकामा बेलाबखतमा आउने हुरि वतास, भूकम्पजस्ता प्राकृतिक प्रक्रियाले गर्दा दहको पानी छचल्किएर बरोबर होचो भागमा रहेको चुनढुङ्गाको चोभार गल्छी पग्लिंदै गएर साँगुरो गल्छी गहिरियो । दहको पानी बाहिर बगेपछि बनेको समथर मलिलो माटोको आकर्षणमा उपत्यकाबाहिरका मानिस बसाइँसराइ भएर बस्ती बनेको हुनुपर्छ ।
अब यस उपत्यकामा आदिवासीको रुपमा रहँदै आएका नेवारहरू कहाँबाट कसरी आए, सोबारे यहाँ सङ्क्षिप्त चर्चा गरिने छ ।
रामचन्द्रले श्रीलङ्काका राजा रावणलाई वध गरिसकेपछि तिनैका कान्छो भाइ विभीषणलाई श्रीलङ्काको राजा बनाइएको थियो । कट्टर वैष्णव विभीषणको श्रीलङ्कामा वैष्णव धर्मका एकछत्र बिगबिगी चलेपछि रावणका परम्परागत अनुयायी र वैष्णवेत्तर राक्षसहरू त्यहाँ बस्न सक्ने अवस्था भएन । भारतमा रामकै राज्य भएकोले त्यहाँ पनि बस्नसक्ने कुरा भएन । त्यसैले श्रीलङ्काका राक्षसहरूमध्ये एक ठूलो डफ्फा नेपालसम्म आएर उपत्यकामा प्रवेश गरी आफ्नो बसोबास स्थल बनाएको पौराणिक मान्यता छ । तिनीहरूले आफ्नो साथमा “भृगु सौहिता” भन्दा पनि भरपर्दो एवं महत्वपूर्ण ज्योतिषि ग्रन्थ ‘रावणसंहिता’ (रावण र मेघनाथ संवाद) ल्याएका थिए । त्यही ग्रन्थ काठमाडौंका एक पुराना बासिन्दाको घरबाट भारतीय अनुसन्धानकर्ता विद्वानले आफ्नो घर देवरियामा उनका भाइ वागीश दत्त शास्त्रीले लगेका थिए । सोही “रावणसंहिता” को आधारमा उनीहरूले अचुक भविष्यवाणी गरेर आज नाम र दाम कमाइरहेका छन् । यसैको आधारमा उपत्यकाका नेवार बासिन्दा त्यही राक्षस जातिको हुनुपर्ने तर्क छ ।
साँखुको बज्रयोगिनी माइको एक रुप उग्रतारा पनि हो । उग्रतारालाई श्रीलङ्कामा पनि शक्तिको देवताको रुपमा विशेष पुजिने गरिन्छ । उही उग्रतारारुपी बज्रयोगिनी यहाँ ल्याएर पुजिएको हँुदा तिनीहरूले नै उपत्यकाका नेवारहरू सोही श्रीलङ्कावासी रावणका अनुयायीहरू हुन् भनेका छन् ।
यसैगरी स्वस्थानी व्रतकथामा आधारित लवण्य देशको नाम उल्लेख छ । लावण्य देश भनेको साँखु हो । त्यस कथामा उल्लेख गरेका पात्रहरू गोःमय्जु, चन्द्रावती, नवराज राजा आदि श्रीलङ्काका हुन् भनिएका छन् ।
उत्तर भारतका रामचन्द्रका औरस छोरा लवको वंश हराएपछि दक्षिणावर्तका शासक रामचन्द्रका क्षेत्रज छोरा कुश वंशका सन्तानहरू पहिलो अयोध्या, त्यसपछि सिम्रौनगढमा पुगेर राज्य गर्ने राजा नाण्यदेवका छ पुस्तापछिका राजा हरिसिंहदेव तुलजाभवानीसँग इ.सं. १३२४ मा नेपाल आएको इतिहासमा उल्लेख गरिएको छ । उही हरिसिंहदेवसँगै उपत्यका पसेका दफ्फामा नेवारहरूमा परिणत भएको भनिएको छ । हरिसिंहदेवपछि दोलखातिर तीनपाटनमा पुगेर मृत्यु भएको र तिनकी रानी देवलदेवी र छोरा जगतसिंह रुद्रमल्लको कृपाले भक्तपुरको दरवारमा शरण पाएको भनी उल्लेख गरिएको छ ।
उपत्यकामा आकाश भैरवको नामले पुजिने देवता ‘वर्वरीका’ हुन् भनिएको छ । वर्वरीका भनेका भीमसेनका छोरा घटोत्कचका सन्तान काठमाडौंमा आकाश भैरव मन्दिरको उत्तरतिर भुइँमा प्वाल भएको घट्टेढुङ्गाको थानमाथि छत्र राखेको मन्दिरलाई वेतालको मन्दिर मानिन्छ । यस्तै भक्तपुरमा पनि बिस्केट जात्राको बेलामा तानिने भैरवनाथको रथ अगाडि राखेकोलाई वेताल भनिन्छ । त्यही वेताल नै घटोत्कच हो र वर्वरीका नै किराँती राजा यलम्बर हुन् भनिएको
छ ।
द्वापर युगमा यस युगको अन्त्यतिर अनिरुद्र हरणको प्रसङ्गमा भगवान कृष्ण वाणासुरसँग युद्ध गर्न आउँदा चन्द्रवंशी यादव योद्धाहरू पनि धेरै आए । कृष्णले आफ्नो चक्रद्वारा चोभारको गल्छी काटेर उपत्यकाका दहको पानी बगाएर उपत्यकाका फाँटलाई बस्नयोग्य बनाएपछि मनोरम, रसिलो, मलिलो उपत्यका देखेपछि चोभार वरिपरि, अन्य भञ्ज्या· र मलिला फाँटहरूमा र वाणासुरको राजधानी थानकोटमा यादवहरू रमाएर बसे भनिएको छ । हरिया वन, जङ्गल, चरणहरूमा दुधालु गाई पालेर बसे भने फाँटहरूमा खेतीपाती गरेर बसे । तिनीहरू नै पछि उपत्यकाका परिश्रमी कृषक कामदारहरको रुपमा परिणत भएका हुन् भनिएको छ । तिनीहरूले नै उपत्यकाका इन्द्रजात्रा चलाएर जीवित कुमारीका पुजा गर्ने गरेका हुन् । यी गोपालवंशी यादवहरूले नै वृन्दावनमा इन्द्रको पूजा बन्द गराए र गोवर्धन पर्वतको पूजा चलाएर जोरी खोज्ने इन्द्रको सेखी कृष्णले झारेको सम्झनामा इन्द्रजात्रा चलाएका हुन् ।
यस्तै शक्तिका प्रमुख बा¥ह पीठमध्ये केरलाका कन्याकुमारीलाई केरला र कर्नाटकमा बढी पुजिने गरिन्छ । यस्तै कुमार कार्तिकलाई पनि सबभन्दा बढी मानिने गरिन्छ । उपत्यकाका नेवारहरूको पनि आफ्नो मूलद्वार अगाडि कुमारका प्रतीक स्थापना गरेर प्रायः सधैंभरि पुजिने चलन छ । विभिन्न जात्रा, चाडपर्वमा कन्या कुमारीलाई जिउँदो देवताको रुपमा पुजिने चलन पनि भएकोले उपत्यकाका नेवारहरू तीनै दक्षिण भारत केरला कर्नाटक, महाराष्ट्र, गुजरातबाट यहाँ आएको हुनुपर्ने धारणा छ ।
उपत्यकामा यादववंशी ग्वालाहरूका ठूलठूला घना बस्ती देखेर पछि बस्न आएका जातिका मानिसहरूले “महतजनपद” अर्थात् महत्तजन (ठूला बस्ती ठूला मान्छे) भनेको शव्द बिगं्रदै गएर वा बिगारेर ‘महर्जन’ हुन गएको हो भन्ने अवधारणा छ । यसर्थ उपत्यकाका महर्जन र अन्य विभिन्न थर जातिका परिश्रमी कृषक नेवारहरू वैष्णवी देवी विशेष मानिने कारण गोपाल वंशीकै वंशज हुनुपर्ने भनिएको छ ।
उपत्यकाका श्रेष्ठहरूलाई पहिला पहिला श्रेष्ठी भन्ने गर्थे । भारतका केरला, कर्नाटक र महाराष्ट्र आदि राज्यहरूमा आजभोलि पनि सेट्टी, चट्टियारलाई श्रेष्ठीकै रुपमा मान्ने गरिन्छ । त्यसैले उपत्यकाका श्रेष्ठ र त्यहाँका श्रेष्ठीसँग सम्बन्धित भएको देखिन्छ ।
महाराष्ट्रको महावलेश्वर वरपर बसोबासमा रहेका प्रस्तर मूर्तिकार वा वस्तुकार र नगर बसाउने जातिलार्ई “स्थपति” भन्ने गरिन्छ । त्यहाँका उही स्थपति नेपालको उपत्यकामा आएर स्थापितमा परिणत भएको भनिएको छ । गुजरातका हीरा व्यापारी, हीरा काट्ने शिल्पी पारखीहरूलाई पालिखे भन्ने गरिन्छ । उही पालिखेहरू नेपाल उपत्यकामा पसेर ‘लाखे’ भएको भनिएको छ ।
भगवान बुद्धका प्रथम पाँच चेलामध्ये एक कौडिण्य ऋषिका सन्तान ब्राह्मण थिए । बौद्धिक धर्म छाडेर बौद्ध धर्म लिएकोले भारतमा बसिनसक्ंनु भएको हुँदा नेपाल आएका मिश्र थरका कौडिण्य गोत्रीय ब्राम्हण उपत्यकामा पसेर शाक्यमा परिणत भए ।
द्वारीका पुरी र सौराष्ट्र प्रदेशबाट आएका यदुवंशी नेवारहरूले अझै पनि दाहसंस्कारपछि अन्तमा बाँकी भएका एकटुक्रा अस्तु नदीमा सेलाउने चलन छ । यस्तो प्रथा द्वारीका पुरी र सौराष्ट्र प्रदेशमा पनि अहिलेसम्म विद्यमान छ ।
भक्तपुरका परिश्रमी कामदार किसान वर्गले बेलाबखतको चाड, पर्व जात्रामा नाच्ने लठीनाच, तिनीहरूको चालचलन, व्यवहार, आकृति, प्रकृति र स्वभाव गुजरातका शूरसेन प्रदेशका बासिन्दाहरूसँग मिल्दोजुल्दो देखिएको हुँदा भक्तपुरका किसान (कृषक) हरू त्यताबाट आएको हुनुपर्ने अनुमान गरिएको छ ।
कृष्णका वंशज यादव कृषकहरू र रामचन्द्र वंशज दक्षिण भारतीय क्षेत्रीय ब्राह्मण र वैश्यहरूको प्रभुत्व भएको समूहले बोल्ने भाषामा ती ती जाति र समुदायको स्पष्ट विशेषता समाहित देखिन्छ । एकाक्षरी भाषाका शब्द पचास प्रतिशतभन्दा बढी भएको, तान्त्रिक परम्परा र सङ्केतको आधार लिएको सङ्क्षिप्तीकरणको उत्कृष्ट उदाहरण भएको नेपालभाषा स्पष्ट भारोपेली समूहको हो भन्न सकिन्छ । जस्तैः वा, वाँ, वाः, कु, कू, तु, तू, पु, गः, जु, पा आदि एकाक्षरी भारोपेली समूहको हुनाले यहाँका आदिवासी भनेकाहरू निश्चय पनि भारतको दक्षिण केरला, कर्नाटक, महाराष्ट्र, श्रीलङ्का, गुजरातबाट तिब्बत पसेर उत्तरबाट नेपालको उपत्यकामा आएको हुनुपर्छ ।
यो लेख, श्रीकृष्ण गौतम नामका एक समालोचकले लेख्नुभएको लेखमा आधारित भएर तयार पारेको हुँ । वि.सं. २०५६ ताका नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको ‘तिमी बहिरी छौ र आमा’ नामका पुस्तकमा आधारित छ । यस लेखमा दिइएका प्रमाणहरू के कतिको सान्दर्भिक छ ? सोको विश्लेषण पाठकहरूसमक्ष नै समर्पण गरिएको छु । सुझावको लागि अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *