भर्खरै :

नेपाल संवत्बारे केही कुरा परिचय र ऐतिहासिकता

सुलोचना छ्वाजू
कार्तिक शुक्ल प्रतिपदाको दिन मनाइने नेपाल संवत् नेवार समुदायको मौलिक चाड म्हःपूजाको दिन पर्दछ । मल्लकालमा राष्ट्रिय संवत् तथा राजकीय संवत्को रुपमा चलेको यो संवत् वर्तमान समय पनि भव्य रुपमा मनाउने चलन रहेको छ । यति धेरै महत्व बोकेको यो संवत् कसले चलाए, कुन पृष्ठभूमिमा किन चलाए भन्ने कुरा इतिहासको गर्भमै लुकेको छ । तर पनि नेपाल संवत्को विषयमा विभिन्न स्वदेशी तथा विदेशी विद्वान र इतिहासकारहरूले आ–आफ्नो धारणा प्रस्तुत गरेका छन् । प्रामाणिक तथा तथ्यपूर्ण बन्न नसक्दा नेपाल संवत्को इतिहासबारे थप अध्ययनको आवश्यकता सबैले महसुस गरेका छन् ।
ई.सं. ८७९ अक्टोबर २० देखि चलेको नेपाल संवत् कुन परिस्थितिमा कसले चलाए भन्ने विषयमा विभिन्न विद्वानहरूबीच मतान्तर रहेको छ । कतिपय तर्कहरू त तथ्यपूर्ण नभएको अर्थात् विश्वास गर्न गा¥हो छ भने इतिहास अध्ययनको क्रममा कतिपय गलत सावित हुँदै आएका छन् । तापनि नेपाल संवत्को ऐतिहासिकतालाई सबैले बुझ्न जरुरी छ ।
एक अङ्ग्रेज सैनिक कर्क पेट्रिकले नेपाल संवत् सिम्रौनगढका राजा नान्यदेवले चलाएको हो भनेका छन् । उनले नेपाल विजय गरी आफ्नो सिम्रौनगढ राज्य स्थापना गरेको र नेपाल संवत् चलाएको भन्ने अनुमान लगाएका छन् । तर यो ऐतिहासिक तथ्यहरूको आधारमा मिल्दैन । वि.सं ९३६ मा नेपाल संवत् सुरु भएको हो भने नान्यदेवले वि.सं ११५४ तिर सिम्रौनगढमा राज्य स्थापना गरेको हो । यसबाट २१८ वर्षको फरक पाउन सकिन्छ । वि.सं ११६८ तिर नेपालमा नान्यदेवले आक्रमण गर्दा नेपालीहरूले नै हराएका थिए । यस युद्धमा नान्यदेव उपत्यका आएका थिएनन् । यसबाट कर्क पेट्रिकको यो विचार असत्य देखिन्छ । नान्यदेव नेपाल संवत्का प्रवर्तक त के सम्बन्धित नै होइनन् भनी थाहा पाउन सकिन्छ ।
त्यस्तै फ्रान्सका विद्वान सिल्भाँ लेभीका अनुसार नेपाल सातौं शताब्दीदेखि तिब्बतको अधीनमा थियो । नबौं शताब्दीको अन्त्यमा नेपाल मुक्त भएको अवसरमा नेपाल संवत् चलाए भनी व्याख्या गरिएको छ । यसमा लुसियानो पेटेक, रमेशचन्द्र मजुम्दारलगायत भारतीय विद्वानहरूले समेत नेपाल तिब्बतको अधीनमा थियो भनी स्वीकारेका छन् । तर यो हास्यास्पद तर्क हो । किनभने नेपाल कहिले पनि तिब्बतको अधीनमा थिएन–इतिहासले बताउँछ । सातौं शताब्दीमा नेपाल र तिब्बतको सम्बन्ध सुमधुर थियो भन्ने कुरा उदयदेवका छोरा नरेन्द्रदेवले आफ्नो शासन फिर्ता पाउन तिब्बतले सहयोग गरेको कुराबाट थाहा पाउन सकिन्छ । वि.सं. ७६१–६२ तिर नरेन्द्रदेवका छोरा शिवदेव द्वितीयको पालामा नेपाल–तिब्बत युद्धमा तिब्बती राजा नै मारिएका थिए । त्यसकारण नेपालले तिब्बतको आधिपत्य कहिले स्वीकारेको छैन । सार्वभौम र स्वतन्त्ररुपले नेपालका राजाहरूले शासन गर्दै आएको देखिन्छ । सिल्भाँ लेभीको यो तर्क पनि विश्वासिलो देखिंदैन ।
भारतीय इतिहासकार रमेशचन्द्र मजुम्दारले शक संवत् ८०१ पुगेपछि ८०० लाई छाडेर १ मात्र प्रयोग गरी संवत्को प्रयोग गरे र यसैलाई पछि नेपाल संवत् भनी नामकरण गरेको हो भनी विचार राखे । उनले शक संवत्लाई नै निरन्तरता दिएको हो भनेका छन् । तर यो तर्कसङ्गत छैन किनभने त्यतिबेला ८०० लाई छोड्नुपर्ने कुनै कारण नै थिएन भनी नेपाली इतिहासकारहरूको विश्लेषण रहेको छ ।
वंशावलीमा नेपाल संवत्को विषयमा एउटा कथा लेखिएको छ जसलाई कतिपय विद्वानहरूले स्वीकारेका छन् । आनन्द मल्लको पालामा साख्वाल भन्ने व्यापारीले नेपाल संवत् चलाएका हुन् भनी मानेका छन् । यसैलाई आधार बनाएर आजभोलि नेपाल संवत् मनाइँदै आएको छ । भक्तपुरमा आनन्द मल्ल र कान्तिपुरमा उनका दाजु जयदेव मल्लको शासनकालमा भक्तपुरका एकजना ज्योतिषिले भतिखु र विष्णुमतीको दोभानको लखुतीर्थबाट शुभ मूर्हतमा बालुवा झिके, त्यो बालुवा सुन हुन्छ भनी राजालाई सुनाए । राजा आनन्द मल्लले केही भरियाहरूलाई बालुवा लिन पठाए । त्यही कुरा कान्तिपुरका एक व्यापारी साख्वालले थाहा पाई भरियाहरूलाई पैसाको लोभ देखाई उक्त बालुवा आफ्नो घरमा राख्न लगाए । पछि भरियाहरूले अर्को बालुवा भरेर लगे । साख्वालले उक्त सुनले कान्तिपुरका सम्पूर्ण प्रजालाई ऋणमुक्त बनाए र नेपाल संवत् चलाए । तर गोपालराज वंशावलीलगायत अन्य ऐतिहासिक स्रोतहरूमा शङ्खधर साख्वालको नाम आएको छैन । कसैले उनलाई आनन्ददेवको पालामा होइन, हर्षदेव र वामदेवको पालाको हो भनी मानेका छन् । यसबाट यो तर्कलाई कतिपय इतिहासकारहरूले स्वीकारेका छैनन् ।
त्यस्तै कतिपय इतिहासकारहरूले नेपाल संवत्का प्रवर्तक राघवदेव हो भनी स्वीकारेका छन् । राघवदेवले लिच्छवि वंशलाई हटाएर ठकुरी वंश कायम गरेको हुनाले नेपाल संवत् चलाए भनी ठोकुवा गरेका हुन् । तर गोपालराज वंशावलीमा अरु वंश परिवर्तन भएको उल्लेख भएता पनि राघवदेवले राज्य स्थापना गरेको कुरा उल्लेख छैन । राघवदेवभन्दा अघि मानदेव नाम गरेका राजाले राज्य चलाएका थिए । यसबाट कुनै वंश परिवर्तन भएकोले यो संवत् चलाएको होइन भन्ने थाहा पाउन सकिन्छ ।
नेपाल संवत्का विषयमा माथिका विभिन्न तर्कहरू रहेता पनि अधिकांश विद्वानहरूले राघवदेवका समयमा नै नेपाल संवत्को सुरुवात भएको हो भनी मानेका छन् । त्यसबेलाको परिस्थितिमा राघवदेवले किन नेपाल संवत् चलाउनुप¥यो भन्ने विषयमा डा. डिल्लीरेमण रेग्मीले त्यसबेला ठूलो महामारी फैलेको र त्यसबाट मुक्ति पाउन पशुपतिमा पूजा यज्ञादी गरिएपछि महामारी रोकिएको हुँदा त्यसै दिनको सम्झनामा नेपाल संवत् चलेको हुनसक्ने भनी अनुमान गरिएको छ । इतिहासकार सिसिल बेण्डालले राघवदेवको शासनकालका कानुन अनि उनले सुरु गरेको नेपाल संवत्को विषयमा चर्चा गरेका छन् । धनबज्र बज्राचार्यले पशुपतिको सम्मानमा नेपाल संवत् चलाएको मानेका छन् । लुसियानो पेटेकले प्रकाशित गरेको सङ्क्षिप्त वंशावलीमा “राघवदेवले पशुपतिनाथलाई लक्ष्य गरेर संवत् चलाए” भन्ने उल्लेख छ । त्यस्तै इतिहासकार धुन्दीराज भण्डारीले नेपालको ऐतिहासिक विवेचनामा राघवदेवले नेपाल संवत् चलाएको भनी लेखिएको छ । टोनी हागनको पुस्तक ‘नेपाल’ मा राघवदेवले नै नेपाल संवत् सुरू गरेको लेखेका छन् ।
नेपाल संवत् सुरु हुनुभन्दा ३ वर्षअघि लेखिएको सहोत्तरतन्त्रनामक ग्रन्थमा मानदेवको नाम छ । राघवदेव उनैका छोरा हुन् र उनले आफ्नो शासनकालमा संवत् चलाए भनी मानेका छन् । यसप्रकार राघवदेव र नेपाल संवत् चलाएको समय करिब करिब मिल्न आएकोले धेरैजसो विद्वान तथा इतिहासकारहरूले नेपाल संवत् राघवदेवले नै चलाएको हो भन्ने कुरामा सहमत छन् ।
वर्तमान समयमा नेपाल संवत् भनेपछि शङ्खधर साख्वाको नाम बढी प्रचारमा आउँछ । उनले आफ्नो सामथ्र्यबाट प्रशस्त सम्पत्ति कमाए, सो सम्पत्तिले कान्तिपुरका मानिसको ऋण चुक्ता गरिदिए अनि राजाको स्वीकृति लिएर नेपाल संवत् चलाए भन्ने गरिएको छ । यस पक्षका विद्वानहरूले पशुपतिको दक्षिणी गेटमा रहेको प्रस्तरको सालिकलाई साख्वाको मानेका छन् । तर यो सत्य होइन किनकि उक्त सालिक भगिरथको हो ।
यसप्रकार नेपाल संवत्को विषयमा विभिन्न तर्क रहेता पनि यसको विषयमा यही हो भनेर किटानका साथ भन्न सकिने यथेष्ट प्रमाणहरू छैनन् । मल्लकाल तथा शाहकालमा समेत राजकीय संवत्को रुपमा रहेको नेपाल संवत्को विषयमा थप अध्ययनको आवश्यकता छ । नेपाल संवत्को प्रयोग नेपालबाहेक तिब्बत, बङ्गाललगायत अन्य देशहरूमा पनि भएको देखिन्छ । चन्द्र शमशेरको पालामा भने यो संवत् परिवर्तन गरेर विक्रम संवत् प्रचलनमा ल्याएको देखिन्छ । विक्रम संवत्मा वर्षको ३६५ दिन हुन्छ भने नेपाल संवत्मा ३५४ दिन हुन्छ ।
के यो नेवारको मात्र संवत् हो ?
नेपाल संवत् मल्लकाल, शाहकाल र राणाकालमा समेत राजकीय संवत्को रुपमा चलेको थियो । वर्तमान समयमा पनि नेपाल सरकारले यसलाई राष्ट्रिय संवत्को रुपमा स्वीकारेको छ । नेपालमा मनाइने विभिन्न चाडपर्वहरू नेपाल संवत्को पात्रोअनुसार मनाइने चलन छ । केही मानिसहरूले नेपाल संवत् नेवारहरूको मात्र हो भनी जाति विशेष रुपमा लिएका छन् र गैरनेवारहरू यसलाई मान्न अस्वीकार गर्छन् । यद्यपि यो नेवारहरूको मात्र संवत् होइन । नेपाल संवत्को सम्मान गरौं ।
वर्तमान समयमा नयाँ पुस्तालाई नेपाल संवत्को महत्व थाहा नहुँदा जथाभावी विकृति भित्रिदैछ । नयाँ वर्षको नाउँमा मोजमस्ती गर्नेे, अनावश्यक रुपमा मोटरसाइकल ¥याली गर्ने, होहल्ला मच्चाउने, लागूपदार्थ सेवन गर्ने, जाँड रक्सीलगायत विदेशी रक्सी, महँगा वाइन खानेजस्ता कु–संस्कृतिको विकास हुँदैछ । नेपाल संवत्को सान्दर्भिकर्ता नै बङ्ग्याउने काम भइरहेको छ । यसप्रति हामी सम्पूर्ण नेपाली जनता सचेत हुन जरुरी छ । यसबारे नयाँ पुस्तालाई सभ्य र सु–संस्कृत तरीकाले मनाउन उत्प्रेरित गर्नुपर्ने आजको आवश्यकता हो ।
(लेखिका नेपाली इतिहास, संस्कृति र पुरातत्व अध्ययनका विद्यार्थी हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *