भर्खरै :

दीपावली, मृत्यु उत्सव

काँचा इलैया
दीपावलीबारे मूलतः दुई वटा कथाहरू चर्चित छन् । पहिलो, रावणको बध गरी राजा राम अयाध्या फर्केर राज्याभिषेक गरेको दिन भनी दीपावली मनाएको कथा । दोस्रो, श्रीकृष्ण र उनकी श्रीमती सत्तमाले असुर नर्कासुरको बध गरेको दिनको रुपमा दीपावली उत्सव मनाइएको कथा । दुवै कथामा शत्रुको बधलाई उत्सवको रुपमा मनाइएको छ ।
रामले रावण र श्रीकृष्णले नर्कासुरको बध गरेको बारे उत्तर र दक्षिण भारतमा फरक–फरक बुझाइ छन् । दीपावली भनेको दियो बाल्ने, नयाँ लुगा लगाउने, आफूले मानेको देवताको पूजाअर्चना गर्नुमात्र होइन, बरू ठूलो मात्रामा बारुद पटाका पड्काउनु पनि भइरहेको छ । पटाकाले वायुमण्डलमा धेरै प्रदूषण फैलाएको छ उत्सव मनाउनेको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ । दीपावलीको दिन सहरी क्षेत्रमा पड्काइने पटाकाका कारण फैलिने प्रदूषणले मानिसलाई श्वास फेर्न पनि गा¥हो हुने गर्दछ । आगलागी र प्रदूषणका कारण धेरै मानिसहरू, विशेषतः केटाकेटीहरूको मृत्यु हुने गरेको छ ।
प्रथमतः दीपावली मनाउनुसँग जोडिएको रामको कथाबारे अध्ययन गरौं । कुनै समाज वा राष्ट्रलाई समावेशी बनाउन त्यो समाज वा राष्ट्रमा मनाइने चाड किन मनाइन थालेको हो र कसरी मनाइँदै गरेको छ भन्ने कुरा राम्ररी बुझ्न निकै महत्वपूर्ण हुने गर्दछ । राष्ट्र वा राष्ट्रको कुनै एउटा हिस्साले रामको जन्म दिन वा उनको राज्याभिषेकको दिनलाई उत्सवका रुपमा मनाए कुनै आपत्तिको कुरा भएन । तर त्यही दिन रावणको पुतला किन जलाइन्छ ?
एउटा मिथकीय पात्रको रूपमा रावण भनेका द्रविड, शुद्र, दलित, आदिवासीले अपनाइएका र गहिरो सम्मान गरिएका पात्र हुन् । महात्मा फुले, पेरियार रामासामी नायकर र बीआर अम्बेदकर आदिले रावणको भिन्न (सकारात्मक) छवि प्रस्तुत गरेका छन् । के त्यसो भए प्रधानमन्त्री कार्यालयले खराब समुदायको रुपमा चित्रण गरिएका वा रावणप्रति सम्मान गर्ने जाति अथवा आदिवासी समुदायमा जन्मे–हुर्केका, इतिहासले शिकार बनाएका मानिसको भावनालाई चोट पु¥याउनु उचित हो ?
भारतका द्रविडन र दलित–बहुजनहरूले रावणलाई आफ्नो प्रतिनिधिका रुपमा चित्रण गर्ने गर्दछन् । रावणकी आफ्नै बहिनी सुपर्णखाको सुन्दर शरीरलाई रामचन्द्रको निर्देशनमा उनका भाइ लक्ष्मणले चोट पु¥याएका थिए । (सुपर्णखाको नाक काटिदिएका थिए ।) त्यसैको बदला लिन रावणले रामचन्द्रकी श्रीमती सीताको अपहरण गरेको द्रविडन र दलित बहुजनहरूको विश्वास छ । तर रावणले सीताको शरीर छोएको सम्म थिएनन् । द्रविडन र दलित बहुजनहरूले सुपर्णखा र सीता दुवैलाई आत्मसम्मान र आत्मस्वाभिमानको समान अधिकार भएका महिलाहरूको रुपमा लिने गरेका छन् । तर रावणको मात्र किन राक्षसीकरण गरिंदै छ ?
शासक जाति वा वर्गका लेखकहरूले नै मिथकहरू रचना गर्ने कुरा हामीलाई थाहा छ । आफ्नो शासन जोगाउनमात्र उनीहरूले त्यसो गर्ने गर्दैनन् बरू ऐतिहासिक रुपमा उत्पीडनमा परेका जनतामा रहेको ज्ञान र पहिचानसमेतलाई नामेट पार्न उनीहरूले त्यसो गर्ने गर्दछन् । रावण द्रविडन र दलित बहुजन जनताका प्रतिनिधि हुन् भन्ने दृष्टिकोण वर्षौं वर्षदेखि फैलिरहेको छ । निःसन्देह रामायण र त्यो कथाका विभिन्न पात्रलाई बुझ्ने बहुआयाम छन् । रामको बारेमा पनि धेरै थरी बुझाइ छन् । धर्म र अधर्मको मापदण्ड पनि वर्ग र जातिअनुसार भिन्न–भिन्न हुँदै आएको देखिन्छ । जसले रामचन्द्रको अर्चना गर्न चाहन्छन्, उनीहरूलाई त्यो अधिकार छ । त्यसो भनेजस्तै जसले रावणको अर्चना गर्न चाहन्छन् वा उनको प्रशंसा गर्छन्, उनीहरूलाई पनि त्यो अधिकार हुनुपर्दछ ।
एउटा धर्मनिरपेक्ष राष्ट्रले त्यसकारण आफ्नो निष्पक्षता कायम राख्नुपर्दछ । यदि राज्यका निकायहरू स्वयं रावणको पुतला दहन गर्ने कर्ममा सहभागी भए उनीहरू ऐतिहासिक रुपमा कुनै एउटा पक्षको संस्कृतिलाई पक्षपोषण गरिरहेका हुनेछन् । उनीहरू पनि उत्पीडकको खेमामा उभिएको मानिनेछ ।
त्यस्तै गरी दक्षिण भारतमा दीपावली भनिने चाड श्रीकृष्णले नर्कासुर राक्षसको बध गरेको दिन भनी मनाइन्छ । नर्कासुरलाई द्रविडन आदिवासीका प्रतिनिधि पनि मानिन्छ । कालो वर्णका अजङ्ग नर्कासुर द्रविडन आदिवासीका पुर्खा भएको विश्वास छ । कालो वर्णका अजङ्ग शरीरले द्रविडन जातिको लडाकु परम्परालाई सङ्केत गर्दछ । किन कसैको मृत्युलाई उत्सवको अवसर मानिन्छ ? यदि आतङ्कवादीहरूले राजीव गान्धीको निर्मम हत्यालाई उत्सवको रुपमा मनाए, हामीले त्यसको प्रतिक्रिया कस्तो जनाउँदा हौंला ? राजीव गान्धीलाई श्रीलङ्कामा हत्या र विनाशका लागि जिम्मेवार व्यक्ति मान्ने मानिसहरूले उनको हत्याको दिनलाई खुसियालीको दिनका रुपमा उत्सव मनाए कस्तो होला ? राजीव गान्धी हत्याको त्यो ऐतिहासिक घटनाको जवाफ प्रभाकरणको हत्या र भारतमा त्यो हत्यालाई उत्सवको रुपमा मनाउनु कदापि हुनसक्दैन । इन्दिरा गान्धीको हत्या गरेका खालिस्तानीहरूका आँखामा उनी खराब प्रधानमन्त्री थिइन् । यदि खालिस्तानीहरूले इन्दिरा गान्धीको हत्यालाई बारुद पटाका पड्काएर र दियो बालेर उत्सव मनाए हामीले कस्तो महसुस गरौंला ?
हत्या र प्रतिशोधका त्यस्ता घटनालाई उत्सवको अवसर बनाइनु सही होइन । त्यसले विभिन्न समूहबीच रहेको शत्रुतापूर्ण सम्बन्धको स्मरणमात्र गराइरहनेछ । कदाचित गलत सांस्कृतिक अभ्यासले चाडवाडको रुपमा निरन्तरता पाइरहेको अवस्थामा पनि राज्य त्यसबाट टाढा रहनुपर्ने हुन्छ । आदिवासी द्रविडन जनताको जीवनमा महात्मा फुलेका लेख–रचना र गतिविधि महत्वपूर्ण भूमिकामा आउनुअघि सम्म उनीहरूले रावण, नर्कासुरलगायतका मिथकीय पात्रहरूलाई नायकको छविमा हेरेका थिएनन् । आजभोलि उनीहरू रावण, नर्का र बली जस्ता पात्रलाई आफ्ना गैरहिन्दू नायकका रुपमा बुझ्ने गरेका छन् । इतिहाससम्बन्धी आदिवासी जनताको यो दृष्टिकोणलाई किन अरु नागरिक समाजले सम्मान नगर्ने ?
आजभोलि हामी कहाँ रावण र नर्कासुरलाई आफ्नो प्रतिनिधित्वमूलक पात्र मान्ने विद्वान् समूहहरू पनि बनिसकेका छन् । कम्तीमा यसले मानिसहरूलाई किन दिवाली वा दीपावली चाडलाई जीवनको चाडको रुपमा नभई मृत्युको चाडका रुपमा मानिरहेका ?
क्रिस्चियनहरूले जब जिससको जन्म दिवस मनाउन सुरू गरे, प्रतिकारमा जिससको हत्या गर्ने पारसीहरूले उनलाई काठका मुढामा झुण्ड्याएको दिनको रुपमा उत्सव मनाउन थाले । समयान्तरमा पारसीहरूले आफ्नो उत्सवको पश्र्वमा रहेको क्रुरताको कथा बुझे अनि मानव इतिहासमा त्यस्तो दिन पनि आयो जुन दिनदेखि जिससका शत्रुका उत्तराधिकारीहरूले जिससको जन्म दिन मनाउन थाले । आज क्रिसमस संसारको सबभन्दा धेरै मानिसले मनाउने चाड बनेको छ । रामको जन्मलाई दियो बालेर, नयाँ लुगा लगाएर, मीठो खाना खाएर मनाउने भारतीय जनतालाई त्यसो उत्सव मनाउन दिऊँ । कृष्णजन्माष्टमी मनाउनेलाई पनि मनाउन दिऊँ । त्यसो गर्दा कसैलाई केही समस्या हुनेछैन ।
तर कसैको मृत्युको उत्सव मनाउने दिमाग भनेको क्रुर र खराब दिमाग हो । महात्मा फुलेको विचारमा ऐतिहासिक रुपमा शुद्र र अति शुद्र जातिहरूले कसैको मृत्यु वा हत्यालाई उत्सवको रुपमा कहिल्यै मनाएका थिएनन् । तर आज दिवाली उनीहरूको पनि चाड बनेको छ । बहुसांस्कृतिक राष्ट्रमा हामी सबैले जन्मको अर्चना गर्न पाउने अधिकारको रक्षा गर्नुपर्दछ, मृत्युको उत्सव मनाउन होइन । हामीले सिर्जनशीलता र उत्पादनशीलतालाई खुसियालीको उत्सवको रुपमा मान्नुपर्दछ, ध्वंसको होइन ।
लेखक भारतको हैदराबादस्थित मौलाना आजाद राष्ट्रिय उर्दु विश्वविद्यालयअन्तर्गत सामाजिक बहिष्करण तथा समावेशी नीति अध्ययन केन्द्रका निर्देशक हुनुहुन्छ ।
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *