भर्खरै :

क्रान्तिको सुरुवात

मरिया प्रिलेजायभा
सेर्दोभोल्स्काया सडकदेखि स्मोल्नी करिब दस १० किलोमिटर टाढा थियो । ट्रलीबस कतै देखिएको थिएन । मानिसहरू घरैमा लुकिबसेका थिए । चुक घोप्टाएजस्तो अँध्यारो रात थियो । एउटा हातले अर्को हात भेटाउनै नसकिने । पाइला बेलाबेला हिलोमा पर्थे । हावाले अनुहारमा बेलाबेला थप्पडाउँथ्यो ।
भ्लादीमिर इल्यीच हावा छिचोल्दै छाती तन्काई टाउको निहुराएर हिँडिरहेका थिए ।
“रोकिनुस्, रोकिनुस् !” एइनो राहियो (लेनिनका अर्दली) ले जोडजोडले चिच्यायो । अघिल्तिर ट्रलिबस आइरहेथ्यो । त्यहीँ नजिकै त्यसको बिसौनी थियो । ट्राम रोकियो, उनीहरू दौडेर त्यसमा चढे । त्यो लगभग खाली नै थियो र डिपोमा फर्किरहेको थियो । ठीकै भयो, कम्तीमा आधा बाटो त हिँड्न परेन ।
लेनिनले अँध्यारोमा शरद्को निरस रात नियालिरहेथे । सशस्त्र सिपाहीहरूले भरिएको एक ट्रक ट्रलिबसनजिकै आयो र उछिन्यो । फेरि दोस्रो ट्रक पनि आयो ।
“आज पुँजीपतिहरूलाई धुलो चटाइनेछ,” कसैले भन्यो ।
“ट्रलीबस डिपो जाँदै छ, सबै ओर्लिनुस्,” खलाँसीको आवाज सुनियो । लेनिन र राहिया फेरि सुनसान र अँध्यारो सडकमा हिँडे । युन्कर बाटामा भेटिने डर थियो ।
त्यसैबेला इँटा बिछ्याइएको बाटोमा घोडाको टकटक सुनियो । अघिल्तिरबाट दुई घोडाचढी युन्कर आइरहेथे ।
एउटाले जोडले लगाम तान्यो । घोडा हिन्हिनाउँदै पछिल्ला खुट्टाले उभियो ।
“तेरो अनुमतिपत्र खै !” युन्करले राहियासँग सोध्यो ।
राहियाको साथी बुढोमा युन्करहरूले कुनै चासो दिएनन् । बुढासँग केको खतरा ! बुढो पट्टी बाँधिएको गाला हातले छोपेर छोटोछोटो पाइला चाल्दै अगाडि बढ्यो ।
“कस्तो अनुमतिपत्र ?” नजानेको बहाना बनाउँदै राहियाले जवाफमा सोध्यो । उसले यताउताका कुरा गर्दै लेनिनलाई बाटो काट्ने मौका दिन चाहन्थ्यो ।
“मलाई थाहा छैन, यो अनुमतिपत्र कहाँ पाइन्छ । फेरि किन चाहियो ? अनुमतिपत्र नभएपनि हेर म नाथे मजदुर न हुँ ?” एक युन्करले गाली गर्दै कोर्रा उठायो ।
“छोड्दे भो,” अर्कोले उसलाई रोक्यो । दुवै घोडचढी आफ्नो बाटो लागे । राहिया पनि लेनिन गएतिर दौडियो ।
“धन्यवाद,” राहियाले भेटाइसकेपछि लेनिनले भने ।
स्मोल्नीअगाडिको विशाल मैदान । यसको माझैमा एउटा सडक थियो । त्यहाँ कताकति रूख र झाडीहरू उम्रिएका थिए । मैदान मानिसको भीडले कोलाहलमय थियो । ठाउँठाउँमा आगो बलिरहेथ्यो, फिलिङ्गो उडिरहेथ्यो । सिपाहीहरू आगोको वरिपरि उभिएर आगो तापिरहेका थिए । एक पछि अर्को ट्रक स्मोल्नी पुगिरहेथे । तिनबाट हतियारधारी जहाजी र मजदुर ओर्लिरहेथे, स्मोल्नीमा जम्मा भइरहेथे ।
मैदानमा सैनिकहरूलाई पङ्क्तिबद्ध हुने आदेश दिइयो । जताततै भीड र कोलाहल थियो । स्मोल्नीनजिकै तोपहरू राखिएका थिए । प्रवेशद्वारसामु द्वारेहरू उभिएका थिए । स्मोल्नीको लामो भवनका तीनै तलाका झ्यालहरू उज्यालोले झल्किरहेका थिए । तेज प्रकाशले जगमगाइरहेको स्मोल्नी र उत्तेजनाले धप्धपाउँदा आँखा भएका मानिसहरूको यो दृश्य औधी शानदार थियो ।
लेनिनको मुटुको ढुकढुकी बढिरहेको थियो । आखिर त्यो दिन, त्यो पल आयो नै । यसैको लागि उनले आजसम्म सङ्घर्ष गरेका थिए ।
लेनिन र राहियालाई स्मोल्नीमा पस्न दिइयो । लेनिनको ओभरकोटका टाँक खुल्लै थिए । हात खल्तीमा थिए । नक्कली कपाल उनले भुलिसकेका थिए । लामा पाइलाले हिँड्दै गर्दा उनले मानिस र हातहतियारका बाक्साले भरिएका गल्लीहरू पार गरे र सिधै तेस्रो तलामा रहेको सैनिक क्रान्तिकारी समितिको कोठातर्फ लम्किए ।
समितिका सबै सदस्य त्यहाँ उपस्थित थिए । पछिल्लो बा¥ह घण्टादेखि त्यहाँ बैठक चलिरहेको थियो । क्रान्तिलाई कार्यरूप दिने सवालमा छलफल भइरहेको थियो ।
बीचबीचमा बारम्बार लालगार्ड, सैनिक दलहरू र कलकारखानाका हुलाकी आइरहन्थे ।
लेनिन कोठामा प्रवेश गरे । उनले टोपी उतारे, सँगै नक्कली कपाल पनि उतारे । यसको कुनै आवश्यकता थिएन ।
सैनिक क्रान्तिकारी समितिका दुब्लापातला र अँनिदाले आँखा सुन्निएका अध्यक्ष निकोलाई इल्यीच पोद्वेस्की लेनिनतर्फ लम्किए ।
“भ्लादीमिर इल्यीच !”
लेनिनको आगमनले उनी निकै हर्षित थिए । लेनिनसँगै जोस र जाँगर पनि आएझैं देखिन्थे । पोद्वेस्की लेनिनले के भन्नेछन् भनी अधीर भएर प्रतिक्षा गरिरहेका थिए ।
“ढिलो भनेको मृत्यु हो !” लेनिनले छिटोछिटो तर दृढतापूर्वक भने । “हामीले तारघर, टेलिफोन एक्सचेन्ज, रेलवे स्टेशन र पुलहरूमाथि कब्जा गर्नु छ, अहिल्यै, यसैरात ।” सैनिक क्रान्तिकारी समितिको अर्थात् क्रान्तिको मुख्यालय भएको ठाउँमा, भर्खरै लेनिन आएको ठाउँमा एक हुलाकी दौड्ँदै आयो । “लेनिन आउनुभएको छ !” स्मोल्नीभरि बिजुलीजस्तै यो खबर फैलियो । हुलाकीहरूलाई आदेश दिइयो । सैनिक क्रान्तिकारी समितिको आदेश थियो– तारघर, टेलिफोन एक्सचेन्ज, रेल्वे स्टेशन, पुलहरू र सबै सरकारी कार्यालयहरू कब्जा गरियोस् ।
“लालगार्ड, सावधान !” स्मोल्नीअगाडिको मैदान गुञ्जियो । आगो दन्किरहेको थियो । सशस्त्र मजदुरहरूले भरिएका ट्रकहरू अक्टोबरका रातमा हान्निएर हराइरहेका थिए । सिपाहीं र जहाजी दल पनि सैनिक क्रान्तिकारी समितिको आदेश पूरा गर्न निस्किरहेका थिए ।
२४ अक्टोबर (ग्रिगोरी क्यालेण्डरअनुसार ६ नोभेम्बर) । रातमा सशस्त्र मजदुरहरू र क्रान्तिकारी सैनिक दलहरूले रुसको राजधानी पेत्रोग्रादलाई आफ्नो कब्जामा लिए ।
(त्यस दिनको) महान् अक्टोबर क्रान्ति सम्पन्न भयो ।
(यो प्रसँग ‘लेनिन कथा’ नामक पुस्तकबाट अनवाद गरिएको हो । अनुवादक ः माधव अधिकारी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *