भर्खरै :

मीठो “जुजुधौ”

नीरज
नेपालभाषाका विभिन्न पत्रिकामा प्रकाशित रामशेखर नकर्मीका निबन्धलाई मृत्युपर्यन्त सङ्कलन गरी ‘कुतः पिकाक, भक्तपुर’ ले नयाँ कृतिको रुपमा ‘जुजुधौ’ प्रकाशित गरेको छ । सङ्कलित रचनालाई ‘फ्ल्यासब्याक’ विधा भनिएको छ । ‘फ्ल्यासब्याक’ शब्दको अर्थ ‘संस्मरणात्मक’ पनि हो । ‘जुुजुधौ’ मूलतः आत्मपरक निबन्धको सङ्गालो भन्दा उपयुक्त हुनेछ । कतिपय निबन्ध आत्मपरक निबन्धका विशेषताभन्दा भिन्न छन्, तथापि तिनले पनि लेखकको जीवनका कुनै न कुनै आयाम उजागर गरेका छन् ।
कृतिमा बा¥ह निबन्ध सङ्ग्रहित छन् । लेखकको बाल्यकालदेखि जीवनको उत्तराद्र्धसम्मका घटना र भावनालाई ती निबन्धले समेटेका छन् । बालककालमा बुबाको गोजीबाट पैसा चोरेका घटनादेखि युवक कालका प्रेम भावसम्म, वयस्क जीवनको जिम्मेवारीबोधदेखि उत्तराद्र्धमा मृत्युपुकारसम्मका भावना ती निबन्धले समेटेका छन् । तर हरेक निबन्धले बोकेको साझा विशेषता भनेको हास्यरस र व्यङ्गविनोद हुन् ।
लेखकले अधिकांश निबन्धमा आफ्नो जीवनका (सम्भवतः अविस्मरणीय) घटनाको वर्णन गरेका छन् । तर पाठकले भने ती निबन्ध पढ्दै जाँदा आफ्नै अनुभव पनि लेखकको अनुभवसँग मिसिएको आभास गर्दछन् । हरेक निबन्धका पात्रमा आफ्नो काया पनि पाठकले बोध गरिरहेको हुन्छ । कदाचित पात्रमा आफू नभेटाए पनि समाजका कोही न कोही पात्र निबन्धको गतिसँगै पाठकको मनमा खेलिरहेको हुन्छ । निबन्धकारको यो लेखकीय सफलता हो । उनले आफूलाई पात्रको रुपमा प्रस्तुत गरेर समाजका अनेकन पात्र र सामाजिक प्रवृत्तिलाई व्यङ्ग गरिरहेको महसुस हुन्छ ।
‘जि नं वयेगु म्वाय्सें’ र ‘अद्भूत इच्छा’ दुई निबन्धबाहेक अरु सबै निबन्धले लेखक रामशेखर नकर्मीको जीवनका विभिन्न समयबारे जानकारी दिन्छन् । कलाकार, नाटककार र लेखकका रुपमा मात्र रामशेखर नकर्मीलाई चिनेका कतिपय मानिसको निम्ति उनका जीवनका अरु थुपै्र पत्र यो निबन्धसङ्ग्रहमा भेटाउन सकिन्छ । उनको कलाकार र लेखक व्यक्तित्वमा नदेखिएका बाल्यकालीन समयदेखि जागिरे जीवनका विभिन्न समयलाई पनि यो निबन्धसङ्ग्रहमा सङ्ग्रहित गरिएको छ । त्यस हिसाबमा यो रामशेखर नकर्मीको आत्मवृत्तान्तसरहको पुस्तक हो ।
सामान्यतः लेखक नकर्मीले आफ्ना निबन्धमा चर्चा गरेका घटना अरु धेरै मानिसको जीवनमा भइरहेका, घटिरहेका घटना हुन् । मानिसका जीवनमा त्योभन्दा रोचक र दुःखद् घटना पनि भएका हुन्छन् । तर लेखक हुनुको एउटा फाइदा भनेको त्यस्ता घटनालाई लेखकले सामाजिक मानसपटलमा सङ्ग्रह गर्ने क्षमता राख्दछ । रामशेखर नकर्मीले पनि औसतमा भइरहने त्यस्तै घटनालाई आफ्ना लेखकीय क्षमताको उपयोग गरी अभिलेखीकरण गरेका छन् ।
जीवनको उत्तराद्र्धमा रामशेखर नकर्मीको अवस्था देख्दा हृदयचन्द्रसिंह प्रधानको नाटक ‘मरूभूमिको लेखक’ का मूल पात्रको सम्झना हुनेगथ्र्यो । जीवन आदर्शमा ‘मरूभूमिको लेखक’ को मूल पात्र र नकर्मीबीच केही दूरी हुनसक्दछ । तर मरूभूमिको लेखक र नकर्मीको आर्थिक विषमतापूर्ण जीवनमाथि विचार गर्दा कतिपय पर्यवेक्षकले यस्तो तुलना गर्नसक्दछन् । २०७२ सालको भूकम्पपछि भक्तपुरको महेश्वरी खेलमैदानको अस्थायी शिविरमा बसेका ‘देशकै गनिएका लेखक र कलाकार’ को अन्तर्वार्ता गर्ने मौका प्राप्त भएको थियो । अत्यन्त विषाद्पूर्ण समय सामना गरिरहेका थिए–नकर्मी । मनभित्रका विषादलाई उनले निकै भावुक भएर व्यक्त गरेका थिए । तर उनको अभिव्यक्तिभित्र फेरि पनि हास्य थियो, व्यङ्ग्य थियो ।
रामशेखर नकर्मीको साहित्यको विशेषता नै जीवनका कठोरतम यथार्थलाई समेत व्यङ्ग्य र हास्य रसको मिसावटसहित प्रस्तुत गर्नसक्नु हो । उनी जीवनका जटिल वास्तविकतामा समेत हाँस्ने र हँसाउने शैलीको खोजी गरिरहेका हुन्छन् । त्यसको अर्थ उनी जीवनलाई सतही रुपमा मात्र बुझ्छन् भन्ने कुरा होइन । हास्यरसमै जीवनको गहिराइ बुझाउन सक्नु रामशेखरको विशेषता हो । उनी हँसाएरै पाठकलाई समाजका विभिन्न पात्रका चरित्रमाथि व्यङ्ग्य गर्ने गर्दछन् । ‘जि नं वयेगु म्वाय्सें’ मा रामशेखरले आफ्नो जीवनबाट वाक्क भएर दिवंगत कवि गिरिजाप्रसाद जोशीलाई सम्बोधन गरेर मृत्युपुकार गरेका छन् । मृत्युपुकार वास्तवमा निकै विषादपूर्ण अभिव्यक्ति हो, तर रामशेखरले यति नमीठो कुरालाई समेत ज्यादै रोचक प्रकारले प्रस्तुत गरेका छन् । आर्थिक विपन्नता र पारिवारिक जटिलताबीच अघि बढिरहेको आफ्नो जीवनप्रति यो लेखकको असन्तोषको अभिव्यक्ति हो । तर त्यही अभिव्यक्तिमा पनि रोचकता दिनु रामशेखरको शैली हो ।
सङ्ग्रहित कतिपय निबन्धबाट लेखकले प्रस्ट सन्देश दिन चाहेका छन् भने कतिपय निबन्धमा सन्देश निकाल्ने जिम्मेवारी पाठकलाई नै छोडेका छन् । उनले प्रत्यक्षरुपमा कुनै सन्देश दिएका छैनन्, तर ती निबन्ध निस्सार भने होइनन् ।
रामशेखरको ‘जुजुधौ’ विशेषतः नेपालभाषा पढ्न सुरू गरेका नवोदित पाठकलाई पढ्न अझ सहज हुनेछ । नेपालभाषाका साहित्य पढ्ने पाठकको सङ्ख्या कम भइरहेको अवस्थामा प्रारम्भमै जटिल र ग¥हुँगा विषयका पुस्तक पढ्न दिंदा निराश हुने सम्भावना रहन्छ नै । तसर्थ ‘जुजुधौ’ त्यस्ता पाठकको लागि निकै उपयोगी पुस्तक हो ।
रामशेखरले विभिन्न समयमा लेखेका यी निबन्धहरू उनको निधनपछि खोजी खोजी प्रकाशन गर्ने काम ‘कुतः पिकाक’ ले गरेको छ । त्यसै पनि लगातार नेपालभाषाका पुस्तक प्रकाशन गरेर नेपालभाषाको क्षेत्रमा योगदान गरिरहेका विमल ताम्राकारले लगभग समयको प्रवाहमै विलिन हुन लागेका यी निबन्धको सङ्कलन र प्रकाशन गरेर रामशेखरको व्यक्तित्वको अर्को एउटा आयाम उजागर गरेका छन् । यो रामशेखर नकर्मीप्रतिको सबभन्दा उत्तम श्रद्धा सुमन हो । रामशेखर नकर्मीप्रति सम्मान व्यक्त गर्दै उनका कृतिको पुनःप्रकाशन र उनका कृतिका अनुवाद (नेपाली र अङ्ग्रेजीमा समेत) र समालोचना कृतिहरू पनि भविष्यमा प्रकाशन हुने आशा गरौं । ‘जुजुधौ’ साँच्चै मीठो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *