भर्खरै :

आयोगले पूर्णता नपाउँदा प्रादेशिक भाषा निर्धारणमा ढिलाइ

–प्रकाश सिलवाल
काठमाडौं, १ मंसिर । दुई वर्ष अघि गठन भएको भाषा आयोगले पूर्णता नपाउँदा प्रदेश र स्थानीय तहमा मान्यता पाउने भाषाको निर्धारणमा ढिलाइ भएको छ ।
सङ्घीयताको कार्यान्वयनसँगै ती तहमा सरकारी मान्यता पाउने भाषाबारे सिफारिस गर्ने संवैधानिक दायित्व भएको आयोग गठन भएको दुई वर्ष नाघेपनि राजनीतिक तहबाट निर्णय नहुँदा पूर्णता पाउन नसकेको हो ।
प्रदेश र स्थानीय सरकारले सरकारी मान्यता पाउने भाषाबारे कानुन र त्यसबारे निर्णय लिनुपूर्व उक्त आयोगको सिफारिश प्रतिक्षा गरिरहेका छन् । प्रारम्भदेखि अध्यक्षको मात्र नेतृत्व रहेकाले भाषाको अध्ययन र सिफारिसका लागि आयोगले निर्णय गर्न सकेको छैन ।
सरकारले वि.सं. २०७३ भदौ २३ मा आयोगका अध्यक्षमा पूर्वसचिव डा. लवदेव अवस्थीलाई नियुक्त गरेपनि सदस्यहरू हालसम्म नियुक्त हुन सकेको छैन । आयोगमा सात प्रदेशबाट प्रतिनिधित्व हुनेगरी सदस्य नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सरकारी कामकाजकारुपमा भाषाले मान्यता पाउन सम्बन्धित भाषा बोल्ने वक्ताको सङ्ख्या, भाषिक पहिचान, लेखक प्रणाली, भाषिक सवलता तथा ग्रहणशीलता, ऐतिहासिकता, बोधगम्यताजस्ता पक्षमा थप छलफल गर्न आयोगले सिफारिस गर्ने तयारी गरेको छ । संस्थामा पूर्णता नहुँदा ती काम प्रभावित भएको आयोगको वार्षिक प्रतिवेदन–२०७४ मै उल्लेख भई राष्ट्रपतिसमक्ष सुझाव दिइएको थियो ।
नेपालको संविधानको धारा २८७ (६) आयोगलाई नेपाल सरकारसमक्ष सरकारी कामकाजको भाषाकारूपमा मान्यता पाउन पूरा गर्नुपर्ने आधार निर्धारण गरी सिफारिस गर्ने दायित्व आयोगलाई दिइएको छ । नेपालका भाषाको संरक्षण, सम्वद्र्धन र विकासका लागि अवलम्बन गर्नुपर्ने उपायको समेत सिफारिस गर्न आयोगलाई जिम्मेवारी छ । आयोगको कार्यकाल ६ वर्ष हुने व्यवस्था छ ।
अध्यक्ष डा. अवस्थीले आयोगमा सदस्यहरूको नियुक्तिका लागि तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग पटक–पटक छलफल भएको तर हालसम्म नियुक्ति नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीज्यू (रवीन्द्र अधिकारी) लागिरहनुभएको छ, आशा गरौँ चाँडै पूर्णता पाइनेछ ।” मन्त्री अधिकारीले गत असारसम्मका सो आयोगले पूर्णता दिन पहल गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यसबारे बुझ्न खोज्दा मन्त्री अधिकारीसँग सम्पर्क हुन सकेन । मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले आफूहरूले आयोगलाई पूर्णता दिनेबारे गृहकार्य गरिहेको जनाउँदै चाँडै टुङ्गोमा पुगिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले काम गरिहेका छौँ, निर्णय भएका दिन पूर्णता पाउँछ तर कहिले हुन्छ भनेर मैले तोकेर भन्ने अवस्था रहेन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *