भर्खरै :

विद्यार्थी आन्दोलनका निको नभएको घाउ

आइतबारका अधिकांश ब्रोडसीट अखबारको पहिलो पृष्ठमा नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घसम्बन्धी समाचार प्राथमिकताका साथ छापियो । तोकिएको समयमा नेविसङ्घको महाधिवेशन हुन सकेन, त्यसकारण अब के गर्ने भन्ने विषयमा भएको विवाद नै ती समाचारको मूल आशय थियो । छलफलको पहिलो प्रश्न, के त्यो घटना देशका ब्रोडसीट अखबारको पहिलो पृष्ठमा छापिने महत्वको घटना हो ? नेविसङ्घमा नेतृत्वको लािग छिनाझम्टी कुनै नयाँ समाचार होइन । त्यो एकप्रकारले नियमित घटनाक्रमजस्तै हो । त्यसमा कुनै नयाँपन छैन । तर नेपालका मिडियाले त्यस्ता समाचारलाई आवश्यकताभन्दा बढी प्राथमिकता दिनु पत्रकारिताको धर्मबाट विमुख बन्दै जाने सङ्केत हो ।
दोस्रो छलफलको विषय, नेपालको विद्यार्थी आन्दोलन उकासिन नसकेको अवस्था हो । नेविसङ्घ नेपालको विद्यार्थी आन्दोलनमा लामो समयदेखि भूमिका खेल्दै आएको विद्यार्थी सङ्गठन हो । राजनीतिक र शैक्षिक आन्दोलनमा यसका केही सकारात्मक योगदान नभएको होइन । तर नेपाली विद्यार्थी आन्दोलनमा आज फैलिएको विकृतिका धेरै कारण नेविसङ्घ हो भन्नु अतिशयोक्तिपूर्ण होइन । पुँजीवादी विद्यार्थी सङ्गठनले पुँजीवादी विकृति बोक्नु आश्चर्यको विषय पनि होइन । प्रजातन्त्रको नाममा अनुशासनहीनता, स्वतन्त्रताको नाममा विकृति र वैयक्तिक अधिकारको नाममा भ्रष्टाचारकै कारण आज नेविसङ्घ पुँजीवादी विकृतिको बन्द गुफामा फसेको छ । त्यसको प्रतिबिम्ब हो – नेतृत्वको लागि हुने गरेको अन्त्यहीन छिनाझम्टी ।
नेपाली विद्यार्थी आन्दोलनले ऐतिहासिक रूपमा खेलेको भूमिका कसैले अस्वीकार गर्नसक्दैन । प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थी सङ्गठनहरूले खेलेको भूमिका उल्लेख्य थियो । तर ऐतिहासिक रूपमा भूमिका खेलेकै कारण विद्यार्थी सङ्गठनलाई जस्तै विकृतिको रछ्यान कुरेर बस्ने छुट हुनसक्दैन । विद्यार्थी आन्दोलन जति रचनात्मक हुनुपर्ने हो, त्यो हुन सकेको छैन । फलतः भोलिको राजनीतिक नेतृत्व पनि त्यही मानसिकताबाट हुर्कनु स्वाभाविक हो । शासक दलसम्बद्ध विद्यार्थी सङ्गठनभित्र फैलिएको विकृतिको जड भनेको शासक दलका नेताहरू नै हुन् । विद्यार्थी आन्दोलनलाई भविष्यको अब्बल नेतृत्व तयार गर्ने थलोको रूपमा लिनुभन्दा शासक दलका नेताहरूले आ–आफ्ना पक्षधर गुट तयार गर्ने राजनीतिक अभिष्ट पूरा गराउने हतियारको रूपमा लिए । विद्यार्थी आन्दोलनलाई रचनात्मक र देशभक्ति आन्दोलनको रूपमा विकास गर्नुभन्दा विकृति राजनीतिको पर्याय बनाइएको छ । निःसन्देह विद्यार्थी आन्दोलनभित्र पनि वर्गीकरण छ । पुँजीवादी विद्यार्थी सङ्गठनले पुँजीवादी विकृति पालेर हिंड्नु उसको चरित्र हो । आदर्श समाज निर्माणमा समर्पित विद्यार्थी सङ्गठनहरू एकातिर विद्यार्थी आन्दोलनभित्र देखिएका यस्ता विकृतिको विरोधमा लड्नुपर्ने अवस्था छ भने अर्कोतिर समाज परिवर्तनको आफ्नो लक्ष्य सफल बनाउन अघि बढ्नुपर्ने आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *