भर्खरै :

हो, कम्युनिष्टहरु वर्गीय आन्दोलन गर्छन्

– गोरव प्रधान
हरेक कम्युनिष्ट पार्टीहरू शोषित पीडित जनताको पक्षमा लड्छन्, लडिरहेका हुन्छन् । शारीरिक र बौद्धिक श्रमजीवी वर्गको पक्षमा लड्नु या सङ्घर्ष गर्नु नै कम्युनिष्ट पार्टीको उद्देश्य हो । कम्युनिष्ट पार्टीको खोल ओढेर श्रमजीवी वर्गको पक्षमा राजनीति नगर्ने, आन्दोलन र सङ्घर्ष नगर्ने दल सच्चा कम्युनिष्ट पार्टी हुनसक्दैन । मंसिर २ गतेको राजधानी दैनिकमा लेखक प्रेमलकुमार खनालले ‘श्रमजीवी वर्गीय आन्दोलन जरुरी’ शीर्षकको लेख लेखेर कम्युनिष्ट पार्टीहरूको ध्यानाकर्षण गरे । कम्युनिष्ट भनिने दल र दलको सरकारले श्रमजीवीहरूको पक्षमा आन्दोलन अघि बढाउनुपर्ने उनको विचार थियो ।
हरेक कम्युनिष्ट पार्टीले श्रमजीवीको पक्षमा आन्दोलन या राजनीति गरिरहेको छ कि छैन भन्ने कुरा प्रत्येक कम्युनिष्ट पार्टीका नेता, मन्त्री, सांसद र कार्यकर्ताहरूले चिन्तन मनन गर्नुपर्ने बेला भएको छ । कुनै कम्युनिष्ट, वामपन्थी, प्रगतिशील पक्षधरहरूले सच्चा कम्युनिष्ट पार्टीलाई चिन्नुपर्छ । कुन कम्युनिष्ट पार्टीले श्रमजीवी वर्गको पक्षमा राजनीति या आन्दोलन गरिरहेको छ, थाहा पाउनुपर्छ । कम्युनिष्ट पार्टीले पार्टी मातहतका वर्गीय सङ्गठनहरूलाई कम्युनिष्ट पार्टीलाई बलियो बनाउन, कम्युनिष्ट आन्दोलन अघि बढाउन प्रशिक्षित गरिरहेको छ कि छैन, थाहा पाउनैपर्छ ।
कुनै कम्युनिष्ट पार्टीले वर्गसङ्घर्ष या वर्गीय आन्दोलन गरिरहेको छैन, तद्नुसार नेता, कार्यकर्ता तथा जनतालाई तयारी गरिरहेको छैन भने नाउँ कम्युनिष्ट पार्टी राखेर हुँदैन । नाउँ कम्युनिष्ट पार्टी राखेर सिद्धान्तलाई व्यवहारमा ल्याइँदैन भने त्यस्ता दलले देशमा समाजवाद ल्याउँछ, समाजवाद ल्याउन सङ्घर्ष गर्छ भनेर कसरी विश्वास गर्ने ? कति कम्युनिष्ट पार्टीहरू वर्गीय आन्दोलन छोडेर जातीय आन्दोलन गर्छन् । पार्टी सङ्गठन विस्तार गर्ने नाउँमा जातीय आन्दोलन गर्ने दलमा माओवादी केन्द्र नै हो । अहिले पनि कति दलहरूले जातीय प्रदेश र जातीय प्रदेशको नामकरण गर्न जोड दिइरहेका छन् । ती दलमा सत्तारुढ कम्युनिष्टहरू पनि अगाडि परेका छन् ।
कम्युनिष्ट पार्टीले वर्गीय आन्दोलनलाई अघि बढाउनुपर्छ । तर सरकारको नेतृत्व गरेर या पुँजीवादी व्यवस्थामा रहेर वर्गीय आन्दोलन सम्भव छैन । वर्गीय आन्दोलन गर्न सरकार छोड्नुपर्छ, सरकार छोडेर कम्युनिष्ट आन्दोलन अघि बढाउनुपर्छ । सरकारको नेतृत्व पनि नछोड्ने अनि समाजवाद पनि स्थापना गर्ने कुरा कसरी सम्भव हुन्छ ? शान्तिपूर्ण तरिकाबाटै या संसदीय व्यवस्थाबाटै योग्यताअनुसारको काम, कामअनुसारको ज्याला, व्यक्तित्व विकासमा समान अवसर, क्रान्तिकारी भूमिसुधार गर्न सकियो भने ठिक्कै हो । देशका ठूलठूला उद्योग तथा कारखाना सरकारीकरण, उच्च तहसम्म शिक्षा अनिवार्य र निःशुल्क, निःशुल्क स्वास्थ्योपचार, समान कामको लागि समान ज्याला व्यवस्था गर्न सकियो भने कम्युनिष्टको सिद्धान्त र विचारअनुसार काम गर्न थाल्यो कि भन्ने विश्वास हुन्छ । नगर र गाउँ–गाउँका बस्तीमा शिशुस्याहार केन्द्र, शिशु शालाको व्यवस्था, भ्रष्टाचारी, घुस्याहा, मानव तस्कर, चेलीबेटी बचबिखन गर्ने, बलात्कार गरी हत्या गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्न सके केही काम गर्यो कि भन्ने जनतामा अनुभूति हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *