भर्खरै :

राष्ट्रपति राजा बन्दा भलो नहोला

गणतन्त्र नेपालका राष्ट्रपतिले राजतन्त्रकै झझल्को दिने सुविधा भोग गरिरहेको भनी चर्को आलोचना भइरहेको समयमा राष्ट्रपतिको लागि गाडी किन्न अठार करोड बजेट विनियोजन गरेको समाचारले नेपाली जनतालाई आजीत बनाएको छ । राष्ट्रपतिको ‘सवारी’ मा पूरै सडक ठप्प बनाउँदा सर्वसाधारणले घण्टौं सवारी जाम झेल्नुपरेको कारण त्यसै पनि राष्ट्रपति लगातार आलोचनाको पात्र बनिरहेकी छिन् । यो आलोचनाको सम्बोधन गर्न कुनै उचित निर्णय गर्नु त परको कुरा, राष्ट्रपतिको सुविधाको लागि देशको ठूलो पैसा अपव्यय गर्नुलाई जनताले निको मानेका छैनन् ।
राजतन्त्रमा राजा र राजपरिवारबाट देशको आर्थिक ढुकुटीमाथि गरेको हिनामिनाप्रति जनतालाई चित्त बुझ्दैनथ्यो र अभिव्यक्तिका अनेकन माध्यमबाट पाएसम्म खुला नभए पनि त्यसको विरोध गर्थे । राजपरिवारका त्यस्तै अनुत्तरदायी क्रियाकलापका कारण राजतन्त्र बद्नाम भयो । जनताले राजा र राजपरिवारलाई रुचाएनन् । अनि देशमा गणतन्त्र आयो । जनताले जहाँनिया राजतन्त्रको अन्त्यसँगै सत्तामा आएका निर्वाचित प्रतिनिधिहरूले राजपरिवारबाट भएका गल्ती कमजोरी हटाउने आशा गरेका थिए । तर आज राष्ट्रपतिको सुविधाभोगी व्यवहारले एउटा राजतन्त्रको अन्त्य गरेर नयाँ राजतन्त्रको स्थापना भएकोमा जनताले अफसोच मानिरहेका छन् ।
देशको सर्वोच्च पदाधिकारीलाई आवश्यक सुविधा र सुरक्षा दिनु राज्यको दायित्व हो । जनताले राष्ट्रप्रमुखलाई अत्यावश्यक त्यस्ता सुविधा र सुरक्षा दिन कति पनि कञ्जुस्याइँ गरेको होइन । तर राजाभन्दा राष्ट्रपति फरक हुनुपर्ने जनताको अपेक्षा हो । दरबारका अग्ला अग्ला पर्खालका कारण राजाहरूलाई जनताले देख्दैनथे । राजा कस्ता हुन्छन्, के गर्छन् भन्ने कुरामा सर्वसाधारण अनविज्ञ थिए । राष्ट्रपति त जनताकै छोराछोरी हुन्, जनताले तिनीहरूबाट आफूजस्तै जीवनयापनको आशा गरेका हुन् । राष्ट्रपति कुनै अनभिज्ञ अलौकिक शक्ति बन्नु जनताको गणतन्त्रप्रतिको चाहना विपरीत हो । राजाहरू कति खुट्टाले टेक्थे, जनतालाई थाहा थिएन । राष्ट्रपति त जनताका छोराछोरी भएकाले दुई खुट्टाले टेक्ने सर्वसाधारणलाई थाहा छ । तर राष्ट्रपतिले पनि राजाकै सरहको सुविधा भोग्ने हो भने त्यो नयाँ वर्गको उदय जनताको अपेक्षाविपरीत हो ।
विश्वमा नेपाल अझै पनि गरिब देशको सूचीमा सूचिकृत देश हो । अझै पनि नेपाली युवाहरूलाई नेपाली माटोमै काम दिन सरकार असफल छ । जनताको स्वास्थ्य, शिक्षा र सुरक्षामा सरकारले अझै चित्तबुझ्दो काम गर्न सकेको छैन । अन्तर्राष्ट्रिय दबुमा नेपालको प्रतिष्ठा अझै पनि झिनो छ । आर्थिक समृद्धि र विकासका नारा भाषणबाजीभन्दा माथि उक्लिन सकेको छैन । त्यस्तो देशका राष्ट्रपति अठार करोडको गाडी चढेर हिंड्नु नैतिक मूल्त्न्दा बाहिरको कुरा हो ।
मल्लकालमा महिन्द्र मल्ल भन्ने काठमाडौंका राजा थिए, जो जनताको छानामा धुवाँ नपुताएसम्म आफ्नो भान्छामा खाना पकाउँदैनथे । यसमा कति सत्यता थियो वा थिएन, आफ्नै ठाउँमा होला । तर जनताप्रतिको उत्तरदायी शासकको एउटा उदाहरणको रुपमा यसलाई लिइनुपर्दछ । मल्लकालका शासकमा जति जनताप्रतिको उत्तरदायित्व थियो, आज जनताले जिताएका राष्ट्रप्रमुखमा त्यत्ति जवाफदेही नहुनु प्रगतिको सूचक हो वा दुर्गतिको ?
जनताबीच राष्ट्रपतिप्रतिको धारणा उनलाई थाहा नहुने कुरै भएन । उनी पनि वरपरका आउरेबाउरेकै चाप्लुस र चिप्लो कुरा सुनेरमात्र आत्मकेन्द्रित धारणा बनाउनेतिर लाग्ने हो भने उनी पनि दरबारका अग्ला पर्खालभित्रै सकिने यथार्थ इतिहासले देखाएको बाटो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *