भर्खरै :

प्रजिअको नेतृत्वमा अरनिको राजमार्गको भक्तपुर खण्ड व्यवस्थापन गरिने

भक्तपुर, ४ मंसिर । सडकको क्षमताभन्दा बढी गाडी गुडेकै कारण जाम भएको हो । काठमाडौंमा घर भत्काई सडक चौडा गरियो तर जाम यथावत छ । कोटेश्वरको जामबारे संसद्मा धेरै पटक उठाएका छौँ । जाम समाधान स्थानीय तहले मात्र होइन, सरकारले नै जिम्मेवारी लिएर समाधान गर्नु आवश्यक छ ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सडक जाम, अरनिको राजमार्गको व्यवस्थापन, प्रदूषण घटाउनेलगायत विषयमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मङ्गलबार भएको छलफलमा उक्त भनाइ राख्नुभएको हो ।
उहाँले दसैं अगाडि ५० हजार गाडी र बाइक भित्रिएको र ५४ अर्ब रुपैयाँको गाडी खरिद गरिएको समाचारलाई छलफलमा सहभागीहरूको ध्यानाकर्षण गराउँदै ५–६ सय सङ्ख्यामा टिपर गाडी आयात गर्ने भएको हुँदा सडक व्यवस्थापनको जिम्मेवारी सरकारमार्फत नै पूरा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सांसद सुवालले सडकको क्षमताभन्दा बढी भारको गाडी गुडेको कारण सडक बिग्रेको र प्रदूषण बढेको उल्लेख गर्दै अरनिको राजमार्गको व्यवस्थापनबारे सरसफाइ र यातायातसम्बन्धी इन्जिनियरहरूसमेत संलग्न गरी योजना बनाउनुपर्ने बताउनुभयो ।
‘‘एक डेढ महिना र एक दुई वर्षको योजना होइन पचास वर्ष र एक सय वर्षसम्मको दीर्घकालीन योजना बनाउनुपर्दछ । सवारी जाम हटाउन र राजमार्ग व्यवस्थापन गर्न काठमाडौंकेन्द्रित जनसङ्ख्याको वैकल्पिक उपाय बनाउनुपर्दछ ।’’ सांसद सुवालले थप्नुभयो ।
वर्षामा भक्तपुरको पश्चिम क्षेत्र डुबान परेको कारण पत्ता लगाउन प्राविधिक प्रतिवेदन तयार गराई कार्यान्वयन गर्नुपर्ने आवश्यकता सांसद सुवालले औंल्याउनुभयो ।
नेपाली सेनाको सूर्यविनायक ब्यारेकका प्रमुख कर्णेल शिवप्रसाद पौडेलले अरनिको राजमार्गको भक्तपुर खण्डमा भइरहेको पैदल यात्रुको बाटो अतिक्रमण रोक्न बीचमा थुप्रेको फोहोर ठेलागाडी, पावर टेलरको कारण सडक अवरोध, गाडी मर्मत र कवाडी पसल हटाउने विषयमा प्रस्तुत गर्नुभयो ।
भक्तपुर जिल्लाका जनप्रतिनिधि र सम्बन्धित कार्यालय प्रमुख र प्रतिनिधिहरूको सहभागितामा भएको छलफलमा मंसिर ६ गते बिहान ७ः३० बजे भक्तपुरको मनोहरा खोलादेखि अरनिको राजमार्गको दायाँबायाँ ट्राफिक व्यवस्थापन र फोहरमैला व्यवस्थापन गर्ने सहमति गरियो । सो कामको लागि नेपाली सेना र प्रहरी गरी एक सय जना एक महिना खटाइने पनि प्रजिअ नारायणप्रसाद भट्टले बताउनुभयो ।
छलफलमा अरनिको राजमार्गको ट्राफिक खण्डमा ट्राफिक व्यवस्थापन, सरसफाइ, लागूपदार्थ र मादकपदार्थ नियन्त्रण, शान्ति सुरक्षाको लागि प्रजिअको संयोजकत्वमा निर्देशक समिति र कर्णेल पौडेलको संयोजकत्वमा कार्यान्वयन समिति गठन गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *