भर्खरै :

ठडिने भयो लेनिनको सालिक

मदुराई, २० नोभेम्बर । सन् २०१८ को मार्चमा भारतको त्रिपुरा राज्यको प्रदेशसभा चुनावमा त्यहाँका वामपन्थी मोर्चाले अनपेक्षित रुपमा पराजय भोग्नुप¥यो । वामपन्थी दलको पराजयपछि भारतीय जनता पार्टीका स्थानीय कार्यकर्ताले त्रिपुरामा वामपन्थी सरकारले स्थापना गरेको विश्व सर्वहारा वर्गका नेता लेनिनको सालिकमाथि आक्रमण गरेका थिए । उनीहरूले लेनिनको सो सालिकमाथि क्षति पु¥याएका थिए । त्यो घटनाले त्रिपुराका मात्र होइन, संसारकै कम्युनिष्ट तथा वामपन्थी विचारका जनतालाई दुखित बनाएको थियो । तर भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) त्रिपुराका कार्यकर्ताले लेनिनको सो सालिक तुरुनेलभेलीमा पुनः स्थापना गर्ने भएका छन् ।
१२ फीट अग्लो सो सालिक भारतकै सबभन्दा अग्लो लेनिनको सालिक हो । आगामी जनवरी २१ का दिन लेनिनको ९५ औं जन्म दिवसको अवसरमा सो सालिकको अनावरण गरिने भाकपा (मा) को स्थानीय समितिले जनाएको छ । सो कार्यक्रममा भारतका वरिष्ठ राष्ट्रिय तथा स्थानीय नेताहरू सहभागी हुने बताइएको छ ।
भाकपा माक्र्सवादी त्रिपुराका सचिव केजी भास्करणले लेनिनको सालिक यतिबेला हुनुपर्ने थप दुई कारण भएको बताए । पहिलो यो वर्ष अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकीको समापन कार्यक्रम हुँदैछ जुन क्रान्तिको नेतृत्व लेनिनले गर्नुभएको थियो । दोस्रो कारण, लेनिनको सालिकको स्थापना गरेर संसारलाई वामपन्थ नै सही समाधान हो, दक्षिणपन्थ होइन भन्ने सन्देश दिनु हो ।
अक्टोबर समाजवादी क्रान्ति दिवसको दिन नोभेम्बर ७ मा सो सालिक अनावरण गर्ने कार्यक्रम तय भएको भए पनि आर्थिक अभावको कारण सालिक निर्माण कार्य सम्पन्न नहुँदा त्यो दिन कार्यक्रम हुन नसकेको बताइएको छ । लेनिनको सालिक पुनस्र्थापना गर्न सबै पैसा कार्यकर्ताहरूले चन्दा दिएका थिए । किसानदेखि दैनिक मजदुरी गर्ने पार्टी कार्यकर्ता र समर्थकबाट ५० देखि एक हजारसम्म चन्दा उठाएर सो सालिक पुनस्र्थापना गरिन लागेको हो ।
“म लेनिनको विचारधाराको समर्थक हुँ । त्यसकारण लेनिनको सालिक बनाउन मैले पनि सक्दो सहयोग गर्न आएको हुँ”, लेनिनको सालिक बनाउनमा तल्लीन कलाकार जी. चन्द्रशेखरणले भने । उनी कुनै बेला चेन्नाईको एउटा सरकारी क्याम्पसका प्रिन्सिपल थिए । उनी आफैं मूर्तिकार पनि हुन् । ६७ वर्षको उमेरमा उनले ४० भन्दा बढी सालिक बनाइसकेका छन् । मद्रास उच्च अदालत र पाण्डोचेरीको अदालत परिसरमा रहेको अम्बेदकरको सालिक उनले नै बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *