भर्खरै :

प्रजातन्त्र र निर्वाचन

पञ्चायतकालमा बरोबर म र मेरा केही साथीहरू रेलमा बसेर जोगबनीदेखि समस्तिपुर हुँदै बनारस पुग्थ्यौँ । दिउँसो १२–१ बजेको समय थियो । रेलमा भारतीय महिलासँग टुकुटुकु हिँड्ने एउटा बच्चा थियो । बच्चा घरीघरी आमाको काखबाट तल झथ्र्याे र ढोकातिर जान चाहन्थ्यो । महिलाले बारम्बार बच्चालाई तानेर फेरि काखमा राख्थिन् । बिस्तारै त्यो बच्चा मसँग खेल्न आयो । मैले उसलाई काखमा राखेँ र बच्चा रमाइलो मान्दै मेरा हातका औंलासँग खेल्न थाल्यो ।
महिलालाई सजिलो भयो र आफ्नो सानो खानदानबाट रोटी, चनाको तरकारी अनि अचार निकाल्न थालिन् र एउटा रिकापीमा दुइटा रोटी, अलिकति चनाको तरकारी र अलिकति आँपको अचार राखिन् । मतिर हेरेर तिनले बिस्तारै हिन्दीमा भनिन् –‘‘बहादुर जी, खानुस् है ।’’ अनि बच्चालाई आफूतिर तानिन् ।
मैले असजिलो मान्दै रिकापी लिएँ र खान थालेँ । फेरि पनि बच्चा मतिर आउन खोज्दै थियो र आमाले बच्चालाई आफ्नो भाषामा फकाउँदै सम्हाल्दै थिइन् । म मनमनै अचम्म मान्दै एउटा नेपाली उखान सम्झँदै थिएँ –अजिङ्गरको आहारा दैवले पु¥याउँछ । १० बजेतिर मैले रेलको टिकट काटेको थिएँ, स्टेशनकै नजिकको एक होटेलमा पसेर खाना खान खल्तीमा के हात पु¥याएको थिएँ, खल्ती प्वाल पारिसकेको रहेछ, पकेटमाराले ! म भोकै थिएँ ।
आँपको अमिलो अचार, रोटी र चनाको तरकारी खाई धन्यवाद दिएर रिकापीलाई महिलाको नजिक राखिदिएँ । पानी पिएँ । बच्चा पुनः मसँग खेल्न आयो । बच्चालाई मैले काखमा राखँे र ऊ अघिजस्तै मेरा हातका औंलाहरूसँग खेल्न थाल्यो । महिला पनि रोटी, अचार र चनाको तरकारी खान थालिन्, पानी पिएर खानदान मिलाउन थालिन् ।
छक्छक् … गर्दै रेल गुड्दै थियो र अचानक रेलको ठूलो सिटी बज्यो । अर्को बिसौनी नजिकै आएर होला, यात्रुहरू आ–आफ्ना सामान, चप्पल र गम्छा मिलाउँदै उत्सुक भएर आँखा झ्यालबाट बाहिर दौडाउँदै थिए । एकैछिनमा चर्काे आवाज निकाल्दै रेल बिस्तारै अघि बढेको महसुस भयो । रेल स्टेशनमा अडियो । बच्चाकी आमा एक हातले आफ्नो बच्चा र अर्को हातले सामान काँधमा बोक्दै रेलको डन्डी समातेर ओर्लिन् अनि मुसुक्क हाँस्दै आँखाले बिदाई मागिन् र हिँडिन् ।
एकैछिनमा रेलका डिब्बाहरू खचाखच भरिन थाले, पहिला आउनेहरू हतारहतारमा बस्ने ठाउँहरू (सिट) मा बस्न थाले । ठाउँ नपाउनेहरू कोही माथिल्लो ठाउँमा चढे र बसे । रेल पुनः छक्छक् गर्दै अगाडि बढ्यो । केही मानिस ठूलठूलो स्वरले आ–आफ्नो ठाउँमा बस्न आएकाहरूसँग झगडा गर्न थाले । एक पक्षको एक युवकले आफ्नो भाषामा भन्यो – “हामीलाई चिन्यौ, तिमीहरूले ? हामी त माननीय सांसद यादवको पकेटमारा हौँ ।” अर्को पक्षको एक उमेरदार मानिसले बडो घमण्डले भन्यो – “हेर भाइ, बढ्ता ठूलो कुरो नगर, हामी पनि माननीय महतोका ग्याङका चोर हौँ, सम्झ्यौ ?” अर्को पक्षको एक मोटोघाटो, बलियो–बाङ्गो व्यक्तिले कुश्ती खेल्ने शैलीले भन्यो –“केटा हो, हामी त माननीय सांसद ठाकुरका डाँकु हौँ, तिमिहरू आ–आफ्नो औकातअनुसार कुरा गर ।” यसरी एकले अर्कोलाई तुच्छ भन्दै विवाद गर्दै थिए –तिनीहरू । रेलले पुनः ठूलो आवाज निकाल्यो, एकछिनपछि रेलको चाल घट्दै गयो । सबै आ–आफ्ना गम्छा काँधमा राख्दै र सामान बोक्दै थिए । रेल थामियो । एकले अर्को पक्षलाई चोर औँला ठड्याउँदै तल झरेर भन्दै थिए –“अर्को चुनावमा तिमीहरूको औकात देखौला ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *