भर्खरै :

एक्काइसौँ शताब्दी एसियाको

भैरव रिसाल
संयुक्त राज्य अमेरिकाको पछिल्लो ४५ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि चीनविरूद्ध अनेकौँ गतिविधि प्रायोजित हुन लागेका छन् । यद्यपि चीनमा सन् १९४९ मा कम्युनिष्ट सत्ता स्थापनादेखि नै चीनविरूद्ध कोलाहल नै मच्चाइएको कुरा धेरै पुरानो भएको छैन । अमेरिकी आम नागरिकहरूलाई आफ्नो मुलुकको राजनीतिमा तीब्र चाख त छैन छैन सामान्य चाख पनि हुन छोड्दैछ । त्यहाँको निर्वाचन पद्धतिमा नै ठूलो खोट देखिन्छ । राष्ट्रपति निर्वाचन हुन्छ प्रत्येक चार वर्षमा तर कुन सिद्धान्त र कुन प्रजातन्त्र वा गणतन्त्रको ‘मन्त्र’ के भन्ने बुझेर सर्वसाधारण मतदाताले दिएको मतसङ्ख्याको आधारमा राष्ट्रपति निर्वाचित हुँदैन । अर्कै मत जसलाई ‘इलेक्टोरल मत’ भनिन्छ, त्यही मतको बहुमतको आधारमा राष्ट्रपति निर्वाचित भएको घोषणा गरिन्छ । आम मतदाताको मत निर्णायक हुँदैन । धेरै चुनावमा यस्तो भएको छ, यस्तो हुने गरेको छ । त्यो राष्ट्रको राष्ट्रपति निर्वाचनको मतदानका दिन मतदाताहरूलाई छुट्टी पनि हुँदैन । यद्यपि केही दिन अघिदेखि नै मतदान गर्न पाइन्छ, हुलाकद्वारा पनि मतदान गर्न पाउने सुविधा भने छ ।
जुँगा चल्यो कुरा बुझ्यो
यसरी बहुमत जनताको मतपत्रद्वारा बहुमतले छानिएको व्यक्ति पराजित हुने, अनि इलेक्टोरल मतबाट बढी मत ल्याउने प्रत्याशी राष्ट्रपति बन्ने वा निर्वाचित हुने के यो प्रजातन्त्र हो ? हाम्रा लागि सहजै पाच्य होइन । यस पृष्ठभूमिमा मलाई सम्झना भएसम्म ट्रम्प आम मतदाताहरूको मतमा पराजित प्रत्याशी हुन् । उनी इलेक्टोरल मतबाट विजयी घोषित भएका हुन् । यसको सोझो अर्थ वा तात्पर्य हुन्छ ट्रम्प ठाडो जनमतबाट जितेका होइनन् बरू तेस्रो इलेक्टोरल मतबाट निर्वाचित हुन् । यसर्थ पनि ट्रम्पले आफूलाई राष्ट्रपति बनाउन निर्णायक भूमिका भएकाहरूको स्वार्थ र सरोकारको सम्बोधनलाई सर्वोच्च प्राथमिकता दिनु पहिलो नैतिक कर्तव्य भएन र ? यो कठोर तथ्य नबुझेका छैनन् कुनै पनि राजनेताले । उनीहरूको निम्ति यो पहिलो पाठ हो । अब अमेरिकी राष्ट्रपतिको भूमिका र झुकाउ कता हुन्छ ? शब्दमा सायदै भनिरहनुपर्ला ! नेपाली उखान जुँगा – चल्यो कुरा बुझ्यो ।
विश्व त्रस्त, ट्रम्प मस्त
ट्रम्पको निर्वाचन प्रचारको बेलादेखि नै राजनीतिको बहुलठ्ठी हावा नचलेको होइन । सङ्गत कुराभन्दा असङ्गत कुरा ज्यादा गर्थे ट्रम्प । ट्रम्पका विपक्षमा महिलाप्रतिको मुद्दा नै कति उठे कति ! संरा अमेरिका न हो जुन राष्ट्रमा २२२ वर्षदेखि एक जना पनि महिला राष्ट्रपतिमा छानिएका छैनन् । जुन राष्ट्रमा ४५ जना राष्ट्रपति भइसके । त्यो मुलुकमा महिलाहरूमाथि पुरूषको अनुचित व्यवहारले मुद्दाको रूप लिनु कति सम्भव हुन्थ्यो र ? महिला उम्मेदवारै नपाइने राष्ट्रपति पदका लागि ! कति पो भो र राष्ट्रपतिमा महिला प्रत्याशी हुन लागेका ? तै यसपालाको निम्ति खाइलाग्दी उम्मेदवार पाएका थिए अमेरिकी मतदाताले तर खेर गयो त्यो अवसर पनि । अन्ततः जे–जे जति–जति गरे पनि डोनाल्ड ट्रम्प नै विजयी घोषित गरिए । परिणाम आज विश्वले भोग्दै, व्यहोर्दै आएको छ । ट्रम्पले विश्वका कैयाँै उठाउन नपर्ने मुद्दा उठाएका छन् भने उठाउनुपर्ने मात्र होइन नउठाइ नहुने मुद्दा उठाएका छैनन् । विश्व आज बिग्रिएको वातावरणबाट त्राहिमाम छ । विश्वमा उष्णीकरण बढिरहेको छ । समुद्र सतह उक्लँदो छ, डढेलो, सुखा, अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टिले संसार त्रस्त छ । ट्रम्प भने आफ्नै संसारमा मस्त छन् !
दायित्व किन बहन गर्दैन ?
संरा अमेरिका जुन आकारमा छ आजको विश्वमा तर उसको योगदान नगण्य छ । बेकारी समस्या अझै छ । कोइला बालेर उद्योगमात्र सञ्चाल गर्दैन अमेरिका कोइलाबाट बिजुली निकाल्छ र संसारलाई कोइलाको प्रदूषण वितरण गर्छ । अमेरिका पानीप्रधान राष्ट्र हो । पाँचवटा बृहत् पानीपोखरी त अमेरिकाको परिचय नै छन् । त्यसरी पानीप्रधान मुलुक भएर पनि कोइलाबाट विद्युत् शक्ति उत्पादन गर्छ । यसलाई विश्व नैतिकता र अनुशासनको दृष्टिबाट के भन्ने ? शब्दले भन्दा अनर्थ पनि लाग्ला ! समष्टिमा भन्दा आजको संरा अमेरिकाले विश्वप्रतिको उत्तरदायित्व निर्वाह गरिरहेको छैन । विश्व जलवायु परितर्वनले आज संसार जुन सड्ढटमा छ, त्यसप्रति संरा अमेरिकाको दोष छैन ? क्योटो प्रोटोकल अमेरिकाको पक्षमा नउभिँदा सार्थक हुनसकेन । विश्व जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय मान्यताकै पक्षमा होइन विपक्षमा नै उभियो अमेरिका ! यो के को सन्देश हो ? ट्रम्प आएपछि झनै नेतृत्वमा बखेडा !
चिनियाँ सामान छ्यापछ्याप्ती
संरा अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपश्चात् चीनविरूद्ध व्यापार युद्ध गर्न तम्सिए । मैले संरा अमेरिकाका केही राज्यमा देखेअनुसार त्यहाँको बजारमा चिनियाँ उपभोग्य वस्तु यति धेरै छन् जसको बयान गरेर साध्य छैन । यसो वस्तु हे¥यो आकर्षक छ, कहाँको हो, कहाँ बनेको हो भनेर हे¥यो सहजै देखिन्छ ‘मेड इन चाइना’ ! बजारै छपक्क भो चिनियाँ समानले अमेरिकाको । चीनले सर्वप्रथम अमेरिकी उपभोक्ताहरूको चाहना पढेछ । उनीहरू के–कस्ता वस्तु वा सामान चाहन्छन् र कुन मूल्यमा चाहन्छन् त्यसको गहिरो अध्ययन गरेछ चीनले । सँगै अमेरिकी उपभोक्ता र अमेरिकामा बसोबास गरेका तर गैर अमेरिकीहरूको पनि मनोविज्ञान पढेछ चीनले र पढेछ अमेरिकीहरूको उपभोग र उपभोग संस्कार एवं संस्कृति । तब के चाहियो र त्यो संस्कार तथा संस्कृतिअनुकूलका सामग्री उत्पादन ग¥यो र भटाभट पठाइदियो सस्तोमा, निकै सस्तोमा – तर स्तरीय सामाग्री । हाम्रो छोरोले अमेरिकाको मिनिसोटा राज्यको ट्वीनसिटीमध्येको एक मिनियापोलिस सहरमा जीपीएस नामको एउटा यन्त्र किन्यो । त्यो कहाँको हो भन्ने जिज्ञासा भो र हेर्दा त ‘मेड इन चाइना’ – चीनमा बनेको ।
क्यानडामा पनि उस्तै
त्यो भाँडो (यन्त्र) थियो हामीलाई कहाँ जानु छ, त्यहाँको जनाउ दिने । त्यसले त दिग्दर्शन गर्दो रहेछ – त्यो ठाउँ यति पर छ । बाटो फरक प¥यो भने त्यो पनि जनाउ दिँदो रहेछ । अर्कै बाटो प¥यो, अब दायाँ लाग वा बायाँ लाग – जाने ठाउँ आइपुगेपछि भन्दो रहेछ । अब आयो ओर्लने ठाउँ । म त छक्क त्यो देखेर ! चमत्कारै लाग्यो मलाई त । हामी – म र श्रीमती सुशिला – कान्छी छोरी सुसम र ज्वाइँ राधामणि खतिवडा, छोरो भास्यत र बुहारी सिमरनसहित ६ जनाको टोली यति घुम्यौँ अमेरिकामा मोटरमा । त्यही चिनियाँ जीपीएसले सम्पूर्ण बाटो देखायो । हुँदा–हुँदा क्यानडा पनि गयौँ त्यही मोटरमा त्यही भाँडोको दिग्दर्शनमा । नायग्रा फल्स पनि गयौँ त्यही मोटरमा त्यही भाँडोको दिग्दर्शनमा । क्यानडाको टोरण्टो राज्यमा त चिनियाँहरूले कति ठाउँमा त बजारै गरी बसेका, त्यो ठाउँको सम्पूर्ण बजारै चिनियाँहरूको, अरू बजारभन्दा सस्तो । चीनको जनसङ्ख्या सा¥है धेरै तर बुद्धि कस्तो भने व्यापार गरेर खाने । अमेरिकामा त्यस्तै ।
अन्ततः अमेरिका नै अघि सर्नुप¥यो
सन् १९७० अघिसम्म संरा अमेरिकाले जनवादी गणतन्त्र चीनलाई चिन्दैनथ्यो औपचारिकरूपमा । चीन भनी ताइवान टापुको कोमिन्टाङ सरकारलाई मान्थे । जब सन् १९७१ मा अमेरिकी विदेशमन्त्री हेनरी किसिञ्जर चीन गए, पेकिङ गए तब गाँसिन प्रारम्भ गरेको हो चीन–अमेरिकी आधिकारिक सम्बन्ध । सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले चीनको आधिकारिक भ्रमण गरेपछि सम्बन्ध स्थापना भएको हो । कति पो भएछ र सम्बन्ध गाँसिएको, ४६ वर्ष त भएछ होइन र ? सन् १९४९ मा चीनमा कम्युनिष्ट शासन स्थापना भएको २३ वर्षसम्म अमेरिकाले मूल चीनलाई गणना नै गरेन । अन्ततोगत्वा अमेरिकी सरकारले चीनप्रति आफ्नो दृष्टिकोण तथा नीति परिवर्तन गर्न बाध्य भयो । मूल चीन अब अमेरिकी डिक्सनरीमा लेखिन थालियो । आफूलाई अमेरिकी सरकारले गणना नै नगरे पनि चीनले आफ्नो क्रान्तिकारी बाटो परिवर्तन गर्ने प्रश्न नै थिएन । चीन आफ्नै बलबुता – लामो सङ्घर्षपश्चात् बल्ल सफल भएको थियो ।
व्यापार युद्ध अमेरिकाको पक्षमा छैन
आज यो पृथ्वी ग्रहमा संरा अमेरिका पहिलो आर्थिक शक्तिको रूपमा देखापरेको छ । यो विश्व आर्थिक परिदृश्य लामो समयसम्म कायम रहन सक्दैन । केही कालमै विश्वको पहिलो अर्थतन्त्र चीन हुनेछ भन्ने आम प्रक्षेपण छ । संरा अमेरिका दोस्रो आर्थिक दर्जामा झर्छ । यस्तो अवस्था सकेमा ढिलो आवस् भनी डोनाल्ड ट्रम्पले निम्नस्तरमा ओर्लेर व्यापार युद्ध थालेका हुन् । आजको विश्वको यथार्थ केलाउने हो भने विश्व अर्थजगत संरा अमेरिकाको पक्षमा छैन । एक्काइसौँ शताब्दी एसियाको हो यूरोप र अमेरिकाको होइन । यो प्रवाह रोक्न कुनै शक्ति पनि सक्षम हुँदैनन् । चीन तुलनात्मकरूपमा कम लागतमा उत्पादन गर्छ । फलस्वरूप वस्तु सस्तो हुन्छ । अमेरिका सस्तोमा उत्पादन गर्न सक्दैन, तब सस्तोमा वस्तु र सेवा पाइँदैन । व्यापारको दुनियाँमा सस्तो र महँगो मूल साँचो हो । तसर्थ व्यापार युद्धमा अमेरिका नराम्रोसँग पछारिनेछ । यो यथार्थ हो । युग अमेरिकाको पक्षमा छैन । उसले यो बुझ्नु जरूरी छ ।
–९ मंसिर २०७५

Leave a Reply

Your email address will not be published. Required fields are marked *