भर्खरै :

फ्रान्सको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न ट्रम्पलाई आग्रह

पेरिस, १० डिसेम्बर । फ्रान्सका विदेशमन्त्री आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेका छन् ।
इन्धनको मूल्यवृद्धि गर्ने फ्रान्सेली सरकारको निर्णयसँग फ्रान्समा बितेका चार सातादेखि चालु आन्दोलनबारे संरा अमेरिकी राष्ट्रपतिले ट्वीटरमा जनाएको प्रतिक्रियाप्रति लक्षित गरी विदेशमन्त्री जिन–भेस ली ड्रानले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
फ्रान्समा बढ्दो आन्दोलनलाई लिएर ट्रम्पले ट्वीट गरेका थिए, “पेरिस सम्झौताले पेरिसको हित गरिरहेको छैन । फ्रान्सभरि विरोध र दङ्गा मच्चिरहेको छ ।”
ट्रम्पलाई सङ्केत गर्दै विदेशमन्त्रीले ‘आफ्नो देशलाई जहाँ छ, त्यही रहन दिन’ भनेका छन् ।
“हामी अमेरिकाको आन्तरिक राजनीतिमा दख्खल गर्दैनौं र हामी पनि अमेरिकाबाट उस्तै व्यवहारको अपेक्षा गर्छौं ।” उनले भने ।
पहेंलो भेस्ट लगाएर गएको चार सातादेखि सुरू भएको आन्दोलन अझै पनि रोकिने अवस्था छैन । उनीहरूले राष्ट्रपति म्याक्रोंको राजीनामा माग गर्दै आफ्नो आन्दोलनलाई अझ विस्तार गरिरहेका छन् ।
ट्रम्पले आफूले हात झिकिसकेको जलवायु परिवर्तनसम्बन्धी सन्धिबारे आफ्नो मान्यता सही पुष्टि गर्न पेरिस दङ्गातिर औंल्याएका थिए । जवाफमा फ्रान्सेली विदेशमन्त्रीले अमेरिकाका धेरै जनता जलवायु परिवर्तनसम्बन्धी पेरिस सन्धिबाट हात झिक्ने ट्रम्पको निर्णयप्रति असहमत भएको स्मरण गराए ।
यसैबीच राष्ट्रपति म्याक्रोंले चालु अस्थीरतासम्बन्धमा सोमबार देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । म्याक्रोंले हालसम्म औपचारिक रुपमा फ्रान्सको पछिल्लो अवस्थाबारे कुनै औपचारिक रुपमा बोलेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *