भर्खरै :

प्रजग कोरियाली नेता चीन भ्रमणपछि स्वदेश फिर्ता

पेइचिङ, २५ पुस (एएफपी) । प्रजग कोरियाली नेता किम जोङ उन चढेको रेल बुधबार चीनको राजधानी पेइचिङबाट स्वदेश फर्किएको छ ।
प्रजग कोरियाको प्रमुख मित्रको रुपमा रहेको चीनको भ्रमण र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रुपमा लिइएको छ ।
प्रजग कोरियाली नेता किम मङ्गलबार चीनको भ्रमणमा पुग्नुभएको थियो । प्योङयाङको एक प्रमुख कूटनीतिक मित्रको रुपमा रहेको चीनको किमको चौथो भ्रमण हो । यस भ्रमणको प्रमुख उद्देश्य चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता रहेको थियो ।
नेता किम पेइचिङको केन्द्रीय रेलवे स्टेशनमा मङ्गलबार अपराहनमा आइपुग्नुभएको थियो । एक दिनको बसाइपछि सो रेल प्रजग कोरियाको पूर्वी सीमा इलाकामा फर्किएको एएफपी सामाचार समितिका पत्रकारहरूले जानकारी दिएका छन् ।
किम चिनियाँ राष्ट्रपति सी चिनफिङसँग एक घण्टा भेटवार्ता गर्नुभएको थियो । प्रजग कोरियाली नेता किमको मङ्गलबार नै जन्मदिन पनि परेको जनाइएको छ । यी दुबै नेता प्रथम महिलासहित पेइचिङ ग्रेट हल अफ द पिपुलमा जानुभएको दक्षिण कोरियाली समाचार समिति योन्हापले जनाएको छ ।
किमका साथमा प्रजग कोरियाली प्रथम महिला रि सोल जुसहित अरु प्रजग कोरियाली उच्चस्तरीय मण्डल रहेको प्रजग कोरियाली समाचार समिति केसीएनएले जनाएको छ ।
किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ऐतिहासिक दोस्रो शिखर वार्ता हुने समाचार सार्वजनिक भएको अवस्थामा नै किम चीन भ्रमण गर्नुभएको हो ।
यसलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति ट्रम्पसँग दोस्रो शिखर सम्मेलनको पूर्वतयारीका लागि यो भ्रमण भएको भन्ने समाचार पनि सम्प्रेषण गरेका छन् । गत वर्षको जुन महिनामा प्रजग कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो ।
यसै साताको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को भेट कहाँ गर्ने भनी चाँडै नै सार्वजनिक गर्ने बताउनुभएको थियो ।
संयुक्तराज्य अमेरिका र प्रजग कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको थियो । अर्काे बैठक गर्ने बारेमा सहमति भइसकेको छ तर पनि यस बैठकको स्थान र मिति भने तय भएको छैन, राष्ट्रपति ट्रम्पले बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *