भर्खरै :

भक्तपुरमै मोतिविन्दुको शल्यक्रिया तयारी

भक्तपुर, २६ पुस । तिलगङ्गा आँखा केन्द्रले अब भक्तपुरमै आँखाको शल्यक्रिया गर्ने भएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र, भक्तपुरले भक्तपुरमै नियमित मोतिविन्दूको शल्यक्रिया गर्ने तयारी गरेको हो ।
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको च्याह्मासिंहस्थित आँखा केन्द्रका प्रमुख धीरज अधिकारीका अनुसार आउँदो माघ महिनाबाट केन्द्रमा आँखाको शल्यक्रियाको सुविधा थप्न लागिएको हो ।
२०६२ सालबाट आँखाको विभिन्न सेवा दिँदै आएको केन्द्रले हाललाई च्याह्मासिंहमै एक भाडामा लिइएको एक निजी भवनमा आफ्नो सेवा सुरु गर्न लागेको हो । केन्द्रले भक्तपुर नगरपालिकाले बनाउन लागेको ख्वप अस्पतालको भवन बनेपछि स्थायी सेवा दिने केन्द्रका प्रमुख अधिकारीले बताउनुभयो ।
प्रमुख अधिकारीले भन्नुभयो, ‘भक्तपुरमा आँखाका रोगीको सङ्ख्या दिनप्रतिदिन बढ्दैछ, त्यसैले हामीले सेवा विस्तार गर्न लागेका हौँ ।’ उहाँका अनुुसार केन्द्रले सन् २०१८ मा बीस हजार बिरामी केन्द्रमा उपचारको निम्ति आए । उपचारको निम्ति आउने बीस हजारमध्ये ७ हजारले चश्मा लगाउनुपर्ने देखिएको प्रमुख अधिकारीले बताउनुभयो । पुरुषमा भन्दा महिलामा बढी आँखाको समस्या भएको उहाँको भनाइ थियो । चश्मा लगाउनुपर्नेको सङ्ख्या पनि महिलाकै बढी छ ।
हिजोआजको खानपान र बानी व्यवहारको कारण पनि आँखाको रोग बढेको प्रमुख अधिकारीले बताउनुभयो । उहाँको भनाइ छ, ‘बढी टेलिभिजन हेर्ने, मोबाइल चलाउने र हरियो साग तथा फलफूल नखाँदा केटाकेटीमा आँखाको समस्या बढेको हो ।’ भिटामिन ए को अभावमा आँखाको समस्या देखिने विज्ञको भनाइ छ । गाजर, मेवा, फर्सि, माछा, दूधको मात्रा नपुग्दा पनि आँखाको रोग लाग्ने देखिएको हो ।
सामुदायिक आँखा केन्द्रमा सन् २०१८ मै जचाउन आउने रोगीमध्ये ६ हजार जनामा आँखा पाक्ने रोग (कन्जन्टिभाइटीस्) भेटिएको हो । केन्द्रमा गत सालमै २ सय चिनीरोगीको आँखाको पर्दा जाँच गरिएको केन्द्रका प्रमुख अधिकारीको भनाइ छ ।
साथै चार वटा नगरपालिकाहरूमा गरिएको सामुदायिक स्क्रिनिङ (छान्ने) परीक्षण गरिएकोमा दुईसय जनामा मोतिविन्दूको रोग भेटिएको हो । साथै २४३ जनाले तिलगङ्गा आँखा केन्द्रका निःशुल्क शल्यक्रियाको सुविधा पाए । हाल च्याह्मासिंहको आँखा केन्द्रमा सोमबार र बिहीबार तिलगङ्गाकै विशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *