भर्खरै :

मुक्तबहादुरको मुक्तिहीन जीवन

आर.के.श्रेष्ठ
साँझको समय, सूर्य पश्चिम आकाशमा बिदा हुने तरखरमा थियो । मुक्तबहादुर परियार खुल्ला आकाशमुनि बेलुकीको खाना तयार गर्न चटारोमा देखिनुहुन्छ । नारायणगढको सस्तो बजार परिसरमा उहाँले यसरी दिन बिताउन थाल्नुभएको दुई हप्ता पुग्दैछ । सस्तो बजारमा छोराको साथीसँग पुराना जुत्ता मर्मत, सामान मिलाउने र थन्काउने, बिहान बेलुका भात–तरकारी बनाउने काममा उहाँले साथ दिँदै आउनुभएको छ । बुढेसकालमा छोराबुहारीबाट हेंलाहोचो भएपछि ७५ वर्ष उमेरमा अरुको आडभरोसा खोज्दै हिँड्नुपरेको छ ।
परियारको खास घर पोखरा हो । सताइस सालमा रोजगारीको सिलसिलामा चितवन आउनुभयो । ‘दस–बाह्र वर्ष नारायणगढ बजारमा कुल्ली काम गर्नुभयो । दिनको पचास÷ सय कमाई हुन्थ्यो । शारीरिक बलको काम गर्नुपर्दथ्यो । दुई–चार हजार जम्मा हुन्थ्यो, औषधि उपचार गर्नैप¥यो । अरु पनि सानाठूला खर्च हुने नै भयो । त्यस्तैमा अल्झेर सम्पत्ति भने उहाँले जोड्न सक्नुभएन । परिवार चलाउनै धौ धौ थियो अधिकांश मजदुरका जस्तै उहाँको जीवन ।
राम्रो काम र पैसा कमाइने आशामा साथीसङ्गतले २०५० सालतिर उहाँ भारत जानुभयो । त्यहाँ २२ वर्षसम्म एउटै साहुको घरमा चौकीदार भएर बस्नुभयो । चौकीदारीको काम त सजिलो तर तलब भने थोरै । सुरुमा महिनाको तीन सयमा काम गर्नुभयो । धेरै समयपछि मुक्तबहादुरले महिनाको दशहजारसम्म हात पार्नुभयो । भारतमा नेपालीहरु जोखिमपूर्ण र तल्लो स्तरको काम गर्दा पनि थोरै तलब पाएको देख्दा, नेपाली कामदारमाथि भारतीय साहुको हेंला र होचोका दृश्यले उहाँको मन दुख्ने गर्दोरहेछ । गरिब र दुःखीहरु कहीं गए पनि सुख र आनन्द पाइने रहेनछ भन्ने उहाँको मनमा परेको छ । उमेर ढल्किदै गएकोले उहाँको शरीर कमजोर र रोगले पनि च्याप्दै गयो । साहुसँग सल्लाह भएर उहाँ ७२ सालमा नेपाल फर्किनुभयोे ।
भारतमा हुँदा पनि मुक्तबहादुरले जम्मा भएको केही पैसा घर खर्चको लागि पठाउनु हुन्थ्यो । उहाँ सुनाउनु हुन्छ– “घर परिवारकै लागि म इन्डिया नोकरी गर्न गएको थिएँ । कमाएको पैसा पनि छोरा बुहारीले मागेअनुसार घर पठाइँथ्यो । श्रीमतीको पनि आफू भारतमै हुँदा एक वचन बोल्न नपाई अकस्मात मृत्यको दुःखद खबर सुन्नप¥यो । आज आएर आफूसँग सम्पत्ति पनि छैनन न जीवन साहारा श्रीमती नै रह्यो । अहिले आएर बुहारीले धेरै हेला गर्छिन् । कहिले कता कहिले के गरेर दिन धकेल्ने बाटो गर्नु परेको छ”– उहाँले बताउनुभयो ।
नेपाल फर्केदेखि उहाँलाई दिन कटाउन पनि मुस्किल भएको छ । एक–डेढ महिना नोकरी गरियो । दुईमहिना देवघाट आश्रम बसियो । बाँचुन्जेल केही न केही भोग्नुपर्दो रहेछ– उहाँले सुनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *