भर्खरै :

के पृथ्वीनारायण शाहको सेनाले कीर्तिपुरेका नाक काटेका थिए ? –१

डा. बालगोपाल श्रेष्ठ
शाह राजाहरूको प्रत्यक्ष शासनअन्तर्गत विशेषतः पञ्चायतकाल (सन् १९६०–१९९०) मा लेखिएको नेपालको इतिहासमा शाह राजाहरूका बखानबाहेक केही छैन । शाहकालमा निकै चलेका बाबुराम आचार्य (सन् १८८८–१९७१), सूर्यविक्रम ज्ञवाली (सन् १८९८–१९८५) जस्ता इतिहासकारहरूले विशेषतः गोरखाका राजा पृथ्वीनारायण शाह (सन् १७२३–१७७५) लगायत शाह राजाहरूको प्रशंसागानमा आफ्नो प्रशस्त बौद्धिक क्षमता खर्चे । पृथ्वीनारायण शाहले सैनिक हमला गरेर नेपाल (काठमाडांै उपत्यका) लगायत धेरै स–साना राज्यहरू जितेका थिए । ती इतिहासकारहरूले पृथ्वीनारायण शाहलाई ‘नेपालका एकीकरणकर्ता’ र ‘आधुनिक नेपालका रचयिता’ जस्ता विशेषणमात्र दिएनन्, बरु उनको नेतृत्वमा भएको सैनिक हमलाको क्रममा हमला भोगेका राज्यका जनतामाथि भएको नृशंस दमनलाई समेत छोप्न भरमार प्रयत्न गरे । विशेषतः कीर्तिपुरका जनताको नाक काटेको घटनाबारे उनीहरूले गर्ने गरेको व्याख्यालाई यसको उदाहरणको रुपमा लिनसक्छौं । पृथ्वीनारायण शाहका प्रशंसक भएकाले कीर्तिपुरका मानिसहरूका नाक काटेको आततायी घटनाबारे फादर गुस्सेपे आफैले देखेको वर्णन र अरु इतिहासकारका कथन उनीहरू सुन्न चाहँदैनन् । (कीर्तिपुरको सो घटनासम्बन्धी वर्णनका लागि हेर्नुहोस्, फादर गुस्सेपे–एकाउन्ट अफ द किङदम अफ नेपाल–१७९९, विक्रमजीत हसरत–हिस्ट्री अफ नेपाल एज टोल्ड बाई इट्स ओन एण्ड कन्टेम्पोरारी क्रोनिकल्स–१९७० र पर्सिभल लान्डन–नेपाल–१९२८)
बाबुराम आचार्य (नेपालको संक्षिप्त वृत्तान्त–२००६) देखि नेपालका आजका अति तर्कजीवी बुज्रुकहरूजस्तै दिनेश सत्याल उर्फ सौरभ (फिरङ्गी मिथ नसकटपुर, कान्तिपुर दैनिक २०७१ मंसिर २४ गते), सुजित मैनाली (पृथ्वीनारायणलाई किन देखिसहन्न पश्चिम ?– अन्नपूर्ण दैनिक, २०७३ पुस २३ गते) ले कीर्तिपुरका जनताको नाक काटेको इतिहासलाई असत्य वा अतिरञ्जित भनी व्याख्या गर्ने गरेका छन् । नेपालमाथि पृथ्वीनारायण शाहले कब्जा जमाइसकेपछि देशनिकाला गरिएका इसाई मिसनले रिसमा त्यस्तो अतिरञ्जनापूर्ण प्रचार गरेको उनीहरूको विश्वास छ । तथापि धेरै विद्वानहरूले ती लेखकहरूलाई पृथ्वीनारायण शाहका अन्धभक्त भएको भनी आलोचना गरेका छन् । (उदाहरणको लागि हेर्नोस्, राजेन्द्र महर्जनलिखित ‘म कीर्तिपुरे नाक माग्दैछु’ (कान्तिपुर–२०७० माघ ९ गते) र कविताराम श्रेष्ठलिखित ‘कीर्तिपुरेहरूको नाक, कान र ओठ काटेको तथ्य लुकाउने… देख्दा नेवार जातिलाई च्वास्स बिझ्छ’–कीर्तिपुर सन्देश (२०७० माघ २९ गते)
कीर्तिपुरको सो घटनाबारे फादर गुस्सेपेको भनाइ उल्लेख गर्दै यो लेख आरम्भ गर्नु उपयुक्त हुनेछ । गुस्सेपेको प्रत्यक्षदर्शी वर्णन यसप्रकार छः
“…लामो समयको घेराबन्दीका कारण निकै थाकेका कीर्तिपुरका बासिन्दाको नाममा गोर्खाका मानिसले आममाफी जारी गरेका थिए । आफूलाई दिइएको वचन पूरा हुने आशासहित कीर्तिपुरका जनताले आफूलाई बन्दीको रुपमा आत्मसमर्पण गरे । त्यही बेला गोर्खालीहरूले सहरका सबै द्वार र किल्लाहरू कब्जा गरे । नुवाकोटमा रहेका पृथ्वीनारायण शाह लामो यात्रा छिचोलेर दुई दिनपछि कीर्तिपुर पुगे । कीर्तिपुर पुगेर उनले आफ्ना भाइ सुरप्रताप शाहलाई सहरका सबै बासिन्दाको नाक र ओठ काट्न आदेश दिए । आफ्नो आमाको काखमा बसेका बाहेक सबै केटाकेटीलाई समेत नछोड्न भनियो । कति जना मानिस रहेछन् भनी थाहा पाउन त्यसरी काटिएका सबै नाक र ओठ एकै ठाउँमा जम्मा गर्न आदेश दिए । अनि कीर्तिपुर सहरको नाम नासकाटपुर राख्न आदेश दिए । नासकाटपुरको अर्थ नाक काटिएकाहरूको सहर हो । निकै आतड्ढ र क्रुरतापूर्वक पृथ्वीनारायण शाहको आदेश पालना गरियो । फुक्ने बाजा बजाउनेहरूबाहेक कोही पनि यो क्रुरताबाट जोगिएनन् । त्यत्तिबेला त्यस्तो प्रकारको अमानवीय दमन भएको जानकारीबिना नै फादर माइकल एन्जेलो सुरप्रताप शाहको घरमा गएर विचारा कीर्तिपुरबासीहरूको पक्षमा अनुनय गर्न गएका थिए । यसरी नाक र ओठ काटिएका धेरै मानिसले पीडा सहन नसकेर आफ्नो प्राण त्यागेका थिए भने अति बलिया मानिस हामी कहाँ औषधि उपचारका लागि आएका थिए । मरेका मानिसको खप्परका जस्ता लाग्ने दाँत र नाक भएका मानिस धेरै सङ्ख्यामा देख्दा निकै चकित पारेको थियो ।” (हेर्नोस् जुस्सेप– ‘एकाउन्ट अफ द किङदम अफ नेपाल’)
यो वर्णनले बाबुराम आचार्यलाई निकै समस्यामा पारेको थियो र यसलाई लत्याउन उनले आफूले सकेको प्रयास गरेका थिए । त्यही भएर बाबुराम आचार्यले आफ्नो कृति ‘नेपालको संक्षिप्त इतिहास’ (२००६) मा अन्तिमका पूरा सात पृष्ठ पृथ्वीनारायण शाहको बचाऊमा खर्चेका छन् । उनको विचारमा कीर्तिपुर, भक्तपुरलगायत गोर्खाली सेनाले कब्जा गरेका अन्य ठाउँमा मच्चाएको नृशंस दमनका केही घटनाबारे फादर गुस्सेपे र अन्य विदेशी लेखकहरूले लेखेका सबै दाबी पृथ्वीनारायण शाहलाई बदनाम गर्न लेखिएका वर्णन हुन् । नेपालबाट इसाईहरूलाई निकाला गरेपछि रिसाएर ती विदेशीले शाहको बदनाम गर्न खोजेको उनको भनाइ हो । तर, कीर्तिपुरमा नाक र कान काटेको घटना भने उनी पूर्णरुपमा अस्वीकार गर्दैनन् । बरु उनले कीर्तिपुरमाथि गोर्खाले कब्जा गरेको पहिलो बिहान गोर्खाली सिपाहींको हत्या गर्न आँट गर्ने केही युवाहरूको मात्र नाक र कान काटिएको भनी आफ्नै कथा बुनेका छन् ।
“कीर्तिपुर कब्जा गर्न रातभर नसुतेका केही गोर्खाली सिपाहीं बिहान सुस्ताइरहेका थिए । उनीहरूमाथि ८–१० जना गुण्डाहरूले पानीघट्टका काम नलाग्ने घट्टले हमला गरे । हमलामा परी ८–१० जना गोर्खाली सिपाहीं मारिए । पछि ती हमलाकारीलाई गिरफ्तार गरियो । काजी सुरप्रताप शाहले राजा पृथ्वीनारायण शाहसमक्ष उनीहरूलाई के सजाय दिने भनी सोधनी भयो । राजाले भने– “मैले प्रजाको जीवन र सम्पत्तिमा क्षति नगर्ने वचन दिएको थिएँ । उनीहरूले जस्तोसुकै अपराध गरे पनि उनीहरूलाई मृत्युदण्डको सजाय दिन्नँ । बरु उनीहरूका कान र नाक काटेर देश निकाला गर ।” (बाबुराम आचार्य, नेपालको संक्षिप्त इतिहास)
बाबुराम आचार्यले पृथ्वीनारायण शाहको बचाउमा अझ निम्न शब्द लेखेका छन्, “केही इसाई धर्मप्रचारकले पृथ्वीनारायण शाहलाई दमनकारी र बर्बर राजाको रुपमा प्रस्तुत गर्ने असफल प्रयास गरे । वास्तवमा उनीहरूले तिललाई पहाड बनाएका छन् ।” (उहीं)
इतिहासकार एल.एफ. स्टिलर (१९२८–२००९) ले कीर्तिपुर घटनाबारे बाबुराम आचार्यको वर्णन अस्वीकार गरेका छन् । आचार्यले आफ्नो व्याख्याको कुनै प्रमाण प्रस्तुत गरेका छैनन् । स्टिलरले आचार्यलाई अन्य कुनै प्रमाण फेला नपर्दासम्म फादर गुस्सेपेको भनाइलाई पूर्णरुपमा अस्वीकार गर्नु वा संशोधन गर्नुभन्दा स्वीकार्न आग्रह गरेका थिए । उनले लेखेका छन्,
“वास्तवमा तीनवटा स्वतन्त्र स्रोतहरू– फादर गुस्सेपेको भनाइ, वंशावली र लीलानाट्यश्वर शर्मा बराल तथा सूर्यविक्रम ज्ञवालीका किताबमा उल्लेखित सो घटनासँग सम्बन्धित संस्कृत कविताका साथै क्रिकप्याट्रिकले घटना भएको झण्डै तीस वर्षपछि आउँदा भेटेका त्यत्तिबेला जीवित घटनाका साक्षीहरूको भनाइअनुुुसार पनि कीर्तिपुर घटनाको व्याख्या अतिरञ्जना थिएन बरु सिधा तथ्यहरू थिए । ती प्रत्यक्षदर्शीहरू त्यत्तिबेला उनको यात्रामा भरियाको रुपमा आएका थिए ।” (लुडविग स्टिलर, पृथ्वीनारायण शाह इन द डे लाइट अफ दिव्य उपदेश–१९६८)
स्टिलरले सो विवाद दस वर्ष आफ्नो अर्को किताब ‘द राइज अफ द हाउस अफ गोर्खाः अ स्टडी इन द युनिफिकेसन अफ नेपाल’ प्रकाशन हुने समयसम्म पनि नसुल्झिएको लेखेका छन् । त्यत्तिबेलासम्म बाबुराम आचार्यले पनि आफ्नो अडानमा कुनै परिवर्तन गरेका थिएनन् । नेपाली इतिहासकार कृष्णकान्त अधिकारीले पनि बाबुराम आचार्यले पृथ्वीनारायण शाहलाई दोषमुक्त गर्न गरेको प्रयासको आलोचना गरेका छन् ।
“बाबुराम आचार्यजस्ता लेखकहरूले कीर्तिपुरका जनताविरुद्ध दमनका क्रममा गरेका नृशंसताबाट पृथ्वीनारायण शाहलाई दोषमुक्त गर्ने प्रयास गरे । कीर्तिपुरमा नाक काटेको घटनासम्बन्धमा पृथ्वीनारायण शाहको आदेशबारे फादर गुस्सेपे, क्रिकप्याट्रिक र अन्य नेपाली वंशावलीका भनाइ गलत भएको आचार्य बताउँछन् । एक क्षणलाई मानौं, इसाई मिसनरीको नियतमाथि शङ्का गरी देश निकाला गरेका कारण गोरखाली शासकविरुद्ध युरोपेली लेखकले पूर्वाग्रहवश त्यस्ता कुरा लेखेका थिए रे । तर, पृथ्वीनारायण शाहका समकालीन कवि ललितावल्लभको भनाइ कसरी आँखा चिम्लेर लेखिएको हुनसक्ला र ? ललितावल्लभले पनि कीर्तिपुरका केही मानिसको राजाले नाक काटेको लेखेका छन् । आचार्यले आफ्नो तर्कलाई बलियो बनाउन कविले उल्लेख गरेका केही शब्दमाथि समेत प्रश्न गर्ने असफल प्रयास गरेका छन् ।” (कृष्णकान्त अधिकारी, अ ब्रिफ सर्भे अफ नेपाली हिस्टोरियोग्राफी–१९८०)
(हेडलवर्ग विश्वविद्यालय, हेडलवर्ग एकेडेमी अफ साइन्सेस एण्ड हुमेनिटीअन्तर्गत ‘डकुमेन्ट अन द हिस्ट्री अफ रिलिजन एण्ड ल अफ प्रि–मोर्डन नेपाल’ अनुसन्धान एकाइको लागि यो लेखको एउटा अंश तयार गरिएको थियो ।)
अनुवाद ः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *