भर्खरै :

के पृथ्वीनारायण शाहको सेनाले कीर्तिपुरेका नाक काटेका थिए ? – २

 डा. बालगोपाल श्रेष्ठ
त्यस्तै गरी इतिहासकार तुल्सीराम वैद्य र तीर्थप्रसाद मिश्रले पनि घटनाको आलोचनात्मक रूपमा विश्लेषण गरेपश्चात् बाबुराम आचार्यको भनाइप्रति असहमति व्यक्त गरे र कीर्तिपुरको घटना भएको निश्चित गरे । अर्का लेखक ईश्वर बरालको नामले बढी चर्चित लीलानाट्यश्वर शर्मा (१९२३–१९९७) ले बेलायतको लण्डन विश्वविद्यालयलाई बुझाएको आफ्नो विद्यावारिधि शोधमा सो घटनाबारे प्रस्ट रूपमा लेखेका छन् ः
“सन् १७६६ को १४ मार्च शुक्रबारका दिन आत्मसमर्पण गरेको दुई दिनपछि उन (पृथ्वीनारायण शाह) ले सुरप्रतापलाई सहरमाथि कब्जा जमाउन पठाए । उनी त्यहाँ पुगेलगत्तै बा¥ह वर्षदेखि माथिका सबै पुरुषलाई अर्को दिन किल्लामा भेला गराउन आदेश दिए । नयाँ राजालाई सम्मान व्यक्त गर्न त्यस्तो भेला आयोजना गरिएको भनिएको थियो । तर, त्यत्तिबेला पृथ्वीनारायण शाह आफैं भने त्यहाँ थिएनन् । जब मानिसहरू अर्को दिन भेला हुन भनिएको ठाउँमा भेला भए, सुरप्रतापले उनीहरूमाथि निकै निर्मम क्रुरताका साथ दुव्र्यवहार गरे । सहरका मुली मानिसहरूको हत्या गरियो र बाँकीमध्ये अधिकांशको नाक काट्न सिपाहींहरूलाई आदेश दिइयो । साथै उनले कीर्तिपुरको किल्लामा आगजनी गरे र त्यहाँ रहेका घरहरू पनि जलाइदिए । सुरप्रतापको एउटा आँखा फोडेका कारण पृथ्वीनारायण शाह कीर्तिपुरका मानिससँग रिसाएको भनिन्छ । त्यसको बदला लिन उनले सबैका नाक र ओठ काट्न आदेश दिए । फादर गुस्सेपेको बयानबाट पनि यो कुरा प्रस्ट हुन्छ । गुस्सेपेको वर्णनमा त पाटनको कापुचिन मिसनरीका माइकल एन्जोला कीर्तिपुरका जनताको पक्षमा याचना गर्न सुरप्रताप शाहसामु पुगेको भनी लेखेका छन् । पृथ्वीनारायण शाहका मूल पादरीमध्येका एक समकालीन कवि ललिताबल्लभले पनि नाक काटेको घटनाबारे लेखेका छन् । सन् १७९३ मा नेपाल पुगेका क्रिकप्याट्रिकले आफ्नो भ्रमणको क्रममा उत्तिबेला नाक काटिएका मानिसहरूसँग भेटेका थिए । नाक, कान र टाउको काट्ने आदेश भोटेहरूलाई दिइएको पनि बताइन्छ । पृथ्वीनारायण शाहले ती भोटेहरूलाई पनि अत्याचार गरेको भन्दै हत्या गर्न लगाएका थिए । (लीलानाट्येश्वर शर्मा बराल–लाइफ एण्ड राइटिङ अफ पृथ्वीनारायण शाह–१९६४)
भीमसेन थापा प्रधानमन्त्री रहँदा (१८०६–३७) अर्थात् पृथ्वीनारायण शाहले नेपालमाथि विजय हासिल गरेको झण्डै चार दसकपछि एकजना नेवार लेखक पण्डित सुन्दरानन्द विरासिताले एउटा पुस्तक लेखेका थिए । त्यो पुस्तकको नाम थियो – त्रिरत्न–सौन्दर्यगाथा । उक्त पुस्तकमा लेखकले पृथ्वीनारायण शाहको उँचो प्रशंसा गरेका छन् । तर, उनले पनि कीर्तिपुरका मानिसहरूको नाक काटेको घटनाबारे आफ्नो पुस्तकमा लेखेका छन् । संस्कृतका श्लोकहरूका साथै उनले आफ्नो कृतिमा पुरानो खस अथवा पर्वते (गोर्खाली) भाषामा प्रस्टसँग त्यत्तिबेला कीर्तिपुरमा पुरुषको मात्र होइन, महिलाको पनि नाक काटिएको लेखेका छन् ।
“आफूलाई कानो बाजे भनेको रिसमा सुरप्रतापले पृथ्वीनारायण शाहको अनुमतिमा कीर्तिपुरका पाँच वर्षभन्दा माथिका सबै पुरुष र महिला समेतका नाक काट्न लगाएका थिए । उनीहरूका सबै सम्पत्ति र जमिन खोसेका थिए । गोर्खाली कीर्तिपुर नगरभित्र पसेपछि धोखा दिनेलाई सजायस्वरूप त्यस्तो गरियो । आजसम्म पनि कीर्तिपुरका जनताले धोखा दिन छोड्ने छैनन् न त उनीहरू खुसी नै हुनसक्छन् ।”(पण्डित सुन्दरानन्द विरासिता, त्रिरत्न सौन्दर्यगाथा–सन् १९६२) हालसालै मणिक बज्राचार्य र एक्सल माइकल्सले ‘हिस्ट्री अफ द किङ्स अफ नेपाल’ प्रकाशन गरे । पुस्तकको पहिलो खण्डमा खस भाषामा लेखिएका केही छानिएका नेपाली वंशावलीको उतार समेटिएका छन् । दोस्रो खण्डमा पनि यसका केही बाँकी उतार समावेश छन् । कीर्तिपुरका मानिसको नाक काटिएको घटनासम्बन्धी अभिलेख पहिलो खण्डमा प्रकाशन गरिएको छ । दोस्रो खण्डमा यसको अङ्ग्रेजी अनुवाद समावेश छ । अङ्ग्रेजी अनुवाद यसप्रकार छ ः
‘कीर्तिपुर युद्धको समयमा सुरप्रताप शाहको एउटा आँखा फुटेको थियो । राजाले यसैको रिस साँध्न कीर्तिपुरका मानिसका नाक काट्न आदेश दिए । बा¥ह वर्षभन्दा माथिका सबै मानिसको नाक काटियो । काटिएको नाकको तौल सत्र धार्नी, एक सेर भएको थियो । नाक काटिएका जम्मा मानिसको सङ्ख्या ८६५ थियो । कीर्तिपुरका मानिसले सात वर्षसम्म गोर्खालीलाई कीर्तिपुर सहर पस्न दिएका थिएनन् । कीर्तिपुरका जनता पराजित भएपछि मात्र गोर्खाली सेना त्यहाँ पस्न सकेका थिए । त्यस्ता बहादुर सिपाहीं र जनता पराजित भए र उनीहरूका नाक काटियो । (मणिक बज्राचार्य र एक्सल माइकल्स–नेपालीका भुपाल वंशावली हिस्ट्री अफ द किङ्स अफ नेपालः बुद्धिस्ट क्रोनिकल)
कीर्तिपुरका रैथाने शुक्रसागर श्रेष्ठको कथन
माथि उल्लेखित स्रोतको चर्चापछि कीर्तिपुरका रैथाने शुक्रसागर श्रेष्ठ (१९५२–२०१७) का कथनलाई प्रस्तुत गर्नु उपयुक्त हुनेछ । नेपालका विख्यात पुरालेखशास्त्री तथा पुरातत्वविद् कीर्तिपुरकै रैथाने बासिन्दा दिवंगत शुक्रसागर श्रेष्ठले खस भाषामै लेखेको एउटा लेखमा आफूसँग भएका ऐतिहासिक अभिलेखको आधारमा कीर्तिपुरमा नाक काटेको घटना निश्चय गरेका छन् । नाक काटिएको पुर्खाको सन्तानको रूपमा आफूलाई अपमान गर्ने गरिएका आफ्ना अनुभव पनि उनले सो लेखमा उल्लेख गरेका छन् । उनले सो घटनालाई अस्वीकार गर्नुभन्दा सबैले त्यो सत्यलाई स्वीकार्दा नै सो घटनाका पीडितका सन्ततिले राहत महसुस गर्ने कुरामा जोड दिएका छन् । मेरो अनुरोधमा उनले आफ्नो लेखमा चर्चा गरेका अभिलेखको विद्युतीय प्रति मलाई उपलब्ध गराएका थिए । उनको सहृदयताको निम्ति म सदा आभारी रहनेछु । मलाई अभिलेखका विद्युतीय प्रति उपलब्ध गराएको केही समयपश्चात् उनको दुःखद् निधन भयो । उनले उपलब्ध गराएका तिनै अभिलेखको अनुलिपि प्रस्तुत छ ः
शुक्रसागर श्रेष्ठबाट प्राप्त अभिलेखको अनुलिपिको अनुवाद
उप्रान्त महाराज करुणानिधान दयासागर नेपालमा श्री पृथ्वीनारायण महाराज प्रवेश हुँदा तीन सहरको बिर्ता थामी बक्सेको र हामी कीर्तिपुरेहरूको बिर्ता हर्ने नाक काट्ने हुनाले तीन सहरबमोजिम हामी नाककटुवाहरूको बिर्ता थामी पाऊँ भनी बिन्ती चढाउँदा कालु पाण्डे मार्ने हुनाले नाक काटेकाको बिर्ता हराएको भनी हुकुम भई नाक कटुवा जतिलाई पाखो टार खेत दुई रोपनी दिनु भनी बक्सेको जम्मा एक हजार रोपनी खेत कमाई भोगचलन गरी खाई बसेकोमा पछि सो खेतको तिरो दराउनलाई कौसी (राजपरिषद्) पठाउँदा जाँच्न दिने र जाँच्न नदिने हुनाले पछि कौसीबाट पक्री जाँच्न दिनेलाई पैरु १÷२ र जाँच्न नदिनेलाई दबल पैरु १ तिरो दराई गुज्र्युको खानगीमा खुवा थपेको श्री पृथ्वीनारायण महाराज नेपाल प्रवेश हुँदा तीन सहरको बिर्ता थामिबक्सेको खेत रैकर ठहर्ने नाक कटुवाहरूलाई बक्सेको खेत रैकर ठहराई नापजाँच गर्नु पाउने होइन नापजाँच गर्नु भनी हुकुम मर्जीको तोक प्रमाणी नापजाँच गर्ने अड्डालाई पाउने हुन प्रभुको जो मर्जी हुकुम ।
टिप्पणी
यो युद्धमा पराजयपश्चात् नाक काटिएका र आफ्नो जमिन कब्जा गरिएका कीर्तिपुरका जनताले राजा पृथ्वीनारायण शाहलाई बुझाएको बिन्ती पत्र हो । यो अभिलेख तत्कालीन सरकारलाई आफूबाट खोसिएको जमिन फिर्ता गर्न उनीहरूले चढाएको निवेदन हो । यो अभिलेखले पनि राजा पृथ्वीनारायण शाहले कीर्तिपुरका ती मानिसको नाक काट्न आदेश दिएको र उनीहरूका जग्गा जमिन कब्जा गरेको प्रस्ट हुन जान्छ । युद्धमा कालु पाण्डेलाई मारेकै कारण उनीहरूलाई यस्तो सजाय दिइएको यो अभिलेखले प्रस्ट पार्छ । राजा पृथ्वीनारायण शाहले उनीहरूका जमिन कब्जा गरे पनि प्रत्येकलाई सजायस्वरूप पाखो टार खेत दुई–दुई रोपनी जग्गा दिइएको थियो । साथै यो अभिलेखले नाक काटिएका सबै मानिसलाई उनीहरूलाई दिइएको खेतको भूमिकर तिरे–नतिरेको बुझ्न राजपरिषद्मा हाजिर हुन बोलाइएको तर डरले प्रायश ः हाजिर नभएको र त्यसै कारण उनीहरूलाई थप सजाय गरेको देखाएको छ । पछि भए पनि हाजिर हुन आउनेलाई १÷२ रूपैंयाँ र जो हाजिर हुन आएका थिएनन्, उनीहरूलाई १ रूपैंया जरिवाना गरिएको थियो ।
यो अभिलेख कहिले लेखिएको थियो अथवा कति पुरानो हो, त्यो भने प्रस्ट छैन । तथापि कीर्तिपुरका मानिसको नाक काटिएको आततायी घटनाको सत्य बुझ्ने कोणबाट यसले पीडितको अवस्था प्रस्तुत गरेकोले महत्वपूर्ण दस्तावेज हो ।
भागवत प्रधानसँगको अभिलेख
काठमाडौँको थबही निवासी भागवत प्रधानले हालै एउटा अभिलेखको हिस्सा आफ्नो फेसबुक पेजमा सार्वजनिक गरे । सो अभिलेखमा कीर्तिपुरका मानिसको नाक काटिएको घटनाको व्याख्या गरिएको छ । उनले आफ्नो परिवारसँग त्यो अभिलेख भएको बताएका छन् । यो अभिलेख पुन ः प्रकाशन गर्ने अनुमति दिई पाठकलाई लाभान्वित गरेकाले म भागवत प्रधानप्रति आभार व्यक्त गर्छु ।
भागवत प्रधानसँग भएको अभिलेखको अनुलिपिमाथि टिप्पणी
यो अभिलेखमा कीर्तिपुर युद्धको क्रममा सुरप्रतापको एउटा आँखा फुटेको आक्रोशमा कीर्तिपुर प्रवेश गरेपछि कसरी बा¥ह वर्षभन्दा माथिका सबैले राजालाई सलामी चढाउन आउनु भनी आदेश जारी गरिएको थियो भन्ने कुरा लेखिएको छ । तर, जसै ती मानिसहरू सलामी चढाउन आए उनीहरूलाई सैनिक किल्ला (कोत) मा कैद गरियो । एकदिनपछि उनीहरूको नाक काटियो । यसरी काटिएको नाकको जम्मा तौल ३०.३४ किलोग्राम (१२ धार्नी १ सेर र ६ तोला) थियो । जम्मा आठ सय ६५ जना मानिसको नाक काटिएको थियो । पछि नाक काट्ने जिम्मा पाएका भोटेहरूलाई मृत्युराज यमराजको राज्य यमलोक पठाइयो अर्थात् उनीहरूलाई पनि मारियो किनभने उनीहरूलाई नाकमात्र काट्न आदेश दिइएको थियो, तर उनीहरूले आदेश नदिइएको ओठ पनि काटेका थिए ।
यो अभिलेखको सुरुमा नेपाल संवत् ८९६ (सन् १७७५) उल्लेख गरिएको छ । तर, यो साल किन उल्लेख गरियो, प्रस्ट छैन किनभने वास्तवमा कीर्तिपुरको घटना सन् १७६५ मा भएको थियो । तथापि यो अभिलेखमा प्रयोग भएको पुरानो पर्वतीया÷खस भाषाको अक्षर शैलीले यसको मौलिकता झल्काउँछ ।
यो अभिलेखले कसरी तत्कालीन सरकारले कीर्तिपुरका मानिसलाई झुक्याएर बा¥ह वर्ष उमेरभन्दा माथिका सबै मानिसलाई राजालाई सलामी चढाउन बोलाइएको थियो तर भेला भएका मानिसलाई सैनिक कारागारमा थुनिएको थियो, अनि उनीहरूको नाक काटिएको थियो भन्ने कुराको व्याख्या गरेको छ । नाक काटिएका मानिसको जम्मा सङ्ख्या ८६५ जवान भएको तथ्याड्ढ बज्राचार्य र माइक्सको किताबमा उल्लेखित सङ्ख्यासँग मेल खाएको छ । अधिकांश इतिहासकारले कीर्तिपुरका बासिन्दाको नाक काटिएको घटनामा एकमत भए पनि केही इतिहासकारले दाबी गरेको काटिएको नाकको धार्नीमा भने विमति रहँदै आएका छन् । भागवत प्रधानसँग भएको अभिलेखमा उल्लेखित काटिएको नाक र आेंठको जम्मा तौल
(३०.३४ किलोग्राम) बज्राचार्य र माइक्सले दिएको तौल (४२.६२ किलोग्राम) भन्दा कम छ । तौलकै सम्बन्धमा पर्सिभल लाण्डनले लेखेका छन्,“हुकुम तामेली भएको प्रमाणको रूपमा पृथ्वीनारायणसामू नाक र ओंठको जम्मा तौल भनी भयानक तथ्याड्ढ प्रस्तुत गरियो । नाक र ओठको तौल आठ पाउन्ड थियो ।’ (पर्सिभल लाण्डन, नेपाल) यो तौल बज्राचार्य र माइकल्सको वंशालवलीमा प्रस्तुत तौलसँग नजिक छ । प्रधानको अभिलेखमा काट्न भनिएको नाकमात्र नकाटी आेंठसमेत काटेको हुनाले नाक काट्ने काम दिइएका भोटेहरूसमेतलाई मारिएको उल्लेख छ । यो अभिलेख महत्वपूर्ण छ किनभने यो रैथाने लेखकले लेखेका छन् र कुनै बेला शाह परिवारको सेवामा लागेको काठमाडाँै ठमेलका प्रधान परिवारबाट प्राप्त हुनुका कारण पनि यसको महत्व छ ।
कीर्तिपुर घटनाको वास्तविक दिन र मिति दर्शाउने वंशावली
हालसालैमात्र मेरो जानकारीमा आएको एउटा वंशावलीको अर्को पृष्ठ म अर्को प्रमाणको रूपमा प्रस्तुत गर्न चाहन्छु । कीर्तिपुरमा नाक काटिएको घटनाको वास्तविक दिन, मिति, महिना र वर्षसमेत यो अभिलेखमा खुलाएको छ । गोर्खा हमलाका केही अन्य अभिलेखका साथै यसमा कीर्तिपुरमाथिको हमलाको व्याख्या गरिएको छ । यसका अन्तिम पाँच पङ्क्ति प्रत्यक्ष रूपमा यो लेखको चर्चासँग सम्बन्धित छ । त्यसैकारण सो अभिलेखका अन्तिम पाँच पङ्क्तिको उतार प्रस्तुत छ ः
शाके १६८६ संवत् १८२१ आश्विन महिना ४ गते आश्विन वदि ६ आइतबार कीर्तिपुरमाथि हमला भयो । तर, सफल भएन । शाके १६८७ संवत् १८२२ जेठ महिना १ गते जेठ वदि ६ शुक्रबार राति लुटी कोटमा कब्जा जमायो । पुन ः चैत महिना ३ गते मलमास शुदि बुधबारका दिन कीर्तिपुर कब्जा गरियो । चैत २७ गते कीर्तिपुरका सबै मानिसको नाक काटियो ।
टिप्पणी
एकजना रैथाने नेवार अभिलेखकर्ताले लेखेको यो अभिलेखले कीर्तिपुरमा नाक काटिएको घटनालाई अभिलेखीकरण गरेको छ । साथै त्यो घटना कुन दिन, मिति, महिना र वर्षमा भएको थियो भन्ने कुरा प्रस्ट दिइएको छ । त्यत्तिमात्र होइन, यसमा चन्द्रमासको दिन र महिनासमेत प्रस्टरूपमा लेखिएको छ । नेपाली इतिहासकार दिनेशराज पन्तले यो मिति नै कीर्तिपुरको घटना भएको सही मिति भएको स्वीकारेका छन् । (दिनेशराज पन्त, ‘पृथ्वीनारायण शाहले कीर्तिपुरवासीको नाक काटेका थिए ?’) यो अभिलेखको रोचक कुरा के हो भने यसमा दुवै संवत् शाके र विक्रममा सूर्यमास र चन्द्रमास दुवैमा महिना र सूर्यमास र चन्द्रमासमा मिति र दिनसमेत एकसाथ खुलाइएको छ । यो अभिलेखअनुसार सन् १७६५ को १७ मार्चका दिन (विसं १८२२ चैत ३) गते कीर्तिपुर कब्जा गरियो । तर, सन् १७६५ को १० अप्रिल अर्थात् २७ चैतको दिन अथवा कीर्तिपुरमाथि विजय गरिएको दिनले २४ दिनपछि सबै कीर्तिपुरवासीका नाक काटिएको थियो । यो अभिलेखले कति जना मानिसको नाक काटियो भन्ने विषयमा बोलेको छैन तर यसमा ‘कीर्तिपुरका सबै बासिन्दाको नाक काटिएको’ उल्लेख छ । यो अभिलेखले कसको आदेशमा नाक काटिएको थियो अथवा नाक काट्ने काम कसले गरेका थिए, लेखिएको छैन । अर्को ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा भनेको यो अभिलेख पुरानो खस भाषामा लेखिएको छ ।
उपसंहार
माथि चर्चा गरिएका ऐतिहासिक अभिलेखका अतिरिक्त कीर्तिपुरका बासिन्दाहरू स्वयम्लाई त्यो त्रासदीपूर्ण घटनाका उत्तम जीवित प्रमाणको रूपमा लिनसक्छौँ । आफ्ना पुर्खामाथि कस्तो घटना घटेको थियो भन्ने कुरा उनीहरूले आफ्ना बुबा, हजुरबुबा र जिजुबुबाबाट सुन्दै हुर्केका छन् । गोर्खाली हमलाकारीले काट्न लगाएको कीर्तिपुरका मानिसको नाक, ओठ र कानको जम्मा तौल कति भएको थियो भन्ने विषयमा बहसको स्थान सधैँ रहनेछ । तर, त्यो घटना नै अस्वीकार गर्नु भनेको वास्तविक इतिहास नै अस्वीकार गर्नु हो । पाठकको निम्ति नेपालका गनिएका इतिहासकार, शाह राजाहरूका प्रशंसक एवम् गोर्खाको इतिहासबारे चार खण्ड पुस्तक निकालेका दिनेशराज पन्तले कीर्तिपुरका मानिसका नाक काटेको घटना सम्बन्धमा लेखेको कुरा रोचक लाग्न सक्छ ः
‘मेरो अनुसन्धानले मैले कीर्तिपुरमाथि सन् १७६५ मार्च १७ (विसं १८२२ चैत ३ गते) विजय हासिल गरेको र १० अप्रिल (३ चैत) का दिन नाक काटिएको देखाएको छ । कति जना मानिसको नाक काटियो ? कति धार्नी पुगेको थियो ? मेरो विचारमा कसैले पनि यो नापतौल गरेको थिएन । पृथ्वीनारायणले यो घटना नघटाएका भए उत्तम हुने थियो ।’ (दिनेशराज पन्त, ‘पृथ्वीनारायण शाहले कीर्तिपुरवासीको नाक काटेका थिए ?’– अनलाइन खबर, २०७३ माघ ४ गते)
त्यस्तै अर्का विख्यात नेपाली इतिहासकार महेशराज पन्त पनि त्यही विचार समूहबाट आएका हुन् । दिनेशराज पन्त उनका भाइ हुन् । पृथ्वीनारायण शाहको बदनामीबाट उनी ज्यादै दुःखी छन् । उनी कीर्तिपुरका मानिसको कयौँ धार्नी नाक काटिएको विश्वास गर्ने र कीर्तिपुरका मानिसको नाक काटिएको घटना अस्वीकार गर्ने दुवै थरी अतिवादी भनाइको विरोध गर्छन् । उनी लेख्छन्, “निःसन्देह पृथ्वीनारायण शाहले कीर्तिपुरका मानिसका नाक काटेका थिए तर त्यसरी सबैको काटिएको नाक भने कैयौं धार्नी पुगेको कुरा भने असत्य हो ।” (महेशराज पन्त, पृथ्वीनारायण नायक कि प्रतिनायक, नागरिक दैनिक २०७४ पुस २९ गते) अझ अघि बढेर उनी सन् १७७० मा पृथ्वीनारायण शाहका दरबारिया कवि सत्यवल्लभले लेखेको पुस्तक ‘पृथ्वीन्द्रवरुणोदय’ का कुरा ल्याएर सो घटनाको पुष्टि गर्छन् । जसमा प्रस्टतः कीर्तिपुरका मानिसको नाक काटिएको घटनाको वर्णन गरिएको छ । तथापि सो घटनालाई महेशराज पन्तले पृथ्वीनारायण शाहको कुनै भत्र्सनायोग्य कामको रूपमा प्रस्तुत गरेका छैनन् ।
कीर्तिपुरको नाक काटिएको घटना पृथ्वीनारायण शाहले गर्न लगाएको त्यस्तो एकैमात्र घटना भने थिएनन् । उनले चोपुर गाउँ बासिन्दाका नाक र हात पनि काटेर सजाय दिएका थिए । पृथ्वीनारायणले नेपालमण्डलमाथि कब्जा गरेको विरोधमा त्यहाँका बासिन्दाले विद्रोह गर्ने हिम्मत गरेका थिए । (पण्डित सुन्दरानन्द विरासिता, त्रिरत्न सौन्दर्यगाथा–सन् १९६२)
पृथ्वीनारायण शाहले गरेका सबै नृशंसतालाई छोपेर केही इतिहासकारहरू उनको बचाउ गर्न रुचाउँछन् । उनीहरू पृथ्वीनारायणले आफ्नो शासनकालमा पराजित गरेका मानिसमाथि गरेको क्रुर व्यवहारको चर्चा पनि गर्न चाहँदैनन् । पृथ्वीनारायणको हमलाबाट फाइदा उठाइरहेका वा फाइदा लिएका मानिसले उनको गौरवगान गाउन नछोड्नु स्वाभाविक हो । बुझ्न नसकिने कुरा त के हो भने शाहवंशको राजतन्त्र समाप्त भइसकेर पनि आज सत्तासीन खस–आर्य बाहुन क्षेत्री सम्भ्रान्तहरू पृथ्वीनारायण शाहलाई ‘राष्ट्रिय एकता’ का प्रतीकको रूपमा उनको बखान गाउन छोडेका छैनन् । उनीहरू अझै पृथ्वीनारायणका सालिक बनाउन थालेका छन् । दोस्रो सफल जनआन्दोलनले शाहवंशीय राजतन्त्र अन्त्य गरेपछि सन् २००७ मा पृथ्वीनारायणको जन्म दिनमा सार्वजनिक विदा कटौती गरिएको थियो । तर, उनीहरूले त्यो बिदा पुनः दिने हिम्मत गरेका छन् । गोर्खा राज्य बिस्तारको पृथ्वीनारायण शाहको महत्वाकाङ्क्षाका कारण पिरोलिएका मानिसहरूले त्यसको विरोध गरिरहेका छन् । पृथ्वीनारायण शाहको बचाउमा सत्तासीन शासक वर्ग लागिरहने हो भने ढिलो चाँडो ती मानिसको अभूतपूर्व विरोधको उनीहरूले सामना गर्नुपर्नेछ ।
(हेडलवर्ग विश्वविद्यालय, हेडलवर्ग एकेडेमी अफ साइन्सेस एण्ड हुमेनिटीअन्तर्गत ‘डकुमेन्ट अन द हिस्ट्री अफ रिलिजन एण्ड ल अफ प्रि–मोर्डन नेपाल’ अनुसन्धान एकाइको लागि यो लेखको एउटा अंश तयार गरिएको थियो ।)
अनुवाद – नीरज
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *