भर्खरै :

उपकुलपतिको अवैज्ञानिक विचार

शुक्रबार नेपाल टेलिभिजनको ‘वाइडएंगल’ अन्तर्वार्ता कार्यक्रमका पाहुना थिए – नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ । सन्दर्भ थियो – पृथ्वीनारायण शाहको जन्म दिवस । नवनियुक्त उपकुलपतिका कतिपय विचार सुन्दा देशमा गणतन्त्र स्थापना भए पनि प्रज्ञा प्रतिष्ठानमा अझै शाहवंशीय राजतन्त्रले जग हालेको चिन्तन भत्किनसकेको प्रस्ट बनाएको छ । देशले ठूलठूला राजनीतिक परिवर्तन छिचोले पनि सांस्कृतिक र वैचारिक परिवर्तन भने अझै धेरै टाढा रहेको सङ्केत दिएको छ–उपकुलपतिका अभिव्यक्तिले ।
आर्यघाटमा मृत्यु कुरेर बसेका कान्तिपुरका राजा जयप्रकाश मल्लको अन्तिम इच्छा पूरा गर्न पृथ्वीनारायण शाहले छाता र जुत्ता दिएकै कारण मल्लको पुनर्जन्म शाहका नाति रणबहादुर शाहको रुपमा भएको र त्यही कारण रणबहादुरमा मल्लकै जस्तो ‘सन्काहा र पागलपन’ भएको भन्ने गुरुङको भनाइ अवस्तुगत अन्धविश्वासमात्र छ । जयप्रकाश मल्लले पुनर्जन्म लिएर रणबहादुर शाहको जन्म भएको कुरा स्वयम्मा अवैज्ञानिक र निराधार तर्क हो । रणबहादुर शाहको पागलपनलाई जयप्रकाश मल्लको चरित्रसँग जोड्नु एकातिर जयप्रकाशबारे नकारात्मक चित्रणको प्रयास हो भने अर्कोतिर रणबहादुरको पागलपनलाई आफ्नै दोषमा भन्दा पनि अरुको कारणले भएको दोषका रुपमा प्रस्तुत गर्न खोजिएको छ ।
विज्ञानले आज निकै फड्को मारिसकेको छ । विज्ञानमा भएको प्रगतिका कारण आज संसारबाट प्रत्ययवादी दर्शन क्रमशः छायाँमा पर्दै गएको छ भने त्यसको सट्टा भौतिकवादी दर्शनले व्यापकता पाइरहेको छ । प्रत्ययवादी चिन्तन अन्धविश्वासी हुन्छ भने भौतिकवादले मूल कारण खोज्छ । भौतिकवादी चिन्तन नै वैज्ञानिक चिन्तनको आधार हो । आजको समयमा कसैले केही तर्क गर्दा त्यसको कारण र आधार स्वभावतः खोज्ने गरिन्छ । विनावैज्ञानिक आधार कसैले तर्क गर्नु मूर्ख बन्नुमात्र हो । उपकुलपति गुरुङले रणबहादुर शाह जयप्रकाश मल्लको पुनर्जन्म भन्नु स्वयम् त्यस्तै अवैज्ञानिक तर्कको उदाहरण हो । यसले विद्वान उपकुलपतिको बौद्धिक स्तरको सङ्केत गरेको छ । प्रतिष्ठानको नेतृत्व नै यस्तो अवैज्ञानिक विचार बोक्छ भने समग्र प्रज्ञा प्रतिष्ठान कुन दिशामा अघि बढ्ला, विश्लेषण गर्नसक्छौँ ।
गुरुङले अन्तर्वार्तामा अनेक यस्ता विचार राखेका छन् जसले उनको निराधार चिन्तनलाई सङ्केत गरेको छ । कुनै जाति विशेष नै चलाख हुने, जनजाति बोधो हुने, दलित पनि बाहुनको मूलबाट आएकाले चलाख हुने जस्ता बुझाइले गुरुङका चिन्तनशैली आधारहीन र अवैज्ञानिक भएको प्रस्ट हुन्छ ।
गुरुङ प्रज्ञा प्रतिष्ठानको उपकुलपति पदमा पदासीन हुनुले आवरणमा देखिने पात्रहरू परिवर्तन भए पनि नेपालको वैचारिकीमा अझै पनि पुरानै सामन्ती चिन्तन र सामन्ती विरासतले कब्जा जमाइरहेको प्रस्ट बनाएको छ । जुन चस्माले हिजोका बुद्धिजीवी देश र इतिहासलाई हेर्ने गर्थे, त्यो अवैज्ञानिक वैचारिक चस्मामा कुनै पनि खाले परिवर्तन आएको छैन । बुद्धिजीवी भनिएकाहरूको अनुहार र नाम परिवर्तन भएको छ । तर, हिजोको सामन्ती चिन्तनको वैचारिक फ्रेमवर्कमा कुनै परिवर्तन नआएको आज सतहमा देखिंदै छ । गुरुङ देशको वैचारिकीमा कब्जा जमाएर बसेको वर्ग र चिन्तनका प्रतिनिधि पात्रमात्र हुन् । देशमा गणतन्त्र स्थापना भए पनि सामन्ती चिन्तनको जग भने अझै भत्किसकेको छैन । संसारमा त्यस्ता धेरै क्रान्तिका उदाहरण छन् – जहाँ राजनीतिक क्रान्तिले राजनीतिक नेतृत्वमा परिवर्तन ल्यायो तर वैचारिक सत्तामा कुनै परिवर्तन नआउँदा जनताले कुनै परिवर्तनको आभास गर्नसकेनन् । आज नेपालको अवस्था पनि त्यस्तै भएको देखिंदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *