भर्खरै :

सितलचिनीः एक चर्चा

– डा. अरुणा उप्रेती
सितलचिनीले कुपोषण हुन दिँदैन भने कुपोषण भइसकेका बालबालिका वा वयस्कका लागि सञ्जीवनीको काम गर्छ । तर हामी धेरैलाई यसको गुण थाहा छैन । तराईको त घरघरमा र सडकका छेउमा पनि यो वनस्पति हुन्छ । तराईतिर यसलाई सोहिजन, सैजन, सजिउनका नामले भनिन्छ । यो वनस्पतिको विशेष गन्ध हुन्छ । संस्कृतमा यसलाई तीक्ष्णगन्धा पनि भन्दा रहेछन् । भारत वा नेपालमा यसलाई कसैले मरुङ पनि भन्छन् ।
विज्ञका अनुसार सितलचिनीजस्तो गुण भएको बिरुवा अर्काे पाउन गाह्रै पर्छ । अनुसन्धानबाट पत्ता लागेको छ कि यसमा रहेको प्रोटिन भटमास, दूध, अन्डामा पाइने जत्तिकै गुणकारी हुन्छ र अझ कतिले त भटमासमा भन्दा बढी गुणयुक्त प्रोटिन यसमा पाउँछन् । गर्भवती आमालाई भिटामिन, फोलिक एसिड, भिटामिन सी आदि खान हामी स्वास्थ्यकर्मीले भन्छौँ। सितलचिनी खाउँ र कुपोषणबाट बालबालिकालाई बचाऔँ भन्दैनौँ। किनभने हामीलाई नै थाहा छैन, हामीलाई भान्छा घरका खानेकुराबाट पनि धेरै प्रोटिन पाइन्छ भनेर सिकाइएको छैन । घरको खानेकुराले शरीरमा प्रोटिन पुग्दैन भन्ने विज्ञापनमा विश्वास गर्छौं । अनि बट्टाका प्रोटिन किन्छौँ, घर आँगनको सितलचिनी होइन ।
यो वनस्पतिबारे विश्व स्वास्थ्य सङ्गठनले पनि पछिल्लो चार दशकदेखि अनुसन्धान गर्दै छ । अनुसन्धानबाट पत्ता लागेको छ कि सितलचिनीको पातमा कार्बोहाइट्रेट पनि हुन्छ । अर्थात् यसको पातको तरकारीले शरीरमा ऊर्जा पनि दिन्छ । यसका साथै पातमा भिटामिन सी, पोटासियम आदि पनि पर्याप्त पाइन्छ । एक शब्दमा भन्ने हो भने विभिन्न प्रकारमा भिटामिन र सूक्ष्म पोषण तत्व राखेर प्रकृतिले सित्तैमा दिएको उपहार हो यो । तर पौष्टिक उपहार नै अपहेलित छ ।
अनि, स्वास्थ्य मन्त्रालयचाहिँ बालबालिका र गर्भवती आमालाई क्याल्सियम र प्रोटिन खानुपर्छ भनेर महँगो औषधि बाँड्दै हिँड्छ । तर, समुदायलाई करेसा वरिपरि सित्तैमा पाइने सितलचिनी खान भनेर सिकाउँदैन। मोरिन्गा भनिने यो वनस्पतिलाई सायद विदेशी आएर राम्रो छ भनेपछि मात्र हाम्रा देशका नीति–निर्माताको आँखा खुल्छ कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *