भर्खरै :

नेपाली चाडपर्व र वातावरणीय महत्वः एक विश्लेषण

सुनिता गाइसी
नेपाल एक बहुसंस्कृति, बहुजाति भएको सुन्दर मुलुक हो । यहाँका मानिसहरू एकले अर्कोलाई सहयोग गर्दै आफ्नो धर्म बचाउँछन् र अर्काको धर्म बचाउन पनि सहयोग गर्दछन् । नेपालमा मनाइने विभिन्नखाले चाडपर्वले धार्मिक महत्व बोक्नुका साथै वातावरण संरक्षणमा पनि अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सिठी नखः, नागपञ्चमी, वसन्तपञ्चमी, वरपीपलको विवाह, तुलसीको विवाह इत्यादिले धार्मिकका साथै वातावरण संरक्षणको क्षेत्रमा पनि महत्वपूर्ण भूमिका खेलेको छ ।
सिठी नखः
नेवार समुदायले विशेष महत्वका साथ मनाउने पर्वमध्ये सिठी नखः पनि एक हो । सिठी नखःलाई कुमार षष्ठीको रुपमा मनाइन्छ । कुमारलाई जलदेवताको रुपमा पनि मानिन्छ । त्यसैले यस दिन इनार, धारा, कुवा, पोखरीलगायतका पानीका स्रोतहरू सफा गर्ने र मर्मत गर्ने गरिन्छ । वर्षायाममा पानीका मुहानहरू फोहर हुने हुनाले यसै पर्वको अवसरमा पानीका स्रोतहरू सफा गर्ने गरिन्छ । वास्तवमा नेपाली चाडपर्वले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ । प्राचीनकालदेखि नै मानिस र प्रकृतिको सम्बन्ध प्रगाढ रहँदै आएको छ । प्रकृतिविना हामी हाम्रो जीवनको कल्पना पनि गर्नसक्दैनौँ । हाम्रा सम्पूर्ण आवश्यकताहरू प्रकृतिबाटै पूरा भइरहेका छन् । त्यसैले पहिला मानिसहरू घुमन्ते र फिरन्ते जीवनमा रहँदा उनीहरूका सम्पूर्ण आवश्यकताहरू प्रकृतिबाटै पूरा हुन्थ्यो । त्यसैले उनीहरू प्रकृतिमा उपलब्ध कुराहरू जस्तैः पानीलाई जलदेवता, अन्न उब्जाउने हुनाले जमिनलाई धर्तीमाता, स्वास फेर्न हावा चाहिने हुनाले वायुलाई वरुण देवता इत्यादि मान्न थाले । वास्तवमै मानिसले आफ्नो जीविका चलाउने किसिमका विकल्पहरूको सृजना गरेको हुन्छ । भनिन्छ मानिस “आशाको त्यान्द्रो” मा बाँच्दछ । साना—साना कुराहरूले पनि जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।
वरपीपलको विवाहः
विशेषगरी वरपीपलको विवाह ब्राह्मण र क्षेत्री समुदायमा गर्ने गरिन्छ । वास्तवैमा मानिसले आफूलाई दिगो रुपमा यस संसारमा टिकाउन विभिन्न किसिमका संस्कृतिको विकास गरेको पाइन्छ । मानिसहरू आफ्नो मनोकाङ्क्षा पूरा होस् भनी भाकल गर्ने गर्दछन् । यदि आफ्नो मनोकाङ्क्षा पूरा भएमा विभिन्न धार्मिक कार्य गर्दछन् । तीमध्ये वरपीपलको विवाह पनि एक हो । बाटोको छेउछाउमा वरपीपल रोपेर विधिपूर्वक तिनीहरूको विवाह गरिन्छ । बाटो हिँड्ने बटुवालाई भारी बिसाई केही समय आराम गर्न यसमा चौतारीको पनि निर्माण गरिन्छ । वास्तवमै पीपललाई विशेष महत्वका साथ हेरिन्छ । धार्मिक दृष्टिले पीपललाई भगवान विष्णुको रुपमा पूजा गरिन्छ । मानिसलाई अत्यन्त आवश्यक अक्सिजन पीपलको रुखले प्रशस्त मात्रामा अक्सिजन उत्पादन गर्ने गर्दछ । यसले गर्दा विज्ञानले पनि पीपललाई विशेष महत्वका साथ लिने गर्दछ । वरपीपलको विवाहका सन्दर्भमा विभिन्न कथनहरू सुन्न पाइन्छ । कतिपय मानिसहरू चिना हेराउँदा बहुविवाहसम्बन्धी दोष देखिएमा त्यसलाई हटाउन पनि वरपीपलको विवाह गरिदिएमा यस्तो दोष हटेर जान्छ भन्ने कथा छ । यस्तै खालको अर्को परम्परा तुलसीको विवाह पनि हो । हरिशयनी एकादशीको अवसरमा तुलसी रोपिन्छ भने हरिबोधनी एकादशीको अवसरमा तुलसीको विवाह गरिन्छ । तुलसी रोपेपछि यसको विवाह गर्नैपर्छ भन्ने जनविश्वास रहेको छ । यस्तो परम्परा विशेषगरी ब्राह्मण र क्षेत्री समुदायमा बढी पाइन्छ । यसरी मानिसले आफूमात्र होइन अन्य जीव जीवात्माको अस्तित्वको रक्षा गर्दछ । यसरी धार्मिक हिसाबले विभिन्न कार्यहरू गर्दा वातावरण पनि संरक्षण भइरहेको पाइन्छ । विभिन्न चाडपर्वहरूले धार्मिकका साथै वातावरणीय महत्व बोकेका छन् । नेपाल चाडपर्व, कला संस्कृति, भाषा, परम्परामा धनी देशको रुपमा विश्वमा परिचित रहेको छ । हाम्रो अमूल्य कला र संस्कृति जोगाउनु हामी सबैको दायित्व हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *