भर्खरै :

क्रान्तिकारी महिलाहरूको परिचय पुस्तक

नीरज
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर नेपाल क्रान्तिकारी महिला सङ्घले विभिन्न १६ जना महिलाहरूको जीवनीको सङ्कलन प्रकाशन गरेको छ । विभिन्न देशमा भएका क्रान्तिकारी आन्दोलन र सङ्घर्षमा नेतृत्वकारी भूमिका खेलेका महिलाहरूको जीवनी प्रकाशनले नेपालको महिला आन्दोलनको दिशा र अवस्थाबारे तुलनात्मक अध्ययन गर्न सन्दर्भ मानक बनेको छ ।
नेपालको महिला आन्दोलनलाई विश्लेषण गर्ने कोण मूलतः पुरुष र महिलाबीच समानता खोज्ने दृष्टिकोणमा आधारित छ । तर, महिलामाथि विभेदको जरा भने राज्य व्यवस्था स्वयं हो भन्ने कुरालाई सकेसम्म लुकाउने वा कममात्र चर्चामा ल्याउने गरिएको छ । पुँजीवादी उत्पादन सम्बन्ध नै महिलामाथि विभेदको मूल हो भन्ने दृष्टिकोणलाई केही ‘विद्वान’हरूले ‘राजनीति’ को रुपमा अथ्र्याएर महिला आन्दोलनलाई राजनीतिबाट टाढा राख्ने मनसाय पनि देखाउने गरेका छन् । तर, महिला आन्दोलन कहिल्यै पनि राजनीतिबाट मुक्त हुनसक्दैन । महिला आन्दोलन निरपेक्ष सङ्घर्ष कदापि हुनसक्दैन । त्यो दृष्टिकोणमा अर्को राजनीतिक अभिप्राय लुकेको छ ।
‘विश्वका क्रान्तिकारी महिलाहरू’ पुस्तकमा सङ्कलित जीवनीहरूले दुई वटा विषयमाथि प्रकाश पारेको छः पहिलो, कुनै पनि न्यायपूर्ण आन्दोलन र सङ्घर्षमा जति एकजना क्रान्तिकारी पुरुष वा पुरुषको दस्ताको भूमिका हुने गर्दछ, त्यत्ति नै प्रभावशाली भूमिका महिला दस्ताले पनि खेल्नसक्छ । संशोधनवादविरोधी सङ्घर्षमा लेनिनले जति गम्भीर भूमिका निभाएका थिए, रोजा लक्जम्वर्गले पनि जर्मनी सामाजिक प्रजातन्त्रवादी पार्टीभित्र गहन भूमिका खेलेकी थिइन् । क्युवाली क्रान्तिमा फिडेल र राउल क्यास्ट्रोको भूमिका थियो, भिल्मा एस्मिन र सेलिया सान्चेजको भूमिका उत्तिकै शक्तिशाली थियो । दोस्रो सन्देश, महिलाले भोगिरहेको विभेद र शोषणको मूलमाथिको प्रहार गैरराजनीतिक नारीवाद वा कुनैखाले पुँजीवादी नारीवादबाट सम्भव हुँदैन । महिलालाई शोषणबाट मुक्ति शोषणको जरा पुँजीवादी उत्पादन सम्बन्धमाथि प्रहारबाट सम्भव हुने यथार्थ पुस्तकमा समावेश महिला नेतृहरूको क्रान्तिकारी आन्दोलनको नेतृत्वबाट प्रस्ट हुन्छ ।
पुस्तकमा कामदार वर्गका दार्शनिक कार्ल माक्र्सको कठिनाइले भरिएको जीवनमा अविचल साथ दिने जेनी माक्र्स, पुँजीवादी उत्पादन सम्बन्ध नै महिलामाथिको विभेदको मूल कारण भएको निष्कर्ष निकालेर समाजवादी आन्दोलनको नेतृत्व गरेकी क्लारा जेटकिन, पुँजीवादी युद्धको विरोध गर्दै कम्युनिष्ट आन्दोलनभित्र पुँजीवादी विषवमन गर्ने संशोधनवादविरुद्ध अविराम सङ्घर्ष गरेकी रोजा लक्जम्वर्ग, अक्टोबर समाजवादी क्रान्तिकी नेतृ नादेज्दा क्रुप्सकाया, अलेक्जान्ड्रा कोलोन्ताई, सिलभिया पानखु्रस्ट, चिनियाँ प्रजातान्त्रिक आन्दोलनकी नेतृ सुन चिन लिङ, कोरिया मुक्ति आन्दोलनकी योद्धा किम जोङ सुक, फासीवादविरोधी क्रान्तिकारी लडाकु जोया कस्मोदिम्यान्स्काया, क्युवाली क्रान्तिकारी नेतृ भिल्मा एस्पिन, भियतनामी क्रान्तिकारी लडाकू न्युयन थि डिन्हलगायतका योद्धाहरूको जीवनी सङ्कलन गरिएको छ ।
विगतमा विभिन्न पत्रपत्रिका र बुलेटिनमा छरिएर रहेका जीवनीहरू एउटै पुस्तकमा सङ्कलित हुँदा पाठकलाई व्यवस्थित रुपमा अध्ययन गर्न मद्दत पुग्नेछ ।
संसारका क्रान्तिकारी आन्दोलनलाई आफ्नो जीवन अर्पण गर्ने क्रान्तिकारी महिलाहरू अरु पनि धेरै छन् । ती सबै महिलाहरूको प्रतिनिधिको रुपमा सोह« क्रान्तिकारी महिलाहरूको जीवनीले संसारकै क्रान्तिकारी महिला आन्दोलनको दिशा बुझ्न सहज हुनेछ ।
संरा अमेरिकामा जन्मेर पनि प्रतिकूल परिस्थितिबीच सोभियत सङ्घ र चीनको विकट येनान पुगेर त्यहाँ भइरहेका न्यायपूर्ण क्रान्तिबारे संसारलाई बताउने अन्ना लुइस स्ट्रङ, एग्नेज स्मेडलेका जीवनीले साम्राज्यवादको हिलोबीच पनि श्रमजीवी वर्गको हितमा क्रान्तिकारी कमलको फुल फूलेको शिक्षा लिनसक्छौँ ।
सरल भाषामा साधारण पाठकले समेत बुझ्ने गरी लेखिएको पुस्तकको अध्ययनले महिला आन्दोलनमा पुँजीवादी खोटोपथविरुद्ध लड्न शक्तिशाली वैचारिक ऊर्जा पाउँछ । आफूले केही दिएपछि केही पाउनैपर्ने उपभोक्तावादी चिन्तन बोकेका मानिसले यो पुस्तक अध्ययन गर्दा आफ्नो चिन्तनलाई धिक्कार्नेछन् । आफैं खाऔं, आफैं लगाऔं, सुख सयल सबै आफैं गरौं भन्ने स्वार्थ चिन्तनबाट मुक्त क्रान्तिकारी महिलाहरूले संसार परिवर्तनमा गरेको महान् बलिदान धेरैको जीवनको लागि उत्प्रेरणा हुनसक्छ ।
पुस्तकको नामः विश्वका क्रान्तिकारी महिलाहरू
प्रकाशकः नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समिति
पृष्ठ सङ्ख्याः १२८
मूल्य रु.२००।–

Leave a Reply

Your email address will not be published. Required fields are marked *