भर्खरै :

कमलपोखरीदेखि नैनीतालसम्म

नरेश खत्री
तालैताल भरिएको हाम्रो देश । पोखराका फेवा, बेगनास र रूपा ताल, मुगुको रारा ताल, मनाङको तिलिचो ताल, सुर्खेतको बुलबुल, कैलालीको घोडाघोडी, डोल्पाको सेफोक्सुण्डो ताल, यता इन्द्र सरोवर उता मान सरोवर, …. तालै तालको देश नेपाल । एउटा तालले समाजमा, अर्थतन्त्रमा कति ठूलो प्रभाव पार्नसक्छ भन्ने कुरा हामी पोखरामा शैक्षिक भ्रमण जाने सबैलाई थाहा भएकै कुरा हो । दशैंको बिदामा रारा र तिलिचो ताल जाने युवाका तस्वीरहरूले सामाजिक सञ्जालका भित्ताहरू रङ्गिएकै हुन् । एउटा तालको वरिपरि विकास भएका बस्तीहरू, पर्यटनका उद्योगहरू र ती उद्योगहरूले ल्याएका आर्थिक सामाजिक परिवर्तनका हामी सबै अंश हौँ ।
सानो आकारको ताललाई पोखरीभन्दा हुन्छ होला । भक्तपुरको कमलविनायक क्षेत्रमा एउटा सुन्दर पोखरी छ–कमलपोखरी, कमलपोखरीबाट पश्चिमतिर नागपोखरी, त्यसपछि गुह्यपोखरी, सिद्धपोखरी ,रानीपोखरी अनि अहिले चर्चित जीर्णोद्धार भइरहेको भाज्यापोखरी, …. अरू सानातिना पोखरी त कति हो कति । काठमाडौंमा पनि कमलपोखरी छ, रानीपोखरी छ । चोभारको टौदह पनि अति सुन्दर छ । आन्तरिक तथा बाह्य पर्यटकहरू हाम्रा ताल र पोखरी वरिपरि रमाइरहेका दृश्यहरू हामी दैनिक देख्छौँ, हामी आफै पनि रमाउँछौं ।
यसरी थुप्रै ताल, दह, सरोवर र पोखरीहरू घुमेर हुर्केका हामी भारतको उत्तराखण्ड राज्यस्थित नैनीतालमा पुग्दा कस्तो अनुभव भयो भन्ने विषयमा केही चर्चा गर्न मन लागेर यो भूमिका बाँड्दैछु ।
मंसिरको महिनामा इन्जिनियरिङका मेरा सातौं सेमेस्टरका विद्यार्थीहरूलाई आठ दिनको शैक्षिक भ्रमण लानुपर्ने कार्यक्रम थियो । सातौं सेमेस्टरका विद्यार्थीहरू करिब वर्षदिनपछिका इन्जिनियरहरू हुन् । इन्जिनियर बन्न लागेका विद्यार्थीहरूलाई नयाँ ठाउँ चिनाउने र इन्जिनियर बनिसकेपछि नयाँ ठाउँ र परिवेशमा काम गर्न सिकाउने उद्देश्य यस्ता भ्रमण कार्यक्रमभित्र अन्तरनिहित हुन्छन् । जसरी पुस्तकले हामीलाई धेरै विषयमा ज्ञान दिन्छ त्यसैगरी यात्राले हामीलाई मनोरञ्जन र ताजगीमात्र दिँदैन, समाजको ज्ञान दिइरहेको हुन्छ । यात्रामा मान्छेले नजानिंदो तरिकाले धेरै कुरा पढिरहेको हुन्छ, जीवन जिउने तरिकाहरू सिकिरहेको हुन्छ । त्यसैले नै होला यात्रा गर्ने र गराउने उद्योग नै विश्वमा “सबैभन्दा ठूलो” उद्योग बनेको छ – पर्यटन उद्योग ।
यात्राको क्रममा विद्यार्थीका लागि इन्जिनियरिङ÷प्राविधिक विषयहरू र फिल्ड भिजिटहरू स्वाभाविक रूपमा महत्वपूर्ण हुन्छन् । यहाँ म विद्यार्थीहरूका विषयगत प्राविधिक कुराहरू नभई यात्राका अनुभवहरूलाई चर्चा गर्दैछु ।
भावी इन्जिनियरहरूलाई पश्चिम नेपाल र भारतको नैनीतालसम्म भ्रमण गराउने आठदिनको जिम्मेवारी लिएर हाम्रो यात्रा सुरू भयो । हाम्रो अन्तिम गन्तव्य थियो – नैनीताल ।
फेसबुकमा हेडिङ टू नैनीताल भनेर स्ट्याटस पनि अपडेट गरिनँ किनभने मलाई नैनीतालसँग धेरै अपेक्षा थिएन । तर, कहिल्यै नगएको ठाउँ एकचोटि जाऔं र त्यहाँको भूगोल र समाजलाई केही पढौँ भन्ने मनमा थियो । अघि भनेझैं कलेजको जिम्मेवारीको यहाँ चर्चा नगरौं । नयाँ ठाउँ घुम्ने र नयाँ समाज पढ्ने सायद सबैको इन्छा हुँदो हो ।
नैनीताल भारतको उत्तराखण्ड प्रदेशस्थित एउटा प्रसिद्ध हिल स्टेसन हो । भारतका अन्य प्रदेशहरूबाट बिदा मनाउन धेरै पर्यटकहरू नैनीताल आउने रहेछन् । यो दिल्लीबाट जम्मा ३०० किमिको दुरीमा रहेछ । नजिकको रेलवे स्टेसन काठगोदामबाट जम्मा ३० किमि जति र नजिकैको विमानस्थलबाट जम्मा ६५ किमि जति रहेछ । धेरै भारतीयको त्यहाँ बिदा मनाउन जानेरहेछन् । काठमाडौँवासीहरू बिदा मनाउन पोखरा गएजस्तै होला ।
भारतमा एक हजारदेखि पच्चीस सय मिटर उचाइमा रहेका चिसा पहाडी भूभागका बस्तीलाई हिल स्टेसन भन्ने रहेछ । भारतमा ब्रिटिस साम्राज्यको बेला ब्रिटिसहरूले मनोरञ्जनका लागि चिसा ठाउँहरू खोज्दै ती हिल स्टेसनहरूको विकास गरेका रहेछन् । तीमध्ये नैनीताल एउटा रहेछ । यही नैनीताललाई अन्तिम गन्तव्य बनाएर हाम्रो कलेजको दुइटा गाडी पश्चिम नेपालको यात्रामा हिँडेको थियो ।
पहिलो दिन चित्तवन सौराहामा बसाइ भयो । भरतपुरमा एउटा फिल्डभिजिट सकाएर हामी सौराहा बस्न गएका थियौँ । त्यसैगरी नाचगान हाँसो ठट्टाका साथमा निर्धारित कार्यक्रमहरू सम्पन्न गर्दै दोस्रो दिन नेपालगञ्ज, तेस्रो दिन बर्दिया राष्ट्रिय निकुञ्ज र चौंथो दिन सुदुरपश्चिमको महेन्द्रनगर बास बस्न पुग्यौँ । यो बीचमा सौराहाको जङ्गलमा हात्ती सफारी र बर्दिया राष्ट्रिय निकुञ्जको जीप सफारीले हाम्रो यात्रालाई अन्यन्त रोमाञ्चक बनाएको थियो । हामीमध्ये धेरैको लागि त्यो पहिलो अनुभव थियो । चिसापानीको कर्णाली पुलमा चलेको हावाको बेग यति थियो कि त्यहाँ सिधा उभिन मुस्किल थियो ।
५०० मिटर लामो तथा १० मिटर चौडा कर्णाली पुल नेपालको सबैभन्दा लामो पुलमध्येको एक हो जुन कर्णाली नदी माथि चिसापानी भन्ने स्थानमा छ । यो पूर्वपश्चिम राजमार्गको भाग हो जसले नेपालको सुदूर पश्चिमलाई नेपालको अन्य भाग सँग जोडेको छ । यसको निर्माण जापानले गरेको थियो । यो तार पुल (Cable-stayed bridge) हो, यस्तो प्रकृतिको पुलको बीचमा ठूलो खम्बा (pylon) हुन्छ र त्यसमा स्टीलका तारहरू बाँधेर ट्रस (truss) लाई अड्याइएको हुन्छ ।
दोधारा चाँदनी पुल नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल हो । कञ्चनपुर जिल्लाको महाकाली नदीमा रहेको पुलले कञ्चनपुरको दोधारा र चाँदनीलाई जोडेको छ । बर्सेनि हजारौं आन्तरिक र बाह्य पर्यटकहरू दोधारा चाँदनी पुलको अवलोकन गर्न आउने रहेछन् । हाम्रो टोली त्यहाँ पुग्दा थुप्रै पर्यटकहरू पुलको अवलोकन गर्दै फोटोहरू खिच्दै रमाइरहेका थिए । यो पल्टको भ्रमणमा पौडी खेल्दै आनन्द लिइरहेका मानिसहरू भने देखेनौँ, मौसम चिसो र नदी सुख्खा थियो, नदीमा डोजर, स्काभेटरहरू चलिरहेको थियो । सायद त्यहाँबाट ढुङ्गा बालुवा निकालिरहेको हुनुपर्छ । १४५२.९६ मिटर लामो, १.६ मिटर चौडा यो पुल नेपाली इन्जिनियरहरूले डिजाइन गरेको अत्यन्त आकर्षक झोलुङ्गे पुल हो ।
महेन्द्रनगरबाट हाम्रो यात्रा नैनीतालतिरको थियो । एउटा ट्राभल एजेन्सीमार्फत दुईदिन एक रातको प्याकेज लिएका थियौँ । प्याकेजअनुसार हाम्रो यात्रा सुरू भयो । महेन्द्रनगरमा बिहानको खाना खाएर हामी नैनीतालको लागि हिडयौँ । हामीलाई लिन महेन्द्रनगरसम्मै भारतीय गाडी आएको थियो । हामीसँग आफ्नै गाडी भएकाले हामी आफ्नै गाडीमा सिमानासम्म जाने निधो ग¥यौँ । समयमै बोर्डर क्रस गर्नुपर्ने भएकोले केही साथीहरू भारतीय जीपमा र हामी आफ्नै बसमा गरी विभक्त भएर गयौँ ।
महेन्द्रनगरबाट हुइँकिएको गाडी नेपाल–भारत सीमाक्षेत्रभन्दा एक किलोमिटर जति वरै रोकियो । सबैजना ओर्लिएर चेकिङ पोस्टतिर लाग्यौं । हुन त हामीसँग हाम्रो आफ्नै कलेजको बस थियो तर नेपालको चेकपोष्टमै प्रवेश गर्न रोक लगाइएको थियो । दुःखको कुरा भारतीय गाडीहरू भने निर्वाध रूपमा नेपाली भूमिमा गुडिरहेको थियो । हामीलाई सीमाभन्दा धेरै वर नेपाली भूमिमै भारतीय प्रहरीले हाम्रा सम्पूर्ण झोलाहरू खोतलेर चेक ग¥यो । चेकिङको क्रममा भारतीय प्रहरीलाई हामी इन्जिनियरिङका विद्यार्थीहरू शैक्षिक भ्रमणको लागि नैनीताल जान लागेको बतायौँ । भारतीय प्रहरीलाई नेपाल र नेपालीप्रति सम्मान नभएको महसुस भयो । जुन उनीहरूको व्यवहारबाट प्रस्ट झल्किन्थ्यो । एक प्रहरीले हिन्दी भाषामा हाम्रा विद्यार्थीलाई इन्जिनियरिङ गरेर के आविष्कार गर्छौ ? अहिलेसम्म नेपालले के नै बनाउन सकेको छ र ? सबै भारतबाटै ल्याउनुपर्छ … जस्ता प्रश्नहरू गर्दै थिए ।
नेपाली भूमिमै भारतीय प्रहरीको चेकिङ र नेपाली भूमिमै फहरिरहेको भारतको झण्डा देखेर हामी सबैलाई नराम्रो लाग्यो । मोबाइल निकालेर सीमाक्षेत्रको फोटो खिच्न थालेका केहीलाई सीमाक्षेत्रका भारतीय प्रहरीले रोकेको पनि देख्यौँ । केहीले लुकिछिपी भए पनि आफ्ना मोबाइलबाट फोटो खिचे । महाकाली पुलमा पुगेपछि हामी सबैजना भावुक भयौँ । नेपालबाट बगिरहेको नदीमा बाँध बाँधेर महाकाली नदी सुकाएर भारततिर लगिएको दृश्य देखेर सबैका आँखा रसाए ।
मैले विद्यार्थीहरूलाई भनेँ – यो शारदा ब्यारेज हो । महाकाली नदी भारतलाई बेचेको भनेको यही हो । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २०५३ सालमा महाकाली सन्धि भएको थियो, त्योबेला धेरै विरोध र आन्दोलन भएको थियो । त्यो बेला अहिलेको प्रधानमन्त्री केपी ओलीले पनि महाकाली सन्धिलाई समर्थन गरे र अहिले महाकाली नदी नेपालको भएर नदीको पानी हाम्रो छैन । महाकाली नदी हाम्रो सीमा नदी हो तर सिमानाभन्दा एक किमि वरतिरै बनवासा क्षेत्रमा भारतको झण्डा फहरिएको छ, सीमा अतिक्रमण भनेको यही यो । भारतीय गाडीहरू हाम्रो देशमा निर्वाध चल्ने तर नेपालको गाडी छिर्न नदीने, यही हो भारतीय दादागिरी । नेपाली प्रहरी भारतीयलाई चेक नगर्ने, यही हो लघुताभास । एक हिसाबमा त्यो भ्रमण भारतीय विस्तारवादको विरोधमा एउटा सानो कक्षा पनि भयो ।
सबैको मनमा एकतमासले प्रश्नहरू उब्जिदै थियो । किसानहरूले खेती गर्न पानी पाएका छैनन् । वर्षामा बस्तीलाई डुबानमा पार्दै बाँध खोलिन्छ । बाँधको साँचो पूरै भारतको कन्ट्रोलमा छ । के गर्नु हाम्रै नेताहरू बदमास ।
सीसी क्यामेराबाट हेरिरहेको छ, हजुरहरूको मोबाइलबाट फोटो खिच्न बन्द गर्नुस् नत्र बोर्डर क्रस गरेपछि खोसिदिन्छ – पछाडिबाट कसैले भनेको सुनेँ । मैले पनि विवादमा नपर्ने हेतुले विद्यार्थीहरूलाई फोटो नखिच्न भनेँ ।
सीमाक्षेत्र पार गरी भारतीय भूमिमा हाम्रो प्रवेश भयो । महेन्द्रनगरबाट भारतीय गाडीमा जाने साथीहरू सीमापारि हामीलाई कुर्दै थिए । त्यहाँ हामीलाई नैनीताल पु¥याउन एउटा बस र तीनटा जीपको व्यवस्था गरिएको थियो । हामी चारजना शिक्षकहरू एउटा एउटा गाडीको जिम्मा लिएर नैनीतालतिर हुइकियौँ । महेन्द्रनगरबाट नैनीताल करिब १३० किमि जति दुरीमा पर्दाेरहेछ । हाम्रो जीपको ड्रात्र नेपालको बैतडी जिल्लावासी रहेछन् । हिन्दी भाषा राम्रो बोल्ने । उतातिरका धेरै नेपाली त्यता काम गर्ने रहेछन् ।
घुम्दै फिर्दै हामी साँझतिर नैनीताल पुग्यौँ । होटलमा झोला बिसाएर हामी घुम्न निस्क्यौँ । नैनीताल एउटा सानो पहाडी बस्ती रहेछ । मैले इन्टरनेटमा हेरेँ २,०८४ मिटरको उचाइमा रहेछ । पोखराको फेवातालजस्तै एउटा ताल अनि तालको वरिपरि पहाडहरूमा बस्ती र होटलहरू र ताल छेउको एउटा सानो बजार । बस यति रहेछ नैनीताल । योभन्दा त फेवाताल कति राम्रो एक विद्यार्थीले भने । बरू कमलपोखरी नै राम्रो अर्का विद्यार्थीले थपे । चार÷पाँच हजार खर्च गरेर हामी बेकारमा यहाँ सुत्न आयौँ भनेर फेरि एक विद्यार्थीले असन्तोष पोखे । यहाँसम्म नआएको भए यो ठाउँ यस्तो छ भनेर हामीलाई थाहा नै हुँदैनथ्यो, हामी इन्जिनियरहरूले धेरैभन्दा धेरै नयाँ ठाउँहरूको जानकारी लिइराख्नु राम्रो हुन्छ – मैले विद्यार्थीलाई चित्त बुझाएजस्तो गरेँ ।
भोलिपल्ट नैनीताल घुमेर नेपाल फर्किने कार्यक्रम थियो । हामीलाई तीन वटा जीप र एउटा बसमा नैनीतालका विभिन्न साइटहरू घुमाइयो । पहाडका घुम्ती सडकहरू हाम्रो लागि नयाँ अनुभव थिएन । एउटा डाँडोबाट हिमाल देखिनेरहेछ, दूरवीनबाट हिमाल हेर्न ५० रूपैयाँ आइसी तिर्नुपथ्र्यो । बिहान उठ्ने बित्तिकै हिमाल देख्ने हामीलाई त्यतातिर पनि ध्यान गएन । अर्को स्टेसनमा एउटा झरना हेर्न ५० आइसीको टिकट काट्नुपर्ने रहेछ । नगरकोटको मुहानपोखरीको झरनाभन्दा सानो झरना हेर्न ५० आइसी खर्च गर्न हाम्रा साथीहरू राजी भएनन् । सुसाइड प्वाइन्ट नामको साइटमा एउटा भीरमाथि ठूलो ढुङ्गाबाहेक केही थिएन । भारतीय पर्यटकहरू त्यही भीरमा रमाइरहेका देखिन्थे तर हामी नेपालीहरूलाई त्यसमा रूचि थिएन ।
नैनीतालको बजारमा हाम्रो टोलीले अलि धेरै समय बितायो । बजारका संरचनाहरू व्यवस्थित थिए । हामीलाई त्यहाँका प्रकृतिले लोभ्याउन सकेन तर त्यहाँका संरचनाले लोभ्यायो । बजारको बाटोको नाम मलरोड रहेछ । मलरोडको बजारतिरको आधा सडक एकडेढ मिटर माथि उचाइमा बनाइएको थियो भने तालसँग जोडिएको आधा भाग कम उचाइमा । यस विषयमा जिज्ञासा राख्दा एक स्थानीयले भारतमा ब्रिटिस साम्राज्यको बेला यो सडक बनेको र ब्रिटिसहरू हिँड्ने सडकको उचाइ माथि उठाएको र भारतीयहरूको लागि कम उचाइमा सडक बनाइएको बताए । ब्रिटिसहरू हिँड्ने सडकमा कुकुर र भारतीयहरूलाई प्रवेश निषेध “Dogs and Indians are Not allowed” लेखिएको हुन्थ्यो रे ।
हाम्रा साथीहरूले आफूसँग भएका सबै आइसीहरू त्यहाँ सकाए । आकर्षक मैनबत्ती र मैनका सामानहरू, कीरिङहरू त्यहाँका स्थानीय उत्पादन रहेछन् ।
यसरी डाँडाकाँडा, नैनीताल, खुर्पातालजस्ता सानातिना तालहरू, सानातिना झरना, घुम्ती सडक घुमेर मलरोडमा केही सामान किनेर हामी नेपालतिर लाग्यौँ । महेन्द्रनगरमै बास भयो । त्यसपछि महेन्द्रनगरबाट लुम्बिनी र लुम्बिनीका गुम्बाहरू घुमेर सिधै काठमाडौतिर लाग्यौँ । भ्रमणको आठौं दिन भक्तपुर पुगेपछि एकजना साथीले भनेको मलाई अहिले पनि सम्झना छ – नैनीतालभन्दा हाम्रो कमलपोखरी धेरै राम्रो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *