भर्खरै :

सम्साँझै सपना हेरेपछि ….

सुरेश
हामीले आफ्नो पाठ्यक्रममा पढेकै हौँ । तर, न हेरेका थियौँ, न गरेका थियौँ । त्यसैले केही साथी जम्मा भएर हामी सम्साँझै सपना हेर्न पुग्छौँ । बहुलाकाजीको सपना । आस्था सांस्कृतिक परिवारले यो साता विजय मल्ललिखित चर्चित नाटक “बहुलाकाजीको सपना” मञ्चन गरिरहेको छ । लिबालीस्थित आफ्नो थियटरमा ।
आमा उनीहरूले जेसुकै भनून् म बहुला होइन… …
नीलो प्रकाशको घुम्टोबाट बहुलाकाजी उठ्दै गर्दा नेपथ्यबाट सूत्रधारको कोमल स्वरमा युगकवि सिद्धिचरणको कविता म बहुला होइन… वाचन हुन्छ । दर्शकदीर्घामा बसेका हामीहरू केहीअघिको मानसिक चञ्चलताबाट निस्केर कुनै अर्को समय, स्थान र भावमा पस्छौँ ।
पूरै नाटकलाई एक घण्टाभित्र समेटिएको रहेछ । यहीँ समयसीमाभित्र बहुलाकाजीले सपना देख्छ । एउटा आदर्श समाज निर्माण गर्ने सपना । उसले एकजना भरियाको सुधो छोराको अनुहारमा त्यो समाज निर्माण गर्ने नायक देख्छ । उसको सपना विस्तारै हुर्कँदै जान्छ । तर, जुन गरिबी चिर्ने सपना बहुलाकाजीले देखेको हुन्छ त्यहीँ गरिबीको आहार हुन्छ उसको नायक । यसरी बहुलाकाजीको सपना पूरा हुँदाहुँदै पनि पूरा हुन्न । यस्ता योद्धालाई जोगाउन जेसुकै गर्नुपर्ने थियो भनी बहुलाकाजीले वर्गसङ्घर्षको निम्ति खुला आह्वान गर्छ । किनभने लडाइँ कहिल्यै एउटा योद्धाको हुँदैन । अन्तमा काजीको सपना दर्शकलाई सुम्पिँदै नाटक समाप्त हुन्छ । यसबेलासम्म ऊ बहुला होइन भन्ने कुरा दर्शकले बुझिसकेका हुन्छन् ।
नाटककार विजय मल्लले “बहुलाकाजीको सपना” मा आधा शताब्दीअघिको नेपाली समाजको आर्थिक, सामाजिक र सांस्कृतिक असमानता देखाउन खोजेका थिए । तर, आज पनि नेपाली समाजको त्यो दारुण अवस्थामा उतिसारो परिवर्तन आएको छैन । बाहिरबाट हेर्दा जनताले पढ्ने अधिकार त पाएका छन् । तर, धनी र गरिबबीच बढिरहेको खाडल, महंगो शिक्षा, रोजगारीको अभाव आदिले गर्दा गरिबका छोराछोरीहरू फेरि पनि गुणस्तरीय शिक्षाबाट वञ्चित भइरहेका छन् । शिक्षाको अभावमा बहुलाकाजीले देखेको आदर्श समाजको सपना पूरा हुन झन्झन् गा¥हो हुँदै गइरहेको छ । यस अर्थमा आजका नेपाली शासकहरू राणा शासकहरूभन्दा फरक छैनन् । उनीहरू मजदुर, किसान र अन्य श्रमजीवी जनताको आउँदो पुस्ता शिक्षित भएको देख्न चाहँदैनन् । त्यसैले आधा शताब्दीअघिको बहुलाकाजीको अपुरो सपना नेपाली जनतालाई अझै पनि बारम्बार देखाउन र जोडजोडले सुनाउन जरुरी छ । तसर्थ आस्थाको यो प्रयास सराहनीय छ ।
यति सान्दर्भिक र मार्मिक नाटक कति प्रभावशाली रह्यो भन्ने कुरा नाटकको प्रस्तुतिमा भरपर्छ । पेशेवर नभए पनि आस्थाका कलाकारको अभिनय राम्रो छ । प्राविधिक पक्ष बलियो छ । नाटकमा प्रयोग भएका सामग्रीहरूको चित्रकारिता उम्दा छ । प्रकाशको संयोजन साँझमा भएर हुनुपर्छ निकै प्रभावकारी रह्यो । बीचबीचमा कलाकारहरूको संवादसँगै बजाइएका धुनहरू दर्शकलाई भावुक बनाउन पर्याप्त छन् । समग्रमा नाटकको प्रस्तुति सन्तोषजनक छ । नाटकलाई शक्तिशाली बनाउन सकिने स–साना ठाउँ धेरै छन् । दर्शकले बहुलाकाजीको सपनालाई आफ्नो बनाउँछन् बनाउँदैनन् त्यसैमा नाटक प्रस्तुतिको सफलता मापन हुन्छ । नाटक प्रस्तुत गर्ने टीम यसमा सजग हुनुपर्छ, छ । आस्थाको टीमलाई बधाई छ ।
नाटक हेरेर फर्कँदै गर्दा हामी नाटकबारे स–सानो छलफल गर्छौँ । बीसौँ शताब्दीमा फिल्म निर्माणको प्रविधि विकास भयो । तैपनि यसले नाटकलाई विस्थापित गर्न सकेको छैन । नाटक साहित्यको एउटा सशक्त विधा आज पनि हो । यसबाट शिक्षित व्यक्तिमात्रै होइन, अशिक्षितहरू पनि उत्तिकै प्रभावित हुन्छन् । त्यसैले जनसाधारणलाई शिक्षित गर्न यसको निकै ठूलो भूमिका हुन्छ । नाटक सभ्य समाजको अङ्ग रहिआएको छ । तर, काठमाडाँैलाई छोड्ने हो भने अझै पनि नेपालका अधिकांश विद्यालयमा नाटकलाई सिकाइको अङ्गको रुपमा उपयोग गरिँदैन । अनिवार्य पाठ्यक्रमको रुपमा विद्यार्थीहरूले “बहुलाकाजीको सपना” पढ्छन् तर अभिनय गर्दैनन् वा हेर्दैनन् । यसले गर्दा नाटक खेल्नाले हुने विद्यार्थीको चौतर्फी विकास पनि अवरुद्ध हुन्छ । अधिकांश शिक्षक वा विद्यालय प्रशासनले यसमा उति चासो दिँदैनन् । किनभने चासो अन्तै छ । कोर्स चाँडै भ्याउन वा कम लगानीमा बढी आम्दानी गर्न ।
आस्था सांस्कृतिक परिवारले कलिलो काँधमा आफूले सकेको अभिभारा बोक्ने उदाहरणीय कोसिस गरिरहेको छ । आउजाउको सुविधा हुनेहरूले कम्तीमा आस्थाले देखाइरहेको “बहुलाकाजीको सपना” हेर्ने अवसर नछुटाउनु बुद्धिमानी हुन्छ । बाँकी देशभरका विद्यार्थीले बहुलाकाजीको सपनालाई पढेर होइन मञ्चन गरेर आत्मसात गर्नुपर्छ, गराउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *