भर्खरै :

पापमोचन

श्यामकृष्ण खुलिमुली
बगरेहरू । श्रम लुट्नेहरू । भ्रष्टहरू । फटाहाहरू । रङ्गीन स्यालहरू । दहीचिउरेहरू । छेपाराहरू । दुराचारीहरू । पीडकहरू । मुटुविहीनहरू । हो, सबका सब नयाँ अवतार लिइरहेछन् । पापमोचन गरिरहेछन् ।
एउटा मान्छे । कालो मुटु भएको । अँध्यारो मन भएको मान्छे । ऊ आफूलाई फेर्न खोजिरहेको थियो । आज उसले गजबको मौका हात पारेको छ । त्यसैले आज ऊ आफ्नो जिउभरि सेतो रङ्ग पोतिरहेको छ । अनि आफ्नो कालो मुटुलाई छोपेर पापमोचन गरिरहेछ ।
एउटा छेपारो । जो मौसमअनुसार आफ्नो रङ्ग बदल्छ । त्यो कहिल्यै स्थिर हुन्न । कहिले कालो, कहिले खैरो, कहिले हरियो रङ्गमा आफूलाई बदल्छ । रङ्ग फेर्दाफेर्दै रङ्गीन बन्न खप्पिस भएको त्यो छेपारोले पुनः आफ्नो रङ्ग बदलेको छ । आज आफूलाई उसले रातो रङ्गमा बदलेको छ, पापमोचन गरेको छ ।
एउटा जुको । हो, उसले चुस्न कसैलाई बाँकी राखेन । भएभरको सबलाई चुस्यो अनि आफू मोटायो । त्यो जन्मजात चुसक, रक्तचुसक । तर, आज ऊ आफूलाई परिवर्तन गरिरहेछ । ऊ आफू अबदेखि नचुस्ने घोषणा गरिरहेछ । बडो क्रान्तिकारी बनेको छ, आफूलाई पापमुक्त गरिरहेछ ।
ऊ क्रान्तिविरोधी तत्व । आगोको बीउ निभाउने । उसले क्रान्तिलाई कत्लेआम गर्न खोज्यो, क्रान्तिकारीको रगत पियो । आज देशमा क्रान्ति भएको छ । अनि उही प्रतिगामी आज क्रान्तिको भजन गाइरहेछ । क्रान्तिको बदख्वार्इँ गरिरहेछ अनि आफूलाई शताब्दीकै सच्चा क्रान्तिकारी घोषणा गरिरहेछ ।
अभियान, एउटा अभियान । पापमोचनको अभियान । पाप पखाल्ने अभियान । देश आज पापमोचन गरिरहेछ, रातारात चोखिरहेछ ।
कंशहरू साधु बनेर पापमोचन गरिरहेछन् । दुःशासनहरू नारीवादको नारा भट्याइरहेछन् । लीलाप्रेमी कृष्णहरू ब्रह्मचारी बनिरहेछन् । कौरवहरू एकाएक हतियार फालिरहेछन् अनि विभीषणहरू राष्ट्रप्रेमको गीत गाइरहेछन् । दुराचारी देवेन्द्रहरू सतित्वको बखान गरिरहेछन् । प्रतिगामीहरू ‘सच्चा क्रान्तिकारी’ बनिरहेछन् । हो, आज सबका सब चोखिरहेछन्– भ्रष्ट, गुण्डा, लुच्चा, ज्यानमारा, लुटेरा, लफङ्गा सबका सब देवत्व प्राप्त गरिरहेछन् ।
पत्थरका मनहरू संसार फेर्न खोजिरहेछन् । अवसरलाई गुटमुट्याउनेहरू धमाधम आफ्नो पापमोचन गरिरहेछन् । भगवानका नयाँ उत्तरआधुनिक अवतार राक्षसहरू ! हो, राक्षसहरू पनि भगवान बनिरहेछन्, दुष्टहरू सज्जन बनिरहेछन्, न्याय किन्नेहरू न्यायमूर्ति कनिरहेछन्, थिचोमिचो र शोषण गर्नेहरू महान् आत्मा बनिरहेछन् । अनि धमाधम दुर्गन्धित पानीले हात धोई पाप पखालिरहेछन् । बागमतीमा नुहाएर चोखिरहेछन् र पशुपतिका महान् भक्त बनिरहेछन् ।
जो कहिल्यै फेर्न जान्दैन, ऊ आफूलाई जबरजस्त फेरिरहेको छ । मानाँै धूर्त स्याल सज्जन बनेर गधाको खोल ओढिरहेछ अनि सगर्व घोषणा गरिरहेछ– ‘म अब फेरिसकेँ ।’ जो रगतमासुका शौखिन छ, ऊ आपूmलाई जबर्जस्त फेरिरहेछ र भनिरहेछ – “अब म साधु भइसकेँ ।” जो रङ्गीन जीवन बाँच्छ, पटकपटक आफूलाई फेर्छ, आफ्नो आस्थालाई बन्धक राख्छ । ऊ आफू अब नफेर्ने दावा गरिरहेछ । भनिरहेछ, “अब म निष्ठावान भइसकेँ ।” जो सपनाको हत्यारा थियो, ऊ आफूलाई सज्जन भएको ढ्वाङ्ग पिटिरहेछ र भनिरहेछ, “म सपनाप्रेमी हुँ ।”
अनुशासन तोड्नेहरू अनुशासनको पाठ पढाइरहेछन् । माटो बन्नेहरू पत्थर बनिरहँदा बीउहरू मरिरहेछन् । अरुका सपनामाथि आफ्ना सपना रोप्नेहरू, अरुका आस्थामाथि आफ्ना आस्था खप्ट्याउनेहरू पापलाई छोपेर पापमुक्त भइरहेछन् । अरुको बलिदानीमाथि आफ्नो जस खोज्नेहरू, अरुको त्यागमाथि आफ्नो नाफा बटुल्नेहरू कालो मनलाई सेतो बनाइरहेछन् । पाप पखाल्नेहरू हाँडीलाई मस्काएर टलक्क टल्काउन खोजिरहेछन् अनि पुनः शक्तिको आडमा, उन्मादको मातमा फेरि पापको फसल फलाइरहेछन्, निर्धक्क, निस्फिक्री । हिजोका अदृश्य कसिङ्गरहरू आज खुलमखुल्ला आँखाभित्र पसी नानीलाई बिगारिरहेछन् । पापबाट मुक्त हुनेहरू पापमोचनको नाममा पापका भाइरसहरू हुर्काइरहेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *