– नीरज
नेपाली साहित्य विदेशी भाषाको अनुवाद साहित्यमा अझै गरिब छ । अझ मूल भाषाबाट नेपाली भाषामा अनुवाद गरिएका कृतिको त खडेरी नै छ । नेपाली भाषामा अङ्ग्रेजी र हिन्दीबाट अनुवाद गरिएका केही सय कृति मात्र होलान् । अब्बल अनुवाद कृतिले नेपाली साहित्यलाई समृद्ध बनाउने मात्र होइन, नेपाली साहित्यलाई पनि विश्व साहित्यको कोटीमा पु¥याउन मद्दत गरिरहेको हुन्छ । अनुवाद कृतिले नेपाली समाजलाई विश्व समाज र संस्कृतिबारे पनि ज्ञानी बनाउने गर्छ ।
रुसी साहित्यिक कृतिमध्ये नेपाली समाजले सबभन्दा बढी सुनेको र पढेको कृति सम्भवतः मेक्सिम गोर्कीको ‘आमा’ उपन्यास हुनुपर्छ । गोर्कीकै तीन खण्डको आत्मसंस्मरणात्मक कृतिहरू ‘मेरो बाल्यकाल’, ‘मान्छेहरूको माझ’ र ‘मेरो युवावस्था’ पनि नेपाली समाजले मन पराएका गोर्कीका कृतिमध्ये पर्छन् । त्यसपछि नेपाली समाजले अलि धेरै पढेका रुसी साहित्यकार हुन्–आन्तोन चेखभ । चेखभ शैलीको कथा विश्वमै रुचाइएको शैली हो । लेभ तोल्सतायका कथाहरू भने नैतिक र बालकथाका रुपमा नेपाली समाजमा निकै अघिदेखि लोकप्रिय छन् । तीमध्ये कति कथा त ताल्सतायका कथा भनेर जानकारीबिना नै हामीले पढ्यौं र मन परायौं ।
धेरैजसो हामीले पढ्ने गरेका रुसी उपन्यास, कथा र नाटक अङ्ग्रेजी र हिन्दी मूल भाषाबाट अनुदित छन् । मूलभाषा रुसी भाषाबाट नेपालीमा अनुवाद गरिएका कृति भने निकै कम सङ्ख्यामा मात्र छन् । सोभियत सङ्घमा उच्च शिक्षा हासिल गरेका प्राध्यापक बलराम अर्यालले मूलभाषा रुसीबाट केही रुसी साहित्यकारका कृतिहरू नेपालीमा अनुवाद गरेका छन् । तीमध्ये केही कथाहरू हालै ‘बसिबियाँलो’ कथा सङ्ग्रहको रुपमा प्रकाशित भएको छ ।
कुनै पनि कृतिको दोस्रो वा तेस्रो भाषामा अनुवाद गर्नु र लेखकले लेखेकै भाषाबाट अनुवाद गर्नुमा भिन्नता हुनेगर्छ । अनुवादको तह र पत्रसँगै भाषा र शैलीको विशिष्ठता पनि क्रमशः हराउँदै जाने सम्भावना हुन्छ । प्रा.बलराम अर्यालले रुसी भाषाबाटै नेपाली भाषामा अनुवाद गरेका कृति पढ्दा यो कुरा महसुस हुन्छ । अङ्ग्रेजी वा अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गरिएको कथा र अर्यालले रुसी भाषाबाट नेपाली भाषामा अनुवाद गरेको कथाको शैलीगत भिन्नता र विशिष्टताको भेद पाठकले अनुभव गर्न सक्छन् ।
‘बसिबियाँलो’ कथा सङ्ग्रहमा रुसका तीन जना विशिष्ट साहित्यकारहरू निकोलाई गोगल, आन्तोन चेखभ र लेभ तोल्तायका ४९ वटा कथाहरू सङ्कलित छन् । गोगलको एउटा कथा, चेखभका २५ कथा र तोल्सतायका २३ कथाहरूको सिङ्गो कथा सङ्गालो पढ्दा तत्कालीन रुसी समाजका विभिन्न आयाम उजागर हुन्छन् । तर, कथामा वर्णित आयाम र मानवीय स्वभाव आज पनि कुनै न कुनै रुपमा नेपाली समाजमा पनि भेटाउन सकिने वास्तविकता कथा पढ्दा अनुभव हुन्छ । कतिपय कथामा पात्र र ठाउँका नाम नेपाली राख्ने हो भने नेपाली समाजकै वर्णन गरिएका कथा भन्ने निष्कर्षमा पाठक पुग्नेछन् ।
गोगलको कथा ‘नाक’ मा नाकलाई प्रतीकको रुपमा प्रयोग गरी कथाकारले मध्यमवर्गीय समाजमा इज्जतको नाममा देखाइने पागलपनको चित्रण गरेका छन् । गोगलका अन्य कथा र उपन्यासिका जस्तै यो कथाले पनि समाजमा मानिसले देखाउने ढोङ्गबारे चर्चा गरेका छन् ।
आन्तोन चेखभका कथाका आफ्नै विशिष्टता हुने गर्र्दछ । ‘बसिबियाँलो’ मा सङ्ग्रहित हरेक कथामा भिन्न भिन्न मानवीय स्वभाव र प्रवृत्ति अभिव्यक्त भएका छन् । गरिबीदेखि पाखण्डसम्म, वियोगदेखि संयोगसम्म, बिर्सने बानीदेखि धेरै खानेसम्मको बानी, प्रेमदेखि उत्सर्गसम्मका मानवीय गुणलाई चेखभले आफ्ना कथाका विषय बनाएका छन् । कथामा चित्रण गरिएका पात्रहरू कति पूर्ण र कति अंश अंशमा हामीभित्रै पनि निहित रहेको जस्तो पाठकले महसुस गर्छन् ।
कथाको घेराभित्र शिक्षासँगै हाँस्यव्यङ्ग्य पनि हुनु नै चेखभ शैलीका कथाका विशेषता हुन् । कति कथाका पात्रहरू निकै हाँसो उठ्दा हुन्छन् । तर, कथा सारहीन हुँदैन । कथाका पात्रको चालढाल देख्दा पाठकलाई हाँसो उठ्छ । तर, त्यो हाँसो पात्रसँगै आफूप्रति पनि लक्षित हुने गर्छ । पात्रमा आफू वा आफ्नो समाजको प्रतिच्छाया देखेर नै पाठकलाई हाँसो उठ्ने गर्छ । विस्मातपूर्ण कथाको सन्दर्भमा पनि यो कुरा त्यत्ति नै सही हुन्छ । चेखभका कतिपय पात्रहरू यति निस्साह हुन्छन्, समाजको वास्तविकताबाट उम्कने उसलाई कुनै ठाउँ नै हुँदैन । पात्रको निस्साहताले पाठकलाई आफ्नै निस्साहताप्रति विस्मात महसुस हुन्छ । समाजको पाखण्ड पात्रहरूमार्फत् चित्रण गर्छन्, चेखभ ।
लेभ तोल्सतायका अधिकांश कथाहरूका नेपाली रुप पनि हामीले कुनै न कुनै रुपमा सुनिसकेका छौं । कतिपय ती कथा बालकथाको रुपमा, कतिपय कथा नैतिक शिक्षाको रुपमा त कतिपय कथा हामीले राजनीतिक सभाहरूमा सुन्ने गरेका छौं । ती कथाहरूको रुसी अनुवादको स्वाद भने अलि बेग्लै महसुस गर्न सक्छौं ।
रुसी भाषाको सिधा अनुवादमा पाठकले वाक्यको संरचना र अनुच्छेदका रुपमा बढी महसुस गर्न सक्छन् । अनुदित कथाहरूमा जुन, जसलाई, जसरी शब्दको पेच किल्लाले जोडेका वाक्य संरचनाको अधिकता महसुस हुन्छ । वाक्यको बीचमा अल्पविराम थप्दै वाक्य बुन्ने तरिका पुस्तकमा प्रयोग भएको देख्छौं । सम्भवतः यो रुसी भाषाको विशेषतामध्ये पर्दो हो ।
मुद्रा राक्षस र भाषिक सम्पादनमा पुस्तक कमजोर देखिन्छ । कतिबेला उच्चारण समेत गर्न जटिल रुसी नाम कथाभित्र पस्ने ढोकामा डण्डा लिएर पहरा बसिरहेको पाले जस्तो अनुभव हुन्छ । नामकै जटिलताले कथाको गरिहाई नाप्न समस्या भएको जस्तो लाग्छ ।
सोभियत सङ्घमा धेरै नेपाली विद्यार्थी छात्रवृतिमा पढेर आए । तर, रुसी समाजलाई धेरैले केही गुण तिरेनन् । सकेसम्म लिए, केही दिएनन् । केही नेपालीले भने कम्तीमा त्यहाँ आफूले सिकेर आएको भाषाको उपयोग गरी त्यहाँको समाजलाई नेपाली समाजमा उतार्ने सत्कर्म गरे । यो निकै सराहनीय कार्य हो । अर्का लेखक जङ्गब चौहानले पनि रुसी साहित्यलाई नेपाली भाषामा ल्याउन योगदान गर्दै आएका छन् । प्रा. बलराम अर्यालको यो कृतिले नेपाली साहित्यलाई एउटा अर्को रुसी रङ्ग भर्न मद्दत गरेका छन् ।