भर्खरै :

‘हाम्रा प्रतिभाहरू’ सँगै डोरिंदा

– अनुदीप
इतिहासको गर्तमा धेरै कुरा लुकेका हुन्छन् । कति विषयहरू लिपिबद्ध भएर सतहमा साउती गर्न आउँछन् । इतिहासको गर्तमै बिलाएर जानसक्ने तथ्यहरूबारे नेपाली साहित्य र इतिहासका मूर्धन्य ६ जना साधकहरूसँग साउती गरेर समालोचक आनन्ददेव भट्टले सबैको जानकारीको लागि प्रकाशमा ल्याएका छन् – ‘हाम्रा प्रतिभाहरू’ मार्फत । २०१९ असार १५ गते लेखक स्वयम्ले प्रकाशन गरेको ‘हाम्रा प्रतिभाहरू’ मा इतिहास शिरोमणि बाबुराम आचार्य, हृदयचन्द्रसिंह प्रधान, पुष्कर शमशेर, प्रा. यदुनाथ खनाल, कविशिरोमणि लेखनाथ पौड्याल र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सङ्घर्षपूर्ण जीवन र चाखलाग्दा घटनाहरू उजागर भएका छन् ।
पहिलो पाठमै भट्टले ‘हाम्रा प्रतिभाहरू’ लेखन र प्रकाशनको प्रष्टीकरण दिएका छन् । भट्टले आह्वान गरेका छन्, ‘आउनोस् – अलिक साउती गरौँ’ । मानिसका अनेक अभिव्यक्ति कला हुन्छन्, मीठो कुरा गर्ने, मीठो गाउने र मीठो बजाउने अनि मीठो लेख्ने । लेखन कला मानिसको पछिल्लो र क्रान्तिकारी आविष्कार भएको भट्टको मान्यता छ । भट्टको दाबी छ, ‘संसारका कुनै पनि ठूला मानिसको ९५ प्रतिशत लिनुहोस् ती बेजोड लेखक थिए नै ।’ भट्टलाई देशप्रतिको माया वा आस्थाले देशका ठूला ठूला मान्छे खोज्ने उत्सुकता पैदा भयो र तिनीहरूको जीवन एवम् उद्देश्यको झलक दिन लेख्ने क्रममा ‘हाम्रा प्रतिभाहरू’ पुस्तक तयार भयो । हाम्रा गौरव गर्न लायकका प्रतिभाहरूको योगदानहरूलाई उचित मूल्याङ्कन र प्रकाशन गर्नुपर्ने कर्तव्यबोधले भट्ट अघि सरेका छन् । भट्ट भन्छन्, ‘अहिले हामी धेरैजसो अरुलाई, कस्तै महान् भए पनि, स्वीकार नगर्न खोज्ने ठेटना मकैजस्ता भएकाले पनि, मलाई लाग्यो उहाँहरूको सक्दो सम्मान र तारिफ गरुँ, श्रद्धाको शिर निहुराउँ ।’ ‘हाम्रा प्रतिभाहरू’ मा प्रस्तुत ६ जना नै साधकहरूको विचारमा आफू पूर्णतः सहमत नभएको स्पष्ट पार्दै भट्टले संसारका ठूला ठूला व्यक्तिको जीवनीबाट प्ररेणा लिएजस्तै हाम्रै देशका ठूला व्यक्तिप्रति श्रद्धा, भक्ति र प्रेम गर्नुपर्ने कर्तव्यमा पाठकहरूलाई पनि डो¥याएका छन् ।
इतिहास जित्नेहरूको घोडा हो भन्ने गलत मान्यताबारे चर्चा हुने गर्छ । त्यसैले इतिहास सधैंभरि निर्विवाद हुने गर्दैन । नेपाली इतिहासबारे मात्र मतभिन्नता रहेको होइन, स्वयम् इतिहासकार बाबुराम आचार्यबारे पनि अनेक बुझाइ पाइन्छ । इतिहास शिरोमणिबाट विभूषित आचार्यलाई पनि ‘कुनै राजनीतिक दलको पैसा खाएर भारतविरोधी लेख लेख्ने गरेको, कुनै राजनीतिक दलको नाइकेबाट प्राचीन इतिहास लेख्न पैसा लिएको अनि पैसाको लोभी, टिम्केका, होच्याउने, वास्ता नगर्ने’ आदि आरोप लाग्यो । त्यसैले आचार्यका लेखहरू पढेर श्रद्धा गर्ने भट्टलाई प्रत्यक्ष आचार्यसँग नै संवाद गरेर सत्यतथ्य बुझ्ने उत्सुकता जाग्यो । भट्ट सोध्दै खोज्दै आचार्यको घर पुगे । विभिन्न विषयमा कुराकानी गरे । पहिलो भेटमै सरल र सहज रुपमा भेटघाट गरेका भट्टले आचार्यसँग फेरि फेरि पनि भेटे । भट्टले आचार्यमाथि लागेको आरोपको खण्डन गर्न कुनै तार्किक वकालत गरेका छैनन् बरु आचार्यको आहार, व्यवहार, भत्कन लागेको घर, सुटेडबुटेड मानिस बस्न अप्ठयारो कोठा आदिको दृश्य चित्रबाट नै पाठकलाई आचार्यको सादा जीवन, उच्च विचारको आदर्श स्थापना गर्न खोजेका छन् । बरु आचार्यको ‘शारदा’ मा प्रकाशित ‘प्राचीन नेपाल र उसको संस्कृति’ आलेखको आलोकमा भट्ट निष्कर्ष दिन्छन्, ‘कतिपय दक्षिणीहरू हाम्रो संस्कृति उनीहरूको दास (?) भन्न डराउन्नन्, लाजसम्म मान्दैनन् । त्यतिमात्रै होइन, हाम्रो देशको अन्न पानी खाई विदेशको दास बन्न स्वयम् कति नेपाली नामधारी विद्वानहरू अघि सरेका छन् ।’ २०१६ सालमा निकालेको भट्टको निष्कर्ष आज पनि पुरानो भएको छैन । आज आधा शताब्दीपछि पनि नेपाली जनता विदेशको दास बनेका नेपाली नामधारी विद्वानहरूबाट पीडित छन् ।
हृदयचन्द्रसिंह प्रधानको जीवनका अन्तिम दिनहरूमा आनन्ददेव भट्टले प्रधानलाई घरमै गई भेटेका छन् । एक बिरामी साहित्यकारको कारुनिक अवस्थाको वर्णन गर्दै भट्टले प्रधानको औषधि खर्चको प्रबन्ध मिलाउन, स्वस्थकर ठाउँ बस्ने बन्दोबस्त गर्न र उपचारको निम्ति चाँडै रुस वा अमेरिका लान माग गरेका छन् । टी.बी., हर्निया र दम रोगबाट पीडित प्रधानलाई टोखा टी.बी. अस्पतालमा उपचार गर्न नसकेर भारतको भोपालमा उपचार गरियो । शल्यक्रिया गरेर ६ वटा करङ निकालेपछि पनि फेरि शल्यक्रिया गर्नुपर्ने र अब शल्यक्रिया गर्न शरीरले धान्न नसक्ने भएपछि प्रधान नेपाल फर्के । नेपालमा उपचारको उचित बन्दोबस्त भएन । प्रधानको भोपालमा जस्तै उपचार र खानपान गर्न दैनिक सात आठ सय लाग्ने भयो । जब कि प्रधानको आम्दानीबाट सात आठ जनाको परिवार पाल्नुपर्ने थियो भने प्रधानको आम्दानी काठमाडौं नपाको ‘जनचेतना’ पत्रिकाबाट आउने १२५ र वर्षको एउटा किताब लेखेबापत सरकारबाट दिइने २०० रुपैयाँ गरी ३२५ मात्र थियो ।
नेपाली स्रष्टाहरूको अर्थाभाव विषय नौलो होइन तर राणा खानदान पुष्कर शमशेरको उपचारको लागि पैसाकै समस्या हुनु पक्कै पनि उदेकलाग्दो विषय हो । पुष्करलाई खान फलपूmल राम्रो हो तर नेपालमा फलपूmल महँगो भएर छोइनसक्नु भएको राणा श्रीमती ञुबाट सुन्दा आश्चर्य लाग्न सक्छ । श्रीमती ञुकाअनुसार कोही सरकारी मान्छे बिरामी पुष्करलाई भेट्नसम्म आएका थिएनन् । समालोचक भट्टको मूल्याङ्कनमा देशको इज्जतमा कलङ्क नलगाई, एउटा स्वाभिमानी लेखक र नागरिक बन्नमा आदर्श नै कायम गरेको पुष्करको उपचारमा जति मद्दत गर्न सकिन्छ छिटो गर्नुपर्नेमा जोड दिएका छन् ।
‘हाम्रा प्रतिभाहरू’मा लेखक भट्टले प्रा. यदुनाथ खनाल, कविशिरोमणि लेखनाथ पौड्याल महाकवि देवकोटाको व्यक्तित्व र दृष्टिकोण कसरी निर्माण भयो भन्ने विषयमा विभिन्न कोणबाट प्रस्ट पारेका छन् । ६ जना प्रतिभाहरूसँग प्रत्यक्ष भेटघाट र छलफल गरेको आधारमा भट्टले संस्मरणात्मक शैलीमा लेखेका लेखहरूको सङ्कलन नै ‘हाम्रा प्रतिभाहरू’ हो । २०१९ सालमा प्रथम पटक प्रकाशित गर्दा मूल्य रु. दुई रुपैयाँ पचास पैसा राखिएको ११८ पृष्ठको ‘हाम्रा प्रतिभाहरू’ पुनःप्रकाशन गर्दा स्वाभाविक रुपमा बजार मूल्य सय गुणा नै बढ्ने होला । यद्यपि नेपाली साहित्यका पारखी, शोधकर्ता र अनुरागीहरूलाई दिइने सन्दर्भ सामग्री र वैचारिक दृष्टिकोण अनि मुद्दाका आधारमा नयाँ पुस्ताको लागि समालोचक आनन्ददेव भट्टको ‘हाम्रा प्रतिभाहरू’ कैयौं गुणा मूल्यवान छ र पुनः प्रकाशन आवश्यक छ । तसर्थ लेखक तथा प्रकाशक आनन्ददेव भट्ट साधुवादका पात्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *