भर्खरै :

प्रजग कोरिया–संरा अमेरिका पुनः वार्ताको सम्भावना

सिओल, दक्षिण कोरिया, ६ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रजग कोरियाली नेता किम जोङ–उनलाई कोरियाली प्रायःद्वीपलाई आणविकरूपमा निःशस्त्रीकरण गराउने पहलस्वरूप सम्वादका लागि सन्देश पठाएको दक्षिण कोरियाली कुटनीतिक श्रोतले बताएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ–इनमार्फत पठाइएको सन्देशलाई प्रजग कोरियाली नेता किमसम्म पु¥याउन ट्रम्पले भनेका उक्त स्रोतले बतायो ।
यद्यपि विषयवस्तुको सम्वेदनशीलतालाई मध्यनजर गर्दै आफ्नो नाम उल्लेख नगर्ने शर्तमा अधिकारीले भने, “गत हप्ता भएको शिखर सम्मेलनमा राष्ट्रपति मुनले अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा किमलाई सन्देश पठाइएको र पुनः अमेरिका र प्रजग कोरियाबीचको सम्वादले निरन्तरता पाउनसक्ने सम्भावना बढेको छ ।”
यद्यपि ट्रम्पले कुनै ठोस सुझाव भने नपठाएको उक्त स्रोतले बताएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प र प्रजग कोरियाली नेता किमबीच भियतनामको राजधानी हनोइमा भएको दोस्रो शिखर सम्मेलन लगत्तै मुन–ट्रम्पबीच वासिङटनमा भेटवार्ता भएको थियो ।
यद्यपि, भेटवार्तामा ट्रम्पले प्रजग कोरियाबारे पठाएको भनिएको सन्देशबारे दक्षिण कोरियाली राष्ट्रपतिबाट कुनै जानकारी सार्वजनिक भएको छैन ।
तर विश्वस्त स्रोतले दिएको जानकारी अनुसार वासिङ्टनमा भएको मुन–ट्रम्प सम्मेलनले कोरियाली प्रायःद्वीपलाई आणविकरूपमा निःशस्त्रिकरण गर्न विस्तृत धारणा ल्याएको र यसमा सिओल र वासिङ्टनको एकमत रहेको छ ।
प्रजग कोरियाको सुप्रिम पिपुल्स एसेम्बलीकोे चौधौँ सभामा बोल्दै प्रजग कोरियाली नेता किमले गरेको सम्बोधनमा समस्या समाधानको लागि आफू थप अर्को वार्ताका लागि तयार रहेको बताउनुभएको थियो ।
मुनसँगको भेटपछि राष्ट्रपति ट्रम्पले अमेरिका र प्रजग कोरियाबीच साना–साना सम्झौता गर्दै बृहत् सम्झौताको मार्ग तय हुने सम्भावना रहेको बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *