नारायणमान बिजुक्छेँ, नेमकिपा अध्यक्ष

यस महत्र्वपूर्ण दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई सबै साथीका अभिव्यक्तिहरू सुन्न पाउने र परिचित हुने अवसर प्रदान गरेकोमा दुवै इन्जिनियरिङ कलेजका आयोजक साथीहरूलाई धन्यवाद दिन चाहन्छु र सम्मेलनको पूर्ण सफलताको कामना गर्न चाहन्छु ।
चार वर्षपछि पनि भूकम्पको पराकम्पनले समाजलाई तर्साउँदै छ, हाम्रो देश कम्पीय क्षेत्रमा परेको हुनाले यसबाट मुक्त हुन नसक्नेबारे हामी सबै जानकार छौँ । तर, प्रश्न छ, हाम्रो समाजलाई भूकम्पको जोखिमबाट कसरी न्यूनीकरण गर्ने हो भन्नेबारे सम्मेलनमा देशी र विदेशी प्राविधिक साथीहरूले आ–आफ्नो अनुभव, ज्ञान र जानकारीको आदान–प्रदान गर्नहुनेछ । ती जानकारी, अनुभव र ज्ञानको आधारमा सम्मेलनमा प्रस्तुत हुने प्राविधिक परामर्श र निचोड समाजको निम्ति मूल्यवान सल्लाह सावित हुनेछ ।
सम्मेलनबाट प्राप्त त्यही प्राविधिक परामर्श निचोडलाई सङ्घीय सरकार, प्रादेशिक सरकारहरू र स्थानीय तहका सरकारहरूलाई सम्बन्धित विषयमा जोखिम न्यूनीकरण गर्न ऐन–कानुनहरूको तर्जुमा गर्न कलेजहरूमार्फत ती सल्लाहहरू अवगत गराउनेछन् ।
ती नै प्राविधिक सल्लाहको आधारमा बन्ने भवन निर्माण र अन्य भौतिक संरचनाहरूको ऐन–कानुन र आचारसंहिताले देश र जनतालाई प्रत्यक्ष–अप्रत्यक्ष सहयोग पु¥याउनेमा कुनै शङ्का छैन । त्यसबाट हामी सबै जनता लाभान्वित हुनेछौँ ।
भवन निर्माण र भौतिक संरचनाहरूकै निर्माण गर्दा हामीले पुराना र प्रचलित आचारसंहितालाई पालना नगर्दा धेरै पुराना भवनहरू र सम्पदाहरूलाई संरक्षण गर्न नसकेको जानकारहरू बताउँछन् । ती निर्माणका ऐन–कानुन र आचारसंहितालाई बेवास्ता गर्दा २०७२ को भूकम्प र पराकम्पनले धेरै धनजनको क्षति ग¥यो । अब त्यसबाट शिक्षा लिएर निर्माण संहिताअनुसार भवन निर्माण र समय–समयमा मर्मत सम्भार गर्दै गयौँ भने निश्चय पनि क्षति न्यूनीकरण हुनेमा दुईमत हुनेछैन ।
आधुनिक नगर निर्माणका धेरै चर्चा सुनिँदै छ, तर सिमेन्ट, फलामे डण्डी र कंक्रिटका घरहरू बनाउने हो भने ५०–६० र १०० वर्षमा ठूलो रकम खर्च गरेर भत्काउनुपर्ने नै छ । भत्काएको थुप्रोलाई बन्दोबस्त गर्न वा फाल्न अर्को ठूलो झन्झट व्यहोर्नुपर्नेछ । यसकारण सरकारले पुरानै शैलीको भवन निर्माण गर्न जनतालाई उत्साहित गर्न सहयोग पु¥याउनु आवश्यक छ । विदेशमा चोरी निकासी हुने नेपाली काठलाई आफ्नै देशमा सस्तोमा आवश्यक जिल्लाहरूमा पु¥याउन सके देशको सामान र पैसा देशमै उपयोग हुनेछ । भवनको आयु पनि धेरै लामो हुनेछ र सम्भावित रोगब्याधीबाट पनि हामी जोगिने छौँ ।
त्यसका निम्ति इन्जिनियरिङ कलेजहरूले पुरानै शैलीका घर निर्माण गर्ने प्राविधिक श्रमिकहरू र गुरुहरू तयार गर्दा देश र जनतालाई अत्यन्त ठूलो राहत मिल्नेछ ।
प्राचीन स्मारक र सम्पदाहरू संरक्षण गर्न पनि इन्जिनियरिङ कलेजहरूले डकर्मी–सिकर्मी र प्राविधिक श्रमिकहरू तयार गर्नतिर ध्यान दिनु आवश्यक देख्छु । आशा छ, यस सम्मेलनमा आमन्त्रित देशी र विदेशी प्राविधिकहरूको अनुभव र सल्लाहबाट हामी लाभान्वित हुनेछौँ ।
पूर्ववक्ता साथीहरूले देशको वर्तमान राजनैतिक परिस्थितिबारे आ–आफ्नो दृष्टिकोण प्रस्ट राख्नुभयो । हाम्रो देशले भर्खरै सङ्घीय बन्दोबस्त र गणतन्त्रको अनुभव गर्दैछ । यसका अनेक कमी –कमजोरीहरूबाट हामी आत्तिएका छौँ र अनेक प्रतिक्रियाहरू आउनु स्वाभाविक छ । बहुदलीय व्यवस्थामा हरेक विषयमा भिन्न मत हुनु स्वाभाविक हो । आ–आफ्नो मत प्रकट गर्ने, विरोध वा आलोचना गर्न पाउने अधिकार पनि प्रजातन्त्रमा अन्तरनिहित विषय हो । वास्तवमा फरक मत र अभिव्यक्ति स्वतन्त्रता र छलफलबाट टुङ्गो लगाउने कार्यशैली नै बहुदलीय प्रजातन्त्रको सौन्दर्य हो ।
तर नयाँ समाजको प्रसव वेदना हाम्रो देश र जनताले झेल्दैछन् भन्नेबारे सबै अवगत छौँ ।
अन्तमा, पुनः यस सम्मेलनको पूर्ण सफलताको कामना गर्दै विदेशी प्राविधिक पाहुनाहरूलाई हाम्रो देश र नगरमा स्वागत गर्न पाउँदा हामी सा¥है खुसीको अनुभव गर्दैछौँ ।