भर्खरै :

सम्पदा सिध्याउने खेलमा विदेशीको त हात छैन ?

– प्रकाश
केही महिनाअगाडि विश्व सम्पदा क्षेत्रमा रहेको पशुपति क्षेत्रमा परम्परागत निर्माण सामग्री र विधिमात्र प्रयोग गर्नुपर्ने मापदण्डविपरीत कङ्क्रिटको प्रयोग भएको थियो । अहिले पशुपतिपछि विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भूमा पनि कङ्क्रिट प्रयोगको प्रयास भएको छ । स्वयम्भू संरक्षण महासमितिको स्वीकृति रहेको भन्दै मनाङ समाज नामक संस्थाले अवैधरूपमा गेट बनाउन सुरु गरेको हो । स्वयम्भूमा २०३२ सालमा सोही संस्थाले निर्माण गरेको प्रवेशद्वार २०७२ को भूकम्पमा ढलेको थियो । तर, सोही ठाउँमा आधुनिक तवरले गेट निर्माण गर्न थालिएको छ । सो संस्थाले गेट निर्माणको लागि कङ्क्रिटकै प्रयोग गरेर हात्तीपाइले राखिसकेको छ ।
गत वर्ष काठमाडौँको रानीपोखरीमा पनि काठमाडौँ महानगरपालिकाकै अनुमतिले मापदण्डविपरीत कङ्क्रिट प्रयोग गरिएको थियो । त्यस्तो निर्माणले विश्व सम्पदामा सूचिकृत नेपालको सम्पदालाई सूचीबाट हटाउने चेतावनी संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन–युनेस्कोले पटक पटक दिइरहेको छ । युनेस्कोको चेतावनीलाई बेवास्ता गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यजस्ता केही शासक र प्रशासकहरू सम्पदा म्हास्ने निर्माणको पक्षमा लागेको पनि देखिएकै हो । सर्वसाधारण जनताले नबुझेको र नमानेको अवस्थामा पनि सम्झाउने, बुझाउने र मान्न लगाउन लागिपर्नुपर्ने मानिसहरू स्वयम् सम्पदा म्हास्नेहरूको पक्षमा लाग्दा सम्पदाप्रेमी जनताले आन्दोलन गर्नुपर्ने अवस्था निम्तिरहेको छ ।
नेपालको ऐतिहासिक र सांस्कृतिक सम्पदा विरुप पार्न र म्हास्न केही मानिसहरू जानी बुझिकनै लागिरहेका छन् । मौलिक सम्पदा र पहिचानको महत्व नबुझेका केही स्वघोषित आधुनिकतापे्रमीहरू तिनीहरूकै पछाडि लागेर मौलिकता, सम्पदा र संस्कृतिकै विरोध गर्न लागेका छन् । नेपालको मौलिक सीप र सम्पदा म्हासिएपछि हामीसित विश्वलाई देखाउनलायक अरुथोक बाँकी रहँदैनन् । हाम्रो देशको सुन्दर प्राकृतिक छटा पनि विश्व तापमान वृद्धि र वनविनासका कारण सकिंदै गएको छर्लङ्गै छ । अहिले सम्पदा म्हास्ने, मूर्ति चोरेर विदेश पु¥याउने, मौलिक सीपलाई दुरुत्साहन गर्ने काममा कतै हाम्रो देशको पर्यटन विकास, परिचयको प्रचार र आर्थिक आत्मनिर्भरता नचाहने विदेशी शक्तिहरूको उक्साहट त छैन ? गम्भीर छानबिन गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *