भर्खरै :

हो चि मिन्हलाई चिठी

भूपि शेरचन
आशीर्वादजस्तो सिरानीमा उभिएको
माछापुच्छे्र हिमालको छायाँमा उभिएर
म तिमीलाई सलामी दिन्छु
तिमीलाई पनि एउटा नयाँ हिमाल मानेर ।
अहिले तिमीलाई यो चिट्ठी लेख्न बस्दा
मेरो कोठाको मौनता
परिणत भएको छ कुनै बौद्ध विहारको शान्तिमा
जहाँ बालेको धूपबाट निस्केका धुवाझैँ
विस्तारी–विस्तारी उठेर
मेरो अगाडि उभिरहेछ
तिम्रो बूढो र पातलो शरीर
एउटा अस्पष्ट तर पवित्र अनुहार बोकेर ।
र मलाई अनायास याद आइरहेछ आफ्नो गाउँको
जहाँ एउटा खोला छ, ‘लेते खोला’
तिमीजस्तै शान्त र दुब्लो
तर, जब त्यो सानो खोलामा बाढी आउँछ
वरिपरिका ठूलठूला चट्टानहरूको पनि पाइला
डग्मगाउँछ
र बाढी थामिएपछि
त्यसलाई छेक्न खोजेको घमण्डी पहराहरूले
आफूलाई भत्केको भास्सिएको र चोइटिएको पाउँछन्
मेरो ‘लेते खोला’ !
म ढुक्क छु
तिम्रो बाढीले पनि मिल्क्याउनेछ ।
ती डलरका कात्रो बोकेर
तिम्रो देशमाथि आइलागेका बर्बरहरूलाई
भूगोलको परिधिले मलाई बाँधे तापनि
राष्ट्रहरूको बीचमा सीमारेखाहरूले
मलाई तिमीसँग बेग्लाए तापनि
यी सबभन्दा माथि जहाँ चेतन छ
यी सबभन्दा सच्चा जहाँ मुटुको ढुकढुकी छ ।
त्यहाँ म तिमीसँग छु
र युद्धमा परेको छु
तिम्रो प्रत्येक घरको भत्काइमा म बेघर भएको छु
तिम्रो प्रत्येक पुलको टुटाइमा म टुटेको छु
तिम्रो प्रत्येक गोल–गोल मङ्गोल अनुहार भएकी
आइमाईको बेइज्जतीमा
मैले आफ्नो पत्नी र दिदी–बहिनीहरूलाई
बाटोमा निर्वस्त्र देखेको छु
तिम्रो प्रत्येक बौद्ध विहारको विध्वंसमा
मैले आफ्नो स्वयम्भूको ज्ञानचक्षुमा
आँसु उर्लिएको देखेको छु
तिम्रो हनोइमाथिको वम वर्षाको छिर्का
मैले आफ्नो धरहरामाथि परेको अनुभव गरेको छु
र बमवर्षाका रातहरू
मैले पनि जागरणका ट्रेञ्चहरूमा बिताएको छु
को सक्छ निदाउन खरबारीमा
वरिपरि मुढाहरू दन्किरहेको बेलामा !
यी सबभन्दा बर्ता
यी सबभन्दा माथि
मैले तिम्रो प्रत्येक मृत सिपाहीँबाट
बाँच्ने दर्शन सिकेको छु
जीवनको अर्थ बुझेको छु
र तिम्रो सानो देशको ठूलो आत्माबाट
मैले आफ्नो सानो आत्माभित्र
एउटा ठूलो ज्योति सल्केको पाएको छु
हनोइमाथिको बम
सहरमाथि होइन, मान्छेमाथि बम हो,
र मैले तथा मजस्तै
सारा मानिसहरूले ती बमहरूलाई
आफूमाथि पड्केको भन्ठानेका छौँ
मेरो कामरेड !
मेरो हिमाल !
मेरो ‘लेते खोला’ !
विश्वास गर
मैले तिम्रो जीतको विश्वास गरेको छु
मानिस मर्छन्
जसरी डढेलोमा रुखहरू डढ्छन्
तर, मानवता कहिल्यै मर्दैन
त्यो फेरि पलाउँछ
डढेलोपछि उम्रिने असङ्ख्य च्याउहरूजस्तै
आशीर्वादजस्तो सिरानीमा उभिएको
माछापुछे्रका छायाँमा उभिएर
प्रतिज्ञाजस्तो वरिपरि दृढ उभिएका पहाडहरूलाई
हातेमालो गरेर
म किरिया हाल्ने सामथ्र्यमा छु
जीत तिम्रो हुनेछ
जीत हाम्रो हुनेछ
अन्तरिक्षमा मर्ने कुकुरलाई शोकमा
गिर्जाघरमा रुनेढोंगी मानवता
धरतीमा गरेको हत्याको पछुतोमा
आत्महत्या गर्न बाध्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *