भर्खरै :

“शैक्षिक ऋण दिएर गरिब परिवारलाई उच्च शिक्षाको व्यवस्था गर्ने भक्तपुर पहिलो नगरपालिका हो”

“शैक्षिक ऋण दिएर गरिब परिवारलाई उच्च शिक्षाको व्यवस्था गर्ने भक्तपुर पहिलो नगरपालिका हो”

भक्तपुर नगरपालिका सर्वसाधारण जनतालाई सुलभरूपमा उच्च शिक्षा प्रदान गर्न शिक्षा क्षेत्रमा लगानी गर्ने नेपालकै पहिलो नगरपालिका हो । २०३९ सालमा निर्वाचित तत्कालीन जनप्रतिनिधिहरूले प्रत्येक सामुदायिक विद्यालयमा १/१ जना शिक्षक नियुक्त गरेर ७ कक्षासम्म निःशुल्कको व्यवस्था गर्नुभयो । त्यतिबेला पञ्चायती सरकारले देशभर ५ कक्षासम्म मात्रै निःशुल्कको व्यवस्था गरेको थियो ।
२०५६ सालमा ख्वप माविको स्थापना पनि नेपाल मजदुर किसान पार्टीको शिक्षालाई जोड दिने नीतिकै सिलसिला थियो । आज ख्वप माविको जगमा आधा दर्जनभन्दा बढी उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरू सफलताका साथ सञ्चालनमा छन् । इन्जिनियरिङ, विज्ञान, व्यवस्थापन, मानविकीजस्ता विभिन्न विषयहरूमा हाम्रा कलेजहरूले स्नातकोत्तरसम्मको शिक्षा प्रदान गरिरहेका छन् भने ख्वप विश्वविद्यालयको स्थापनाको लागि पनि निरन्तर पहल भइरहेको छ । शिशुस्याहार केन्द्रदेखि कलेजसम्म सञ्चालन गर्ने भक्तपुर नै एक मात्र नगरपालिका हो ।
झण्डै १० वर्षदेखि नै हामीले ख्वप विश्वविद्यालय स्थापनाको लागि जोड दिँदै आयौँ । धेरै माननीयहरू र संसदीय टोलीका प्रतिनिधिहरूले पनि पटक पटक हाम्रा पूर्वाधारहरूबारे अनुगमन गर्नुभयो । उहाँहरू ख्वप विश्वविद्यालयको लागि आवश्यक पूर्वाधारहरू पर्याप्त रहेको अनुभव गरिसक्नुभएको छ । संसदीय टोलीले सिफारिससमेत गरिसकेको छ । विधेयक सांसदहरूको हातहातमा पुगिसक्दा पनि अहिलेसम्म छलफल प्रक्रियामै लगिएको छैन । हिजो मात्रै पनि शिक्षा मन्त्रालयबाट गठित अध्ययन टोलीका सदस्यहरूले विधेयकबारे छलफल गर्नुभयो । हामीले नगरपालिकाकै पूर्ण स्वामित्व हुने गरी सञ्चालन गर्न आवश्यक केही सुझावहरू दियौँ । यो वर्ष ख्वप विश्वविद्यालय विधेयक संसदबाट पारित हुनेमा हामी आशावादी छौँ ।
भक्तपुर नगरपालिकाले सम्पूर्ण जनताका छोराछोरीका लागि उच्च शिक्षाको अवसर प्रदान गर्दै आएको छ । स्थानीय जनताको करबाट नगरपालिका सञ्चालन हुने हुँदा यहाँका सम्पूर्ण विद्यार्थीलाई आर्थिक कारण उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुन नपर्ने व्यवस्था मिलाउँदै आएका छौँ । गरिब परिवारका विद्यार्थीलाई रु. ५ लाखसम्म शैक्षिक ऋण प्रदान गर्ने नीतिअनुसार हाल ४९४ जना विद्यार्थी नपाको शैक्षिक ऋणमा पढिरहेका छन् भने यो वर्ष १०७ जना विद्यार्थीलाई शैक्षिक ऋण स्वीकृत गरिसकेका छौँ । शैक्षिक ऋण दिएर गरिब परिवारलाई उच्च शिक्षाको व्यवस्था गर्ने पनि भक्तपुर पहिलो नगरपालिका हो । समाजलाई बुद्धिजीवीकरण गरी सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने हाम्रो घोषित नीतिलाई पूरा गर्न नगरपालिकाले यो नीतिलाई अगाडि बढाएको हो ।
नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूमा पर्याप्त छात्रवृत्तिको व्यवस्था गर्दै आएका छौँ । गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई वार्षिक सवा चार करोडभन्दा बढी छात्रवृत्तिको व्यवस्था गर्दै आएका छौँ । भूगोल, इतिहास, संस्कृति, नेपालभाषा, अर्थशास्त्र, दर्शनशास्त्रजस्ता थुप्रै विषयहरूमा जुनसुकै कलेज तथा विश्वविद्यालयमा अध्ययन गरे पनि विद्यावारिधिसम्म छात्रवृत्तिको व्यवस्था गरेका छौँ । अहिले ती विषयहरू लिएर भक्तपुरका धेरै विद्यार्थीहरूले स्नातक, स्नातकोत्तर र विद्यावारिधि गरिरहेका छन् । भविष्यमा देशको लागि आवश्यक विभिन्न विषयका जनशक्तिको अभाव नहोस् भन्ने उद्देश्यले यो नीति कार्यान्वयन गर्दै छौँ । यसले गर्दा ती विषयहरूमा युवाहरूको आकर्षण बढेको पनि हाम्रो अनुभव छ ।
भक्तपुर सांस्कृतिक नगर भएकोले सम्पदा संरक्षणमा पनि हाम्रो त्यत्तिकै जोड रहिआएको छ । भक्तपुरमा अवस्थित मूर्त र अमूर्त सम्पदाहरू हाम्रा अमूल्य निधिहरू हुन् । त्यसको संरक्षण गरी भावी पुस्तालाई हस्तान्तरण गर्नु हामीले आफ्नो कर्तव्य सम्झेका छौँ । विभिन्न सम्पदाहरू हेर्नकै लागि अहिले भक्तपुरमा वर्षको लाखौँ पर्यटकहरू आउने गर्छन् । भक्तपुर पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै छ । पर्यटकहरूबाट उठेका पर्यटन शुल्कबाट भक्तपुरको शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, खेलकुदलगायतको विकासको निम्ति खर्च गर्दै आएका छौँ । यसले प्राचीन कला र संस्कृतिबाट नयाँ पुस्ताको सेवा भएको छ । ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ नाराले पनि सार्थकता प्राप्त गर्दै छ ।
भक्तपुर नगरपालिकाले युवाहरूलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिमहरू प्रदान गर्दै आएको छ । चिनियाँ भाषा, जापानी भाषालगायत विभिन्न विदेशी भाषाको पनि प्रशिक्षण दिई हरेक युवालाई ३–४ वटा भाषाको जानकार बनाउने कोसिस हुँदै छ । साथै युवाहरूलाई लक्षित गरी युवा उद्यमशिलता कोषको व्यवस्था गरी रु. ५ लाखसम्मको ऋणको व्यवस्था पनि गर्दै आएको छ ।
घरदैलो नर्सिङ, वडा वडामा स्वास्थ्य केन्द्र स्थापनादेखि १०० शय्याको आफ्नै अस्पताल सञ्चालन गरी सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा पनि हामीले प्रदान गर्दै छौँ । शिक्षा, स्वास्थ्य, विकास निर्माण, सम्पदा संरक्षणजस्ता कामहरू जनतालाई केन्द्रमा राखी कार्य गर्दै आए पनि सङ्घ र प्रदेश सरकारहरू भने भक्तपुर नगरपालिकाप्रति सहयोगी बनेनन् । ख्वप अस्पतालको बीमाको शोध भर्ना १२।१३ करोड बाँकी छ भने वाग्मती प्रदेश सरकारको तर्फबाट यो वर्ष कानुनबमोजिम दिनुपर्ने विशेष र समपूरक अनुदान समेत नदिई पक्षपात र पूर्वाग्रही भावनाको प्रदर्शन गर्यो ।
नेपालको संविधान निर्माणपछि सङ्घीयता कार्यान्वयनमा आएसँगै भक्तपुर नगरपालिकाले संविधानको भावना र मर्मअनुसार समाजवादउन्मुख कार्य गर्दै आएको छ । तर सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वयको अभावले हामीले धेरै समस्याहरू भोग्दै आएका छौँ ।
सङ्घ र प्रदेश सरकारको नेतृत्व गरिरहेका नेता, मन्त्रीहरूले नै स्थानीय तहलाई आफ्नै मातहतको एकाइजस्तो व्यवहार गर्छन् भने त्यो सङ्घीयता र संविधानको भावनाविपरीत छ । पालिकाहरू जनताको सबभन्दा नजिकको सरकार भएको हुँदा सङ्घ र प्रदेशले दिने सशर्त अनुदान घटाउँदै विशेष अनुदान वृद्धि गर्दै लानुपर्ने थियो तर त्यसको ठीक उल्टो विशेष अनुदान घटाउँदै लगेको छ । त्यो स्थानीय तहलाई सङ्घ र प्रदेशको नियन्त्रणमा राख्ने जालसाजी हो । स्वायत्तताको पक्षमा लडिरहेका कुनै पनि नगरपालिकाको लागि त्यो स्वीकार्य हुनसक्दैन ।
सङ्घीयता कार्यान्वयन भएको ८ वर्ष भइसक्दा पनि संविधानबमोजिम साझा सूचीमा रहेका विषयमा अहिलेसम्म कानुन निर्माण भएको छैन । कानुन निर्माणबिना जनताको काम सहजरूपमा सम्पन्न हुन सम्भव हुँदैन । सङ्घ र प्रदेशले समयमा आवश्यक कानुनहरू निर्माण गरी दिएको भए स्थानीय तहमार्फत अहिलेको भन्दा धेरै कामहरू हुनसक्थ्यो ।
सरकारको काम जनताको हितलाई ध्यानमा राख्नुभन्दा देशघाती एमसीसी सम्झौता पारित गर्न र नागरिकता विधेयक पारित गर्नमा केन्द्रित भयो । सरकारले जनताको हितमा काम गर्न नसकेकै कारण अहिले गणतन्त्रको विकल्प खोज्नुपर्ने मागहरू पनि उठ्न थालेका छन् । यो २०४६ सालपछि सरकारमा बस्ने दल र नेताहरूको गलत कामकै परिणाम हो ।
राजनीति जनताको सेवाको लागि हुनुपर्नेमा राजनीतिलाई छोटो समयमा छिटो सम्पत्ति आर्जन गर्ने व्यापारमा रूपान्तरण गरियो । देश र जनताको सेवा गर्ने भनेर सरकारमा पुगेका नेताहरूले पञ्चायती व्यवस्थामा जेल, प्रवास, भूमिगत बसेको वर्ष, महिना हिसाब गरेर सावाँ ब्याज असुल गर्न खोजे । त्यसैको परिणाम राजनीतिकै बदनाम भयो ।
हाम्रो कलेजहरूबाट उत्पादित जनशक्ति देश र जनताको सेवामा समर्पित भएर लाग्ने अपेक्षा गर्दछौँ ।
(भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २२ औँ र ख्वप कलेज अफ इन्जिनियरिङको १५ औँ वार्षिकोत्सव समारोहको समापन तथा सांस्कृतिक कार्यक्रममा शुक्रबार भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *