अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
नेपालका प्रधानमन्त्री, मन्त्री, सचिव र म्यानपावर कम्पनीका जिम्मेवार व्यक्तिहरूको मिलेमतोमा नेपालीलाई भुटानी शरणार्थी बनाएर संयुक्त राज्य अमेरिकामा पठाउने प्रकरणको मुद्दा सेलाउन नपाउँदै नक्कली कागजात बनाई मानव तस्करी गर्दै आएको समाचार प्रकाशमा आयो । विभिन्न म्यानपावर कन्सल्टेन्सीले नक्कली कागजात बनाई अध्यागमन विभाग र एयरलाइन्सका कर्मचारीको सहयोगबाट मानव तस्करी गरिरहेको जानकारी प्रकाशमा आएको हो । मङ्सिर २८ गते प्रकाशित ‘नागरिक’ दैनिकमा ‘भिजिट भिसामा मानव तस्करी’ शीर्षकको समाचार छापियो । त्यस कार्यमा अध्यागमन विभाग र एयरलाइन्सकै कर्मचारीको संलग्नता भएको आशङ्का गरिएको छ । उपत्यका प्रहरी अनुसन्धान कार्यालयले अध्यागमन विभागमा कार्यरत अधिकृत र नेपाल वायु निगममा कार्यरत छैटौँ तहका अधिकृतलाई पक्राउ गरेपछि सो रहस्य खुलेको हो ।
स्वदेशमै रोजगारी नदिई विदेश पलायन गराउन उत्साहित गर्ने सरकारी नीति र सरकारी पहलको कारण युवाहरू विदेश जान लालायित भए† विदेशी दासी बने र विभिन्न प्रलोभनमा परेर अनेक फन्दामा फसे । सिक्न र कमाउन इजरायल पुगेका नेपालीहरूको दुःखद मृत्युको खबर सेलाउन नपाउँदै ‘नेपाली युवा रुसी सेनामा भर्ना छन् लामबद्ध’ भएको खबर मङ्सिर २८ को ‘राजधानी’ दैनिकमा छापियो । कान्तिपुरमा ‘माओवादी नेतृत्व सत्तामा, लडाकु भने परिवारका लागि रुसी सेनामा’ शीर्षकको अर्काे समाचार छापियो । अध्यागमन विभागका अनुसार २०२२ जनवरीदेखि २०२३ नोभेम्बरसम्म अध्ययन, श्रम र भिजिट भिसामार्फत २ हजार ९ सय नेपाली रुस पुगे । रुसी सेनामा भर्ना भएर हालसम्म ६ नेपालीको मृत्यु भएको खबर प्रकाशमा आयो । पहिले अमेरिकी आक्रमणमा इराक पुगेका १२ नेपालीको पनि मृत्यु भएको थियो । त्यस्तै, देश–देशबिचको युद्धमा संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति सेनामा खटेका नेपाली सेनाको पनि मृत्यु भएको खबर प्रकाशमा आएको थियो ।
अन्य देशको सेनामा भर्ना भएका नेपाली सेनाहरू दुखेसो पोख्दै भन्छन्, “आज पनि शक्तिको वरिपरि केही मुट्ठीभर दलाल पुँजीपतिहरूकै जगजगी छ† परिवर्तनको लागि योगदान गरेका योद्धाहरू आज परिवार पाल्न विदेशीको गल्ली–गल्लीमा भौतारिन बाध्य छन् ।” निर्माण क्षेत्रमा काम गर्न साउदी अरब पुगेका नौ जना नेपाली कामदार आठ महिनादेखि अलपत्र परेको समाचार मङ्सिर २८ गतेको ‘नयाँ पत्रिका’ दैनिकमा छापियो । छिमेकीसँग ऋण काढेर ३० सेप्टेम्बर २०२२ मा काठमाडौँबाट साउदी उडेका सप्तरी, सिराहा, महोत्तरीका ती नेपालीहरू कम्पनी बन्द भएपछि अलपत्रमा परेका थिए । ती नेपालीहरू आफूहरूलाई स्वदेश फर्काइदिन आग्रह गर्दै साउदीस्थित नेपाली दूतावास धाइरहेका छन् ।
सत्तारुढ दलका नेताहरूले सरकारमा गई भागबन्डा मिलाएर दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्नेबाहेक देश विकास गर्नै खोजेनन्† नेपालमै रोजगारीको व्यवस्था गर्न उद्योगधन्दा खोल्ने मति नै राखेनन् । सरकारी क्याम्पस बन्द हुँदै छ । विश्वविद्यालयको स्थिति नाजुक छ । विकास योजनामा चुहावट छ । सोर्सफोर्सबिना जागिर पाउँदैन । राम्रो पढ्ने बन्दोबस्त छैन । आयआर्जन गरेर जीवन जोहो गर्ने आधार छैन । यसरी सत्तासीन दलको बेवास्ता, कमजोरी र अदूरदर्शिताले गर्दा देश सङ्कटमा छ, बेरोजगारी सङ्ख्या बढेको छ । काम, सीप र अनुभवको आधारमा पारिश्रमिक छैन । यस्तै कारण नेपालीहरू पढ्न, कमाउन विदेश जान बाध्य छन् । सरकार चलाउने नेताहरू सक्षम नभएको हुँदा यो सङ्कट र समस्या देखिएको हो ।
Leave a Reply