भर्खरै :

शोषणमा बाँच्नुभन्दा मजदुरहरूले अधिकारका लागि लड्नुपर्ने

शोषणमा बाँच्नुभन्दा मजदुरहरूले अधिकारका लागि लड्नुपर्ने

भक्तपुर, १९ वैशाख । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ख्वप मा.वि., ख्वप कलेज, शारदा क्याम्पस मा.वि. र ख्वप कलेज अफ ल को संयुक्त आयोजनामा बुधबार प्रवचन कार्यक्रम भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख अतिथ्यमा भएको उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छेँले हरेक घटना, परिघटना र आन्दोलनलाई आलोचनात्मक ढङ्गले हेरी विश्लेषण गर्ने क्षमता राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
संसारमा सबभन्दा पहिले मजदुर आन्दोलन भएको देश बेलायत भएको चर्चा गर्दै उहाँले शोषणमा परेर बाँच्नुभन्दा पनि अधिकारको लागि मजदुरहरू लडेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
अन्य देशको विकासको मोडेल अध्ययन गरेर देश सुहाउँदो विकासको मोडालिटी बनाउन सके सफलता मिल्ने र गल्ती कममात्र हुने धारणा अध्यक्ष बिजुक्छेँले राख्नुभयो ।
उहाँले भन्नुभयो, “हामीले अरूबाट सिक्नु आवश्यक छ; गल्ती दोहो¥याउनु हुँदैन; गलत कदमलाई आलोचना गर्नुपर्छ; हाम्रो दृष्टिकोण र विचार विज्ञानसम्मत भएमा एकदिन जरूर सफलतामा पुग्न सकिन्छ ।”
सबैले इमानदारीपूर्वक कर्तव्य पूरा गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले जिम्मेवार व्यक्तिहरू कुनै पनि बहानामा आफ्नो कर्तव्यबाट पन्छिन पाइँदैन भन्नुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “सचेत र इमानदार नेपालीले कर्मथलो छोडेपछि नेपालमा विदेशी प्रभुत्व झन्झन् बढ्दै जानेछ । समाजवादी क्रान्ति र कम्युनिस्ट विचारबाट सचेत होला भन्ने डरले नै पुँजीपतिहरूले युवाहरूलाई विदेश पठाइरहेको हो । यसतर्फ युवाहरू सचेत हुनैपर्छ ।”
विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैङ्कलगायतका अमेरिकी साम्राज्यवादी ज्यावलहरूले विकासको नाममा ऋणको पासो विस्तार गरी कमजोर देशलाई नवउपनिवेश बनाइरहेकोतर्फ उहाँले सचेत गराउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “देशभक्त र कर्तव्यनिष्ठ नयाँ पुस्ता तयार गर्ने जिम्मेवारी विद्यालय र कलेजको हो । विद्यार्थीले शिक्षकबाटै सिक्ने भएकोले शिक्षकहरू असल र इमानदार हुनैपर्छ ।”
शासक दलहरूले कामदार जनताको पक्षमा नभई पुँजीपतिवर्ग र शोषकवर्गको पक्षमा कानुन बनारहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त गर्ने ग्यारेन्टी संविधानमै उल्लेख गर्नु आवश्यक छ ।”
देशको आवश्यकताअनुसार विद्यालय र कलेजको पाठ्यक्रम नरहेको हुँदा पाठ्यक्रम नै परिवर्तन गर्नु आवश्यक भएको विचार अध्यक्ष बिजुक्छेँले व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति, भक्तपुर नगरपालिकाका प्रमुख एवं विद्यालय÷कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले माक्र्स–एङ्गेल्सले सन् १८४८ मा ‘कम्युनिस्ट घोषाणपत्र’ प्रकाशित गरेदेखि नै संसारमा परिवर्तनको नयाँ तरङ्ग सृजना भएको बताउनुभयो ।
समाज विकासको क्रम वर्गसङ्घर्षबाट अगाडि बढ्दै गएकोले शान्तिपूर्ण आन्दोलनबाट आमूल परिवर्तन हुननसक्ने र मजदुरवर्गको शासन व्यवस्था स्थापना हुन नसक्ने भएकोले सशस्त्र क्रान्तिबाट नै मजदुरवर्गले सत्ता कब्जा गर्नुपर्ने बाटो माक्र्सवादले देखाएको उहाँले स्पष्ट पार्नुभयो ।
पेरिस क्रान्तिको असफलताबाट पाठ लिएर लेनिनको नेतृत्वमा सन् १९१७ मा भएको अक्टोबर समाजवादी क्रान्ति सफलतामा पुगेको चर्चा गर्दै प्रमुख प्रजापतिले अक्टोबर समाजवादी क्रान्तिले मजदुर–किसानवर्गले पनि व्यवस्थितरूपमा शासन सञ्चालन गर्नसक्छ भन्ने संसारलाई नयाँ दिशानिर्देश गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “राजनीति देश र जनताको इमानदारी र निःस्वार्थपूर्वक सेवा गर्न हो । राजनीति गर्नु गलत होइन बरू राजनीति गर्ने नेता गलत भएकैले देश र कामदार जनताले दुःख भोग्नुपरेका हुन् । शिक्षकले राजनीति गर्नुहुन्न भन्नुको औचित्य छैन ।”
सहकारी संस्था र बैङ्कमा रहेको अरबौँ रकमलाई उत्पादनशील क्षेत्रमा लगानी नगरी विदेशी लगानीलाई भित्याउने नीतिले देशलाई परनिर्भर बनाउने कुरा प्रमुख प्रजापतिले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाबाट सञ्चालित शैक्षिक संस्थाहरू प्रगतिशील विचारबाट प्रेरित भई स्थापना भएको हुँदा कार्यरत शिक्षक/कर्मचारीहरूले समाज रूपान्तरणको लागि इमानदारीपूर्वक योगदान गर्नुपर्छ ।”
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले व्यक्तिगत हितभन्दा सामाजिक हितलाई प्राथमिकता दिने उद्देश्यले सञ्चालित संस्थामा काम गर्न पाउनुलाई अवसरको रूपमा लिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सकारात्मक सोच, सामूहिक हित र असल व्यवहारले सफलतामा पु¥याउँछ; नकारात्मक सोचले असफलतामा पु¥याउँछ ।”
ख्वप कलेज अफ ल का प्राचार्य अनिता जधारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको पृष्ठभूमिबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य र शिक्षिका सुनिता गाइसीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *