भर्खरै :

लेखक र विश्लेषकहरू भ्रममा नपरून्

लेखक र विश्लेषकहरू भ्रममा नपरून्

समाज वर्गमा विभाजित भएको हुँदा समाजका लेखक, राजनीतिक विश्लेषक र अर्थविद्हरू पनि विभाजित हुनु स्वाभाविक हो । कति लेखक तथा राजनीतिक विश्लेषकहरू राजनीतिको सही विश्लेषण गर्दैनन् भने कति सबै कम्युनिस्ट पार्टीलाई एउटै दृष्टिले हेर्छन् । कम्युनिस्टहरू एउटै विचारको हुनुपर्ने हो, तर त्यो भइरहेको छैन । लेखक तथा राजनीतिक विश्लेषकहरूले सबै कम्युनिस्टलाई एउटै दृष्टिले हेर्नु ठीक होइन । कुनै कम्युनिस्ट पार्टी बिग्रियो भन्दैमा सबै कम्युनिस्ट पार्टी बिग्रिने र एउटा कम्युनिस्ट पार्टी सही हुँदैमा सबै कम्युनिस्ट पार्टी सही हुने होइन । कम्युनिस्ट भनिने कति पार्टीहरू सत्तामा छन्, कति कम्युनिस्ट पार्टी सरकारमा नगई संसद्मा प्रमुख प्रतिपक्षको भूमिकामा रहेका छन् भने कति कम्युनिस्ट पार्टीहरू न सरकारमा छन् न संसद्मै छन् । ती सबै कम्युनिस्ट पार्टीलाई एउटै सूचीमा राख्नु उपयुक्त हुँदैन ।
अहिलेको सरकारमा एमाओवादी र एकीकृत समाजवादी पार्टी सरकारमा छ । सत्तामा गएर पुँजीवादी व्यवस्थामा रमेर पुँजीपतिवर्गकै स्वार्थ पूरा गर्ने या सेवा गर्ने एमाले र माओवादीकै दाँचोमा सरकारमा नगइकन परिवर्तनको निम्ति सङ्घर्षरत दललाई राख्नु उचित होइन । समाजवादी व्यवस्थाको निम्ति लड्ने र समाजवादको कुरै नगर्ने या परिवर्तनको निम्ति सङ्घर्ष नै आवश्यक नपर्ने दाबी गर्ने दलको विचार कसरी एकै हुन्छ र एउटै सूचीमा राख्न मिल्छ ? सबै कम्युनिस्ट पार्टीले यथास्थितिवादी सत्तासामु हात पसारेर राज्य कोषमा रजाइँ गरिरहेका छैनन्; भागबन्डा गरिरहेका छैनन् । सत्तामा नगएका कम्युनिस्ट पार्टीलाई क्रियाहीन र सुस्त देखिनु पनि लेखक र राजनीतिक विश्लेषकहरूको कमजोरी हो । एमसीसी सम्झौताको विरोध गर्ने दल नेमकिपालाई ती लेखक र विश्लेषकहरूले किन देखेनन् ? नागरिकता विधेयकको सदन र सडकमा विरोध गर्ने दल नेमकिपा होइन ? फासीवादी इजरायलले अमेरिकी हतियारको सहयोगमा प्यालेस्टिनमाथि गरिरहेको हमला र बर्बर आक्रमणको काठमाडौँ, ललितपुर, काभ्रे, भक्तपुरको भक्तपुर नगर, मध्यपुर, चाँगु, सूर्यविनायक नगरमा विरोध प्रदर्शन र जनसभा गर्ने दल नेमकिपा होइन ? के यो गतिविधि जगतले देख्ने गतिविधि होइन ? के यो विरोध प्रदर्शन र सभा देश र जनतासित सम्बन्धि छैनन् ?
कुनै कम्युनिस्ट पार्टीले कथनी र करणीमा फरक पा¥यो भनेर सबै कम्युनिस्ट पार्टीले त्यस्तै बाटो लिन्छ भन्ने होइन । कम्युनिस्ट पार्टीले आदर्शको व्यापार गरेर राजनीतिक धन्दा चलाउनु जरुरी छैन, कसैले चलाउँछ भने त्यो सही कदम होइन । कम्युनिस्टहरू हावादारी कुरा गर्दैनन्, बनावटी कुरा गर्दैनन्, शोषितपीडित जनताको पक्षमा आवाज उठाउँछन् । जनतालाई लोभ्याएर, आकर्षक र मीठो नारा फलाकेर, पैसा बाँडेर चुनाव जित्ने र सरकार चलाउने दल तथा जनतालाई सिद्धान्त र विचार दिएर जित्ने दललाई एउटै दृष्टिले हेर्नु उपयुक्त हुँदैन । सत्तारुढ कम्युनिस्टहरूले गरेको गल्ती, कमजोरी, जनविरोधी, देशघाती कामको दोष अरू कम्युनिस्ट पार्टीलाई दिन मिल्दैन । कुनै दलले उग्र नारा दिन सक्छ, उट्पट्याङ गर्न सक्छ । चुनाव बहिष्कार गर्न सक्छ बुथ कब्जा गर्न सक्छ । तर, त्यसको दोष सबै कम्युनिस्ट पार्टीलाई दिन मिल्दैन । कुनै कम्युनिस्ट पार्टीभित्र देखिएको द्वैधचरित्र सबै कम्युनिस्ट पार्टीमा हुँदैन । कुनै कम्युनिस्ट पार्टी साम्राज्यवाद र भारतविरोधी छन्, कुनै कम्युनिस्ट पार्टी साम्राज्यवादी र विस्तारवादी देशलाई खुसी पार्छन् । कुनै कम्युनिस्ट पार्टी भ्रष्ट राजनीतिमा फसेको छ भने कुनै कम्युनिस्ट पार्टी भ्रष्ट राजनीतिको विरोधमा छ । यसकारण, कुनै कम्युनिस्ट पार्टीले गरेको गल्ती, दोष, कमजोरी सबै कम्युनिस्ट पार्टीसित जोड्न मिल्दैन । यसतर्फ लेखक र राजनीतिक विश्लेषकहरूले ख्याल गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *