भर्खरै :

समाजवादी आचरण के हो ? – २

समाजवादी आचरण के हो ? – २

समाजमा देखापरेका अनेक असङ्गतिहरूलाई पन्छाउन र न्यायलाई प्रतिस्थापित गर्न बेला मौकामा अनेक सुधारवादी र धार्मिक उपदेशहरू देखा नपरेका होइनन् । तर, सामाजिक परिस्थितिलाई सद्भावनाले मात्र बदल्न सक्तैनथ्यो । त्यसकारण, अनेक सुधार र धर्मले शासक वर्गकै सेवा ग¥यो । उत्पादनका साधन, शक्ति र सम्बन्धलाई फेर्न सक्ने ऐतिहासिक परिवर्तनहरू नभएसम्म न समाजमा परिवर्तन आयो न त सांस्कृतिक जीवन र आचरणमा हेरफेर भयो । जितिएको राज्यको महारानीसँग विवाह गर्नु, धेरै स्वास्नी राख्ने प्रथा, गाउँका नयाँ दुलहीसँग प्रथम रात सुत्ने अधिकार सुरक्षित राख्नु र पुरुषहरूको यौन स्वच्छन्दता सामन्ती यौन आचरण थियो भने शारीरिक श्रम र श्रम गर्ने ज्यापु, ज्यामी, सिकर्मी, डकर्मी, नाउ, कामी, दमाई आदिलाई हेला र घृणा गर्नु सामन्ती समाजमा दास युगकै आचरण हो । अरूको राम्रो जग्गा जमिन, सुरासुन्दरीमाथि आँखा गाड्नु, लुटपाटद्वारा धन कमाउनु, आफ्नो स्वार्थलाई प्रमुखता दिनु, आइमाईको स्वतन्त्रतालाई बाधा हाल्नु र तिनीहरूलाई मनोरञ्जनको साधनकै रूपमा हेर्नु आदि सामन्ती आचरण हुन् ।
आक्रमण, विग्रह र पलायनले विभिन्न समाज, सभ्यता र सांस्कृतिक सम्मिश्रणले बौद्धिक क्षेत्रमा ठुलो गुणात्मक परिवर्तन ल्यायो । पुरानो विचारलाई खण्डन गर्ने युरोपको पुनर्जागरण त्यसको एक ज्वलन्त उदाहरण हो । नक्षत्र, भूगोल, छापाखाना र कागज, बारुद र बन्दुक, कपास र समुद्री यात्राहरूबाट नयाँ नयाँ संसारका खोजहरू, गणित र विज्ञानका विविध पक्षको उद्घाटन, विश्व बजार र उद्योगधन्धाको विकासले संसारलाई पुँजीवादी युगमा पु¥यायो । व्यापार, यन्त्र र उद्योगधन्धाको तीव्रतर विकासले सस्तोमा लिने र महँगोमा बेच्ने, ज्यामीलाई कम ज्याला दिई आफूले बढी नाफा खाने पुँजीवादी सम्बन्धले ‘लक्ष्मी’ र ‘कुवेर’ लाई पूजा गर्ने र ‘शुभलाभ’ लाई नै आफ्नो मन्त्र र अस्त्र बनाउने एक नयाँ वर्ग अर्थात् व्यापारी र औद्योगिक साहुवर्गको उदय भयो ।
तर, सामन्तवर्गले उठ्दो पुँजीवादीवर्गको खुट्टा तानिरहेको थियो । उत्पादनको साधन, शक्ति र सम्बन्धमा बढ्दै गएको परिवर्तनबाट उठ्दो वर्गलाई सामन्तीवर्गले दबाउन सक्ने कुरै थिएन । सामन्तवर्ग आफ्नो राज्य शक्तिद्वारा पुँजीपतिवर्गको आर्थिक गतिविधिमाथि दबाब दिएर आफ्नो हैकम कायम राख्न खोज्दै थियो भने पुँजीपतिवर्ग आफ्नो आर्थिक शक्तिले सामन्तवर्गको राज्यशक्तिमाथि दखल गर्न चाहन्थ्यो । हेला र होचो गरिएका पुँजीपतिवर्गले मजदुर र किसानहरूसँग मिलेर ‘समानता, स्वतन्त्रता र भ्रातृत्व’ को नयाँ सिद्धान्त, नारा र उपदेश अघि सार्न थाल्यो । वर्षौँसम्मको सामन्तवादसँगको वैचारिक र व्यवहारिक सङ्घर्षको फल बेलायतको सन् १६४० को पुँजीवादी क्रान्तिमा परिणत भयो । राजा चाल्र्स पहिलोलाई ज्यान सजाय दिएर बेलायतमा राजतन्त्रको अन्तको बिगुल बजायो । सन् १७८३ मा अमेरिकी स्वतन्त्रता आन्दोलन विजयी भयो । यो पनि सामन्तवर्गमाथि उठ्दो पुँजीपतिवर्गकै जीत थियो । सन् १७८९ मा फ्रान्समा राज्यक्रान्ति भयो र राजा लुई सो¥हौँ पनि मारिए । यस्तै पछि पछि जर्मनी, रुस र अन्य देशका सामन्तवादका पृष्ठपोषक राजतन्त्रमाथि एकपछि अर्को प्रहार हुँदै गयो र अन्तमा इतिहासको विषय बन्यो ।
सत्ता प्राप्त गरेपछि पुँजीपतिवर्गले व्यापार र उद्योगधन्धालाई बढावा दिन कृषिमा सुधार ल्यायो, कम ब्याजमा ऋण उपलब्ध गराउन बैङ्कहरूको बन्दोबस्त गर्यो । कारखानाको श्रम विभाजन, यन्त्रको आविष्कार र भाषाको आविष्कारले यातायातमा ठुलो विकास ल्यायो । उत्पादन र विदेश व्यापारमा भएको ठुलो वृद्धिले पुँजीवादलाई विश्वव्यापी बनाउँदै लग्यो । नाफाको निम्ति केटाकेटी र स्वास्नीमानिससमेत जोत्ने ज्यावल बनाइए, समाजको धन झन्झन् मुट्ठीभर व्यक्तिहरूमा सञ्चय हुँदै जाँदा आर्थिक असमानता र गरिबी बढ्दै गयो । भोकमरी, आर्थिक दुर्दशा र सङ्कट त्यसको परिणामको रूपमा देखापर्न थाल्यो ।
त्यस स्थितिबाट समाजलाई जोगाउन सन् १६४८–४९ मा बेलायतका समानतावादीहरूले हरेक मानिसलाई बाँच्नको निम्ति भाग पाउनुपर्दछ, पृथ्वी सारा जनताको साझा ढुकुटी हो, मुट्ठीभर मानिसहरूबाट त्यसको किनबेच भएको छ, सबैले सबै जग्गा खन्न, अन्न छर्न र आफ्नो पसिना बगाई फल खान पाउनुपर्छ भन्ने घोषणा गरे । बेलायतका समानतावादीहरूका एक नेता जोन लिलवर्नले पुँजीपतिवर्गलाई ‘नयाँ खान्दानीहरू’ र पुँजीवादी व्यवस्थालाई ‘बेलायतको नयाँ पासो’ भन्ने नाम दिए । त्यस्तै अमेरिकाको विद्रोही सेना र किसान नेता डेनियल रोजले स्वतन्त्रता आन्दोलनमा किसानहरूले धेरै ठुलो बलिदान गरेको हुँदा क्रान्तिको फल सबैले भोग्न पाउनुपर्छ, जग्गा वितरण गर्न र कर माफी दिनुपर्छ भनेर सन् १७८६ मा विद्रोहको झन्डा उठाएका थिए । फ्रान्सका नेता बाबेफ (सन् १७६४–९७) को नेतृत्वमा समानतावादीहरूले भने– पृथ्वी सबैको हो र भूमि कसैको होइन । कम्युनिस्ट व्यवस्थामात्रै सबैभन्दा राम्रो हो । फ्रान्स एक कम्युन हुनुपर्छ, उत्पादनका सबै साधन सबैको हुनुपर्छ । आफ्नो सम्पत्ति कम्युनलाई दिन नचाहने सबै मालिकहरूलाई राजनैतिक अधिकारबाट वञ्चित गराइनुपर्छ । कम्युन समानताको सिद्धान्तमा आधारित हुनेछ । नागरिक अधिकारमात्रै होइन आर्थिक समानता हुनुपर्छ । एक कालिगढ अथवा एक किसानको रूपमा समाजमा हरेक सदस्यले आफ्नो कामको फल एक साझा ढुकुटीबाट पाउनेछ । उत्पादनका हरेक वस्तु समानताको आधारमा सबै नागरिकहरूलाई राम्रोसँग जाँचेर वितरण गरिनेछ ।
तर, आफू सत्तामा पुगेपछि पुँजीपतिवर्गले सामन्तवादविरोधी सङ्घर्षको सहभागी कामदारवर्गलाई निःशस्त्र पार्नु नै आफ्नो धर्म सम्झ्यो । सन् १६४९ मा पुँजीपतिवर्गले बेलायतका समानतावादी र खेत जोताहाहरूको विद्रोह र सन् १७८६ मा अमेरिकाको डेनियल रोजको किसान विद्रोह र सन् १७९४ मा फ्रान्सेली समानतावादीहरूको विद्रोहलाई दबायो, त्यसका नेता बाबेफलाई नै हत्या ग¥यो ।
पुँजीवादले पेसा, परिवार र पुराना सबै पवित्र भावनाहरूलाई पैसाको छनछनमा किनबेच गर्ने वस्तु बनाइदियो । नाफाको निम्ति पुँजीपतिवर्ग सबै महादेशको जङ्गल, पहाड र मरुभूमि चहार्न थाल्यो । नाफाकै निम्ति लुटपाट, धोखेबाजी, बेइमानी, कालाबजारी, तस्करी, वेश्यावृत्ति, मूर्ति चोरी (आजको सन्दर्भमा) जस्ता अपराधहरूसमेत गर्न पछि परेन र सय दोब्बर नाफा हुने भए फासीमा झुन्डिन पनि तिनीहरू तयार भए । नाफा हुने भए सबै प्रकारका अनैतिक कार्यहरू गर्न पनि तिनीहरू तयार हुँदै गए । मजदुरहरूका स्वास्नी र छोरी बुहारीहरूमाथि आँखा गाड्ने वा रन्डीबाजी गरेरमात्रै नअघाई एकले अर्काको स्वास्नी उडाउनमा ठुलो आनन्द मनाउनु नै पुँजीपतिवर्गको यौन आचरण र नैतिकता बन्यो । नाफाको निम्ति सबै प्रकारका नैतिकता उल्लङ्घन गर्नु नै पुँजीवादी आचारसंहिता हो ।

पुँजीवादी समाजले ल्याएको आर्थिक असमानता, दरिद्रता र पतनशीलताबाट समाजलाई जोगाउन असन्तोष र विद्रोहहरूलाई साम्य पार्न अनेक प्रकारका समाजवादी विचारकहरू देखापरे । फ्रान्सका जोन मेल्ये (सन् १६६४–१७२९), ग्राविएल मास्ली (सन् १७०९–१७८५), बाबेफ (सन् १७६०–१७९७), सेन्ट साइमन (सन् १७६०–१८२५), चाल्र्स फ्युरिए (१७७२ १८३७), बेलायतको रोबर्ट ओवेन (१७७१–१८५८) मध्ये केहीले जबरजस्ती सत्ता कब्जा गरी समाजवादी समाज स्थापना गर्ने कल्पना गरेका थिए भने केहीले राजा–महाराजा, राष्ट्रपति, ठुलाबडा पुँजीपतिहरूको हृदय परिवर्तन गरी समाजलाई पुनः निर्माण गर्न सकिन्छ भन्ने विश्वास राख्थे । तर, तिनीहरूको अनेक सिद्धान्त, कल्पना र प्रयोगहरू असफल भए । यसकारण, सन् १८४७ सम्म समाजवादका ती आन्दोलनहरूलाई पुँजीवादी आन्दोलन नै सम्झिन्थ्यो र त्यसबेला विभिन्न देशका मजदुरहरू फरकफरक उपायबाट आफूलाई पुँजीवादी दाम्लोबाट मुक्त गर्न सङ्घर्ष गरिरहेका थिए । त्यसबेलाका समाजवादी विचारहरू र मजदुर आन्दोलनहरूको सार झिक्दै माक्र्स र एङ्गेल्सले भन्नुभयो, “मजदुरवर्गको उद्धार मजदुरवर्गले मात्रै गर्नसक्छ ।” त्यस दृष्टिकोण राख्ने मजदुर आन्दोलनहरूलाई कम्युनिस्ट आन्दोलनको रूपमा लिइन्थ्यो ।
पुँजीवादी उत्पादन प्रणालीबाट एकातिर पुँजीपतिवर्ग र व्यक्तिवादी प्रवृत्तिलाई उठायो भने अर्कोतिर मजदुरवर्ग र तिनीहरूमा सहानुभूति राख्ने बुद्धिजीवी (समाजवादी र साम्यवादी) हरूमा पुँजीपतिवर्गप्रति सा¥है घृणा जगाइदियो । यसले सामूहिक भावना, एकता, सङ्घर्ष, अनुशासन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भावनाको आवश्यकतालाई बोध गरायो । पुँजीवादी व्यवस्थामा दास व्यवस्था र सामन्तवादी व्यवस्थामा भन्दा शोषण र शासनका यन्त्रहरू झन् गहिरो र विस्तृत भएको हुँदा त्यसलाई हुत्याउन र ध्वस्त गर्न पहिलेको भन्दा सा¥है ठूलो मनोबल, सुदृढ सङ्गठन र उँचो सांस्कृतिक जीवनको आवश्यकता छ भन्ने कुरा अनेक मजदुर आन्दोलन र विद्रोहहरूको अनुभवले बताए । यसकारण, एकचोटि माक्र्सका साथी मेहरिंगले भन्नुभएको थियो, “साम्यवाद दाल, भात, डुकुमात्रै होइन, त्यो त सा¥है उँचो सांस्कृतिक क्रान्ति पनि हो ।” शोषणले गहिरो जरा गाडेको समाजलाई पूर्णरूपले बदल्ने युगान्तकारी काममा बाधा हुनसक्ने कुनै पनि व्यवहार र आचरणबाट समाजवादी वा साम्यवादी जोगिनुपर्दछ ।
व्यक्तिवाद, अहङ्कार, छाडापन, ऐøयासी जीवन, एकलकाँटेपन, निराशा, बेइमानी, आडम्बर आदि कामदारवर्गलाई एकगठ पार्न र सङ्घर्षलाई अघि बढाउन बाधा बन्ने निश्चित छ । त्यसकारण, हरेक समाजवादीले आफूलाई त्यस्ता बैगुनबाट अलग्ग राख्न खोज्नु स्वाभाविक हो । माथि उल्लेख भइसकेका समाजवादी विचारकहरूले कल्पना गरिएका समाजको सैद्धान्तिक आधारहरू तयार पार्न र व्यवहारमा उतार्न आफ्नो ऐस आराम, जहान–बच्चा, धन–सम्पत्ति, आफ्नो जवानी र सम्पूर्ण जीवनलाई समेत होमिदिए । अद्वितीय लगन, अध्ययन र खोजबिन मार्फत सच्चाइ पत्ता लगाउने र समाजलाई फेर्ने तिनीहरूको त्यो जाँगर र भावना हरेक समाजवादी र कम्युनिस्टको आचरणको निम्ति दृष्टान्त बनेका छन् ।
पितृसत्ता, दास युग र सामन्तवादी युगमा भन्दा पुँजीवादी व्यवस्थाले आइमाईलाई ठुलो मात्रामा ज्यावल र शोषणको माध्यम बनाएको छ । आज आइमाई श्रमको महत्वपूर्ण भाग भइसकेको छ । यसकारण, युगौँदेखि हरेक दृष्टिले थिचिएका र पिल्सिएका आइमाईलाई तिनीहरूको श्रम शोषणबाट मुक्त गर्ने, लोग्नेमानिसको समान तहमा पु¥याउने र एक लोग्ने र एक स्वास्नीको पारिवारिक भावनालाई जगाउनु पनि समाजवादीहरूको कर्तव्य र आचरण बनिसकेको छ ।
उँचो भावनाले मानवताको सेवा गर्नु, मानिसको इच्छा र आकाङ्क्षालाई सबभन्दा उँचो उठाउने काममा योगदान गर्नुमा गौरव सम्झनु, सरलता, उद्देश्यप्रति लगनशीलता र सङ्घर्षशीलता, माक्र्सलाई सबभन्दा मनपर्ने गुणहरू थिए भने आत्मसमर्पण, अन्धविश्वास र दास प्रवृत्ति उहाँका दृष्टिमा सा¥है घृणित वैगुणहरू थिए ।
एङ्गेल्सको विचारमा सामन्ती नैतिकताले भूतको प्रतिनिधित्व गर्छ, पुँजीवादी नैतिकताले पराजयको प्रतिनिधित्व गर्छ । तसर्थ, भविष्यप्रति सचेत रहनु हरेक समाजवादी वा कम्युनिस्टको आचरणसँग गाँसिएको कुरा हो ।
यौन छाडापन पुँजीवादी र पतनशीलताको चिनो भएको हुँदा लेनिन त्यसलाई राजनैतिक सङ्घर्ष र क्रान्तिको निम्ति बाधक सम्झनु हुन्थ्यो ।
स्तालिनले कम्युनिस्टलाई ‘यमराजको ढोका घच्घच्याउने’ उपमा दिनुभएको थियो । यसको अर्थ एक कम्युनिस्टले बहुमत जनताको हितको निम्ति आफूलाई समर्पित गर्ने आचरण विकास गर्नुपर्दछ भन्ने हो ।
माओ त्सेतुङले भन्नुभएजस्तै कम्युनिस्टको हृदय विशाल हुनुपर्छ । ऊ इमानदार र सक्रिय हुनुपर्छ । क्रान्तिका हितहरूलाई उसले आफ्नो ज्यानभन्दा प्यारो सम्झनुपर्छ र आफ्नो व्यक्तिगत हितलाई क्रान्तिको हितको अधीनमा राख्नुपर्दछ । उहाँको भनाइमा कुनै व्यक्तिको भन्दा बढ्ता उसले पार्टी र जनताको चिन्ता लिनुपर्छ र आफ्नोभन्दा बढ्ता अरूहरूको वास्ता गर्नुपर्छ । कम्युनिस्टहरू सबभन्दा बढ्ता दूरदर्शी, सबभन्दा बढ्ता त्यागी, सबभन्दा दृढ हुनुपर्छ र स्थितिहरू बुझ्नमा विनम्र हुनसक्नुपर्छ र जनसमूहहरूको बहुसङ्ख्यामा भर गर्नुपर्छ र उनीहरूको समर्थन पाउनुपर्छ ।
होचि मिन्हको भनाइमा पुरानो समाजको सबभन्दा खराब डरलाग्दो अवशेष व्यक्तिवाद हो । व्यक्तिवाद क्रान्तिकारी नैतिकताको विपरीत कुरा हो । बलियो मानिसले ग¥हौँ भारी बोकी लामो यात्रा गर्न सकेजस्तै क्रान्तिकारी नैतिकता भएको क्रान्तिकारीले मात्रै गौरवशाली काम पूरा गर्नसक्नेछ । अरूले भन्दा पहिले कामको चिन्ता गर्नु, अरूले भन्दा पछि आनन्दको विचार गर्नु, पुरस्कारको लोभ नगरी अभिभारा पूरा गर्नु, पार्टी र क्रान्तिको निम्ति सङ्घर्षमा आफ्नो जीवन अर्पण गर्नु, आफ्नो हितभन्दा पार्टी र जनताको हितलाई पहिलो स्थान दिनु एक कम्युनिस्टको आचरण हो । आफ्नो सेवाको घमण्ड र दाबी नगरी सम्मान, पद र विशेषाधिकार नखोजी आफ्नो क्रान्तिकारी नैतिकता विकास गर्नु सुख र गौरवको ठुलो स्रोत हो ।
आचरणलाई भारतीय सांस्कृतिक स्रोत र चिन्तन परम्परालाई नै आधार बनाइरहेको खण्डमा पनि भौतिक तत्व वा भौतिक आवश्यकता प्रस्ट देखिन्छ । नैतिकता वर्ग, देश, काल र परिस्थिति सापेक्ष भएको कुरा एउटै सैद्धान्तिक आधारमा स्थापना भएको दुई समाजवादी मुलुक सोभियत सङ्घ र जनवादी गणतन्त्र चीनको आचरण वा आदर्शका मापदण्डका भिन्नताबाट देखिन्छ । पुँजीवादको विकासमा तुलनात्मकरूपले अगाडि बढेको, युरोपको एक सामन्ती सैनिक शक्ति वा प्रतिक्रियावादको गढ र आधा शताब्दीको ठुलो समाजवादी र मजदुर आन्दोलनको भूमि भएको रुस र पतोन्मुख सामन्ती व्यवस्था पुँजीवादमा सङ्क्रमण भइरहेको तर विदेशी थिचोमिचोले राष्ट्रिय पुँजीलाई उठ्नै नदिएको र समाजवादी र मजदुर आन्दोलनको भन्दा किसान युद्धहरूको परम्परा भएको चीनको भौतिक परिस्थिति, आवश्यकता र मनस्थिति पनि समान हुने कुरै थिएन । सहर, पहाड, नदी नाला, बजार, कल–कारखाना र स्थान विशेषलाई समेत नेता र ठुला व्यक्तिहरूको नाममा नामकरण गर्ने, मान, पदवी र तक्माले विभूषित गर्ने अनि नारी स्वतन्त्रता र नाचगानलाई समेत केही अंशमा पश्चिमेली हेराइ रुसको छ भने चीनमा नेताहरूको नामबाट सहर वा अन्य ठाउँहरूको नाम नदिने, मान, पदवी र तक्माले विभूषित नगर्ने र नारी स्वतन्त्रता र सांस्कृतिक गतिविधिमा एसियाली परम्पराभन्दा टाढा जान दिइएको थिएन । विज्ञान र प्राविधिक विकासमा जोड दिई शारीरिक श्रमलाई घटाई बौद्धिक श्रमको माझको भेद हटाउने उपाय विज्ञान र प्रविधिको आधार बनिसकेको सोभियत सङ्घमा सम्भव थियो भने यातायात, शिक्षा, उद्योग, विज्ञान र प्राविधिक क्षेत्रमा सा¥है पछि परेको चीनमा रुसकै उपाय तत्काल सम्भव नभएको हुँदा मजदुर किसानहरूको सांस्कृतिक स्तरलाई उठाई बौद्धिक श्रम गर्न दिने र बुद्धिजीवीवर्गलाई समेत शारीरिक श्रममा प्रेम गर्न दिने नियम बनाइयो । त्यतिमात्रै होइन शारीरिक श्रमप्रतिको दृष्टिकोणलाई आचरणसँग गाँसियो । त्यस्तै, हजारौँ परिवार अटाउने आधुनिक सहुलियत भएका विशाल भवनहरू निर्माण गरेर गाउँ र सहरको भेद हटाउने उपाय रुसले लिएको देखियो भने सन् १९५८ मा जन कम्युनको स्थापना गरेर चीनले उद्योग र कृषि, यातायात र सञ्चार, शिक्षा र संस्कृति, उद्योग र व्यापारको विकासबाट गाउँले इलाकामा पनि सहरमा पाइने सबै सहुलियतहरू उपलब्ध गराई गाउँ र सहरको भेदमात्रै होइन, किसान र मजदुरसमेतको भेद हटाउने ऐतिहासिक कामलाई लामो फड्कोमार्फत छिट्टै पूरा गर्ने योजना बनाइएको थियो । शारीरिक श्रमलाई आचरणसँग गास्ने काम चीनजस्तै प्राविधिक क्रान्ति र विकासमा पछि परेको उत्तर कोरिया र उत्तर भियतनाममा समेत लागु गरिएको थियो । नारी स्वतन्त्रता र यौन नैतिकताको मापदण्ड सोभियत सङ्घमा युरोपेली ढङ्गको छ भने उत्तर कोरिया र भियतनामको चाहि एसियाली ढङ्गकै छ । हो, रुसमा पनि युरोपेली इलाका र एसियाली इलाकामा भिन्नता छ । उत्पादनको साधन, शक्ति र सम्बन्ध अनि समाजको ऐन कानुनजस्ता माथिल्लो बनोट फेरिसकिएर पनि रुसको एसियाली सांस्कृतिक परम्पराका अवशेषहरू मेटिएका छैनन् । यसप्रकार, हरेक समाजवादी वा कम्युनिस्टले आचरण वा नैतिकताको राष्ट्रिय विशेषतालाई नाघ्ने वा कम मूल्याङ्कन गर्नु वामपन्थी अवसरवादकै विराममा फस्नु हुनेछ । हावापानी, परम्परा र सांस्कृतिक स्तर उठिसकेको रुसको एक समाजवादी वा कम्युनिस्टले रक्सी खानु र केटीहरूसँग पश्चिमेली नाच नाच्नु आचारसंहिताभित्रकै कुरा हुनेछ भने नेपाल र भारतका समाजवादी र कम्युनिस्टहरूको निम्ति त्यो भ्रष्टताको प्रमाण हुनसक्छ । तर, जुवा खेल्नु र सामूहिक भावनालाई तिरष्कार गर्नु सबै देशका समाजवादी र कम्युनिस्टको निम्ति खराब आचरणमै दर्ता गरिने छ ।
स्रोत : समाजवाद र सान्दर्भिक विषयवस्तु

Leave a Reply

Your email address will not be published. Required fields are marked *