भर्खरै :

पुरातात्विक सम्पदा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण सुरु

पुरातात्विक सम्पदा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण सुरु

भक्तपुर, ३ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रदेश सुशासन केन्द्र, वाग्मतीको आयोजनामा भएको स्थानीय तहका पुरातात्विक सम्पदा, संस्कृति तथा पर्यटन हेर्ने पदाधिकारी र पुरातात्विक सम्पदा तथा पर्यटन शाखामा कार्यरत कर्मचारीहरूको लागि पुरातात्विक सम्पदा व्यवस्थापनसम्बन्धी अभिमुखीकरणको ब्यानर वाचन गरी कार्यक्रमको उद्घाटन गर्नुभयो ।
प्रमुख प्रजापतिले ऐतिहासिक एवम् सांस्कृतिक नगर भक्तपुरमा २१ वटा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई स्वागत गर्दै तीन दशक अगाडि शिक्षा र स्वास्थ्यमा पिछडिएको अवस्थामा रहेको भक्तपुर नगरलाई देशकै नमुना स्थानीय तह बनाउन जनप्रतिनिधि र कर्मचारीहरू अगाडि बढिरहेको जानकारी दिनुभयो । उहाँले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने लक्ष्यअनुसार नगरपालिकाले ६०० जना विद्यार्थीलाई ५ लाखसम्मको शैक्षिक ऋण प्रदान गर्दै आइरहेको† इतिहास, भूगोल, नेपालभाषा, राजनीतिशास्त्र र अर्थशास्त्र पढ्ने विद्यार्थीहरूलाई स्नातक तह र सोभन्दा माथिको अध्ययन गर्न पूर्ण छात्रवृत्ति प्रदान गर्दै आइरहेको, नगरपालिकाअन्तर्गत ७ वटा शैक्षिक संस्थाहरूमा देशका ७७ जिल्लाका ७ सय विद्यार्थीहरू अध्ययनरत रहेको जानकारी दिनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाको आफ्नै सय शय्यासहितको अस्पताल सञ्चालन गर्दै आइरहेको जानकारी दिँदै ख्वप अस्पतालमा गत आ.व.मा ७५ जिल्लाका १ लाख २५ हजारभन्दा बढी बिरामीले सेवा लिइसकेको र चालु आ.व.को १० महिनामा १ लाख ८० हजारभन्दा बढी बिरामीहरू लाभान्वित भइसकेको बताउनुभयो । उहाँले भक्तपुर नगरभित्रका नगरवासीले २० मिनेटको दूरीमा स्वास्थ्य सुविधा पाइरहेको जानकारी दिँदै हाल देशकै एकमात्र छाती पुनस्र्थापना केन्द्र एवम् ख्वप तिलगंगा आँखा अस्पतालमार्फत सेवा प्रदान गरिरहेको बताउनुभयो ।
उहाँले भक्तपुर नगरमा पुरातात्विक र सांस्कृतिक परिवर्तनसमेत भएको उल्लेख गर्दै विगत ७ वर्षमा १४५ वटा सम्पदाहरू पुनःनिर्माण भएको जानकारी दिनुभयो । उपभोक्ता समितिमार्पmत गरेका निर्माण कार्यमा स्थानीय स्रोत, साधन र सीपका साथै गुणस्तर तथा अपनत्व कायम हुने भएकोले यस मोडलमा विकास निर्माण र सम्पदा संरक्षण गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा वाग्मती प्रदेश, प्रदेश सुशासन केन्द्रका निर्देशक गीता गुरुङले भक्तपुर नगरपालिकाले गरिरहेको सम्पदा संरक्षण कार्यको चर्चा गर्दै अन्य स्थानीय तहले पनि सम्पदा संरक्षणलाई महत्व दिई यसलाई आम्दानीको स्रोतको रूपमा अगाडि लानुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले जनप्रतिनिधिहरूको मार्गदर्शनअनुसार कार्य गर्नु कर्मचारीहरूको दायित्व हो भन्नुभयो ।
उद्घाटन कार्यक्रममा भनपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, प्रशिक्षक एवम् पुरातत्व विभागका पूर्वमहानिर्देशक भीमप्रसाद नेपाल र प्रदेश सुशासन केन्द्रका उपनिर्देशक विनोद विडारीलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *