भर्खरै :

राष्ट्रपति सीको नेतृत्वमा के माओको चीन ब्युँतेको हो ?

राष्ट्रपति सीको नेतृत्वमा के माओको चीन ब्युँतेको हो ?

विश्वभरि अध्यक्ष माओको १३० औँ जन्म दिवस मनाइँदै छ । माओ क्रान्तिकारी हुनुहुन्थ्यो, चीनको अभ्युदयमा उहाँको महत्ता सर्वाधिक छ ।
राष्ट्रपति सी चिनफिङको नेतृत्वमा चीन पुनः ‘माओ विचारधारा’ बनेको विषय आजभोलि पश्चिमी सञ्चार जगतमा छ्यापछ्याप्ती पढ्न, सुन्न र देख्न पाइन्छ । एक वर्षअघि ‘गार्जियन’ ले अमेरिकामा बस्ने विज्ञ हु पिङलाई उद्धृत गर्दै राष्ट्रपति सीले घरेलु नीति ‘माओतिर फर्काइरहेको’ उल्लेख गरेको थियो । अल जजीराको न्युयोर्क संस्करणले राष्ट्रपति सीलाई ‘नयाँ माओ’ भनेको थियो ।
यो हिउँदमा चीनमा माओको जन्मोत्सव मनाइँदै छ । ‘जब हामी जवान थियौँ’ नामक नयाँ चलचित्रमा माओको विद्यार्थी जीवन देखाइँदै छ । ‘छालमा ठोक्किने कुनपेङ’ नामक टेलिशृङ्खलामा माओको राजनीतिक जीवनका प्रारम्भिक वर्षहरू तथा माक्र्सवादसँगको उहाँको परिचयलाई पर्दामा देखाइँदै छ । ‘कुन’ र ‘पेङ’ मिथकका पात्र हुन् । एउटा विशाल माछा ‘कुन’ एउटा विशाल पन्छी ‘पेङ’ मा परिणत हुन्छ । ताओपन्थी कालजयी किताब ‘च्वाङची’ मा पेङको उडानले महिनौँसम्म आँधी ल्याएको र समुद्रमा सयौँ माइल पानी तरङ्गित पारेको उल्लेख छ । चिनियाँ इतिहासमा माओको प्रभाव कति भीमकाय थियो भन्ने सन्देश दिन यो प्रतीकको प्रयोग गरिएको छ ।
राष्ट्रपति सी आफैँले ‘माओतिर फर्कौँ’ भन्ने उक्तिलाई बढावा दिँदै हुनुहुन्छ । गत वर्ष चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा तेस्रोपल्ट निर्वाचित भएपछि उहाँले पार्टीको पोलिटब्युरोलाई येनानको उच्चस्तरीय भ्रमणमा लग्नुभयो । येनान सन् १९३० को दशकमा ‘लामो अभियान’ को आधार इलाका थियो । त्यहीँबाट अध्यक्ष माओले युद्धको निर्देशन जारी गर्नुहुन्थ्यो । त्यहीँ उहाँले एडगर स्नोजस्ता पश्चिमा प्रशंसकलाई भेट्नुभएको थियो । सन् १९४९ मा चिनियाँ क्रान्ति देशैभरि विजयी भयो । तर, त्यसअघि येनान नै ‘लाल चीन’ को एकखाले प्रारूप बनेको थियो ।
राष्ट्रपति सीलाई माओसँग तुलना गर्दै गर्दा पश्चिमा जगतले चीन झन्झन् शत्रुवत् र घातक बन्दै गएको भाष्य प्रचार गर्दै छन् ।
एक पुस्ता अघिसम्म चीनले पुँजीवादलाई अँगालेको प्रचार गर्ने शीर्ष पुँजीवादी देशहरूले नै अहिले चीनलाई कम्युनिस्ट चरित्रको शत्रुको रूपमा हेर्दै छन् ।
यो बदलाव कति सत्य हो ? सन् २०२१ मा बेलायतको सरकारी सञ्चार नियामक संस्था ‘अफकम’ ले बेलायतमा प्रसारण गर्ने चिनियाँ सरकारी समाचार संस्था सीजीटीएनको अनुमति खारेज ग¥यो । कारणमा ‘अफकम’ ले सीजीटीएनलाई ‘अन्ततः कम्युनिस्ट पार्टीले नियन्त्रण गरिरहेको’ बतायो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले बेलायतलाई ‘१० वर्षअघि सीजीटीएनले बेलायतमा समाचार प्रसारण गर्न थालेको पहिलो दिनदेखि नै हाम्रो मिडियाको प्रकृति स्पष्ट थाहा थियो’ र ‘चीन चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा अघि बढिरहेको कम्युनिस्ट मुलुक हो’ भन्ने थाहा थियो भने । प्रवक्ता वेन्बिनले चीनले नभई बेलायतले आफ्नो सोच बदलेको बताए ।
चीनबारे मूलधारे मिडियामा प्रचार गरिने धेरै भाष्यहरू सो¥है आना बकवास हुन् । राष्ट्रपति सीको चीन आफूविरुद्ध लागेको र चीनले आफूलाई अलग्याएको दाबी गर्दै संरा अमेरिकाले राजनीतिक कुनियत राखेर चीनविरुद्ध आर्थिक प्रतिबन्ध बढाइरहेको छ । लन्डन र ब्रसेल्सले त्यसैमा त्वम् शरणम् गर्दै छन् ।
यथार्थ भिन्दै छ । राष्ट्रपति सीको नेतृत्वमै चीनले विश्वका दुईतिहाइ देशको सबैभन्दा ठुलो व्यापारिक साझेदार बनेको छ । विश्व बैङ्क विश्वभरि विकासको लागि वित्तीय सहयोग दिने सबैभन्दा ठुलो निकाय थियो । राष्ट्रपति सीको नेतृत्वमा ‘क्षेत्र–मार्ग अगुवाइ’ ले विश्व बैङ्कलाई त्यस स्थानबाट विस्थापित गरेको छ ।
अमेरिकी साम्राज्यवादको दबदबा रहेको मध्यपूर्व क्षेत्रसम्म पनि ब्रिक्सको विस्तारले चीनको अन्तर्राष्ट्रिय प्रभाव बढेको देखाउँछ । चीनकै मध्यस्थतामा साउदी अरब र इरानबिच सम्बन्ध सुचारु बन्यो । उसकै अग्रसरतामा यमनमा युद्धविराम भयो । चीनले आफूलाई अलग राखेको पश्चिमा आक्षेप त्यति नै भ्रामक छ जति हाम्रो राजनीतिक नेतृत्वले भनिरहने ‘अन्तर्राष्ट्रिय समुदाय’ भ्रामक छ । किनभने, ‘अन्तर्राष्ट्रिय समुदाय’ मा ‘संरा अमेरिका र उसका साझेदार देश’ मात्र अटाउने गरेका छन् ।
विरोधाभाष कहाँनिर छ भने चीनलाई एक्लिएको भनी दोषारोपण गर्दै गर्दा पश्चिमा आलोचकहरू चीन अन्तर्राष्ट्रिय जगतमा झन् सक्रिय भएको आरोप पनि लगाउँदै छन् ।
राष्ट्रपति सीको ‘विश्वव्यापी विकास अगुवाइ’, ‘विश्वव्यापी सुरक्षा अगुवाइ’ र ‘विश्वव्यापी सभ्यता अगुवाइ’ मा पश्चिमा जगत्ले ठुलो खतरा देख्दै छ र त्यसरी नै दुस्प्रचार गर्दै छ ।
एक हिसाबले यी ‘अगुवाइहरू’ पश्चिमा विश्व व्यवस्थाका लागि चुनौती हुन् पनि – चीनविद् जेनी क्लेग भन्छिन् । यी ‘अगुवाइ’ मध्ये पहिलोलाई उनले दक्षिणी गोलाद्र्धका देशहरूको रैती स्थितिलाई अन्त्य गर्ने टेवादायी आर्थिक विकास मोडल भनेकी छिन् । दोस्रोलाई ‘तरबारको दरबार’ भूराजनीतिको नेटो मोडललाई रोक्ने अन्तर्राष्ट्रिय सुरक्षा संरचनाको आह्वान भनेकी छिन् । तेस्रोलाई सभ्यताहरूको विविधतापूर्ण परम्पराबिच समान महत्वको प्रबद्र्धन भनेकी छिन् । जब कि हाम्रो वर्तमान विश्व व्यवस्था र कानुन मूलतः युरोपेली परम्परामा आधारित छ ।
पश्चिमा जगतसामु उभिएको यही चुनौतीबाट नै ‘माओतिर फर्कौँ’ भाष्य जन्मिएको हो । किनभने माओपछिका चिनियाँ नेताहरूले अन्तर्राष्ट्रिय मुद्दाहरूमा आफूलाई पृष्ठभागमै राखे । राष्ट्रपति सीले सन् २०१७ मा ‘चीनले विश्व राजनीतिको मध्तग ओगट्नुपर्ने तथा पूर्वमा अझ दृढ र अग्लो भई उभिनुपर्ने बेला आएको छ’ भन्नुभयो ।
‘वासिङ्टनको अन्तर्राष्ट्रिय अध्ययन तथा रणनीतिक केन्द्र’ अमेरिकी विदेश मन्त्रालयबाट प्रायोजित थिङ्क ट्याङ्क वा विज्ञ समूह हो । ‘लकहीड मार्टिन’ र ‘रेथियन’ विशालकाय हतियार उद्योग हुन् । यी उद्योगले पश्चिमा टीभी कार्यक्रम तथा अखबारी विद्वान्हरूका लागि ‘तटस्थ विज्ञ’ उपलब्ध गराउँछन् । यिनै संस्थाहरूमा आबद्ध छन् क्रिस्टोफर जोन्सन । हालै ‘द फाइनान्सियल टाइम्स’ ले उनीसँग कुरा ग¥यो । उनले राष्ट्रपति सी सन् १९७८ मा देङ स्याओपिङले सुरु गरेको ‘सुधार र खुलापन’ को युगबाट उल्टो फर्किएको बताए । जोन्सनले भने, “देङ स्याओपिङ हुन्थे भने यस्तो कुरै गर्ने थिएनन् ।” राष्ट्रपति सीले चीनले ‘आफ्नो शक्ति लुकाउनुपर्छ र चुपचाप समय पर्खिनुपर्छ’ भन्ने देङलाई धोका दिएको जोन्सनले बताए । ‘समय पर्खिनुपर्छ’ भन्नुको अर्थ निश्चित समयसीमा छ भन्ने हुन्छ । के सीले देङको नीति त्यागेका हुन् ? अथवा, देङले भनेजस्तो अर्को पाइला चालेका हुन् ?
चीनले ब्रिक्सको उदयलाई पुराना साम्राज्यवादी शक्तिहरूको दबदबाको युग सक्किएको अर्थमा चित्रण गर्छ । यस मानेमा राष्ट्रपति सीले माओबाट विरासतमा पाएको उपनिवेशवादबाट मुक्तिको आन्तर्य अपनाएका छन् । अध्यक्ष माओको चीन सन् १९५५ मा सम्पन्न बाङडुङ सम्मेलनको एक प्रमुख आयोजक थियो । बाङडुङ सम्मेलन अन्तर्राष्ट्रिय राजनीतिमा वैकल्पिक धारलाई प्रबद्र्धन गर्ने पूर्वउपनिवेश देशहरूको एउटा प्रयास थियो ।
सन् २०१५ मा बाङडुङ सम्मेलनको ६० वर्ष पुग्यो । त्यस अवसरमा चीनले माओ र भारतीय नेता जवाहरलाल नेहरूबिच भएका तीन बैठकहरूको वार्तालाप प्रकाशित गरेको थियो । तिनै बैठकमा बाङडुङ सम्मेलनको बाटो कोरिएको थियो । ती बैठकहरू उपनिवेशवादबाट मुक्तिको विश्वव्यापी लहरबिच, पश्चिमा जगतविरुद्ध तेस्रो विश्वका दुई ठुला देशहरूबिच सहकार्यको भावना जगाउने प्रयास थिए ।
‘पूर्व अझै रातो छ’ पुस्तकका लेखक कार्लोस मार्टिनेजजस्ता लेखकहरूले माओपछिको चीन अध्यक्ष माओबाट अलग्गियो भन्ने विचारलाई चिनियाँ नेताहरूले कहिल्यै स्वीकार नगरेको औँल्याएका छन् ।
सन् २०१३ मा नवनिर्वाचित राष्ट्रपति सीले भन्नुभयो, “३० वर्षको सुधार र खुलापनले त्यसअघिको ३० वर्षलाई निषेध गर्न सक्दैन ।” क्रान्तिपछिका ती तीस वर्षमा चीनको नेतृत्व अध्यक्ष माओले गर्नुभएको थियो । राष्ट्रपति सीको उक्त भनाइलाई राजनीतिक धार परिवर्तनको सङ्केत भनेर पश्चिमी देशहरूमा प्रचार गरियो । तर, देङ वा उहाँपछिका चिनियाँ नेताहरूले पनि पटकपटक यसप्रकारका अभिव्यक्तिहरू दिँदै आएका थिए ।
सन् २००३ मा तत्कालीन राष्ट्रपति हु जिन्ताओले ‘चिनियाँ इतिहासमा सबैभन्दा प्रगाढ र महान् सामाजिक परिवर्तन’ ल्याएकोमा अध्यक्ष माओको प्रशंसा गरेका थिए । देङ स्याओपिङको शासनकालमा चिनियाँ कम्युनिस्ट पार्टीले ‘माओ ७० प्रतिशत सही र ३० प्रतिशत गलत’ भन्ने प्रसिद्ध फैसला जारी गरेको थियो ।
चीनको वामपन्थी झुकाव राष्ट्रपति सीबाट सुरु भएको होइन । बजारीकरणले मजदुर अधिकारमा असर गरेको कुरा हु जिन्ताओ सरकारले नै पहिल्याएको थियो । त्यसकारण, सन् २००७ मा ‘मजदुर करार कानुन’ मार्फत मजदुर अधिकारलाई सबल तुल्याइएको थियो । आफ्नो १० वर्षे कार्यकालमा राष्ट्रपति हुले सामाजिक सेवा तथा स्वास्थ्यसेवामा सरकारी खर्च झन्डै ५ गुणा बढाउनुभएको थियो ।
यद्यपि, राष्ट्रपति सीले कम्युनिस्ट पार्टीको नीतिलाई साँचो अर्थमा वामपन्थतिर लाग्नुभएको भने साँचो हो । उहाँको ‘नौलो विकास अवधारणा’ मा आर्थिक वृद्धिलाई भन्दा पारदर्शिता तथा वातावरण एवम् पर्यावरणलाई सर्वोपरि राखिएको छ । एउटा उदाहरण हेरौँ । सन् २०२१ मा चीनको सबैभन्दा ठुलो याङ्सी नदीमा १० वर्षका लागि सबैखाले माछा सिकारमाथि रोक लगाइयो । यसले गर्दा मारमा पारेका माझी समुदायलाई अरबौँ पाउन्ड बराबरको सहायता दिइयो ।
बजारलाई पहिलेभन्दा बढी सावधानीपूर्वक हेरिँदै छ । २ वर्षअघि सम्पूर्ण निजी शिक्षा तथा ट्युसन कक्षामा रोक लगाइयो । शिक्षामा सबै विद्यार्थीको समान पहुँच स्थापित गर्न, विद्यार्थीको मानसिक स्वास्थ्यमा सुधार गर्न तथा सन्तुलित विद्यार्थी जीवन सुनिश्चित गर्न यो नियमन गरिएको थियो ।
चीनमा अनलाइन गेमिङमा रोक छ । विद्यार्थीले इन्टरनेटमा खर्चिने समयमा उमेरअनुसार सीमा लगाइएको छ । यसलाई पश्चिमी देशहरूमा तानाशाहीको रूपमा प्रचार गरिँदै छ । तर, चिनियाँ प्रयास गम्भीर छ । ‘अनलाइनमा हुर्किरहेको’ पुस्ता भर्चुअल सामाजिक अन्तरक्रियामा निर्भर हुँदा आइलाग्ने अलगावजस्ता समस्याहरूलाई सम्बोधन गर्न चिनियाँ कदम कारगर हुने देखिन्छ ।
नीतिको उद्देश्त्न्दा पनि बढी राष्ट्रपति सीले अपनाउनुभएको विधिमा माओको ‘जनमुखी’ नीतिहरूको प्रतिध्वनि छ । कुनै पनि नीतिको उद्देश्य हासिल गर्न जनपरिचालनमा निर्भर हुनुपर्ने अध्यक्ष माओको नीति थियो ।
राष्ट्रपति सीको सरकारको हालसम्मकै सबैभन्दा ठुलो उपलब्धि निरपेक्ष गरिबीको पूर्ण उन्मूलन हो । यस कार्यमा माओकै नीतिहरू अवलम्बन गरिएको थियो । लाखौँ पार्टी कार्यकर्ताहरूलाई प्रतिवर्ष निश्चित अवधि पिछडिएका क्षेत्रहरूमा काम गर्नुपर्ने जिम्मेवारी दिइयो । त्यस अवधिमा पार्टी कार्यकर्ताले स्थानीय जनतासँग मिलेर काम गरे र सरकारले उपलब्ध गराउने सेवा सहुलियत तथा अनुदानबारे जनताले जानकारी पाए–नपाएको राम्ररी निक्र्योल गरे । सरकारले सामान्यतः पिछडिएको भेग, परिवार वा व्यक्तिको आवश्यकताअनुसार यस्तो सेवा सहुलियतमा लगानी ग¥यो । उदाहरणको लागि, चीन सरकारले नागरिकको घर मर्मतसम्भार गर्नसमेत रकम उपलब्ध गरायो ।
समाजको पिँधका जनताको आम्दानी बढाउनमा केन्द्रित रहनुका साथै राष्ट्रपति सीले अझ बढी समतापूर्ण नीतिनियमलाई टेवा दिने जमर्को गर्नुभयो । उहाँले समाजको टाकुरामा बसेका अर्बपतिहरूमाथि कडिकडाउ गर्नुभयो र शीर्षस्थहरूको ‘अत्यधिक आम्दानी’ लाई सरकारी नियमनमा ल्याउन आह्वान गर्नुभयो । ‘साझा सम्पन्नता’ को चिनियाँ लक्ष्य ‘केही विकसित देशको समाज व्यवस्थाले समाधान गर्न नसकेको धनी गरिबबिचको चर्किँदो असमानता’ भन्दा विपरीत भएको उहाँले बताउनुभयो । यद्यपि, उहाँले लगाउन खोज्नुभएको नयाँ सम्पत्ति करको विरोध पनि भयो । चीनको उच्च आयकर बेलायतको जत्तिकै (४५ प्रतिशत) छ । यसलाई माओ शैलीको समानता भन्न मिल्दैन ।
राष्ट्रपति सीले स्वयंसेवाको संस्कृतिलाई मलजल गर्नुभएको छ । विद्यार्थीलाई आफ्नो बिदाको समय ग्रामीण भेगमा चलिरहेका विकास आयोजनाहरूमा काम गर्दै बिताउन उहाँले उत्साहित गर्नुभएको छ । साथै, सम्पन्न क्षेत्रहरूलाई विपन्न क्षेत्रहरूसँग मितेरी लगाएर सम्पन्नले विपन्न क्षेत्रमा लगानी गर्नुपर्ने वैधानिक दायित्व स्थापित गर्नुभएको छ ।
माओको नेतृत्वमा भएको ‘गाउँ फर्क’ आन्दोलनको बेला गाउँ जानुपर्दा आफूमा परेको मनोवैज्ञानिक प्रभावबारे राष्ट्रपति सीले लेख्नुभएको छ । सांस्कृतिक क्रान्तिताका लाल रक्षक दलले आफ्नो निन्दा गरेको कुरा उहाँले खुलस्त लेख्नुभएको छ । तर, गाउँमै बसिरहेको बेला आफूले जीवनको उद्देश्य भेटेको र चीनका गरिब जनताको जीवनस्तर उकास्ने अठोट लिएको पनि उहाँले चर्चा गर्नुभएको छ ।
गत वर्ष उहाँले ‘ग्रामीण पुनःउद्धार’ आन्दोलन थालेको उद्घोष गर्नुभयो । उहाँले सहरी शिक्षितजन तथा व्यवसायीहरूलाई आफ्नो पुख्र्यौली नगरमा फर्किन उत्साहित गर्नुभयो । यो पक्कै पनि बदलाव हो । तर, फेरि पनि देङ स्याओपिङजस्ता नेताहरूको दीर्घकालीन योजनाभन्दा यो बदलाव कति हो भन्ने कुरा बहसको विषय हो ।
सन् १९८० को दशकमा देङले क्वाङदोङ र फुचिनजस्ता केही प्रान्तहरूको विकासलाई प्राथमिकतामा राख्ने नीतिको खुलेर पक्षपोषण गर्नुभएको थियो । ती प्रान्तलाई ‘सुधार र खुलापन’ का अगुवा प्रान्त भनिएको थियो । आफ्नो विचारको पक्षमा देङले ‘पहिले केही धनी बन्नेछन्’ तर अघि बढेका प्रान्तले पछि पिछडिएका प्रान्तलाई माथि तान्न खुट्टा दिनेछन् भन्नुभएको थियो ।
बजारको शक्ति तथा विदेशी पुँजीलाई उपयोग गर्ने चीनको समग्र अवधारणालाई ‘समाजवादको प्रारम्भिक चरण’ मा तर्कसङ्गत मानिएको थियो । सुरुदेखि नै त्यसप्रकारको उपयोगलाई सम्पन्न भौतिक आधारमा समाजवादी वितरण हासिल गर्न उत्पादन शक्तिको निर्माण गर्ने साधन ठानिएको थियो । यद्यपि, धेरै पश्चिमा पर्यवेक्षकहरूले यसलाई पुँजीवादी देशमा कम्युनिस्ट पार्टीको शासन कायम गर्ने बहानासिवाय केही होइन भनेका थिए । राष्ट्रपति सीका नीतिहरूबाट आफूले तोकेको लक्ष्यबाट चिनियाँ कम्युनिस्ट पार्टीले दायाँबायाँ नगरेको सुस्पष्ट भएको छ ।
राष्ट्रपति सीमा माओको प्रतिबिम्ब देखिन्छ भने त्यो सायद निर्धन देशबाट उठेर औपनिवेशिक मुक्ति आन्दोलनको नेताको भूमिकामा चीन पुग्दासम्म अध्यक्ष माओले सामना गर्नुपरेका सवालहरू आज ५० वर्षपछि पनि उत्तिकै बिझाउने खालका छन् । दक्षिणी गोलाद्र्धको अभ्युदय साम्राज्यवादका लागि सम्भवतः सोभियत सङ्घभन्दा पनि ठुलो चुनौती बन्दै छ ।
पश्चिमी देशहरूको अल्पकालीन वर्चस्वको अन्त्य कसरी भयो भनेर इतिहास लेख्ने बेला भविष्यमा अध्यक्ष माओ र सी दुवैले खेलेको नायकको भूमिका वा अगुवाइबारे जरुर लेखिनेछ ।
(लेखक चक्को ‘मर्निङ स्टार’ का सम्पादक हुन् ।)

स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *