भर्खरै :

पितृभूमि मुक्ति युद्धको ४० औँ विजय दिवस – १

पितृभूमि मुक्ति युद्धको ४० औँ विजय दिवस – १

तेस्रो भ्रमण
साउन ९ – १६, २०५० (July 24 – 31, 1993)

विजयोत्सव निम्ति प्रस्थान (९ साउन २०५०/24 July, 1993)
पहिलो र दोस्रो कोरिया यात्राका सम्झनाहरू ताजै थिए । १९५०–५३ को संरा अमेरिकाको आक्रमणलाई पराजित पारेको ४० औँ विजय दिवसमा भाग लिन कोरियाली मजदुर पार्टीबाट नेपाल मजदुर किसान पार्टीलाई निम्तो आयो । २ जनाको प्रतिनिधिमण्डल त्यस ऐतिहासिक विजय दिवसमा भाग लिन पाउनु निश्चय पनि नेमकिपाको निम्ति गौरव र आत्मसम्मानको कुरा हो । हरेक देशका साम्राज्यवादविरोधी र क्रान्तिकारी पार्टीको निम्ति मित्र र भ्रातृ पार्टीहरूको विजयमा खुसी हुनु स्वाभाविक हो । साथै न्यायोचित सङ्घर्षमा एक आपसमा सहयोग र समर्थन गर्नु क्रान्तिकारी पार्टीहरूको अन्तर्राष्ट्रिय कर्तव्य हो । तर, नेपालका हामी ७ वाम पार्टीहरूले प्रधानमन्त्रीको राजीनामा, दासढुङ्गाको घटनाबारे निष्पक्ष जाँचबुझ, महँगी नियन्त्रण आदि १० सूत्रीय मागको आन्दोलन गरिरहेको हुँदा कोरियाली जनताको ४० औँ विजय दिवसमा भाग लिन नसकिने स्थिति थियो । तर, संयोगले नेपालको मध्य भागको केही प्राकृतिक र केही मानवीय कारणले आएको बाढीले मकवानपुर, चितवन, रौतहट र सर्लाहीमा ठुलो जनधन क्षति भयो । प्राकृतिक प्रकोपसँग सङ्घर्ष गर्न र बाढी पीडितहरूलाई राहत सहायता पु¥याउन, ७ वाम पार्टीहरू मिलेर गरिएको आन्दोलनलाई अस्थायीरूपले स्थगित गरियो । हाम्रो पार्टी पनि त्यस कार्यमा लाग्यो ।
आन्दोलन स्थगित भएको हुँदा कोरियाली मजदुर पार्टी र कोरियाली दूतावासले निमन्त्रणा र हाम्रो कोरिया भ्रमणबारे स्मरण गराउँदै गए । सुख दुःखमा साथ दिनु भनेकै साथी हो भनेजस्तै कोरियाली जनताको विजय दिवसको खुसीयालीमा साथ दिनु हामीले कर्तव्य ठान्यौँ र सा¥है कम समयको तयारीमा हाम्रो पार्टीको २ सदस्यीय (म र का. बुद्धिकुमार गोसाईको) प्रतिनिधिमण्डल ९ साउन, २०५० अर्थात् २४ जुलाई, १९९३ को दिन २ बजे हाम्रो विमान त्रिभुवन विमानस्थलबाट बैङ्कक उड्यो । नेपालको ५ः१५ बजे हामी बैङ्कक ओल्र्यौँ ।
बैङ्कक हवाई अड्डामा प्रजग कोरियाका काउन्सिलर र बैङ्ककमै अध्ययन गरिरहेका उहाँका छोरो हामीलाई खोज्दै थिए । भेटघाट, भलाकुसारी र नेपालको बाढी पहिरोको कुराकानीपछि हामी उहाँहरूसँगै हवाई अड्डाकै रेस्टुराँमा खाना खायाँै । युरोपमा पनि बसिसकेका काउन्सिलरजीको छोरोको युरोप र एसिया, कोरिया र समाजवादबारे बडो उत्साहका साथ उनका भावनाहरू चाख मानेर सुन्यौँ । युवक सा¥है उत्साही र स्पष्टवक्ता पाएँ ।
त्यही श्रीलङ्काका प्रतिनिधिसँग पनि भेट भयो । रातको १२ः५ मा हवाईजहाज प्योङयाङको निम्ति उड्यो । पहिलेका यात्राहरूमा बैङ्ककबाट जहाज हङकङ र पेचिङ बिसाइन्थ्यो र पेचिङबाट मात्रै कोरियाली हवाईजहाजबाट प्योङयाङ पुगिन्थ्यो । यसपालि बैङ्कक–प्योङयाङको उडानको बन्दोबस्तले सजिलो पनि अनुभव भयो । बैङ्कक हवाई अड्डामा हाम्रो परिचय इथियोपियाका सांस्कृतिक र खेलकुद मन्त्री लेउले सलासी तिमाभो र इथियोपियाली विदेश मन्त्रालयको पहिलो सचिव गेब्रे हिवार फेलेहेसँग भयो । दुवै देशका गरिबीबारे र एकले अर्को देशको विविध विषयमा जानकारी लियौँ ।
हाम्रो नेपाली समयको घडीमा रात नै थियो, तर, हवाईजहाजले रातो घाममा नुहाउन थाल्यो । उठेर झ्यालबाट हेरेँ, लाग्यो सूर्यको झन्झन् नजिक हामी पुग्दै छौँ । स्थानीय समय बिहान ६ः३० बजे (१० साउन) हामी प्योङयाङ हवाई अड्डामा ओल्र्यौँ ।
हवाई अड्डामा विदेशी पाहुनाहरूलाई स्वागत गर्न कोरियाली मजदुर पार्टी, सरकारका विभिन्न विभाग र निमन्त्रणा गर्ने संस्थाका प्रतिनिधिहरू उपस्थित थिए । पत्रकार, फोटोग्राफर, रेडियो र टेलिभिजनसँगको कामपछि हाम्रो स्वागत कोरियाली मजदुर पार्टीका सचिव र पार्टीका विदेश विभागसँग सम्बन्धित पुराना मित्रहरूले गर्नुभयो ।
कोरियाली मजदुर पार्टीका सचिव का. ह्योङ वाङ योपसँग हवाई अड्डाबाट उपत्यका अतिथि सदन (भ्याली गेस्ट हाउस) सम्मको बाटोमा दुई पार्टी, दुई देश र राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा कुराकानी गर्दै गयौँ । दुबै देशको मौसम, नेपालको बाढी र अन्य विषयपछि कुराकानी दर्शन, धर्म र माक्र्सवादतर्फ डोरियो । नयाँ नयाँ विषय आउँदा मेरो चाख बढ्थ्यो र म सुन्दै जान्थेँ ।
बिच बिचमा बुद्ध धर्म र हिन्दू धर्म अनि धर्ममा कमलको फूलबारे पनि चर्चा चल्यो । उहाँ विस्तारै कोरियाली भाषामा बोल्दै जानुहुन्थ्यो र युवा दोभाषी बडो उत्साह र सहजताका साथ अनुवाद गर्दै जान्थ्यो । उहाँ हासेर भन्दै जानुभयो, “पहिले ईश्वर बाहिर खोज्थे, आज ईश्वर मनभित्र खोजिन्छ । पहिले स्वर्गमाथि छ भन्ने विश्वास गर्थे । तर, हामीले यस धर्तीलाई नै स्वर्ग बनाउनुपर्छ ।”
मैले यहाँनेर पुराना दार्शनिकहरूको संसार के हो भन्ने बुझ्न चाहन्थेँ । तर, कुरो “यसलाई कसरी बदल्ने हो” भन्ने माक्र्सको भनाइलाई सम्झेँ ।
कुरा गर्दै राम्रा राम्रा हरिया दृश्य र प्योङयाङका सुन्दर अग्ला घर–घरमा विजय दिवसको तयारी हेर्दै गयौँ । मोटर सीधा र काला काला चौडा सडकमा सलल बन्दै भ्याली गेस्ट हाउस वा पार्टीको अतिथि सदनभित्र पस्यो । सिमसिम पानी बर्सँदै थियो, त्यसले वातावरणलाई झन् रमाइलो बनाएको थियो । तर, का. सचिव र अरु कोरियाली नेताहरूको ध्यान वा पिर भने २७ जुलाई, १९९३ अर्थात् १२ साउन २०५० को विजय परेडको दिन पानी थामेन भने के गर्ने भन्ने विकल्पको खोजीमा देखिन्थ्यो ।
हाम्रो मोटर अतिथि सदनको सबभन्दा उँचो ठाउँमा र सबभन्दा राम्रो बङ्गलामा गएर रोकियो । हाम्रो मोटरको पछि पछि का. बुद्धिकुमार अर्थात् पार्टीभित्र ‘जीवन’ को नामले चिनिने साथी चढ्नुभएको मोटर पनि आइपुग्यो । पार्टीको विदेश विभागका उपनिर्देशकज्यू र अन्य कोरियाली मित्रहरूले स्वागत गर्दै भन्नुभयो, “यहाँ तपाईँहरू आÇनै घर सम्झेर बस्नुहोला । केही असुविधा अनुभव गर्नुभए नहिच्किचाइकन हामीलाई भन्नु होला, हामी मिलाउँछौँ ।”

ऐतिहासिक सङ्ग्रहालय (१० साउन, २०५०/25 July, 1993)
दिनको ११ बजेतिर हामी कार्यक्रमअनुसार १९५० देखि १९५३ सम्मको संरा अमेरिकी साम्राज्यवादद्वारा गरिएको हमलाको विरोधमा भएको पितृभूमि मुक्ति युद्धको बेला का. किम इल सङले पार्टी र सरकारको नेतृत्व दिनुभएको गुफाभित्रको कार्यालय अर्थात् ऐतिहासिक सङ्ग्रहालय हेर्न गयौँ ।
बाहिरबाट हेर्दा पहाड र जङ्गल छ, भित्र पस्ने सानो ढोका छ । तर, भित्र विभिन्न बाटाबाट विभिन्न कोठामा पसिन्छ । बैठक कोठा, विदेशी प्रतिनिधिमण्डल भेट्ने कोठा, आराम गर्ने, कार्यालय चलाउने आदि विभिन्न विभागमा गुफा विभाजित छ । युद्धको बेला प्रयोग गरिएका हातहतियार, दूरबिन, पोशाक, उपहार, उपकरण, कार्यालयका सामान, तार टेलिफोन आदि सम्बन्धित कोठाहरूमा प्रदर्शित थिए ।
आश्चर्यको कुरा त के छ भने प्योङयाङमा अमेरिकी आक्रामकहरूले बम हानेर ध्वस्त पार्ना साथै त्यस क्षेत्रमा का. किम इल सङ जानुहुन्थ्यो; जनतालाई सहानुभूति देखाउनुहुन्थ्यो; राहत सामग्रीको बन्दोबस्त गर्न निर्देशन दिनुहुन्थ्यो र ती ठाउँहरूमा नयाँ बस्ती बनाउने योजनाको निर्देशन दिनुहुन्थ्यो । युद्धबाट ध्वस्त भइरहेकै बेला नयाँ निर्माणको योजनाको तयार गराई हाल्नुहुन्थ्यो । यसप्रकार लडाइँ समाप्त हुनासाथै पुनःनिर्माण सुरु भएकै कारण ३०–४० वर्षभित्र २–३ सय वर्षको प्रगति गर्न सकिएको हो भनी अनुमान गर्न सजिलो भएको हो । शत्रुको बम खसेर ध्वस्त भएको ठाउँमा का. किम इल सङले निर्देशन दिइरहनुभएको फोटो, योजनाको खाका र तयार भइसकेको ठाउँ देखाइएको थियो ।
सबैजसो लडाइँमा युद्ध भइरहँदा मालसामानको भाउ बढ्दै जान्छ । तर, कोरिया युद्धको बेला अथवा अमेरिकी साम्राज्यवादको हमला भइरहेकै बेला खानेकुरा, लत्ता–कपडाको मूल्य झन्झन् घटिरहेको थियो । कालो बजार, सामान लुकाउने वा कृत्रिम मूल्यवृद्धि थिएन । त्यसबेलाका चार्ट र तस्बिरहरू पनि प्रदर्शित थिए ।
युद्धको बेलामा समेत युद्धबाट पीडित जनताको बिचमा जानुभई कोरियाली जनताका महान् नेताले देशवासीहरूलाई उत्साहित गरिरहनुहुन्थ्यो । यस्ता सबै चित्र, नक्सा, योजना र सामान ती ऐतिहासिक सङ्ग्रहालयमा प्रदर्शित थिए ।
साँझ ६ बजे हामी उपत्यका अतिथि सदनको सांस्कृतिक केन्द्रमा लगियौँ । कलाकृतिहरूले सजिएको त्यस उत्कृष्ट भवनको सुन्दरतामा हामी मुग्ध थियौँ । व्यस्त कार्यक्रमबाट पार्टी सचिव का. ह्वाङ वाङ योप आउनुभयो र भलाकुसारी भयो ।
हामीले का. किम इल सङ र का. किम जोङ इललाई नेमकिपाको केन्द्रीय समितिको तर्फबाट लगिएको उपहार उहाँलाई सुम्प्यौँ । नाग बुट्टा भएको पञ्चकन्या र मयुर झ्याललाई लिएर उहाँले महान् नेता र प्रिय नेतालाई टक्रयाउने वचन दिँदै धन्यवाद दिनुभयो ।
८ बजे नेमकिपाको प्रतिनिधिमण्डलको सम्मानमा कोरियाली मजदुर पार्टीका सचिव का. ह्वाङ वाङ योपले रात्रिभोजको आयोजना गर्नुभएको थियो । उहाँले नेमकिपाको प्रतिनिधिमण्डलको स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो, निमन्त्रणा स्वीकार गरी विजय दिवस समारोहमा समेत उपस्थित भएकोमा धन्यवाद दिनुभयो र सुखद बसाइँको कामना गर्नुभयो । अन्तमा उहाँले कोरियाली मजदुर पार्टी र नेपाल मजदुर किसान पार्टीको सम्बन्ध झन्झन् बलियो हुँदै जाने विश्वास र आशा गर्नुभयो । हाम्रो सुस्वास्थ्य र दुवै पार्टीको मित्रताको सुदृढताको निम्ति टोस्ट प्रस्ताव राख्नुभयो ।
नेमकिपाको प्रतिनिधिमण्डलको तर्फबाट हामीले विजय दिवसको समारोहमा भाग लिने अवसर दिएकोमा कोरियाली मजदुर पार्टीलाई धन्यवाद दियौँ र ४० औँ विजय दिवसको निम्ति बधाई दियौँ र भाग लिन पाएकोमा खुसी व्यक्त गर्यौँ । दुई पार्टीको सम्बन्ध झन्झन् बलियो हुँदै जाने कुरामा विश्वास जाहेर गर्यो र कोरिया भ्रमण कोरियाली जनता हरेक क्षेत्रमा विजय हुँदै जाने र कोरियाली जनताको उत्तरोत्तर समृद्धिको कामना गर्यो । अन्तमा का. किम इल सङ र का. किम जोङ इलको सुस्वास्थ्यको निम्ति टोस्ट प्रस्ताव राख्यौँ ।
अफिसमा कुराकानी हुँदा कोरियाको प्रगति, स्वच्छ वातावरण, जटिलताको अभाव र सरलताको बारेमा कुरा उठाएका थियौँ । उहाँले बडो विनम्रपूर्वक स्थितिलाई अगाडि राख्दै भन्नुभयो, “कोरियामा पेट्रोल छैन, त्यसको खोजबिन हुँदै छ, त्यसैले दाइ र रेलबाट जनतालाई बढी सुविधा दिइँदै छ । पुँजीवादी देशहरूमा व्यक्तिगत कारहरू छन्† कोरियामा त्यसो छैन । हिँड्दा स्वास्थ्य पनि राम्रो हुन्छ र प्रदूषण पनि बढ्दैन ।” आदि ।
भोजमा कोरियाका विभिन्न परिकारहरूसँगै नेपाल र कोरियाको सांस्कृतिक सम्बन्धबारे पनि कुराकानी चल्यो । बुद्ध नेपालको हो र बुद्धले अहिंसा र शान्तिको सन्देश दिएको छ र युद्धको विरोध गर्छ भन्ने कुरामा बल दियौँ ।
उहाँले कुरै कुरामा कोरियाको विविध विषयमा बडो सरल र सरस ढङ्गले नयाँ नयाँ जानकारी दिँदै जानुभयो, हामी प्रश्न पनि थप्दै जान्थ्यौँ । उहाँले दिनुभएको विविध जानकारीलाई यसरी छोट्याउन सकिन्छ –
“जापानलाई बुद्ध धर्म कोरियाले दिएको हो, चीनले कन्Çयुसियस धर्म । कोरियाले नै जापानलाई लिपि दिएको थियो, त्यसको रेकर्ड कोरियासँग थिएन, त्यसलाई एकजना जापानी विद्वान्ले प्रकाशित गरी दक्षिण कोरियालाई दिए । त्यसो गरेकोमा सायद त्यस विद्वान्लाई सजाय गरेको थियो ।
मङ्गोलियाले कोरियामाथि हमला गर्दा कोरियालीहरू टापूहरूमा शरण लिन पुगे र मङ्गोलियालीहरू फर्के । जापानमा हमला गर्न मङ्गोलियालीहरूले कोरियासँग जहाज बनाउन मद्दत मागेका थिए । संयोगले दुवैचोटि आएको टाइफुन (समुद्री आँधीबेहरी) ले सबै जहाज डुबाइदियो र मङ्गोल साम्राज्यबाट जापान जोगियो ।
जापानको राजदरबारमा सैनिक जर्नेलहरू र अन्य सल्लाहकारहरू कोरियाली थिए ।
कोरियाली वर्णमाला पहिले धेरै थियो । पछि एक जना भाषाविद्ले ती अक्षरहरूलाई कम गर्न वैज्ञानिकरूपले अध्ययन गरेर स्वरअनुसार लिपि वा वर्णमाला कम गरे । अक्षर वा वर्णमाला कम गरेको हुँदा त्यस बेलाका राजा (सायद १४ औँ शताब्दीमा) ले त्यस विद्वान्लाई ज्यान सजाय समेत दिए । सामन्तवादी समाजमा यस्ता घटनाहरू धेरै घट्थे ।”
भोजको निम्ति धन्यवाद दिँदै हामी ९–१० बजेतिर अतिथि सदन फक्र्यौँ ।

कला केन्द्र (११ साउन, २०५०/26 July, 1993)
त्यस दिन हाम्रो कार्यक्रम ‘कला केन्द्र’ मा थियो । पहिले पनि गइसकेको ठाउँ भएको हुनाले विद्यार्थीले पाठ दोहो¥याए जस्तो भयो– बिर्सेका र अस्पष्ट कुरालाई याद गरेजस्तै । माटो, ढुङ्गा र धातुका मूर्ति बनाउने कोठाहरूमा गयौँ, विभिन्न चित्रकारका कोठाहरूमा गयौँ र तिनीहरूका कृति र चित्रहरू हेर्यौँ । देश विदेशका लेखक, कवि, कलाकार, नेताहरू, वीरहरू, आन्दोलनकारी, समाजसेवी र जीवनका अनेक फाँटका ख्यातिप्राप्त र लोकप्रिय मानिसहरूका चित्र र मूर्ति हेर्यौँ । पहाड, नदी, नाला, झरना र पोखरी, पशुपन्छी र अनेक सुन्दर प्राकृतिक दृश्यहरूलाई सा¥है सुन्दरतापूर्वक मूर्तिमान र चित्रित गरेका थिए । कोरियाली जनताको जापानविरोधी लडाइँ, पितृभूमि मुक्ति युद्ध, समाजवादी निर्माण आदि विषय, खेत र खलिहान तथा कारखाना र खेलकुदका समेत सजीव चित्रहरू देख्यौँ ।
एकपछि अर्को कोठा घुम्यौँ, कार्चोपी भर्ने, छ्वाली, काठ र अन्य वस्तुबाट बनाइएका कलात्मक वस्तुहरू र ठुलाठुला सेरामिक भाँडाहरू हेर्यौँ ।
चित्रकलाकै कोठामा चित्रहरू हेर्दै मैले सोधेँ, “तपाईँहरूकहाँ मैले अमूर्त कलाहरू देखिन नि ?” केन्द्रका अधिकारीले भने, “हाम्रो देशमा यथार्थवादी कलालाई नै मन पराउँछन्, प्रिय नेता का. किम जोङ इलले पनि यथार्थवादी कलाहरूमा जोड दिनुभएको छ ।”
स्वागत सत्कारपछि आगन्तुक पुस्तिकामा विश्वकर्माहरूको चमत्कारपूर्ण छिनोँ र कुचीलाई बधाई दिँदै बिदा लियौँ ।
त्यसपछि हामी का. किम इल सङ र का. किम जोङ इलको रचनाहरूको प्रदर्शन स्थलको लागि हिड्यौँ ।
महान् नेताको कृतिहरूको प्रदर्शनी स्थल
कार्यक्रमअनुसार हामी महान् नेताको कृतिहरूको प्रदर्शनी स्थल पुग्यौँ, त्यहाँ का. किम इल सङ र का. किम जोङ इलका विभिन्न भाषाका रचनाहरू प्रदर्शित थिए ।
‘साम्राज्यवाद मुर्दावाद’ सङ्घको स्थापनाकालदेखिका रचनाहरू र त्यसबेलाका महत्वपूर्ण उद्धरणहरूसमेत ठुलठुला अक्षरमा लेखिएको थियो । जापानविरोधी लडाइँको बेलाका कोरियाली मजदुर सङ्घको प्रसङ्ग, प्रजातान्त्रिक सुधार, भूमिसुधारबारे रचनाहरू, पितृभूमि मुक्ति लडाइँको बेलाका रचनाहरू र समाजवादी निर्माणका रचनाहरू प्रदर्शित थिए । सम्बन्धित समय र रचनाका बेलाका फोटाहरू अथवा भाषण, प्रवचन र लेखनका बेलाका चित्रहरूसमेत प्रदर्शित थिए ।
देशविदेशका विभिन्न भाषामा अनुदित पुस्तकहरू पनि प्रदर्शित थिए । त्यसमा नेपाली भाषामा अनुवाद गरिएका महान् नेताका रचनाहरू पनि प्रदर्शित थिए ।
त्यस्तै, का. किम जोङ इलका पनि विभिन्न बेलामा लेखिएका रचनाहरू र अनुवाद प्रदर्शित थिए । कला र साहित्य, सिनेमा र सैद्धान्तिक एवं सङ्गठनात्मक रचनाहरू पनि थिए । मैले पहिले पनि हेरिसकेको ठाउँ थियो र जुछे विचारधारा नै कोरियाली क्रान्तिको गुह्य हो भने खालको कुरा आगन्तुक पुस्तिकामा लेखेँ र बिदा भएँ । मोटर सिधै अतिथि सत्कार सदनतिर लाग्यो ।

भेटघाट र छलफल
३ बजे कोरियाली मजदुर पार्टीका कामरेडहरूसँग कोरियाली इतिहास र क्रान्तिका अनुभवहरूबारे जानकारी लियौँ । उहाँहरूले कोरियाको इतिहास, कोरियाली क्रान्तिको विशेषता र विशिष्टता अनि IAEA (अन्तर्राष्ट्रिय आणविक ऊर्जा आयोग) र NPT (आणविक अप्रसार सन्धि) बारे जानकारी दिनुभयो ।
पार्टी संस्थापकहरूको उद्देश्य र कार्यशैलीबारे जानकारी भएपछि मात्रै नयाँ पुस्ताले पार्टीको उद्देश्यलाई अगाडि बढाउन सक्ने उहाँहरूले बताउनुभयो ।
हामीले अन्तमा IAEA र NPT का अनेक जालझेलमा नफसी एकपछि अर्को विजय प्राप्त गर्दै जाने कामना गर्दै बिदा लियौँ ।

सांस्कृतिक कार्यक्रम
साँझ ५ः३० बजे हामी ‘८ फेब्रुअरीको सांस्कृतिक सदन’ मा पुग्यौँ । त्यस भव्य सांस्कृतिक सदनमा कोरियाको राष्ट्रिय रक्षा कमिसन (आयोग) का पहिलो उपाध्यक्ष र उनका सशस्त्र सेनाका मन्त्री र अन्य देशविदेशका नेताहरू पुग्नु भएपछि कार्यक्रम सुरु भयो ।
‘जेनेरलिश्मो किम इल सङ जिन्दावाद’ को नाचगानको मङ्गलाचरणबाट कार्यक्रम सुरु हुन्छ । ‘जुछे विचारधारा जिन्दावाद’, ‘मेरो देश राष्ट्रिय सुरक्षामा आÇनै खुट्टामा उभिएको छ’ र ‘एकै मनको एकता हाम्रो गौरव हो’ भन्ने बाजाको धुनमा एक लगीत र समूह गान भयो । ‘समाजवादको रक्षा गरौँ,’ ‘हाम्रो सर्वोच्च कमान्डरलाई हतियार समातेर माथि उठाऔँ’ भन्ने समूह गान पनि प्रदर्शित भयो ।
स्टेज प्रविधि, प्रकाश र ध्वनि प्रसारणको बन्दोबस्त आदि हेरेर छक्क पर्दै साथी बुद्धिकुमारजी जिब्रो टोक्दै हुनुहुन्थ्यो । कोरियाली जनताको सिद्धान्त, कला र संस्कृतिमा समानता रहेको हुँदा अन्य विदेशी अतिथिहरू पनि सा¥है तारिफ गर्दै थिए ।
‘शुभकामनाको गीत’ सुन्दै हामीले बिदा लियौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *