भर्खरै :

नेमकिपाको ३५ औँ केन्द्रीय परिषद् सुरु क्रान्तिको निम्ति कार्यकर्ताहरूले जनताको बिचमा काम गर्नु जरुरी

नेमकिपाको ३५ औँ केन्द्रीय परिषद् सुरु क्रान्तिको निम्ति कार्यकर्ताहरूले जनताको बिचमा काम गर्नु जरुरी

भक्तपुर, २७ पुस । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनपछिको पाँचौँ (३५ औँ) केन्द्रीय परिषद् शुक्रबार भक्तपुरमा सुरु भयो ।
पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले परिषद्मा पार्टी केन्द्रीय समितिको प्रतिवेदनमा उल्लेख राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जिल्ला जिल्लामा कक्षा सञ्चालन गर्ने र नयाँ पुस्तालाई इतिहाससँगै नक्सासहित भूगोल पनि बताउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
हामीले पूरा गर्न नसकेको देश र जनताको काम नयाँ पुस्ताले गर्न सक्ने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले आलोचना र आत्मालोचनामार्फत कार्यकर्ताको राजनीतिक एवम् सांस्कृतिक स्तर माथि उठाउनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
जिल्लाका प्रतिवेदनहरूमा उल्लेख ‘बसाइँसराइको कारण गाउँ रित्तिएको चिन्ता’ देशको एक झल्को भएको र यो आजसम्मका सरकारहरूको ‘करामत’ भएको अध्यक्ष बिजुक्छेँले स्पष्ट गर्नुभयो ।
“क्रान्तिको लागि जनता नै तयार हुनुपर्दछ । हामीले चाहेर हुने भए कार्ल माक्र्सकै पालामा क्रान्ति भइसक्थ्यो । क्रान्तिको निम्ति कार्यकर्ताहरूले जनताको बिचमा काम गर्नु जरुरी छ । एक्लै दुक्लै अनसन बसे पनि हुने होइन”, अध्यक्ष बिजुक्छेँले कार्यकर्ताहरूलाई सचेत गराउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “कृषि काममा सहयोग गराउन सहकारी संस्था सुरु भएको हो । पुँजीवादी देशले जनताको बचत कब्जा गर्न बैङ्कजस्तै सहकारी चलाउने कानुन बनाउन लगाएको हो । सहकारी संस्थाको केन्द्र हुँदैन । आ–आफ्नो सहकारी आफँै चलाउने हो ।”
“नेपालका कतिपय सहकारी संस्थाहरूमा आर्थिक गोलमाल छ र अर्बाँै रुपैयाँ बचत ठगी भएको सार्वजनिक भइरहेको छ । जनताको बचत ठगी गरेका सञ्चालकहरूकै घैघरानाबाट बचत फिर्ता गराउनु आवश्यक छ”, अध्यक्ष बिजुक्छेँले उल्लेख गर्नुभयो ।
“बचत हिनामिना गरेका नवदुर्गा बहुमुखी सहकारी संस्थाका सञ्चालकहरूलार्ई जनताले उल्टो टोपी लगाएर बजार घुमाएका थिए । भ्रष्टाचारीहरूलाई सजाय दिन जनता अघि बढ्नै पर्दछ”, अध्यक्ष बिजुक्छेँले उल्लेख गर्नुभयो ।
परिषद्मा पार्टी सचिव प्रेम सुवालले केन्द्रीय समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
जिल्ला समिति र जनवर्गीय तथा पेसागत सङ्गठनहरूको प्रतिवेदन प्रस्तुति परिषद्मा सुरु भयो । परिषद् शनिबार पनि चालु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *