भर्खरै :

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी

  • फाल्गुन २३, २०८०
  • सङ्गीता राई
  • विचार
अमेरिका–बेलायत पुग्छ धराने खुकुरी

धरान (सुनसरी) । एउटा उखान छ, ‘जहाँ गोर्खाली त्यहाँ खुकुरी, जहाँ खुकुरी त्यहाँ गोर्खाली ।’ संसारमा नेपालीलाई चिनाउने ‘वीर गोर्खाली’ सँगै गोर्खाली हतियार ‘खुकुरी’ पनि हो । गोर्खाली र खुकुरी एक अर्काका परिपुरक हुन् भन्ने माथिको उखानबाट पनि बुझ्न सकिन्छ । अहिले यो खुकुरी गोर्खालीको पहिचान र सानमा मात्र सीमित छैन, यो एउटा गतिलो व्यापार पनि बनेको छ ।
मुलुकमै सबैभन्दा धेरै खुकुरी उत्पादन लामो धरानमा समयदेखि हुने गरेको छ । धरानमा बनेका खुकुरी नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजार अमेरिका, बेलायत, चीन, भारत, सिङ्गापुरलगायत धेरैवटा देशमा पुग्ने गरेका छन् । त्यसबाट खुकुरी व्यवसायीले मासिक लाखौँ रूपैयाँ नेपाल भित्याइरहेका छन् ।
धरानमा व्यावसायिकरूपमा खुकुरी उद्योग सञ्चालन गर्ने धेरैजना छन् । त्यसैमध्येका एक हुनुहुन्छ, घमान सिंह विश्वकर्मा । वैदेशिक रोजगारीमा सात वर्ष बिताएपछि स्वदेशमै केही गर्ने सोचले फर्किनुभएको विश्वकर्माले आफ्नै पुख्र्यौली पेसालाई व्यावसायिक रूप दिने योजना बनाउनुभयो । त्यसपछि करिब एक दशकअघि धरान–१५ मा सुस्मिता खुकुरी उद्योग खोल्नुभयो । सुरुमा तीन लाख रूपैयाँ लगानी गरेर आफ्नै घरमा लघु उद्योग खोल्नुभएको विश्वकर्मा आफैँ खुकुरी बनाउनुहुन्छ । माग धेरै भएका बेला अन्य कालीगढलाई पनि लगाएर खुकुरी बनाउनुहुन्छ । उहाँका अनुसार धरान नेपालमै सबैभन्दा धेरै खुकुरी उत्पादन हुने ठाउँ हो । उहाँ भन्नुहुन्छ, “यहाँ उत्पादन भएका खुकुरीहरू भारत, चीन, क्यानाडा, सिङ्गापुर, दुबई, अमेरिकादेखि बेलायतसम्म पुग्छन् ।”
धरानकै गोविन्द दर्नाल पनि विगत १२ वर्षदेखि धरान खुकुरी उद्योग सञ्चालन गर्नुहुन्छ । दर्नालका बाबु छोराले सञ्चालन गरेको खुकुरी उद्योगमा एक जना कालीगढ पनि छन् । उहाँहरूले उत्पादन गरेका खुकुरी पनि देशदेखि विदेशसम्म पुग्ने गरेका छन् ।
घरेलु उद्योगका रूपमा मात्र होइन, ठूलो व्यवसायका रूपमा खुकुरी उद्योग सञ्चालन गर्नेहरू पनि धेरैजना छन् धरानमा । दुई दशकदेखि न्यू गोर्खाली खुकुरी इण्डष्ट्रिज सञ्चालन गर्दै आउनुभएका दीपक दर्नाल त्यसको एक उदाहरण हुनुहुन्छ । उहाँले अहिले ३० जना कालीगढ राखेर उद्योग सञ्चालन गरिरहनुभएको छ । कोरोना महामारी भन्दा अगाडि त उहाँको उद्योगमा ६० जना कालीगढ थिए ।
उद्योग सञ्चालक दर्नालका अनुसार पहिला विदेशमा निर्यात हुने खुकुरीमध्ये रु.समा झाडी फाँड्न, सिंगापुर र बेलायतमा सुरक्षागार्डले प्रयोग गर्नका लागि खुकुरीको माग हुने गरेको थियो । अहिले भने अन्तर्राष्ट्रिय बजारमा सामान्य गुणस्तरका खुकुरीको माग हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी अमेरिका जाने गरेको उहाँ बताउनुहुन्छ । खुकुरी उद्योगबाट हाल मासिक रु. ९० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “पहिला धेरै राम्रो थियो । अहिले बजार खस्किएको छ । विस्तारै राम्रो होला भन्ने आशामा छौँ ।”
उद्योग सञ्चालकहरूका अनुसार खुकुरीको मूल्य गुणस्तरअनुसार फरक हुन्छ । स्थानीय बजारमा सामान्य घरेलु प्रयोजनमा प्रयोग हुने खुकुरी तीन सयदेखि तीन हजारसम्ममा पाइन्छ । पछिल्लो समय नेपालमा भन्दा विदेशमा बढी खुकुरी निर्यात हुन थालेपछि बनावट र गुणस्तरमा परिवर्तन गरिएपछि डिजाइन गरिएको खुकुरीको मूल्य अहिले स्थानीय बजारमा पाँचदेखि सात हजार रूपैयाँसम्म पर्ने गरेको उद्योग सञ्चालक दर्नालको भनाइ छ ।
उद्योग सञ्चालकहरूले उपलब्ध गराएको विवरणअनुसार धरानमा साना ठूला गरी ४० देखि ५० वटा खुकुरी उद्योग सञ्चालनमा छन् । ती उद्योगबाट दैनिकरूपमा तीन सय वटा खुकुरी उत्पादन हुन्छ । सबै उद्योगबाट गरी धरानमा दैनिक सरदर सातदेखि १० लाखसम्म आम्दानी हुने गरेको खुकुरी व्यवसायीहरूको भनाइ छ । उनीहरूका अनुसार हाल धरानमा खुकुरी बनाउने नेपाली कालीगढ ५० देखि ६० जनाको हाराहारीमा छन् ।
खुकुरीसँग खुकुरीको दाप बनाउनेहरूले पनि रोजगारी पाएका छन् । धरानमा खुकुरीको दाप बनाउने करिब २५ वटा परिवार छन् । उनीहरूको यसैबाट जीवनयापन हुने गरेको उद्योग सञ्चालक विश्वकर्मा बताउनुहुन्छ । धरानमा उत्पादन हुने खुकुरीको मूल्य कम्तिमा दुई सय रूपैयाँदेखि बढीमा १५ हजार रूपैयाँसम्म पर्छ ।
खुकुरी उद्योग सङ्घ धरानका अध्यक्षसमेत रहेका न्यू गोर्खाली खुकुरी इण्डष्ट्रिजका सञ्चालक दीपक दर्नाल खुकुरी उद्योगबाट धेरै फाइदा लिन सरकारको सहयोग आवश्यक रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले अन्तर्राष्ट्रिय बजारबाट खुकुरीको माग धेरै भए पनि हामीले विदेश पठाउँदा धेरै कर लाग्ने भएकाले समस्या छ । नेपाल सरकारले करमा सहुलियत दिने व्यवस्था गरिदिए खुकुरी उद्योग सञ्चालन गर्नेहरूको हौसला बढ्ने थियो । उनीहरूले विदेशमा खुकुरी निर्यात गर्दा राज्यलाई नै आम्दानी बढ्ने थियो । सरकारलाई हाम्रो यही आग्रह छ ।”
बजार खस्किएकोमा चिन्ता
कोरोना महामारीपछि समग्र बजारको अवस्था खस्किएको छ । खुकुरीको व्यवसायमा पनि त्यसको असर पर्ने नै भयो । धरानका खुकुरी व्यवसायीहरूका अनुसार विगतभन्दा खुकुरीको माग पनि घटेको छ । एकातिर खुकुरी बनाउने फलामको भाउ बढेको र अर्कातिर माग घटेकाले समस्या भएको सुस्मिता खुकुरी उद्योगका सञ्चालक घमानसिंह विश्वकर्मा बताउनुहुन्छ ।
उहाँका अनुसार पहिला ७० देखि ८० रूपैयाँ प्रति केजीमा पाइने फलाम अहिले एक सयदेखि १२० रूपैयाँ प्रतिकेजी पर्छ । उहाँ भन्नुहुन्छ, “महँगी बढेपछि पहिला जत्ति खुकुरी उत्पादन गर्न सकिएको छैन । बजार पनि खस्किएको छ ।”
अहिले माग र उत्पादन बराबरी अवस्थामा रहेको व्यवसायीहरू बताउँछन् । विगतमा हातले नै खुकुरी बनाउने सबै काम गर्नुपर्ने अवस्था थियो, अहिले भने प्रविधिको विकाससँगै मेसिनहरूको प्रयोग पनि हुने गरेको छ । यसबाट केही सहज पनि भएको व्यवसायीको भनाइ छ । आधुनिक प्रविधिलाई प्रयोग गरेर अझै खुकुरीको उत्पादन बढाउन र अन्तर्राष्ट्रिय बजारमा पठाउन सक्ने सम्भावना प्रसस्त रहेको व्यवसायी विश्वकर्माको भनाइ छ । उहाँ भन्नुहुन्छ, “सरकारबाट सहयोग पाउने हो भने खुकुरी उद्योगहरू फस्टाउन सक्छन्, यसले नेपालीको सान र पहिचान संसार सामु फैलाउनेमात्र होइन, विदेशी रूपैयाँ पनि राम्रोसँग आम्दानी गर्ने सम्भावना छ ।”
संस्कृति र इतिहासमा खुकुरी
खुकुरीको सम्बन्ध नेपालका विभिन्न जातीको संस्कार संस्कृतिसँग पनि जोडिन्छ । खुकुरीलाई देवताको थानमा राखेर पुज्ने चलन विभिन्न समुदायमा पाइन्छ । दशैं र विभिन्न चाडपर्वमा पनि हतियारका रूपमा खुकुरीको पूजा गर्ने प्रचलन छ । इतिहासमा पनि खुकुरीको उत्तिकै महत्व छ ।
नेपालीलाई विश्वमा गोर्खालीका रूपमा परिचित गराउन खुकुरीले ठूलो भूमिका खेलेको इतिहास अध्ययनका क्रममा बुझ्न सकिन्छ । नेपालीलाई वीर जातिका रूपमा चिनाउने काममा खुकुरीको भूमिका छ । गोर्खाली सैनिकहरूले खुकुरीकै भरमा नेपालमा विभिन्न युद्ध लडेका थिए । त्यसबेलाको सैनिक हतियारमा खुकुरी र तरबार नै प्रमुख थिए ।
अहिले पनि प्रहरी, सैनिकलगायत सुरक्षाकर्मीहरूले कम्मरमा खुकुरी भिर्ने चलन छ भने सुरक्षाकर्मीका पोसाकमा पनि खुकुरी चिन्ह अङ्कित गर्ने गरिएको छ । त्यसबाहेक सुरक्षासँग सम्बन्धित तक्मा, पुरस्कारमा पनि खुकुरीको चिह्न प्रयोग गर्ने गरिएको छ । यसरी नेपालीको संस्कृति र इतिहासमा गहिरो प्रभाव पारेको खुकुरीले पछिल्लो समय व्यापारमा पनि राम्रो प्रभाव जमाउँदै गरेको देखिन्छ ।
खुकुरीजस्ता हतियार बनाउने काम विश्वकर्मा समुदायको पुख्र्यौली पेसाका रूपमा चिनिन्छ । दलित समुदायका पुख्र्यौली पेसाहरू सङ्कटमा पर्दै गएको बेला खुकुरी बनाउने पेसामा भने युवा पुस्ताको पनि आकर्षण देखिएको छ । धरानका उद्योगहरूमा खुकुरी बनाउने अधिकांश युवा पुस्ताका छन् । खुकुरी व्यवसाय युवा पुस्ताको रोजगारीको राम्रो अवसर पनि बनिरहेको छ ।
विश्व बजारमा माग बढिरहेको खुकुरी व्यवसायलाई वृद्धि गर्न स्थानीय तह र प्रदेश सरकारले पनि नीतिगतरूपमा काम गर्नुपर्ने खुकुरी उद्योग सङ्घका अध्यक्ष दर्नालको भनाइ छ । उहाँ भन्नुहुन्छ, “स्थानीय तह र प्रदेश सरकारले हाम्रो पुख्र्यौली पेसा बचाउने सहयोग गरिदिए, अझै धेरै रोजगारी पनि सृजना हुन्थ्यो, राज्यलाई पनि फाइदा पुग्थ्यो ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *