भर्खरै :

सहयोगको नाममा कमाउ धन्दा !

सहयोगको नाममा कमाउ धन्दा !

‘बम भोले !’ ‘जय भोलेनाथ !’ भन्दै घरघरै माग्न आउने हट्टाकट्टा जोगी देखेर कहिलेकाहीँ मनमा लाग्छ, “काम गर्नका गा¥हाले के माग्दै हिँडेका होलान् ! फेरि यी नेपाली जोगी पनि होइनन् ।” तैपनि, पाँच दस रुपियाँ, एकदुई मुठी चामल दिन कुनै गा¥हो लाग्दैन । थोरैमा टार्न सकिने त्यस्ता भारतीय जोगी त जोगी नै भइहाले, केही वर्षयता मन फुकाएर सहयोग गर्नुपर्ने खालका हाम्रै पीडित परिवारले पनि दिक्क लाउन थालेका छन् । कोही क्यान्सरका रोगी ! कोही मृगौलाका रोगी ! कोही मुटुका रोगी ! कोही विदेशमा थुनामा परेका ! यस्तै समस्या बताउँदै कोही घरघरै हिँड्छन् । कोही सडकमा माइक बजाएर बस्छन् । कसैले पत्रिकामा छपाउँछन् । कोही टिभीमा रुन्छन् । कोही नेताकहाँ हुँदै मन्त्रालय धाउँछन् । त्यस्तो थाहा पाएपछि जोकोहीले पनि सकेको मानवीय सहयोग गर्छन् नै । तर, तीमध्ये वास्तविक समस्यामा परेका को हुन् र ठग्ने नियतका को हुन् भन्ने कुरो थाहा पाउन गा¥हो छ । कतिपय अवस्थामा ती दुःख आपत्मा परेकाका लागि गरिएको सहयोग, पाउनुपर्ने पात्रले नपाएको र उद्देश्यअनुरूप खर्च नभएको पनि पाइन्छ । यस्तो देख्दा लाग्छ , “कतै चन्दा तथा सहयोग माग्ने काम पनि एकप्रकारको धन्दाका रूपमा त विकसित हुँदै छैन हामीकहाँ !”
यस सम्बन्धमा देखेसुनेका कुराहरू धेरै छन् । एकजना महानुभाव आफ्नै बुबालाई उपचार गराउन उपत्यका आएका थिए । उपचार गराउने हैसियत उनको छँदै थियो तर उनले थाहा पाएछन्, “यहाँ त बिरामीका नाममा मागेर पनि पैसा जम्मा गर्न सकिन्छ ।” माग्ने कला भएका एकजना ‘समाजसेवी’ को सहयोगबाट प्रशस्त पैसा जम्मा भएछ । पछि, बचेको पैसाले श्रीमतीलाई गहना किनेर लगिदिएको थाहा पाइयो ।
एक सज्जनलाई क्यान्सर लाग्यो । आफ्नै छोरा, भात्तिजाहरू पनि जागिरे । उपत्यकामा घर । श्रीमती सरकारी जागिरे । यसरी उनी आफैँ उपचार गराउन सक्ने अवस्थाका भएर पनि माग्ने प्रवृत्तिका भएका कारण ‘बिरामीलाई भारत लानुपर्ने भयो, पैसा पुगेन’ भनेर चर्को स्वरमा रोइकराइ गरियो । सुन्नासाथ दुनियाँले सहयोग गरे । पैसा धेरै उठ्यो । तत्काल शङ्का हुन्छ भनेर उपचारबाट बचेको पैसाले दुई वर्षपछि घरको तला थपियो ।
श्रीमान् श्रीमती दुवै शिक्षक । श्रीमतीको मृगौला खराब भएछ । आफ्नै साथीलाई कडा रोग लाग्यो भनेर जिल्लाभरिका शिक्षकहरूले एकेक दिनको तलब सहयोग गरेछन् ! केही पैसा जम्मा भएपछि श्रीमान्लाई लागेछ, “अब यो खर्चिलो बिमार जति गरे पनि निको हुँदैन ।” त्यसैले, उनले पहिल्यै बाइक किनेछन् । पछि श्रीमतीको मृत्यु भएछ ! (पूर्वतिरका एकजना शिक्षक साथीले भन्नुभएको कुरा । जिल्ला उल्लेख गर्नसमेत मन लागेन ।)
कतिले सहयोगी संस्थै खोलेर दुःख/अभावमा परेकालाई सहयोग गर्ने गरेको पनि पाइन्छ । तर, त्यसका लागि उनीहरू आफैँ पहिला अरूसँग माग्ने । मागेकै पैसाबाट विलासी जीवन बिताउने । अनि पाँच दस प्रतिशत अरूलाई सहयोग गर्ने गरेको पनि पाइयो । यसलाई पनि एउटा कलाजन्य पेसा नै भन्नुपर्छ । चर्चामा नआउनु बेग्लै कुरा हो ।
विदेश गएका कतिपय जोसिला नेपाली युवक खाइपिइमा रमाउँदा आफ्नै साथीको हत्या गरेर पनि जेल पर्दा रहेछन् । खाडी मुलुकतिर कानुन कडा भएको हुँदा, पीडितले ‘ब्लड मनि’ लिन स्वीकारेर सो पाएमा दोषीलाई रिहाइ हुने । नत्र तोकिएको समयपछि दोषीलाई फासी दिइँदो रहेछ ! तर, त्यस्ता ज्यानामारा सन्तान पनि बाबुआमाको नजरमा त प्यारा नै हुने भइगए । अनि सजिलो र अकाट्य उपाय थालिँदो रहेछ, ‘…बचाउ अभियान ।’ त्यसअनुसार, फलानो देशमा फलानो निर्दोष मान्छे जेल परेका कारण यति समयभित्र यति रकम नबुझाए निजलाई फासी दिइने भएकोले सबैले सहयोग गरेर ज्यान बचाइदिनुहुन भन्दै सामाजिक सञ्जाल तथा अन्य सञ्चारमाध्यममा रोइकराई गरिँदो रहेछ ! अनि, एउटा निर्दोष ज्यान बजाएर धर्म कमाउन स्वदेश/विदेश सबैतिरबाट पैसा वैरिन थाल्दो रहेछ !
माग्ने अवस्थामा पुग्नु भनेको आफ्नो आयस्रोत नहुनु हो । भएको सबै श्रीसम्पत्ति सकिनु हो । तर, अभियानको रूपमा पैसा माग्न थालेपछि–नपुगुञ्जेल पुग्यो नभनिने र पुगेपछि पनि कतिपय अवस्थामा रकम जम्मा भइरहने हुँदा आवश्यक रकमभन्दा धेरै रकम उठ्तो रहेछ ! पहिला, रकम कसरी जुटाउने भन्ने चिन्तामा मलिन अनुहारमा रहेकाहरू पछि रकम बढ्ता भएपछि मुस्कुराउन थाल्दा रहेछन् ! सँगसँगै, ‘धन देखेपछि महादेवका पनि तीन नेत्र’ भन्ने उखान पनि लागु हुन थाल्दो रहेछ !
हाम्रो धर्मशास्त्रमा दान दिएको वस्तु फिर्ता लिन हुँदैन भनिएको छ । कसैको ज्यान बचाउन दिएको पैसा फिर्ता माग्ने कुरा पनि आउँदैन । यस अर्थमा, दान लिएर कोही धनी हुन्छ भने उसलाई कसैले किन, कसरी भनेर प्रश्न गर्ने कुरा पनि आउँदैन । यो अवस्थामा ‘अब, बढी भएको पैसा के गर्ने त ?’ भन्ने विषयमा कतिपय अभियन्ताहरूबिच नै विवाद भएको पाइन्छ । कुरो नैतिकताको पनि आउँछ । त्यो भुल्नेलाई कसले सम्झाउने ? को कानुनी उपचारको झन्झट गरिरहने ? त्यसैले सर्वसाधारणले, ‘जसले मह काढ्छ उसले हात चाट्छ’ भन्ने सम्झिँदै, भागशान्ति गरे पनि, ‘आखिर दिएकै पैसा हो’ भन्ठानेर मौन रहनुको विकल्प नरहला ।
नागरिक सरकारका हुन् र सरकार नागरिकको हो । त्यसैले आफ््ना नागरिकप्रति सरकार संवेदनशील हुनुपर्छ । नागरिक नागरिकबिच स्वतःस्फूर्तरूपमा मानवीय सहयोग हुनु अत्यन्त राम्रो र मानवीय धर्म हो । तर, सहयोग र धर्मका नाममा गरिने सभ्य क्रियाकलापलाई कसैको पनि धन्दा बन्न नदिनेतर्फ सरकार गम्भीर हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *