अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
वीरगञ्ज (पर्सा) । कैफुल हुँदा मियाँ ५० वर्षदेखि वीरगञ्ज महानगरपालिका–१२ मुर्ली नयाँ टोलमा बसोबास गर्दा कहिल्यै पनि खानेपानीको समस्या भोग्नु परेनन् । तर, दुई वर्षयता उहाँको घरसँगै रहेको चापाकलमा पानी सुकेसँगै अचम्मित पर्दै आउनुभएको छ ।
उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “म नौ वर्षको उमेरदेखि वीरगञ्जमा बसोबास गर्दै आइरहेको छु । ५० वर्षे अवधिमा यहाँ कहिल्यै पनि खानेपानीको अभाव महसुस गर्नु परेन । गत वर्ष हिउँदेयाममा चापाकल सुकेपछि जेनतेन गुजारा चलाएँ तर यो वर्ष पनि चापाकल सुकेपछि खानेपानी कार्यालयबाट नयाँ धारा जडान नगरी धरै पाइएन ।”
वीरगञ्ज महानगरवासीले दुई वर्षयता चैतदेखि असारसम्मको अवधिमा आफ्नो घर प्राङ्गणमा खनेको चापाकल सुकेसँगै खानेपानीको हाहाकार महसुस गर्दै आइरहेका छन् । घर–घरमा चापाकलको पानी सुकेसँगै पछिल्लो समय नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जमा खानेपानीको नयाँ लाइन जडान गर्नेको भिडभाड नै लाग्न थालेको छ । कार्यालयमा दैनिक ५० देखि एक सयको हाराहारीमा चापाकल सुकेर नयाँ धारा जडान गर्न भन्दै आउने गरेका छन् । वीरगञ्ज महानगरमा चापाकल सुकेर खानेपानीको समस्या भोग्ने मियाँ एक्ला होइनन् । महानगरमा उहाँजस्तै खानेपानीको समस्या भोग्ने चोकचोकमा भेटिन्छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १० बजरङ्ग टोलका गम्भिरा गिरी पनि आफ्नो चापाकल सुकेसँगै नयाँ धारा जडानको निवेदनसहित खानेपानी सस्थानको कार्यालयमा निवेदन लिएर आउनुभयो । उहाँले भन्नुभयो, “हामीले पहिला खानेपानीको यस्ता समस्या भोगेकै थिएनौँ । एक्कासि दुई वर्षदेखि चैतदेखि असारसम्मको अवधिमा चापाकल सुक्ने समस्या देखिदैँ आइरहेको छ । खोइ, जमिनमुनिको पानीको सतह घटेरै होला त चापाकलको पानी सुकेको होला नि ।”
उहाँको अनुभवमा पछिल्ला वर्षमा तराई–मधेसमा गर्मी बढेसँगै खानेपानीको समस्या देखिन थालेको हो । उहाँले थप्नुभयो, “यहाँका बुढापाकाको कुरा सुन्दा कहिल्यै पनि पानीको अभाव भएको सुनेका थिएनौँ । चापाकलको पानी सुकेसँगै पिउनका लागि, सरसफाइ र शौचालय जाने पानीको अभाव हुँदै आइरहेको छ । पानी नहुने हो भने त सबैकुरा लथालिङ्ग हुने रहेछ ।”
वीरगञ्ज महानगरवासी राकेश सिंहले पनि चापाकल सुकेसँगै शिव मन्दिरसँगै रहेको सार्वजनिक धाराको पानी उपयोग गरेर गुजारा चलाउँदै आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले त मेरो आधा काम नै पानी बोक्नेजस्तो भइसक्यो । अब खानेपानीको धारा जोडेर नै अघि बढ्नुपर्ला जस्तो छ ।” वीरगञ्ज महानगरमा विशेष गरेर वडा नम्बर १ बजार छपकैयाँ, वडा नम्बर २ छपकैया, वडा नम्बर १२ मुर्ली, वडा नम्बर १० आदर्शनगर, वडा नम्बर १५ लक्ष्मणवा, वडा नम्बर १६ नगवा, इनर्वालगायतका सबैजसो वडामा खानेपानीको चर्काे समस्या छ ।
वीरगञ्ज महानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख राकेश साहले वीरगञ्ज महानगरको ग्रामीणभन्दा पनि सहरी क्षेत्रमा हिउँदेयामको केही महिना खानेपानीको अभाव हुने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सुक्खायाममा चुरे क्षेत्रमा जमिनमुनि पानीको रिचार्ज कम हुने गर्छ । त्यसले गर्दा हरेक वर्ष हिउँदयाममा भूमिगत पानीको सतह घट्दै गइरहेको छ । पहिला–पहिला त चापाकल खासै सुक्दैनथ्यो तर, अहिले भने चापाकलमा पानी सुक्ने गरेको छ ।”
महाशाखा प्रमुख साहले आफ्नो प्रारम्भिक अध्ययनले वीरगञ्जको भूमिगत पानीको सतह घट्दै गइरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मैलै भूमिगत पानीको सतहको गत वर्ष र चालु आवको तुलनात्मकरूपमा केही अध्ययन गरेको थिएँ । सो अध्ययनले गत वर्षको तुलनामा चालु आवमा भूमिगत पानीको स्रोत क्रमशः घट्दै गइरहेको देखिन्छ । प्रारम्भिक अध्ययनले गत वर्षको तुलनामा चालु आवमा दुई–तीन फिट पानीको सतह घटेको देखियो ।” उहाँले महानगरले खानेपानीको समस्या सम्बोधन गर्नका लागि विभिन्न सार्वजनिक स्थानमा बोरिङ खनेर पानी वितरण गर्दै आइरहेको बताउनुभयो ।
नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जका वितरण शाखा प्रमुख सञ्जीवकुमार यादव वीरगञ्ज महानगरवासीको चापाकल सुकेसँगै खानेपानी कार्यालयमा नयाँ धारा जडानको लागि आउनेको सङ्ख्या बढिरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चुरे क्षेत्रको विनाशकै कारणले पनि वीरगञ्ज आसपास क्षेत्रको भूमिगत पानीको सतह घट्दै गइरहेकोले पनि खानेपानीको विकराल समस्या देखिएको हो । गत आवको अन्त्यसम्म वीरगञ्ज महानगर क्षेत्रमा आठ हजार चार सयमात्रै खानेपानीका ग्राहक थिए । हिउँदेयाममा चापाकल सुकेसँगै यो वर्षमात्रै २४ सत्न्दा धेरै ग्राहक थपिएका छन् ।” कार्यालयका अनुसार अहिले कुल ग्राहक सङ्ख्या १० हजार आठ सय रहेका छन् ।
कार्यालयका अनुसार वीरगञ्ज क्षेत्रको खानेपानीको मुख्यस्रोत नै भूमिगत पानी हो । अन्य पहाडी जिल्लामा जस्तो यहाँ कुनै नदीबाट पानी ल्याएर वितरण गर्ने गरिँदैन । खानेपानी संस्थानसँग दैनिक एक करोड ६८ लाख लिटर खानेपानी उत्पादन गर्ने क्षमता रहेको छ । सो क्षमतामध्ये अहिले वीरगञ्ज महानगर क्षेत्रमा एक करोड १५ लाख ५० हजार लिटर पानीको दैनिक माग रहेको छ । तर, कुल उत्पादन क्षमता भने ४० प्रतिशत खानेपानी चोरी तथा चुहावट हुने गरेको छ ।
कार्यालयका अनुसार अहिले ११ वटा भूमिगतबाट पानी तान्ने ठुला प्रकृतिका बोरिङ रहेका छन् । यद्यपि, कार्यालयसँग करिब डेढ दर्जनको हाराहारीमा सानाठुला बोरिङ रहेका छन् । कार्यालयसँग कम्तीमा वीरगञ्जका २० हजार घरधुरीलाई खानेपानी खुवाउन सक्ने क्षमता छ । तर,अहिले पूर्वाधार र बजेट अभावको कारणले सकिरहेको छैन ।
खानेपानी संस्थानले वीरगञ्जमा खानेपानीको लागि दुई सय ५० देखि तीन सय मिटर गहिराइबाट पानी निकाल्ने गर्छ । सत्यम बोरिङ उद्योग वीरगञ्जका सञ्चालक राजु चौरासियाले विगतको तुलनामा भूमिगत पानीको स्रोत सुक्दै गएकाले पनि अझै गहिराएर बोरिङ खन्नुपर्ने अवस्था सिर्जना भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो वर्षमात्रै हामीले करिब रु. ८५ लाखको ठेक्कामा रामगढवा र नगवा क्षेत्रमा खानेपानीको बोरिङ खनेका थियौँ । ठुला डिपबोरिङ खन्दा पानीको अभाव नभए पनि ससाना चापाकलको लागि भने पानीको स्रोत सुक्दै गइरहेका छन् ।”
ठुला खालका डिपबोरिङ खन्न त्यति धेरै महँगो नपर्ने उहाँको भनाइ रहेको छ । खानेपानी संस्थानले चालु आवमा महानगरभित्र ५० किलोमिटर खानेपानीको पाइपलाइन विस्तार गर्ने लक्ष्य राखेको छ । हालसम्म भने १८ किलोमिटर मात्रै पाइपलाइन विस्तार भएको छ । वितरण प्रमुख साहले सरकारले पर्याप्त मात्रामा बजेट उपलब्ध गराउन सकेको खण्डमा वीरगञ्जमा देखिएको खानेपानीको समस्या समाधान गर्न गा¥हो नहुने बताउनुहुन्छ ।
भूमिगत पानी झिक्दाको पनि तथ्याङ्क जरुरी
भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्साका निमित्त डिभिजन प्रमुख विकास ठाकुरले सहरी घनाबस्तीमा भूमिगत पानीको उच्च दोहनकै कारणले पानीको सतह घट्दै गइरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले जथाभावीरूपमा घरघरमा भूमिगतपानी आफूखुसी ढङ्गले निकाल्ने प्रवृत्ति बढिरहेको छ । पछिल्ला समय वीरगञ्ज आसपासको क्षेत्रका चापाकल सुक्ने गरेका छन् । भूमिगत पानीको सतह घटेसँगै अबदेखि चार इन्चभन्दा ठुलो प्वाल पारेर पम्प राखेर मात्रै पानी तान्नुपर्ने अवस्था सिर्जना हुँदै छ ।”
निमित्त डिभिजन प्रमुख ठाकुरले तराई–मधेस क्षेत्रमा रहेका चुरे संरक्षण गरेर भूमिगत खानेपानीको स्रोत जोगाउनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अब हामीले भूमिगत पानी कति निकालिरहेका छौँ भनेर वैज्ञानिकरूपमा तथ्याङ्क सङ्कलन गर्ने बेला भइसकेको छ । हामीले ५/१० वर्षको तथ्याङ्क सङ्कलन गरेपछि मात्रै तुलनात्मकरूपमा अध्ययन गर्न सक्ने थियौँ । त्यसैले अब डीप ट्युबवेललगायतमा डाटा सङ्कलन गर्ने प्रविधि जडान गर्न आवश्यक देखिएको छ ।”
वडाकै अग्रसरतामा बोरिङ
वीरगञ्ज महानगरले आफ्नै सक्रियतामा विभिन्न सार्वजनिक स्थानमा खानेपानीका लागि बोरिङ खन्दै आइरहेको छ । त्यसको अलावा वडा कार्यालयकै सक्रियतामा पनि सानो प्रकृतिका बोरिङ खनेर खानेपानी वितरण पनि गर्दै आइरहेको छ । वीरगञ्ज महानगरपालिका–९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्ता जनप्रतिनिधिका रूपमा आएसँगै साढे १६ लाख खर्चेर पानमण्डी स्काउट सडकखण्ड र रानीघाट क्षेत्रमा चार इन्च पाइप क्षमताको दुई वटा बोरिङ खनेर वडावासीलाई खानेपानी वितरण गर्दै आइरहेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “जनप्रतिनिधिको रूपमा आएसँगै वडाकै बजेटबाट दुई ठाउँमा बोरिङ खनेर पानी वितरण गर्दै आइरहेका छौँ । यसले वडामा पानीको अभावलाई केही हदसम्म भए पनि नियन्त्रण गर्दै आइरहेका छौँ । अन्य वडाको तुलनामा नौ नम्बर वडा सानो भए पनि रानीघाट क्षेत्रमा भने अझै खानेपानीको अभाव कायमै छ । अर्काे बोरिङ खन्ने योजना बनाइरहेको छु ।” वडा कार्यालयले पानमण्डी स्काउट सडकखण्डमा खनेको बोरिङबाट एक सय ५ घरधुरी लाभान्वित भएका छन् । रानीघाट क्षेत्रमा राखेको बोरिङबाट ८५ घरधुरी लाभान्वित भइरहेका छन् ।
खानेपानी जडान शुल्क
खानेपानी संस्थानले वडा कार्यालयको सिफारिसपत्रसहित आएका ग्राहकलाई खानेपानी जडान गर्दै आइरहेको छ । नयाँ खानेपानीको लाइन जडान गर्नको लागि घरधनीको नागरिकताको प्रतिलिपि, लालपुर्जाको प्रतिलिपि, नापी कार्यालयबाट ल्याएको ब्लुप्रिन्ट र वडा कार्यालयको सिफारिसलगायतका कागजात लिएर आउनुपर्ने हुन्छ ।
कार्यालयले नयाँ धारा जडान शुल्कबापत रु. छ हजार तीन सय ७० रकम लिने गर्दछ । महानगरका वडा कार्यालयले खानेपानीको जडानको सिफारिस गरेबापत शुल्क पनि छुट्टै तोकेका छन् । संस्थानका अनुसार मासिक १० हजार लिटर मात्रै पानी खपत गर्ने ग्राहकले खानेपानी महसुलबापत एक सय १० रूपैयाँमात्रै तिरेपुग्छ । सोभन्दा बढी पानी प्रयोग गरेको खण्डमा भने प्रतिहजार लिटर रु. २५ रूपैयाँको दरले अतिरिक्त तिर्नुपर्ने व्यवस्था छ ।
वितरण प्रमुख यादवले खानेपानीको पाइप विस्तार भएको ठाउँमा नयाँ ग्राहकको घरमा एक साताभित्रै खानेपानी जडान हुने बताउनुभयो । “हामीसँग नयाँ खानेपानी धारा जडान गर्नका लागि निकै सीमित जनशक्ति रहेको छ । हामीले दैनिक ३० घरधुरीमा भन्दा धेरै नयाँ जडान गर्न सकिरहेका छैनौँ,” उहाँले भन्नुभयो । रासस
Leave a Reply